विभिन्न १६ खेलमध्ये पौडी, ब्याडमिन्टन, तेक्वान्दो, टेबलटेनिस, बक्सिङ, भारोत्तोलन, साइक्लिङ, आर्चरी, स्क्वास, क्रिकेट र भलिबलका खेलाडी पनि छनोट भइसकेका छन् ।
खोटाङ — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कराते खेलाडी छनोट भएका छन् । शनिबार भएको विभिन्न १६ इभेन्टमा करातेका खेलाडी छनौट भएका हुन् ।
नेपाल कराते महासंघ खोटाङका अध्यक्ष सुमन राईका अनुसार पुरुषतर्फ ५० केजी तौल समूहमा सुशासन राई, ५५ केजीमा सूर्यचन्द्र राई, ६० केजीमा मन्दिप अधिकारी, ६७ केजीमा शाहिल राई, ७५ केजीमा रूरीहाङ दुमी र माइनस ८४ केजीमा ईश्वरधन राई छनोट भएका हुन् ।
त्यस्तै, महिलातर्फ ४५ केजीमा टेनिका राई, ५० केजीमा अरुणा राई, ५५ केजीमा शीतल राई, ६१ केजीमा टिकामाया जिमी, ६८ केजीमा युमासाम राई र प्लस ६८ केजीमा चन्द्रकला राई छनोट भएको नेपाल सितोरियो कराते संघ खोटाङका सचिव मोतिचन्द्र राईले बताएका छन् ।
पुरुष टिम कातातर्फ रूरीहाङ दुमी, सूर्यचन्द्र राई र शाहिल राई छनोट भएका छन् । महिलातर्फ करुणा राई, अनिषा राई र विशुका राई छनोट भएका छन् । पुरुष एकल कातातर्फ सूर्यचन्द्र राई र महिला एकल कातामा अनिषा राई छनोट भएको राईले बताएका छन् । छनोट भएका खेलाडीहरू कोशी प्रदेशमा हुने छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
त्यस्तै, अन्य खेलका छनोट पनि भइरहेका छन् । विभिन्न १६ खेलमध्ये पौडी, ब्याडमिन्टन, तेक्वान्दो, टेबलटेनिस, बक्सिङ, भारोत्तोलन, साइक्लिङ, आर्चरी, स्क्वास, क्रिकेट र भलिबलका खेलाडी पनि छनोट भइसकेका छन् । फुटबल, एथलेटिक्स, कबड्डी र चेसको छनोट भने आगामी कात्तिक १० गते हुने जिल्ला खेलकुद विकास समिति खोटाङका अध्यक्ष मिलन कसजूले बताएका छन् ।
डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।