बजेटप्रतिको असन्तुष्टिले नेकपाको राष्ट्रिय जागरण अभियान नै स्थगित भएको छ भने सत्तारूढ सांसदहरूबीचको विवाद पनि चर्किएको छ ।
धनगढी — तीन महिनासम्मको बजेट शून्यतापछि सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको विवाद अझै सुल्झिएको छैन। चर्को दबाबबीच सरकारले गत असोज २५ मा बजेट ल्याएको थियो। तर, प्रदेशसभामा प्रस्तुत भएलगत्तै उक्त बजेट विवादमा परेको थियो ।
सुदूरपश्चिममा अहिले नेकपाको नेतृत्वमा एमालेसहितको संयुक्त सरकार छ । सरकारले ल्याएको बजेटप्रति सत्तारूढ दलकै प्रदेश तहका नेता र नेकपाका सांसदहरूले असन्तुष्टि जनाएपछि विवाद चर्किएको थियो । सांसदहरूको असन्तुष्टिका कारण दसैंको मुखमा ल्याइएको बजेटसमेत पारित नहुने अवस्था बनेपछि मुख्यमन्त्री खगराज भट्टले संसदीय अध्ययन समिति गठन गर्ने र मंसिर १ भित्र पूरक बजेट ल्याउने लिखित निर्णय गरेका थिए । त्यसपछि सांसदहरू बजेट पारित गर्न सहमत भएका थिए । तर, एमालेका दुई सांसद धर्मराज पाठक र वीरबहादुर थापा भने पार्टीको ह्विप उल्लंघन गर्दै बजेट पारित गर्ने दिनको बैठकमा अनुपस्थित भएका थिए ।
बजेटमाथिको छलफल र पारित गर्ने दिन सांसदहरूका धारणाको जवाफ दिने क्रममा आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेशसभाको रोस्ट्रमबाटै बजेटमा त्रुटि भएको स्वीकार गरेका थिए । उनले बजेटमा सही ‘इन्जिनियरिङ’ आवश्यक रहेको बताएका थिए ।
बजेट पारित हुनुअघि प्रदेशसभा बैठकमा सभामुख भीमबहादुर भण्डारीले पनि बजेटमाथि छानबिन गर्न संसदीय अध्ययन समिति गठन गर्ने, कात्तिक २० भित्र प्रतिवेदन पेस गर्न लगाउने र सरकारलाई पूरक बजेट ल्याउन निर्देशन दिएका थिए । सभामुख भण्डारीले भनेका थिए, ‘प्रदेशसभामा प्रस्तुत बजेटका सम्बन्धमा अध्ययन गरी कात्तिक २० गतेभित्र प्रतिवेदन पेस गर्ने गरी सात सदस्यीय संसदीय समिति गठन गरिनेछ र उक्त प्रतिवेदनका आधारमा पूरक बजेट ल्याइनेछ ।’ तर, सभामुख भण्डारीले दिएको निर्देशनअनुसार कात्तिक २० भित्र संसदीय समितिले प्रतिवेदन पेस गर्न सकेन । समिति गठन नै हुन नसकेपछि सरकारले गरेको निर्णय र सभामुखको निर्देशन अलपत्र परेका छन् ।
सत्तारूढ एमालेबाट संसदीय दलका नेता राजेन्द्रसिंह रावल र सांसद सुरेन्द्रबहादुर पाल तथा सरकारको नेतृत्वकर्ता दल नेकपाबाट सांसदहरू नरेशकुमार शाही, कैलाश चौधरी र लक्ष्मी विकको नाम संसदीय अध्ययन समितिका लागि सिफारिस गर्ने निर्णय भएको थियो । तर, प्रमुख प्रतिपक्षी कांग्रेसले भने सदस्यको नाम सिफारिस गरेको छैन ।
‘विपक्षी दलले समितिमा पठाउने सदस्यको नाम नै सिफारिस नगरेपछि सत्तापक्षका सांसद मात्रै राखेर समिति गठन गर्नु उपयुक्त नहुने देखिएको हो,’ सभामुख भीमबहादुर भण्डारीले भने, ‘प्रतिपक्षीलाई मनाउन सरकारले पर्याप्त गृहकार्य गरेको देखिएन ।’
प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलले भने उक्त समितिमा प्रतिनिधि पठाउनुको औचित्य नदेखेको बताएको छ । ‘आफैंले बजेट बिगार्ने, आफ्नै बहुमत राखेर अध्ययन समिति गठन गर्ने संसदीय समितिमा बस्नुको कुनै औचित्य देखेका छैनौं,’ कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले भने, ‘सरकारका बेथितिलाई सरकारले नै चोख्याउने उद्देश्यले गठन हुने समितिमा बस्दैनौं ।’
बजेट विवादकै कारण सरकारको नेतृत्वकर्ता दल नेकपाभित्र पनि असन्तुष्टि चुलिएको छ । नेकपाको पार्टी केन्द्रले मंसिर १० देखि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न सर्कुलर गरेको थियो । प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म सञ्चालन गर्ने भनिएको उक्त अभियान सुदूरपश्चिममा भने बजेट विवादकै कारण अघि बढ्न सकेको छैन । तत्कालका लागि अभियान स्थगित गरिएको नेकपा सुदूरपश्चिमका इन्चार्ज भानुभक्त जोशीले बताए । उनका अनुसार प्रदेश सरकारको बजेटप्रति जिल्ला संयोजकहरूले समेत असन्तुष्टि जनाएकाले अभियान सञ्चालन गर्न सक्ने अवस्था छैन ।
कात्तिक १६ मा बसेको नेकपाको प्रदेश कमिटी बैठकले बजेटले उत्पन्न गराएको अन्योल चिर्न संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपाललाई मंसिर ४ मा धनगढी बोलाउने निर्णय गरेको थियो । तर, उनीहरू दुवैले धनगढी आउन अस्वीकार गरेको नेकपा अछामका संयोजक प्रकाश शाहले बताए । ‘उहाँहरू नआउने भएपछि अभियान स्थगित छ,’ संयोजक शाहले भने, ‘बजेटबारे सबै जिल्ला संयोजकहरूको आपत्ति छ । बजेट समानुपातिक रूपमा विनियोजन नभएको, पार्टीको सिफारिसमा परेका आयोजना र कार्यक्रम समावेश नगरिएको, बजेट निर्माणमा बिचौलिया हाबी भएको तथा प्रदेशका नियुक्तिसमेत केन्द्रबाटै तोक्ने गरिएको लगायतका विषयमा जिल्ला संयोजकहरूमा व्यापक असन्तुष्टि देखिएको छ।’
प्रदेश इन्चार्ज जोशीले प्रदेश सरकारको बजेटकै कारण पार्टीका गतिविधि अलमलमा परेको बताए । ‘बजेट असन्तुलित भएको, बिचौलियाको बाटोबाट आयोजनाहरू घुसेका र सरकारले नै बजेटमा त्रुटि भएको स्वीकार गरिसकेको हो । उसैले संसदीय समिति गठन गरेर पूरक बजेट ल्याउने निर्णय गरेको हो,’ इन्चार्ज जोशीले भने, ‘अहिलेसम्म पूरक बजेट ल्याउने छाँटकाँट देखिन्न । यही विषयमा पार्टी केन्द्रका प्रमुख नेताहरूसँग छलफल गर्न काठमाडौं आएको छु ।’
सत्तारूढ दलकै सांसदहरूमा बजेटप्रतिको असन्तुष्टि मत्थर भएको छैन । एमाले सांसद वीरबहादुर थापा र धर्मराज पाठकले संसदीय दलले बजेटको पक्षमा उभिन जारी गरेको ह्विप उल्लंघन गरेका थिए । थापा बजेट पारित हुने दिन प्रदेशसभा बैठकमा अनुपस्थित मात्र भएनन्, बजेटप्रति असहमति जनाउँदै सांसद पदबाटै राजीनामा दिएका थिए । उनको राजीनामा सभामुखले स्वीकृत गरिसकेकाले थापा पदमुक्त भइसकेका छन् ।
सरकारको नेतृत्वकर्ता नेकपाकै अर्का सांसद नरेशकुमार शाहीले बजेटमा भएको त्रुटि सच्याउन संसदीय अध्ययन समिति गठन गर्ने र पूरक बजेट ल्याउने निर्णय भए पनि कार्यान्वयन नहुनुले गम्भीर प्रश्न खडा गरेको बताए । ‘सरकारमा विधि, प्रक्रिया, सुशासन र आफ्नै निर्णयहरूको अवमूल्यन गर्दै जाने कुरा उचित होइन,’ सांसद शाहीले भने, ‘सरकारले यस्ता कुरामा संवेदनशील हुनुपर्ने हो ।’
मुख्यमन्त्री भट्टले पनि बजेटमा त्रुटि भएको स्वीकार गर्दै त्यसलाई सच्याउन संसदीय समिति गठन हुनुपर्ने धारणा राख्दै आएका छन् । ‘प्रदेशसभाको निर्णय, सुझाव र निष्कर्षका आधारमा बजेट संशोधन हुनुपर्छ भन्नेमा म पनि सहमत नै हो,’ मुख्यमन्त्री भट्टले भने ।
अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।