सरकारले बर्खास्त नगरेको जिकिर गर्दै महान्यायाधीवक्ता नारायण कँडेलले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउनु बढुवा र सम्मान भएको दाबी गरे।
काठमाडौँ — प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा जारी बहसमा महान्यायाधीवक्ता नारायण कँडेलले सरकारको निर्णय पुरस्कार भएको दाबी गरेका छन्।
महान्यायाधीवक्ता कँडेलले कार्कीलाई आइजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णय कारवाही नभइ पुरस्कार भएको दाबी गरेका छन् ।
कार्कीका तर्फबाट सर्वोच्च अदालतमा सुरु भएको बहसमा उनले इजलास समक्ष यस्तो दाबी गरेका हुन् । उनले कार्कीलाई आइजीपीबाट हटाउने वा कुनै कारवाही गर्ने काम सरकारले नगरेको दाबी समेत गरे । हटाउने भन्दा सरकारले आवश्यकता महशुस गरेर उनलाई झन् बढुवा गरेर जिम्मेवारी दिएको कँडेलले तर्क गरे ।
न्यायाधीद्धय नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा अन्तरिम आदेश जारी गर्ने विषयमा भएको बहसमा क्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘सरकारले प्रहरी महानिरीक्षकलाई बर्खास्त गरेको छैन । बढुवा गरेको हो,’ उनले इजलासमा भने,‘कार्की त लड्ड लिएर आउनु पर्नेमा रिट लिएर अदालत आउनु भयो ।’ उनले अन्तरिम आदेश समेत पनि आवश्यक नभएको दाबी गरे ।
सरकारले प्रहरी महानिरीक्षकको नेतृत्वमा प्रधानमन्त्री कार्यालयमा सुरक्षा सल्लहकार राख्ने निर्णय मन्त्रिपरिषद्बाट गर्न पाउने र यो निर्णय देशको समग्र शान्ति सुरक्षाको अवस्थालाई हेरेर गरिएको दाबी गरे ।
उनले रिट निवेदकले पेश गरेको अच्युतकृष्ण खरेल र हितेन्द्रदेव शाक्यको नजिर कार्कीको हकमा असान्दर्भिक समेत हुने उनको तर्क थियो । बुधबार अन्तरिम आदेशको बहस सुरु भएपछि सरकारी पक्षको जवाफ दिँदै र सरकारको निर्णयको बचाउ समेत गरे । सुरुमा कार्कीका तर्फबाट अधिवक्ताहरुले बहस गरेपछि महान्यायाधीवक्ताले जवाफ दिएका हुन् । उनीपछि केही सरकारी वकिलले जवाफ दिने छन् । अनि सर्वोच्चले अन्तरिम आदेशबारे निर्णय दिने छ ।
दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।