९ मंसिर, काठमाडौं । दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउने सरकारको निर्णय विरुद्ध अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे सर्वोच्च अदालतमा बहस चलिरहेको छ ।
न्यायाधीशहरू नृपध्वज निरौला र श्रीकान्त पौडेलको इजलासमा सुरुमा कार्कीका कानुन व्यवसायीहरूले बहस गरे । त्यसपछि सरकारको निर्णयको प्रतिरक्षामा महान्यायाधिवक्ता डा. नारायण कँडेलले बहस गरेका छन् ।
कार्कीका कानुन व्यवसायीहरूले कार्कीलाई गैरकानुनी रूपमा जिम्मेवारीबाट हटाइएको, भूमिकाविहीन बनाइएको भन्दै सरकारको निर्णय बदर हुनुपर्ने माग गरे ।
उनीहरूले विगतको नजीरले पनि सरकारलाई विनाकारण प्रहरी महानिरीक्षक हटाउने सुविधा नहुने भन्दै गलत निर्णय सच्याउनुपर्ने माग गरेका हुन् ।
महान्यायाधिवडा डा. कँडेलसहित सरकारी वकिलहरूले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई जिम्मेवारीबाट हटाइएको नभई अझै महत्त्वपूर्ण जिम्मेवारी दिइएको तर्क गरे ।
उनीहरूका अनुसार, प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाएर आईजीपी कार्कीको बढुवा भएको हो । त्यसैले गर्दा आफ्नो बढुवाविरुद्ध कार्की सर्वोच्च अदालत जान नहुने उनीहरूको सुझाव दियो ।
सर्वोच्च अदालतमा अहिले पनि निवर्तमान आईजीपी कार्कीले दायर गरेको रिट निवेदनमाथि छलफल चलिरहेको छ ।
दुवै पक्षको सुनुवाईपछि सर्वोच्चले बुधबार नै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आदेश गर्नसक्छ ।