महान्यायाधिवक्ता नारायणदत्त कँडेलसहितको टोली जवाफी बहसका लागि इजलासमा छ । यसअघि अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत उपस्थित भएर सरकारको धारणा स्पष्ट पार्न भनेको थियो ।
काठमाडौँ — प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने सरकारको निर्णयविरुद्ध निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतमा बहस जारी छ ।
कार्कीको तर्फबाट कानुन व्यवसायी टीकाबहादुर कुँवर, माधव बस्नेत र दिनमणि पोखरेलले बहस गरिसकेका छन् । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बहस गरिरहेका छन् । उनीहरूले बहसका क्रममा कार्कीलाई प्रधानमन्त्री कार्यालय पठाउने निर्णय अधिकारको दुरुपयोग भएको र यो पदबाट हटाउने काम भएको तर्क अघि सारेका छन् । उनिहरुले कार्कीलाइ हटाउने निर्णय बदर गर्न माग गरेका छन् ।
महान्यायाधिवक्ता नारायणदत्त कँडेलसहितको टोली जवाफी बहसका लागि इजलासमा छ । यसअघि अदालतले महान्यायाधिवक्ता नारायणदत्त कँडेललाई समेत उपस्थित भएर सरकारको धारणा स्पष्ट पार्न भनेको थियो ।
कार्कीले आफूलाई प्रहरी महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । उनले आफूलाई पूर्ववत् आईजीपी पदमा पुनर्बहाली गर्न र नयाँ नियुक्ति पाएका मनोजकुमार केसीलाई आईजीपीका रूपमा कामकाज गर्न रोक लगाउन अन्तरिम आदेशसमेत माग गरेका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासमा बहस जारी छ । यसअघि सोमबार (मंसिर ८) का लागि पेसी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन ।
दुर्गा कान्तिपुर मिडिया ग्रुपका कानुन संवाददाता हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।