बाढीबाट विस्थापित विद्यार्थीलाई पढाउन रसुवाको हाकुबेंसी आधारभूत विद्यालय ललितपुरको गोदावरीमा स्थानान्तरण गरिएको छ, अन्य ७ विद्यालयका विद्यार्थी काठमाडौं उपत्यकाका विभिन्न विद्यालयमा भर्ना भएका छन्
काठमाडौँ — भोटेकोशी बाढीले विद्यालयमा क्षति पुर्याएपछि रसुवाको आमाछोदिङ्मो गाउँपालिकास्थित हाकुबेंसी आधारभूत विद्यालयका विद्यार्थी ललितपुरको गोदावरीमा पढ्न थालेका छन् । बाढी र पहिरोको जोखिमका कारण गाउँ फर्केर पढ्न सक्ने अवस्था नभएपछि विद्यालयले गोदावरीको किटिनी माध्यमिक विद्यालय परिसरमा अस्थायी रूपमा पठनपाठन सुरु गरेको हो । विद्यार्थीलाई पछ्याउँदै शिक्षक पनि यतै आइपुगेका छन् ।
हाकुबेंसी आधारभूत विद्यालयका प्रधानाध्यापक काब्रो तामाङले रसुवामा ६७ विद्यार्थी पढ्दै आएकामा काठमाडौंमा ५० विद्यार्थी सम्पर्कमा रहेको जानकारी दिए । कक्षा ८ सम्म पढाइ हुने विद्यालयका १० शिक्षक पनि अस्थायी विद्यालयमा खटिएका छन् । आमाछोदिङ्मो गाउँपालिका अध्यक्ष बुचुङ तामाङले बाढी विद्यालयमा पसेको र पहिरोको जोखिम रहेको हुनाले एक शैक्षिक सत्रका लागि विद्यालय सारिएको बताए । ‘विद्यालय भवन विद्यार्थी राखेर पढाउन सकिने अवस्थामा छैन । त्रिशूलीपारिको स्कुलमा पुल नहुँदा विद्यार्थीलाई आउजाउ गर्न पनि सम्भव छैन,’ उनले भने ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले विस्थापित बालबालिकालाई पठनपाठनको व्यवस्था मिलाउन आमाछोदिङ्मो गाउँपालिकाबाट प्रस्ताव आएपछि विद्यालय परिसर उपलब्ध गराइएको बताए । ‘त्यहाँका बालबालिका ठेचोको होल्डिङ सेन्टर र छोराछोरी नेपाल नामक संस्थामा बसेका छन् । त्यहाँबाट किटिनी विद्यालयनजिकै पनि पर्छ । कक्षाकोठा पनि पुग्दो भएकाले आश्रय दिन्छौं,’ उनले भने । नगरपालिकाका अनुसार त्यहाँ रहेका बालबालिकालाई विद्यालयमा भर्ना गरेर पढाउन थालिएको छ ।
प्रधानाध्यापक तामाङले विद्यालय, गाउँपालिका र शिक्षा मन्त्रालयबीच समन्वय गरेर गोदावरीमा पठनपाठन सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार विद्यालयका अधिकांश अभिभावक काठमाडौंको सुन्दरीजलस्थित होल्डिङ सेन्टरमा बसेका छन् । ‘विद्यालय सञ्चालन गर्न ठाउँ खोज्दै जाँदा गोदावरीमा भेटियो । त्यहीं राखेर पढाउन थालेका छौं,’ उनले भने, ‘गाउँ जान सक्ने अवस्था छैन । पहिरो र बाढीको जोखिम छ । सरकारले बस्ने बस्ती जहाँ तोक्छ, विद्यालय पनि त्यहीं सार्छौं ।’
विद्यालयलाई अस्थायी रूपमा काठमाडौं उपत्यकामा सञ्चालन गरिएको मौखिक जानकारी प्राप्त भए पनि औपचारिक स्थानान्तरणबारे जानकारी नआएको शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा विभागले जनाएको छ । हाकुबेंसी मात्र होइन, स्याफ्रुबेंसीभन्दा माथि गोसाइँकुण्ड गाउँपालिकाका सात विद्यालयका विद्यार्थी पनि काठमाडौंका विभिन्न विद्यालयमा भर्ना भएर पढिरहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइ रसुवाका अनुसार ती विद्यालयका दुई सयभन्दा बढी विद्यार्थी काठमाडौंका विभिन्न होल्डिङ सेन्टर र आफन्तकामा बसेका छन् । उनीहरूसँगै २० शिक्षक पनि काठमाडौं आएका छन् । विस्थापित विद्यार्थी धेरै भर्ना भएकाले विद्यालयमा ती शिक्षक खटाइएको पालिकाहरूले जनाएका छन् ।
स्वयम्भूस्थित सेतो गुम्बा, मनाङ गुम्बा र नुब्री गुम्बामा बाढी प्रभावित परिवार बसेका छन् । उनीहरूका बालबालिका डल्लुस्थित गीतामाता माध्यमिक विद्यालय, बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयलगायतमा भर्ना भएका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले होल्डिङ सेन्टरमा बसेका करिब डेढ सय बालबालिकालाई विभिन्न विद्यालयमा भर्ना गरेर पढाउने व्यवस्था मिलाइएको बताए । ‘त्यसबाहेक पनि अभिभावकले आफैं टोखालगायत क्षेत्रमा बाढी प्रभावित क्षेत्रका बालबालिका भर्ना गराएका छन्,’ उनले भने । आफन्तसँग बसेर पढ्न आएका बालबालिकाको एकीकृत विवरण भने तयार नभएको मन्त्रालयले जनाएको छ ।
रसुवा शिक्षा इकाइ प्रमुख दुर्गाप्रसाद सिलवालले स्याफ्रुबेंसीभन्दा माथिका सात विद्यालय तत्काल सञ्चालन गर्न सक्ने अवस्था रहेको जनाए । ‘हाकुबेंसी आधारभूत विद्यालय अस्थायी रूपमा नै काठमाडौं स्थानान्तरण भएको जानकारी आएको छ,’ उनले भने । अधिकांश स्थानीय काठमाडौंमा बसोबास गरिरहेका र विद्यालयसम्म पुग्न सहज पहुँच नभएका कारण विद्यार्थीलाई उपत्यकामा पढाउने व्यवस्था मिलाइएको उनले बताए ।
आसपासमा अस्थायी सिकाइ केन्द्र सञ्चालन गर्न उपयुक्त ठाउँसमेत नभएकाले विद्यार्थीलाई काठमाडौंमा पढाउनुपरेको सिलवालले बताए । ‘त्रिशूली नदीमा बेलिब्रिज बनेपछि आउजाउ सहज हुन्छ । त्यसपछि स्याफ्रुबेंसीमाथिका विद्यार्थी फर्काउँछौं,’ उनले भने । गोसाइँकुण्ड गाउँपालिकाका कोमिन स्यामे वाङफेल माध्यमिक विद्यालय, राष्ट्रिय आधारभूत विद्यालय, लिङलिङ आधारभूत विद्यालय र गोसाइँकुण्ड बोर्डिङ स्कुललगायत सात विद्यालयका विद्यार्थी काठमाडौंमा पढिरहेका छन् ।
गत १० भदौमा आएको भोटेकोशी बाढीले रसुवाका तीन सामुदायिक र एक निजी गरी चार विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । बाढीले विद्यालय भवनमा क्षति पुर्याउनुका साथै पुल, सडक र पैदलमार्गसमेत बगाएपछि आंशिक क्षति भएका विद्यालयमा समेत पठनपाठन प्रभावित भएको छ । पूर्ण रूपमा क्षति भएका कतिपय विद्यालयका विद्यार्थीलाई भने स्थानीय पालिकाले छिमेकी विद्यालयमा पढ्ने व्यवस्था मिलाएका छन् ।
रसुवामा गोसाइँकुण्ड गाउँपालिकाको टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय, उत्तरगया गाउँपालिकाको चिप्लेटी आधारभूत विद्यालय सल्लेटार, मालिका देवी आधारभूत विद्यालय पहिरेबेंसी र बेत्रावतीस्थित मोर्डिन ट्रिनिटी बोर्डिङ स्कुल बाढीले पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए । बाढीपछि रसुवामा ६२ बालबालिकाले बुबाआमा दुवै गुमाएको र २ सय ६२ जनाले बुबाआमामध्ये एक जना गुमाएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।
राष्ट्रिय बालअधिकार परिषद्ले गत साता सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनमा भने भोटेकोशी बाढीबाट नुवाकोट, रसुवा र धादिङका २ सय ६९ बालबालिकाले अभिभावक गुमाएको उल्लेख गरेको छ । परिषद्का अनुसार ४१ बालबालिकाले बुबाआमा दुवै गुमाएका छन् । तर यी दुई निकायको तथ्याङ्कमा ठूलो अन्तर देखिएको छ । परिषद्ले अन्तिम प्रतिवेदन तयार गर्न बाँकी नै रहेको जनाएको छ ।
शिक्षा मन्त्रालयका अनुसार बाढीले रसुवा र नुवाकोटका २३ विद्यालयमा क्षति पुर्याएको थियो । तीमध्ये १२ विद्यालयमा पूर्ण र ११ विद्यालयमा आंशिक क्षति भएको हो । क्षति पुगेका विद्यालयमा ७ हजार २ सय ४० विद्यार्थी थिए । नुवाकोटमा क्षति पुगेका विद्यालयका विद्यार्थीलाई छिमेकी विद्यालय र अस्थायी सिकाइ केन्द्रमार्फत पढाउने व्यवस्था मिलाइएको छ । शिक्षा इकाइ नुवाकोटका प्रमुख सूर्यबहादुर खत्रीले केही विद्यालय अस्थायी सिकाइ केन्द्रबाट सञ्चालन भइरहेको र केन्द्र बनाउन सम्भव नभएका केही विद्यालयका विद्यार्थीलाई छिमेकी विद्यालयमा पढाउने व्यवस्था मिलाइएको जानकारी दिए ।
सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।