Trending
Prev Story
Next Story

वनस्पतिलाई चिन्न सके नेपालमै बन्न सक्छन् औषधि र उद्योग : विजया पन्त

Ekantipur •
October 10, 2026 • 03:01 PM
2
2 reads 0 reactions

कान्तिपुरसँगको अन्तर्वार्तामा त्रिवि केन्द्रीय वनस्पतिशास्त्र विभाग प्रमुख विजया पन्तले वनस्पतिमा आधारित उद्योगले अर्थतन्त्र उकास्न सक्ने सम्भावना औंल्याएकी छन् । अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी उत्पादन, बजार र समाजसँग जोड्नुपर्ने उनको भनाइ छ ।

वनस्पतिलाई चिन्न सके नेपालमै बन्न सक्छन् औषधि र उद्योग : विजया पन्त

कान्तिपुरसँगको अन्तर्वार्तामा त्रिवि केन्द्रीय वनस्पतिशास्त्र विभाग प्रमुख विजया पन्तले वनस्पतिमा आधारित उद्योगले अर्थतन्त्र उकास्न सक्ने सम्भावना औंल्याएकी छन् । अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी उत्पादन, बजार र समाजसँग जोड्नुपर्ने उनको भनाइ छ ।

काठमाडौँ — जापानमा विद्यावारिधि सकेर नेपाल फर्किंदा डा. विजया पन्त ले १८ घण्टासम्मको लोडसेडिङ, सीमित प्रयोगशाला र स्रोत–साधनको अभाव सामना गर्नुपर्‍यो । तर प्रतिकूलतालाई अनुसन्धानमा अवरोध होइन, नयाँ बाटो खोज्ने चुनौतीका रूपमा लिइन् । त्यही प्रयासले उनलाई नेपालमा टिस्यु कल्चर प्रविधिमार्फत लोपोन्मुख सुनाखरीको संरक्षण र प्रवर्द्धन गर्ने वैज्ञानिकका रूपमा स्थापित गरायो ।

प्रयोगशालामा मात्र सीमित नराखी ४० भन्दा बढी प्रजातिका सुनाखरी उत्पादन गरेर विभिन्न स्थानमा रोप्नेदेखि तिनमा रहेका औषधीय गुणको अनुसन्धान गर्ने–गराउने काम उनले गरिरहेकी छन् । उनको बुझाइमा अनुसन्धानको सफलता शोधपत्र प्रकाशनमा मात्र होइन, त्यसले समाजलाई लाभ दिन र आर्थिक सम्भावनाको ढोका खोल्न सक्नुमा छ । अहिले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय वनस्पतिशास्त्र विभागको नेतृत्व गरिरहेकी पन्त त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को कार्यकारी सदस्य पनि हुन् । उनीसँग कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी म्यागजिनकी सम्पादक उपासना घिमिरेले गरेको कुराकानी :

विज्ञान र विशेषगरी वनस्पतिशास्त्रतर्फ आकर्षित हुने तपाईंको पारिवारिक वा शैक्षिक पृष्ठभूमि के थियो ?

सानोमा पढाइमा अब्बल विद्यार्थी नै थिएँ । बुवाले पनि प्रेरणा दिनुहुन्थ्यो । दाजु विज्ञान विषयका शिक्षक भएकाले उहाँकै प्रेरणाले विज्ञान विषयप्रति रुचि र चासो बढ्यो । त्यसो त घरवरिपरि थुप्रै बिरुवा भएकाले स्वतः बिरुवाप्रति लगाव थियो । २०३७ सालमा एसएलसी पास गरेपछि विज्ञान पढ्न काठमाडौंको अमृत साइन्स (अस्कल) क्याम्पसमा भर्ना भएँ । अस्कलबाट आईएस्सी र त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरबाट वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि मेरो यात्रा जापानको हिरोसिमा विश्वविद्यालयतर्फ सोझियो । त्यहाँबाट ‘प्लान्ट बायोटेक्नोलोजी’मा विद्यावारिधि (पीएचडी) हासिल गरेकी हुँ ।

जापानमा विद्यावारिधि गरेपछि त्यहीँ बसेर अनुसन्धान र करिअर अघि बढाउने अवसर पनि थियो । नेपाल फर्किएर यहीँ काम गर्ने निर्णय कसरी लिनुभयो ?

उतिबेला पढेर फर्कने भन्ने थियो । त्यसैले उता अवसर छ–छैन भन्ने नै भएन । यहाँ आउँदा दिनको १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो । जापानको अत्याधुनिक ल्याबमा काम गरेर फर्केकी मलाई नेपालको सीमित स्रोतसाधनबीच काम गर्न निकै सकस भयो । सुरुका ६ महिना त कसरी काम गर्ने होला भनेर चिन्ता लाग्यो । तर हार नमानी प्रतिकूलतामा अनुकूलता खोज्न थालेँ । विभागमा भएको टिस्यु कल्चर प्रयोगशालालाई स्तरोन्नति गरेँ । जापानमा पढ्दा त्यहाँका अनुसन्धान कम्पनीहरूमा हुन्थे । विद्यार्थीले ल्याबमा गर्ने मास्टर्स थेसिससमेत कम्पनीको अनुसन्धानका रूपमा गर्थे ।

संसारका प्रायः विकसित देशमा कम्पनीको अनुसन्धान विश्वविद्यालय र उद्योग मिलेर नवीनता सिर्जना गर्ने, व्यापारमा सहयोग गर्ने र उत्पादन बनाउने उद्देश्यले गरिन्छ । उदाहरणका लागि, कोरियामा विश्वविद्यालयमा गरिएको अनुसन्धान कम्पनी र सर्वसाधारणलाई सहयोग पुग्ने खालको हुनुपर्छ भनेर प्रोत्साहन गरिन्छ । विश्वविद्यालयमा गरिएको अनुसन्धान कम्पनी र सर्वसाधारणलाई सहयोग पुग्ने हुनुपर्छ । बल्ल अनुसन्धानको अर्थ हुन्छ । त्यस्तो काम गर्न प्रोत्साहन भएमा सबैले पीएचडी गर्नु पर्दैन, सबै जना पढाउन जानु पनि पर्दैन । संसारका धेरै उद्योग विज्ञान र उद्योग जोडिएर अगाडि बढेका हुन् ।

नेपाल फर्केको ६ महिनापछि त्रिभुवन विश्वविद्यालयमा पार्टटाइम शिक्षकका रूपमा पढाउन थालें । त्यसपछि विभिन्न परीक्षा पास गर्दै लेक्चरर, रिडर हुँदै प्रोफेसर बनेँ । त्रिवि परिसरभित्रै सुनाखरीको अनुसन्धानलाई व्यवस्थित बनाउन ल्याब स्थापना गरेँ । तर ल्याबमा रहेका बिरुवालाई चौबीसै घण्टा निश्चित तापक्रम र प्रकाशको संयोजन मिलाएर राख्नुपर्थ्यो । त्यस समयमा लोडसेडिङको मार भएकाले बिरुवा जोगाउन बल्लतल्ल इन्भर्टर जोडेर सानो ठाउँबाट अनुसन्धान सुरु गर्‍यौं । विद्यार्थीहरूले तिनै बिरुवामाथि अनुसन्धान गर्न पाए । अनुसन्धान गरुन्जेल बिरुवाले पनि जसोतसो रेखदेख र स्याहार पाए । तर थेसिसको काम सकिएपछि बिरुवालाई स्याहार गर्न छाडियो र बेवास्ताका कारण बिरुवा मरे ।

२०७२ सालको भूकम्पले ल्याब भएको भवन नै क्षतिग्रस्त भएपछि अनुसन्धान सीमित भयो र सानो कोठामा अनुसन्धान गर्न बाध्य भयौं । तर भौतिक संरचना भत्किए पनि मैले श्रीमान् वसन्त पन्तले सञ्चालन गरेको अन्नपूर्ण न्युरो अस्पतालभित्र रहेको एक भवनमा अन्नपूर्ण अनुसन्धान केन्द्र स्थापना गरी सुनाखरीमाथि थप अनुसन्धान गर्न टिस्यु कल्चर ल्याब स्थापना गरेँ ।

सो अनुसन्धान केन्द्रमा मोलिक्युलर, टिस्यु कल्चर, क्यान्सर रिसर्च र बायोमेडिकल रिसर्चजस्ता अनुसन्धान गर्न सक्ने क्षमता वृद्धि भएको छ । टिस्यु कल्चर प्रविधि भनेको बिरुवाको सानो कोष वा तन्तुबाट हजारौंको संख्यामा स्वस्थ बिरुवा उत्पादन गर्ने प्रविधि हो । यो प्रविधि नेपालमा स्थापित गर्न सफल भएँ । यो ल्याबमा मैले पढाइरहेका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले पनि अध्ययन–अनुसन्धान गर्न पाएका छन् । हालसम्म अर्किडलगायत बायोटेक्नोलोजी तथा औषधिजन्य वनस्पतिसम्बन्धी विषयमा नौ जनालाई विद्यावारिधि र ८० भन्दा बढी विद्यार्थीलाई एमएस्सीको शोधकार्यमा मार्गदर्शन गरिसकेकी छु । अहिले त्रिविकै बोटनी विभागमा विभागीय प्रमुखका रूपमा काम गरिरहेकी छु ।

टिस्यु कल्चर प्रविधिमा नेपालको सम्भावना कति ठूलो देख्नुहुन्छ ?

विदेशमा महत्त्वपूर्ण बिरुवाको उत्पादन टिस्यु कल्चर प्रविधिबाटै हुन्छ । कार्नेसन, लिलीलगायत अन्य थुप्रै व्यावसायिक महत्त्वका बिरुवा यसै प्रविधिबाट बनाइन्छन् । नेपालमा यसको जतिसक्दो उपयोग गरेर सुनाखरीजस्ता लाखौं औषधिजन्य बिरुवा उत्पादन गरी व्यावसायीकरण गर्न सक्छौं ।

जस्तै: पातलाई चाहिने वातावरण उपलब्ध गराउँदा त्यसबाट बिरुवा उम्रन्छ । बिरुवाको जरा, पात, हाँगा वा फूलबाट पनि पूर्ण बिरुवा बन्न सक्छ । एउटाबाट हजारौं बिरुवा बनाउने प्रविधि हो यो ।

नेपाल आएपछि सुनाखरीमा औषधीय गुण के रहेछन् भनेर खोजी गर्दा यसमा क्यान्सरविरोधी तत्त्व रहेछन् भन्ने थाहा पाइयो । त्यो क्यान्सरविरोधी तत्त्व पत्ता लगाउन लामो अनुसन्धान गर्नुपर्छ । के रहेछ भनेर म आफैं, विद्यार्थी र हाम्रो टोलीले काम गरिरहेका छौं । मास्टर्स तथा विद्यावारिधिका शोधार्थी र मास्टर्सका विद्यार्थीले यसमा काम गरिरहेका छन् ।

सुनाखरीमा अथाह औषधीय गुण छन् । हाम्रो टोलीले सुनाखरीमा स्तन क्यान्सर, पाठेघरको क्यान्सर, ब्रेन ट्युमर र फोक्सोको क्यान्सरका कोषलाई नष्ट गर्ने तत्त्व रहेछन् भन्ने कुरा पत्ता लगाएको छ । विशेष कुरा त के छ भने, यी तत्त्वले सामान्य स्वस्थ कोषलाई असर नगरी केवल क्यान्सरका कोषलाई मात्र नष्ट गर्छन् । यस्ता तत्त्व टिस्यु कल्चर प्रविधिबाट प्रयोगशालामै उत्पादन गर्न सकिन्छ भन्ने कुरा हाम्रो टोलीले प्रमाणित गरिसकेको छ ।

वनस्पति विभाग प्रमुखको जिम्मेवारी सम्हालेपछि तपाईंको भूमिका अनुसन्धानकर्ताबाट प्रशासकीय नेतृत्वतर्फ पनि विस्तार भएको छ । अहिले विभागलाई कसरी रूपान्तरण गर्ने र आगामी वर्षमा कहाँ पुर्‍याउने लक्ष्य राख्नुभएको छ ?

अहिले भूमिका परिवर्तन हुनुका साथै जिम्मेवारी बढेको छ । पहिले पूर्णरूपमा अध्ययन, अनुसन्धानलगायत अन्य दायित्वमा संलग्न थिएँ । डिन कार्यालयको अनुसन्धान समितिमा, मन्त्रालयमा विज्ञानसम्बन्धी नीति बनाउने काममा र नास्टको प्राज्ञिक काममा पनि संलग्न थिएँ । अहिले पूर्ण प्रशासकीय भूमिका छ । विभागमा सामूहिक रूपमा राम्रोसँग नतिजामुखी काम कसरी गर्न सकिन्छ भन्ने कुरामै केन्द्रित छु । नियमित रूपमा गर्नुपर्ने विभागीय र प्रशासकीय कामका अलावा विद्यार्थीलाई अनुसन्धान गराउने काम पनि जारी राख्नेछु । शिक्षा प्रदान गर्न कहिल्यै छोड्नुहुँदैन ।

विभागलाई प्राज्ञिक र संरचनागत रूपमा उत्कृष्ट बनाउन लागिपर्नेछु । हाम्रो शिक्षा अन्तर्राष्ट्रिय स्तरकै भएकाले हाम्रा विद्यार्थी संसारका विभिन्न देशमा पुगेर उत्कृष्ट प्रमाणित भएका छन् । विद्यार्थीले पढेको शिक्षा र आर्जन गरेको ज्ञानलाई परिणाममुखी बनाउन लागिरहेका छौं । यसलाई निरन्तरता दिने योजना छ । महत्त्वपूर्ण बिरुवा र संकटापन्न अवस्थामा पुगेका सुनाखरीको कन्जर्भेटरी बनाउने लक्ष्य छ । साथै नेपालमा औषधिजन्य बिरुवाको ‘नलेज पार्क’ बनाउन सकियो भने औषधिजन्य बिरुवासम्बन्धी ज्ञान अनुसन्धानकर्तालाई यहीँबाट प्रदान गर्न सक्नेछौं ।

समयसापेक्ष पाठ्यक्रम बनाउने र विद्यार्थीलाई आवश्यक शिक्षा प्रदान गर्न पहल गर्नेछौं । यो विभागलाई विद्यार्थीमैत्री बनाउन आउटडोर लर्निङ पनि आवश्यक छ । हाम्रो विभागको ६० प्रतिशत काम हुने भवन भूकम्पले भत्किएको थियो । यसको पुनर्निर्माणका लागि पहल गरिरहेका छौं । त्यो नहुँदासम्म यहाँको खाली ठाउँ र बगैंचालाई सुन्दर र उपयोगी बनाऔं भनेर काम भइरहेको छ । मास्टर्सको पाठ्यक्रम पनि समयअनुसार परिमार्जन गर्ने योजना छ । किनभने शिक्षा समयसापेक्ष हुनुपर्छ । यसमा काम सुरु भइसकेको छ । पीएचडी गर्ने विद्यार्थीका लागि बस्ने ठाउँको अभाव छ । त्यो बनाउने पहल गरिरहेका छौं । पीएचडी शोधार्थीको लामो समयदेखि ठाउँ अभावका कारण नियमित प्रस्तुति रोकिएको थियो, त्यो सुरु भएको छ । पद पाएपछि शतप्रतिशत राम्रो काम गर्ने प्रयास गर्नुपर्छ ।

अहिले विद्यार्थीका लागि वनस्पतिशास्त्र कत्तिको आकर्षक विषय बनेको छ ? वनस्पति विज्ञानलाई परम्परागत विषयका रूपमा नभई भविष्यको विज्ञान, रोजगारी र आर्थिक सम्भावनासँग जोडेर हेर्नुपर्ने आधार के हुन् ?

वनस्पतिशास्त्र आफैंमा सबैका लागि आकर्षक विषय हो । यसभित्र प्लान्ट साइन्स, एग्रिकल्चर र फरेस्ट्रीजस्ता विभिन्न विधा पर्छन् । सानोभन्दा सानो लेउदेखि ठूलाठूला (जायन्ट) रुखसम्म सबै वनस्पति हुन् । पानीमा र जमिनमा उम्रने झ्याउ, ढुसी, लेउदेखि लिएर रुखमै उम्रने सबै प्रकारका वनस्पति हुन्छन् । यसका धेरै ठूला आयाम छन् ।

मुख्य एन्टिबायोटिक औषधिसमेत वनस्पतिबाट बन्छन् । गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकतासँग पनि वनस्पतिकै सम्बन्ध छ । यीबिना जीवन सम्भव छैन । यसमा अनुसन्धान गर्नुपर्ने र बुझ्नुपर्ने धेरै कुरा छन् । हाम्रो देशमा यति धेरै औषधिजन्य बिरुवा भएकाले तिनको प्रयोग गर्न सक्छौं । यसैबाट ठूलाठूला उद्योग निर्माण गर्न सक्छौं । फूलको अथाह सम्भावना छ । सौन्दर्यीकरणका लागि फूल नभई हुँदैन । परम्परा, संस्कृति र धार्मिक कार्यक्रम वनस्पतिविना सम्भव छैनन् । देशमै पनि संस्कृतिका रूपमा तुलसी पूजा गर्ने, भाइपूजामा मखमली फूल आवश्यक पर्छ । प्रत्येक फूलका आ–आफ्नै विशेषता छन् । यसको महत्त्व धेरै ठूलो छ र अध्ययन पनि हुनुपर्छ ।

वनस्पतिशास्त्र अध्ययन गरेका विद्यार्थीका लागि नेपालमै रोजगारी र करिअरका सम्भावना कस्ता छन् ? बदलिँदो समय र श्रमबजारअनुसार पाठ्यक्रममा कस्ता सुधार आवश्यक देख्नुहुन्छ ?

जैविक विविधता र वातावरणसम्बन्धी विषय पनि छन् । रोजगारीका अवसर सिर्जना गर्नुपर्ने जति काम हुन सकेको छैन । पाठ्यक्रम समयअनुसार परिमार्जन हुनुपर्छ । यसको उपयोगिताका आधारमा कुन कुरा पढाइरहने र कुन हटाउँदा हुन्छ भन्ने समीक्षा गर्नुपर्छ । पाठ्यक्रम परिमार्जन गरेर बढी परिणाममुखी बनाउने, रोजगारी र समाजसँग विद्यार्थीलाई जोड्ने तथा अध्ययन–अनुसन्धानलाई समाजसँग कसरी जोड्न सकिन्छ भन्ने आधारमा काम हुनु जरुरी छ । विद्यार्थीलाई आफैं कसरी आत्मनिर्भर हुने, देशको नीति निर्माणमा योगदान दिने र वातावरणसम्बन्धी विषयमा आवश्यक सुझाव दिन सक्ने बनाउने दिशामा काम गरिरहेका छौं ।

विद्यार्थीलाई प्रयोगात्मक र अनुसन्धानमुखी शिक्षा दिन विभागले कस्ता अभ्यास गरिरहेको छ ? नेपालमा वनस्पति विज्ञानको उच्चस्तरीय अनुसन्धानको अवस्था र मुख्य चुनौतीलाई तपाईं कसरी मूल्यांकन गर्नुहुन्छ ?

आधारभूत तहको अनुसन्धान धेरै गर्न सक्छौं । पाठ्यक्रममा भएका प्रयोगात्मक अनुसन्धान पनि गर्न सक्छौं । उच्चस्तरको अनुसन्धान गर्न भने भौतिक संरचनाका कारण अप्ठ्यारो छ । यस्तो अवस्थामा पनि यहाँ गर्न सकिने काम यहीँ गर्छौं र नसकिने काम अरूसँग सहकार्य गरेर बाह्य प्रयोगशालाको सहयोग लिई गरिरहेका छौं । हाम्रो विभाग विज्ञान संकायअन्तर्गत पहिलेदेखि नै धेरै अनुसन्धान गराउने विभागमा गनिन्छ । अनुसन्धानमा ठूलो रकम छुट्याउनुपर्छ । परिणाम दिन सक्ने गरी सरकारले नै रकम छुट्याउनुपर्छ । प्राध्यापकहरूले आ–आफ्नो पहलमा अनुसन्धान अनुदान ल्याएर शोधार्थीलाई थेसिस गर्न सहयोग गर्नुपर्छ । उच्च हिमाली क्षेत्रदेखि तराईसम्म सबै ठाउँमा अनुसन्धान गराउन सकिन्छ । बाहिरी र भित्री दुवै प्रकारका अनुसन्धान गर्न सकिने भए पनि संरचनाले गर्दा अड्किएको छ । यो वर्षको प्राथमिकता के हो भन्ने बुझेर सार्वजनिक–निजी साझेदारी हुनुपर्छ । सहकार्य गरेर अघि बढेमा परिणाममुखी नतिजा आउँछ ।

क्यान्सरसम्बन्धी अनुसन्धान यहाँ गर्न सकिँदैन । त्यही भएर हाम्रै पीएचडी विद्यार्थीले अन्नपूर्ण अनुसन्धान केन्द्रमा अनुसन्धान गरेर अर्किडमा पनि क्यान्सरका कोष नष्ट गर्ने तत्त्व हुँदो रहेछ भन्ने पत्ता लगाए । विदेशतिर पनि बाह्य प्रयोगशालाको सहयोग लिने गरिन्छ । हाम्रो आधारभूत संरचना कक्षा लिन सक्ने स्तरको मात्र छ । मास्टर्स र पीएचडी गर्न आउनेहरूले उच्चस्तरको अनुसन्धान गर्ने हो । राष्ट्रिय स्तरको अनुसन्धान गर्ने ठाउँ बनाउनुपर्छ । लगानी गर्नुपर्छ । त्यो अनुसन्धानलाई उद्योग र समाजसँग जोड्नुपर्छ । त्यति गर्न सकिएको छैन । अनुसन्धान गर्न सक्ने क्षमता भए पनि संरचना र स्रोतसाधनले गर्दा अड्किएको छ ।

लोपोन्मुख वनस्पतिको संरक्षणदेखि औषधीय तथा आर्थिक महत्त्व भएका वनस्पतिको प्रवर्धनसम्म विश्वविद्यालयले कस्तो भूमिका खेल्नुपर्छ ? नेपालले वनस्पतिमा आधारित ठूलो उद्योग विकास गर्ने सम्भावना कति देख्नुहुन्छ ?

एकदमै ठूलो सम्भावना छ । नेपालमा औषधिजन्य र पुष्पखेतीका दृष्टिले महत्त्वपूर्ण बिरुवामा आधारित ठूलो उद्योग विकास गर्ने सम्भावना छ । सबैभन्दा ठूलो कुरा नीतिगत रूपमा काम गर्नैपर्छ । यसले राजस्व सिर्जना गर्छ र उद्योग स्थापना गर्न सहयोग पुर्‍याउँछ भन्ने कुरामा पहिले नै विश्वस्त भएर प्राथमिकतामा आधारित अनुसन्धान गर्नुपर्छ । विश्वविद्यालय, सरकार र निजी क्षेत्र मिलेर काम गरेमा यो ठूलो सम्भावना बोकेको क्षेत्र हो । यस क्षेत्रमा अनुसन्धानको खोजी भएको छैन भन्ने होइन, गर्नेहरूले गरिरहेका छन् । कुनलाई प्राथमिकतामा राखेर काम गर्ने भनेर नीति बनाएर अघि बढेमा आर्थिक उपार्जन गर्न सकिन्छ ।

ठूला अनुसन्धान केन्द्र र इन्क्युबेसन सेन्टर बनाउनुपर्छ, जहाँ औद्योगिक उत्पादन गर्न सकियोस् र अनुसन्धान तथा नवीनतालाई उत्पादन गर्ने ठाउँसँग जोड्न सकियोस् । स्नातक तथा स्नातकोत्तर उत्तीर्ण विद्यार्थीले त्यस्ता ठाउँमा काम गर्न पाऊन् । हामीसँग कति बिउ छन् भन्ने तथ्यांक छैन, बिउ बैंकसमेत छैन । कुनकुन वनस्पति छन् भन्ने वास्तविक तथ्यांक पनि छैन । औषधिजन्य बिरुवा छन् भनेर मात्र भएन, तिनको महत्त्व पनि पहिचान गर्नुपर्‍यो ।

कोरियामा जिन्सेङ नामक वनस्पतिले मात्रै सामसुङको जत्तिकै अर्थतन्त्र परिवर्तन गरेको छ । यसबाट सौन्दर्य प्रसाधन र पेय पदार्थलगायतका वस्तु उत्पादन हुन्छन् । हामीकहाँ यस्ता धेरै वनस्पति छन्, तर तिनको महत्त्व पहिचान हुन सकेको छैन । क्यान्सर तथा अन्य रोगका लागि उपयोगी वनस्पति छन्, तर अन्दाजका भरमा भएन । अनुसन्धानले प्रमाणित गर्नुपर्छ, वैज्ञानिक प्रकाशन हुनुपर्छ र त्यसको वैधता परीक्षण गर्नुपर्छ । पेटेन्ट लिन गाह्रो छ यहाँ । अनुसन्धानकर्ताले आफूले गरेको नवीन काम देखाउने ठाउँ छैन । त्यस्तो कामलाई सहजीकरण गरिदिनुपर्छ । अर्किडमा क्यान्सरविरोधी तत्त्व छ भनेर हामीले अनुसन्धान गरिरहेका छौं । नीतिनिर्माता र सरकारले नै चासो दिएर काम गर्नुपर्छ ।

वनस्पति अनुसन्धानलाई सरकारी नीति, उद्योग र राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने हो भने राज्यको प्राथमिकता के हुनुपर्छ ? नेपालले तत्काल कुन क्षेत्रमा लगानी बढाउन आवश्यक छ ?

नेपालको परिप्रेक्ष्यमा सरकारलाई राजस्व दिन सक्ने र धेरै सम्भावना भएको क्षेत्र वनस्पति पनि हो । भारतमा पतञ्जलिजस्तो कम्पनीले आर्थिक अवस्था कमजोर भएका मानिसलाई पनि साबुनले नुहाउन सक्ने बनाएको मैले भ्रमण गर्दा देखेँ । यस्तो सम्भावना सबैले खोजिरहेका छन् । अहिले सबैले हर्बल र औषधिजन्य जडीबुटीबाट बन्ने चिया लगायतका उत्पादनतर्फ ध्यान दिइरहेका छन् । यी हरेक वस्तुलाई उद्योगसँग जोड्ने सम्भावना छ । हाम्रो चिया पनि वनस्पति नै हो । दार्जिलिङ टी भनेर इलामकै चिया बेचिन्छ । हामीले यो हाम्रो हो भनेर कतै दर्ता गर्न सकेका छैनौं । हाम्रै पोटेन्टिला प्रिमुला भन्ने सजावटका लागि प्रयोग हुने जंगली फूललाई जापानले पहिले नै लगेर राम्रो बगैंचे फूलका रूपमा प्रवर्धन गरेको छ । राष्ट्रिय फूल लालीगुराँसकै पनि राम्रो बजारीकरण हुन सकेको छैन । प्रामाणिक उत्पादन हो भनेर हामीले स्थापित गर्न सकेका छैनौं । अथाह सम्भावना छ भनेर मात्र भएन, ठ्याक्कै के हो भन्ने पहिचान गरेर अन्तिम उत्पादन निकाल्न चुकेका छौं ।

देशमा सम्भावना हुँदाहुँदै पनि ठूलो संख्यामा विद्यार्थी विदेश जाने क्रम बढिरहेको छ । वनस्पति विज्ञानजस्तो अनुसन्धानमुखी विषयमा विद्यार्थीलाई नेपालमै आकर्षित गर्न र करिअरको वातावरण बनाउन के गर्नुपर्छ ?

गर्न सक्यो भने यो ठूलो सम्भावना भएको राम्रो विषय हो । यो स्वस्थ विज्ञान हो । वातावरण र प्रकृति सबै यसअन्तर्गत पर्छन् । जहाँसम्म विद्यार्थी विदेश जाने प्रवृत्तिको कुरा छ, संसार खुला छ । मान्छेले आफ्नो छनोट गर्न पाउँछ । विदेश गएकै भोलिपल्ट केके न हुन्छ, स्वदेशमा केही छैन भनेर सोच्नु भने बेकार हो । मैले जापानमा सबै सम्भावना हुँदाहुँदै पनि नेपाल आएर १८ घण्टा लोडसेडिङ हुँदा पनि यहीँ केही गर्न सकिन्छ भनेर लागिपरेँ । हुन त यो व्यक्तिमा भर पर्छ । आफ्नो माटोभन्दा प्यारो केही हुन सक्दैन । यहाँ केही छैन भन्ने गलत धारणा भने राख्न हुँदैन ।

तपाईंले अघि सार्नुभएको ‘ल्याब टु ल्यान्ड’ अवधारणाले प्रयोगशालामा उत्पादन भएका बिरुवालाई प्राकृतिक वातावरण र समुदायसम्म पुर्‍याउने लक्ष्य राख्छ । यो अवधारणा व्यवहारमा कसरी कार्यान्वयन भइरहेको छ ?

‘ल्याब टु ल्यान्ड’को महत्त्व बुझेर मैले ल्याबको कोठाभित्र बन्द बट्टामा ४० भन्दा बढी लोपोन्मुख प्रजातिका सुनाखरी उत्पादन गरेर संरक्षण गरेकी छु । ल्याबमा बिरुवा उमार्ने मात्र होइन, ‘ल्याब टु ल्यान्ड’ अभियानअन्तर्गत प्रयोगशालामा टिस्यु कल्चर प्रविधिबाट उमारिएका हजारौं सुनाखरीका बिरुवा अहिले ललितपुर, गोरखा, लुम्बिनी र इलाम लगायतका ठाउँमा रोपिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषसँग सहकार्य गरेर जावलाखेलस्थित चिडियाखानामा पनि रोपिएको छ ।

वातानुकूलित बन्द कोठाभित्र उमारिएका बिरुवालाई बूढानीलकण्ठस्थित नर्सरीमा केही दिन परीक्षणका लागि राख्ने र प्राकृतिक वातावरणमा हुर्किन सक्छन् भन्ने यकिन भएपछि विभिन्न जिल्लामा पठाउने गरिएको छ ।

नेपालमा अनुसन्धान नै नभएको होइन, त्यसलाई कार्यान्वयन गर्ने र परिणाममा रूपान्तरण गर्ने प्रणालीमा कमी छ । यसलाई व्यवस्थित गर्नुपर्छ । यद्यपि वनस्पति पढेकाहरू अध्यापन, अनुसन्धान लगायतका काममा आबद्ध छन् ।

उपासना दुई दशकभन्दा बढीदेखि पत्रकारित गरिरहेकी घिमिरे कान्तिपुरको नारी मासिककी सम्पादक हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
15h ago
नेपालमै ड्रोन, इलेक्ट्रोनिक्स र बायोमेडिकल अनुसन्धान केन्द्र खोल्दै सरकार

नेपालमै ड्रोन, इलेक्ट्रोनिक्स र बायोमेडिकल अनुसन्धान केन्द्र खोल्दै सरकार

काठमाडौँ । सरकारले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तनको क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्राविधिक क्षेत्रमा विशिष्टीकृत अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना गर्न अवधारणाप...

#अनुसन्धान #नेपालमै
Compare →

Related Stories

Business & Economy
Build #2612