Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुद : सुरु भयो खेलकुदको ‘महाकुम्भ’, विभागीय टोलीको विजयी सुरुवात

Ekantipur •
November 24, 2026 • 04:03 PM
30
30 reads 0 reactions

उद्घाटन हुन आठ दिन बाँकी छँदै पाँच खेल सुरु भएका छन् । पुरुष फुटबल, महिला क्रिकेट र बास्केटबलमा विभागीय टोलीले पहिलो दिन जित निकालेका छन् ।

दसौं राष्ट्रिय खेलकुद : सुरु भयो खेलकुदको ‘महाकुम्भ’, विभागीय टोलीको विजयी सुरुवात

उद्घाटन हुन आठ दिन बाँकी छँदै पाँच खेल सुरु भएका छन् । पुरुष फुटबल, महिला क्रिकेट र बास्केटबलमा विभागीय टोलीले पहिलो दिन जित निकालेका छन् ।

उद्घाटन हुन ८ दिन बाँकी रहँदै दसौं राष्ट्रिय खेलकुदका पाँच खेल सुरु भएका छन् । मंगलबारदेखि सुर्खेतमा पुरुष फुटबल, महिला क्रिकेट र महिला बास्केटबल प्रतियोगिता सुरु भएका हुन् भने बर्दियामा टेनिस र बाँकेमा पौडीका स्पर्धा थालिएका छन् ।

मंगलबार भएका प्रतिस्पर्धामा विभागीय टोलीले विजयी सुरुवात गरेका छन् । मंगलबार पुरुष फुटबलका दुई खेल भए । जसमा पहिलो खेलमा कर्णाली प्रदेशलाई हराउँदै नेपाल पुलिस क्लबले र दोस्रो खेलमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा पुलिसले २–० को अग्रता कायम राख्दै घरेलु प्रदेश कर्णालीलाई हराएको हो । त्यस्तै, सुदूरपश्चिमलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै मधेश प्रदेशले विजयी सुरुवात गरेको छ । मधेश प्रदेशका लागि विकास दर्लामीले खेलको ५६ औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो । खेल ढिलो गरी सुरु भएका कारण निर्धारित समयभन्दा अवधि घटाइएको थियो । मधेश र सुदूरपश्चिमको खेल ३५–३५ मिनेटमा झारिएको थियो । बुधबार पहिलो खेल त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबीच हुनेछ भने दोस्रो खेलमा कोशी र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुने आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।

महिला क्रिकेटमा सशस्त्र प्रहरी र त्रिभुवन आर्मीको विजयी सुरुवात

मंगलबार भएको महिला क्रिकेटमा दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । राष्ट्रिय खेलाडीको बाहुल्यता रहेका दुवै टोलीले पहिलो खेलमै शानदार प्रदर्शन गरेका छन् ।

वीरेन्द्रनगरस्थित प्रदेश रंगशालानजिकैको क्रिकेट मैदानमा समूह ‘बी’मा रहेको एपीएफले लुम्बिनी प्रदेशलाई १५८ रनको फराकिलो अन्तरले हराएको छ । १९८ रनको विशाल लक्ष्य पाएको लुम्बिनी १५ ओभर चार बलमा ३९ रनमै समेटिन पुग्यो । लुम्बिनीका श्रुति बुढाथोकीले सर्वाधिक १५ रन बनाउनु बाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीलाई धराशायी पार्ने क्रममा एपीएफका करुणा भण्डारीले तीन तथा बिनु बुढामगर र जाति ऐरीले समान दुई/दुई विकेट लिए । पहिले ब्याटिङ गरेको एपीएफले कप्तान सीता रानामगरसहित तीन खेलाडीको अर्धशतकीय पारीको मद्दतमा निर्धारित २० ओभरमा मात्र एक विकेट गुमाएर १९७ रनको विशाल योगफल तयार पारेको हो ।

सीताले ४२ बलमा एक छक्का र ९ चौकासहित ६६ रन बनाउँदा इन्दु वर्माले २७ बलमा १२ चौकासहित अविजित ५८ रनको आक्रामक पारी खेलेकी थिइन् । यसैगरी रेवती धामीले पनि ५३ बलमा अविजित ५५ रनको अर्धशतकीय पारी खेलेकी थिइन् ।

यसैगरी समूह ‘ए’मा रहेको विभागीय टोली आर्मी क्लबले कोशी प्रदेशलाई ६ विकेटले हराउँदै शानदार सुरुवात गरेको हो ।

कोशी प्रदेशले दिएको ६६ रनको सामान्य लक्ष्य आर्मी क्लबले १३ दशमलव एक ओभरमा मात्र चार विकेट गुमाएर पूरा गरेको हो । आर्मीका लागि बिन्दु रावलले २१ र रूवि पोदारले १८ रन बनाइन् भने कविता कुँवर १२ रनमा अविजित रहिन् । कोशीकी रुविना क्षेत्रीले चार ओभरमा १२ रन मात्र दिएर तीन विकेट लिए पनि हार टार्न सकिनन् ।

कोशीकी रुबिना क्षेत्रीले ३६ बलमा एक छक्का र पाँच चौकासहित ३६ रन बनाए पनि अरूले दोहोरो अंकमा रन जोड्न नसकेपछि कोशी १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाएर ६५ रनमा समेटिएको हो । कोशीले अतिरिक्त १२ रन पाएको थियो । कोशीलाई सस्तैमा समेट्न आर्मीकी यमुना थारूले चार ओभरमा दुई मेडनसहित मात्र ६ रन दिएर चार विकेट लिएकी थिइन् ।

महिला क्रिकेटमा सहभागी ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको दोस्रो दिन बुधबार दुईवटा खेल हुनेछ । बुधबार बिहान साढे ९ बजे हुने खेलमा बागमती र सुदूरपश्चिम तथा दिउँसो हुने खेलमा कर्णाली र कोशी प्रदेश भिड्दै छन् ।

महिला बास्केटबलतर्फ एपीएफ, सुदूरपश्चिम, त्रिभुवन आर्मी र बागमती अगाडि

वीरेन्द्रनगरस्थित मुख्य रंगशालाको बास्केटबल कोर्टमा मंगलबार सुरु भएका महिला बास्केटबलतर्फका चार खेलमा एपीएफ, सुदूरपश्चिम, त्रिभुवन आर्मी र बागमतीले विजयी सुरुवात गरेका छन् । फुल–कोर्ट (५–५) महिला बास्केटबलतर्फ सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाल पुलिस क्लबलाई ५२–१० को फराकिलो अन्तरमा पराजित गरेको छ ।

यस्तै, पहिलो चरणको फुल–कोर्ट (५–५) महिला बास्केटबलतर्फ सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच खेल भएको थियो । उक्त खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ३६–३३ को अन्तरले पराजित गर्‍यो । यस्तै, मंगलबार नै भएको थ्री–अन–थ्री (३–३) विधाको पहिलो चरणको खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा भएको थियो । सो खेलमा आर्मीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १७–१२ को अन्तरले पराजित गरेको छ । थ्री–अन–थ्री (३–३) विधाको अर्को खेल बागमती प्रदेश र कर्णाली प्रदेशबीच भएको थियो । उक्त खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशलाई ९–६ को अन्तरले पराजित गरेको छ । मंगलबार पहिलो दिन चारवटा खेल सम्पन्न भएको राष्ट्रिय बास्केटबलका सिनियर रेफ्री राजेश महर्जनले बताए ।

राखेपका अनुसार प्रतियोगिता मंसिर १६ गते उद्घाटन हुनेछ भने त्यसअघि नै ९ वटा खेल सम्पन्न हुनेछन् । दसौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुनेछन् भने टेनिस र खोखो बर्दियामा, सल्यानमा जुडो र कुस्ती, रुकुम पश्चिममा शारीरिक सुगठन, दैलेखमा आईटीएफ तेक्वान्दो, कालीकोटमा बुद्धिचाल तथा नेपालगन्जमा पौडी र सुटिङका प्रतियोगिता हुनेछन् । राष्ट्रिय खेलकुदको समापन मंसिर २७ मा हुने तय भएको छ ।

कृष्णप्रसाद गाैतम कान्तिपुरकाे सुर्खेत संवाददाता हुन् । उनी सुर्खेतमा बसेर कर्णाली प्रदेशका सामाजिक र राजनीतिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
दशौं राष्ट्रिय खेलकुद: पुरुष फुटबलमा मधेशको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद: पुरुष फुटबलमा मधेशको विजयी सुरुवात

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पुरुष फुटबलतर्फको दोस्रो खेलमा मधेश प्रदेश विजयी भएको छ ।

#पुरुष #खेलकुद #विजयी
Compare →
Hamro Patro News
7h ago
दसौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा, एक्सट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक

दसौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा, एक्सट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक

दसौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा, एक्सट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक कान्तिपुर म्याक्स र राष्ट्रिय खेलकुद परिषद्बीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको हो । यस...

#खेलकुद #दसौं
Compare →

Related Stories

Sports
Build #2635