बेलिब्रिज राख्ने फाउण्डेसन बनेको १० दिन बितिसक्दा पनि पुल राखिएन । पुल राखिदिन संघ, प्रदेश सरकार र स्थानीय तहमा विस्थापितको हारगुहार तर कसैले नसुनेको आरोप छ ।
काठमाडौँ — विनाशकारी भोटेकोशी बाढी गएको मंगलबार ९० दिन पूरा भएको छ । तर यत्तिका समय बितिसक्दा पनि न त विस्थापितको पुनर्वासको टुंगो लागेको छ न त त्रिशूली नदीमाथि बेलिब्रिज नै जडान भएको छ । पुल जडान नहुँदा त्रिशूलीपारिका हजारौं नागरिकको सदरमुकामसँग सम्पर्क टुटेको छ भने घण्टौं हिँडेर सदरमुकामसम्म आवतजावत गर्नुपरेको छ ।
विदुर नगरपालिकाले आफ्नै विकास खर्च कटौती गरेर ढुंगेमा त्रिशूली नदीमाथि बेलिब्रिज राख्न बनाएको फाउन्डेसन निर्माण सम्पन्न गरेको पनि १० दिन पूरा भइसकेको छ । तर पनि पुल राख्ने मिति टुंगो अझै लागेको छैन ।
पुल जडान गरिदिन नगरपालिकाले संघीय सरकारसँग पटक–पटक अनुरोध गर्दा पनि काम नभएपछि मंगलबार पत्र नै लेखेर नेपाली सेनासँग याचना गरेको छ ।
‘हामीले पुल जडान गरिदिन संघीय सरकारलाई अनुरोध गर्यौं, नभएपछि आज नेपाली सेनालाई पनि पत्राचार गरेका छौं,’ विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले भने, ‘हामी आफैं जडान गर्न पनि सक्दैनौं, सक्ने निकायले तदारुकता देखाइदिएनन् । यहाँका जनता निकै कष्टमा छन् ।’
बाढीले त्रिशूली नदीमाथि रहेका सम्पूर्ण पक्की पुलका साथै झोलुंगे पुल बगाएपछि त्रिशूलीपारिका सबै बस्ती सदरमुकामसँग अलग्गिएका छन् । दसैंको अघिल्लो दिन निर्माण व्यवसायी महासंघको लगानी र पहलमा निर्मित ढुंगे र इन्टेक जोड्ने झोलुंगे पुल सञ्चालनमा आएको छ । तर निर्माण पूरा नहुँदै सञ्चालनमा आएको उक्त पुल अधिकांश समय भीडभाड रहने हुँदा अझै निर्माण सम्पन्न हुन सकेको छैन ।
नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूका अनुसार पुलको दुवैतर्फ हल्लिन नदिन आवश्यक केबल तन्काउने, पुलको डेकका केही भाग जडान गर्ने र मोटरसाइकल आवतजावतका लागि र्याम्प निर्माण गर्नेलगायतका बाँकी काम पुलमा पैदल यात्रुहरूको आवतजावत बन्द गरेर पूरा गर्न सकिन्छ ।
‘बिहान सबेरैदेखि राति अबेरसम्म पुलमा मानिसको आवतजावत भइरहने भएकाले बन्द गर्न सम्भव छैन,’ बाढीपछि झोलुंगे पुल निर्माणका लागि पहल गरेका शैलेन्द्रराज प्याकुरेलले भने, ‘बेलिब्रिज जडान नभएसम्म हामी बाँकी काम पूरा गर्न सक्दैनौं ।’
सरकारले बाढीग्रस्त क्षेत्रमा दुईवटा बेलिब्रिज राखेको छ, तर ती कुनै पनि त्रिशूली नदीमाथि राखिएका भने होइनन् । एउटा पुल तादी खोला र अर्को सलाखु खोलामाथि राखिएका हुन् । ती पुलले बाढीबाट सडक सम्पर्क टुटेका त्रिशूलीपारि यातायात सञ्चालनमा सहयोग पुर्याउँदैनन् ।
पुल जडानका लागि सडक विभागसँग अनुरोध गरिएको तर सडक विभागले पुल जडान गर्न लन्चिङ प्लाटफर्म चाहिने र भारतबाटै विज्ञ टोली पनि आउनुपर्ने बताएको श्रेष्ठले सुनाए । लन्चिङ प्लाटफर्म इलाममा रहेको र त्यहाँको काम सकिएपछि मात्र नुवाकोट ल्याउन सक्ने जवाफ सडक विभागले दिएको उनले गुनासो गरे ।
‘इलाममा बन्दै गरेको बेलिब्रिजको काम सक्न अझै समय लाग्ला जस्तो छ,’ उनले भने, ‘त्यतिखेरसम्म कुर्नुपर्यो भने त बर्बादै हुन्छ । यहाँ कुन खालको समस्या छ भन्ने भोग्नेलाई मात्र थाहा छ ।’
विदुर नगरपालिकाका अनुसार नगरपालिकाले विकास खर्चको ३ करोड ७० लाख खर्चेर बेलिब्रिजको फाउन्डेसन तयार गरेको थियो । बाढीपछि नेपालस्थित भारतीय दूतावासको पहलमा भारत सरकारबाट प्राप्त बेलिब्रिज १५ लाख रुपैयाँ खर्च गरेर नगरपालिकाले हेटौंडाबाट ढुवानी गरेको हो ।
बेलिब्रिज सञ्चालनमा ल्याउन सके त्रिशूली बजारलगायत त्रिशूलीपारिका नुवाकोट, धादिङ र रसुवासँगको सडक सञ्चालनमा आउने छ । ‘हाम्रो क्षेत्र त कर्णालीको विकट गाउँभन्दा पनि दुर्गम भएको छ,’ विदुर नगरपालिकामा कार्यरत पारस अधिकारीले भने, ‘एक मात्र झोलुंगे पुलसम्म आइपुग्न पनि ५–६ घण्टा पैदल हिँड्नुपर्ने ठाउँहरू पनि छन् ।’
यसैबीच नेपाली सेनाका सूचना अधिकारी ब्रिगेडियर जनरल राजेन्द्र श्रेष्ठले नगरपालिकाको पत्र प्राप्त भइनसकेको बताए । ‘अहिलेसम्म पत्र पाएका छैनौं,’ उनले भने, ‘पत्र प्राप्त भएपछि तादी र सलाखु खोलामा जस्तै पुल जडानको प्रक्रिया सुरु भइहाल्छ ।’
बाढी गएको ३ महिना भइसक्दा पनि विस्थापितको पुनःस्थापनामा संघीय सरकारले निर्णय नगर्दा बाढीपीडितहरूको छटपटी बढेको छ । लामो समय भइसक्दा पनि सरकारले बाढीपीडितको पुनःस्थापनामा कुनै निर्णय नगरेपछि त्रिशूली बजारका विस्थापितहरूले नजिकै कोलनीमा रहेको नेपाल विद्युत् प्राधिकरणको जग्गा कब्जा गरेका थिए । विस्थापितले जग्गा कब्जा गरेपछि प्राधिकरणले उनीहरूको बस्तीमा विद्युत् लाइन काटिदिएको छ ।
करिब २५० को हाराहारीमा रहेका स्थानीयले १ मंसिरमा आफ्नै खर्चमा डोजर लगाएर प्राधिकरणको जग्गा सम्याउनुका साथै केही थान टेन्ट पनि टाँगेका थिए । त्यही दिन साँझबाट प्राधिकरणले बिजुली काटिदिएपछि विस्थापितहरू अन्धकारमा बस्न बाध्य भएका छन् ।
‘हाम्रो शिविरमा न त बिजुली छ, न पानी नै,’ त्रिशूली बजारका नवीन्द्र प्रधानले भने, ‘आफ्नो जग्गामा बसेको भनेर त्यही साँझ नै बत्ती काटिदियो । हाम्रो बस्तीको मात्रै होइन, सडकको र नयाँ बनेको पुलको समेत बत्ती काटिदिएको थियो ।’
पछि स्थानीयको विरोध र विदुर नगरपालिकाको अनुरोधमा प्राधिकरणले निर्माण व्यवसायी महासंघले बनाएको पुल र सडकको बत्ती जोडिदिएको थियो । उक्त पुल त्रिशूलीपारिका विदुर नगरपालिकाका दर्जनौं बस्ती, किस्पाङ गाउँपालिका, धादिङ र रसुवाका स्थानीयको समेत आवतजावत गर्ने एक मात्र माध्यम बनेको छ ।
पुलमा दिउँसो मात्र होइन, राति पनि मानिसहरू आवतजावत गर्ने गर्छन् । त्रिशूली अस्पताल पुग्न र अस्पतालमा उपचार हुन नसकी काठमाडौं रिफर भएका बिरामीले समेत प्रयोग गर्नुपर्ने उक्त पुलमा बत्ती काटिदिएर न्यूनतम मानवीयता पनि नदेखाएको भन्दै स्थानीय प्राधिकरणसँग आक्रोशित बनेका थिए ।
प्राधिकरणले बत्ती काटिदिए पनि विस्थापितहरू पालो गरेर टेन्टमा बस्दै आएका छन् । ‘पानी पनि छैन, न शौचालयको व्यवस्था छ, न बत्ती नै दिएको छ,’ उनले भने, ‘परिवार नै लिएर बस्न सक्ने अवस्था त छैन, तैपनि पालो गरेर दैनिक ३० जनाजति त्यहीँ सुत्दै आएका छौं ।’
विद्युत् प्राधिकरणले भने उनीहरूलाई लक्षित गरेर बत्ती नकाटिएको दाबी गरेको छ । ‘निर्णय गरेर काटिएको होइन । विद्युत् प्रवाहमा समस्या आएपछि १–२ दिन बत्ती नभएको हो,’ प्राधिकरण नुवाकोट शाखाका सबइन्जिनियर सुशान्त पौडेलले कान्तिपुरसँग भने, ‘सडकको बत्ती जोडिसकिएको छ । पीडित बसेको बस्तीमा बत्ती दिने निर्णय कार्यालय प्रमुख चीन भ्रमणबाट आएपछि गर्छौं ।’
भोटेकोशी बाढी गएको ३ महिना भइसक्दा पनि विस्थापितको पुनःस्थापनामा सरकारले ठोस पहल गर्न नसकेको स्थानीयले गुनासो गरेका छन् । पीडितले जग्गा कब्जा गरेपछि संघीय सरकारका मन्त्री र प्रतिनिधिहरू भेट्न पुगेको तर यसो गर्दै छौं भन्नेसम्म पनि बताउन नसकेको उनीहरूको गुनासो छ ।
‘आउन त यहाँ धेरै आए, अझै पनि आइरहेका छन्,’ भोटेकोशी बाढीबाट विस्थापित त्रिशूली बजारका नारायण श्रेष्ठले भने, ‘तर के गर्नु, फोटो खिचाउन मात्रै आएका छन्, हाम्रो समस्यालाई अझैसम्म गम्भीर रूपमा लिएको पाइँदैन ।’
प्राधिकरणको उक्त जग्गा स्थानीय सरकारले विस्थापितहरूको पुनःस्थापनाका लागि संघीय सरकारलाई सिफारिस गरेको स्थान हो । संघीय सरकारले समयमै पुनःस्थापनाका लागि निर्णय नगर्दा बाढीपीडित र विस्थापितमा बेचैनी बढेको छ ।
सोमबार विदुर नगरपालिकाको पहलमा नुवाकोट र रसुवाका बाढीपीडितले बागमती प्रदेशका मुख्यमन्त्रीका साथै पूर्वमुख्यमन्त्रीहरू, निवर्तमान मन्त्री र सभासदहरूसँग काठमाडौंमा छलफलसमेत गरेका थिए । छलफलमा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका, किस्पाङ गाउँपालिकाका साथै रसुवाका प्रभावित गाउँपालिकाका प्रतिनिधि र बाढीपीडित सरोकार समितिका प्रतिनिधिको सहभागिता थियो । छलफलमा प्रदेश सरकारका प्रतिनिधिले बाढीग्रस्त क्षेत्रमा लगानी गर्न विकास बजेटबाट कटौती गरेर बजेट छुट्याएको तर संघ सरकारले के गर्ने भन्ने निर्णय नगर्दा लगानी गर्न नसकेको बताएका थिए ।
सरकारले अहिलेसम्म भोटेकोशी बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गरेको छैन भने मृतकको शवसमेत परिवारलाई हस्तान्तरण गरेको छैन । शव हस्तान्तरण नगर्दा मृतकका आफन्तले अन्तिम संस्कारसमेत गर्न पाएका छैनन् भने सरकारबाट राहतस्वरूप किरिया खर्च पनि पाउन सकेका छैनन् । विस्थापितलाई दिने भनिएको कोठाभाडाबापत मासिक १५ हजार रुपैयाँसमेत अहिलेसम्म कसैले पाएका छैनन् ।
‘पुनःस्थापना त परै जाओस्, अहिलेसम्म मृतक आफन्तको किरिया खर्चसमेत दिएको छैन,’ श्रेष्ठले भने, ‘कोठाभाडा दिन्छु भनेर पनि दिएको छैन । भएको सबै बगिहाल्यो । जाने ठाउँ कतै भएन । यस्तो गर्नु हाम्रो बाध्यता हो ।’ राष्ट्रिय विपद्
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीमा परी १ हजार ४५० भन्दा बढीको मृत्यु भएको छ भने ५ हजार २८५ बेपत्ता छन् ।
अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।