हुआङले आगामी डिसेम्बर १ मा अमेरिकी तल्लो सदन (हाउस) का तीनवटा समितिसमक्ष बन्द कोठामा हुने सुनुवाइमा आफ्नो स्पष्टीकरण दिनुपर्नेछ
काठमाडौँ — सोमबार अमेरिकी चिप निर्माता कम्पनी एनभिडियामा जेन्सेन हुआङको अप्रत्याशित पुनरागमनले कम्पनीसँगै समग्र सेयर बजार र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रलाई केही स्थिर बनाएको देखिएको छ । यद्यपि, उनीमाथि लागेको प्रकरणको दीर्घकालीन असरबारे भने अझै विभिन्न प्रश्नहरू कायमै छन् ।
के एनभिडियाले पूर्ण रूपमा सफाइ पाएको हो ?
चीनले चलाएको जासुसी अभियानको निशानामा हुआङ परेको हुन सक्ने आशङ्कामा एनभिडियाले आन्तरिक छानबिन गरिरहेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पलगायत अमेरिकी सरकारी अधिकारीहरूले कम्पनीका सह–संस्थापक हुआङलाई पुनर्बहाली गर्दा ‘कुनै पनि राष्ट्रिय सुरक्षा जोखिम नहुने’ आश्वासन एनभिडियाको सञ्चालक समितिलाई दिएका थिए ।
यसैबीच, अमेरिकी न्याय मन्त्रालयले सिङ्गापुरस्थित 'मेगास्पिड' नामक कम्पनीमाथि समानान्तर अनुसन्धान गरिरहेको छ । उक्त कम्पनीमाथि एनभिडियाबाट प्रोसेसरहरू खरिद गरी अमेरिकी निर्यात प्रतिबन्धको उल्लङ्घन गर्दै चिनियाँ ग्राहकहरूलाई पठाएको आरोप छ ।
त्यस्तै, अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले पनि एनभिडियाको लेखा प्रणाली र सेयरधनीहरूलाई भ्रममा पार्ने किसिमका सम्भावित सूचना प्रवाहबारे अनुसन्धान सुरु गरेको बताइएको छ ।
यद्यपि, ट्रम्प प्रशासनले सामान्यतया आफ्ना सहयोगीहरूमाथि कारबाही नगर्ने नीति लिएकाले सङ्घीय निकायका यस्ता छानबिनबाट खासै ठूलो नतिजा निस्कन नसक्ने कोलम्बिया विश्वविद्यालयका प्राध्यापक एरिक ट्यालीले बताएका छन् ।
विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुआङले आगामी डिसेम्बर १ मा अमेरिकी तल्लो सदन (हाउस) का तीनवटा समितिसमक्ष बन्द कोठामा हुने सुनुवाइमा आफ्नो स्पष्टीकरण दिनुपर्नेछ ।
यसैगरी, उनले डिसेम्बर ३ मा सिनेट समितिसमक्ष प्रत्यक्ष प्रसारण गरिने सुनुवाइमा पनि बयान दिनेछन् । उता, क्यालिफोर्नियाका महान्यायाधिवक्ताले समेत कम्पनीको चिप निर्यात र सेयरधनीलाई दिइएका विवरणहरूमाथि छुट्टै अनुसन्धान सुरु गरेका छन् ।
ट्रम्प प्रशासनको निर्णयविरुद्ध उभिन र कडा प्रश्न सोध्न तयार रहने नियामक निकायका अधिकारीहरू अझै प्रशस्त रहेको प्राध्यापक ट्यालीको भनाइ छ ।
त्यस्तै, कुनै पनि व्यक्ति वा घटना ट्रम्पको स्वभाव र प्रतिक्रिया एकाएक फेरिन पनि सक्छ । 'उहाँ मानिसहरूसँग टाढिन सक्नुहुन्छ । यदि जेन्सेन हुआङसँग पनि त्यस्तै भयो भने ट्रम्प प्रशासनको रवैया ठ्याक्कै उल्टिन सक्ने सम्भावना म देख्छु,' ट्यालीले भने ।
सञ्चालक समितिको भविष्य कस्तो देखिन्छ ?
हुआङको पुनरागमनको खुलेरै विरोध गरे पनि अन्ततः उनलाई नै पुनर्बहाली गरेको एनभिडियाको सञ्चालक समिति अहिले निकै संवेदनशील मोडमा उभिएको छ । गोल्डम्यान स्याक्सका पूर्वप्रमुख लोयड ब्ल्याङ्कफिनले समितिका दिनहरू गन्ती हुन थालेको भविष्यवाणी गरेका छन् ।
सेयरधनीहरूले हुआङको पुनर्बहालीलाई लिएर विद्रोह गरेमा सन् २०२७ सम्ममा सञ्चालक समितिको स्वरूप नै फेरिन सक्छ । किनकि कम्पनीका सबै निर्देशकहरू प्रत्येक वर्ष पुनर्नियुक्तिको प्रक्रियामा जानुपर्ने हुन्छ ।
त्यस्तै उनीहरुको अधिकार पनि कटौती हुनसक्छ । त्यस्तो हुँदा हुआङको अधिकारमा पनि कसिलो लगाम लाग्नसक्छ ।
यो प्रकरणले हुआङ र एनभिडियामा कस्तो असर पार्नेछ ?
'दुई साताअघिको जस्तो अवस्था अब रहेन,' एआई अनुसन्धाता तथा विश्लेषक ग्यारी मार्कसले सामाजिक सञ्जाल 'एक्स' मा लेखेका छन् । 'एनभिडिया अझै पनि आफ्नो उच्चतम बिन्दुबाट एक तिहाइले तल झरेको छ र पत्रकारहरूले यसबारे अझ गहिरिएर खोतल्न थालेका छन् ।'
हुआङको राजीनामापछि प्रकाशित समाचारहरूले उनको हँसिलो र उदार नेताको छविलाई धमिल्याउँदै लगेका छन् । बरु, ती समाचारहरूले उनलाई एक कठिन हाकिमका रूपमा चित्रण गर्नुका साथै मौखिक दुर्व्यवहारका आरोपहरूसमेत बाहिर ल्याएका छन् ।
सञ्चालक समितिको यो निर्णयले 'ठूला प्रविधि क्षेत्रका हस्तीहरूले अरू सर्वसाधारणले जस्तो नियम कानुन मान्नुपर्दैन भन्ने धारणालाई झनै बल पुऱ्याएको' जे. गोल्ड एसोसिएट्सका विश्लेषक ज्याक गोल्डले बताए ।
के हुआङको पुनरागमनले बजारलाई स्थिर बनाउनेछ ?
सोमबारदेखि नै सुरु भएको एआई सेयरहरूको वृद्धिसँगै वाल स्ट्रिटमा अल्पकालीन सुधार आउने अपेक्षा विश्लेषकहरूले गरेका छन् । विगत दुई वर्षदेखि एआई क्षेत्रका सेयरहरूले बजारलाई उकास्दै आएका छन् ।
तर, 'एआई आपूर्ति शृङ्खलाका कम्पनीहरूले बलियो माग रहेको विवरण दिइरहे पनि वित्तीय व्यवस्थापन, भूराजनीति, दिगोपना र शङ्का–उपशङ्काबारे अझै धेरै हल्लाखल्ला बाँकी नै रहेको' ग्याबेली फन्ड्सका पोर्टफोलियो व्यवस्थापक हेन्डी सुसान्तोले बताए ।