वीरेन्द्रनगर रंगशालामा आर्मीले कोशीलाई ६५ रनमा अलआउट गर्दै १३.१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो।
सुर्खेत — दसाैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब विजयी भएको छ। वीरेन्द्रनगर रंगशालामा सोमबार भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो।
टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले कोशीलाई ६५ रनमै अलआउट गरेको थियो। कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन्। ३६ बलको सामना गरेकी उनले एक छक्का र पाँच चौका प्रहार गरिन्। रुविना महलाले पाँच र सृजनाकुमारी राजवंशीले चार रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
कोशीलाई कम योगफलमा रोक्ने क्रममा आर्मीकी यमुना थारुले चार विकेट लिइन्। चार ओभर बलिङ गरेकी उनले दुई ओभर मेडन राख्दै ६ रन खर्चिइन्। मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, ईश्वरी विष्ट, लक्ष्मी साउँद र संगीता गुरुङले एक–एक विकेट लिए।
६६ रनको लक्ष्य पछ्याएको आर्मीले १३.१ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो। आर्मीकी ओपनर विन्दु रावलले सर्वाधिक २१ रन बनाइन्। २८ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। रुबी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रनको योगदान दिइन्।
कोशीकी कप्तान रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन्। चार विकेट लिनुका साथै बलिङमा किफायती प्रदर्शन गरेकी आर्मीकी यमुना थारु प्लेयर अफ द म्याच घोषित भइन्।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।