खनमडा, छचोडा, दुमडा र जिलोडाका बासिन्दाले चौलो तथा बाजागाजासहित पूजा गरेपछि सुरु भएको मेलाले धार्मिक आस्था र स्थानीय परम्परा जोडेको छ।
डडेल्धुरा — सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा परम्परागत देहीजाँत मेला सुरु भएको छ। अमरगढी नगरपालिका–८ स्थित मन्दिरमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा लाग्ने मेलामा मंगलबार (आज) बिहानैदेखि भक्तजनको चहलपहल बढेको छ ।
स्थानीय भाषामा देहीजाँत भनिने मेलामा सोमबार राति रतेडी र मंगलबार दिउँसो दिउँसेडी मेला लागेको छ। यहाँका खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा चौलो र बाजागाजासहित मन्दिरमा पुगेर पूजा गरेपछि मेलाको मुख्य गतिविधि सुरु हुने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए ।
चारै गाउँबाट बाजागाजासहित मन्दिर ल्याइने गाँज (चौलोसँग रहेको विशेष सामग्री) साँझ गाउँ फर्किएपछि मेला सम्पन्न हुने उनले जानकारी दिए। परम्परागत धार्मिक विधि र स्थानीय संस्कृतिसँग जोडिएको देहीजाँतमा सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत भक्तजन तथा व्यापारी आउने गरेका छन् ।
धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको उग्रतारामा लाग्ने यो मेला स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि महत्त्वपूर्ण मानिन्छ। मेलामा स्थानीय किसान तथा व्यवसायीले गाउँमा उत्पादित कृषि उपज र अन्य सामग्री बिक्रीका लागि ल्याउने गरेका छन्।
मेलामा दर्शन तथा पूजाआजाका लागि आउने भक्तजनसँगै स्थानीय उत्पादनको किनबेचले पनि मेला क्षेत्रलाई थप चहलपहलपूर्ण बनाउने गरेको छ ।