Trending
Prev Story
Next Story

विभेद मेटाउँदै वीरगन्जको सात दशक पुरानो ‘लंगर’ परम्परा

Ekantipur •
November 23, 2026 • 11:03 AM
4
4 reads 0 reactions

वीरगन्जको पावरहाउस चोकस्थित गुरुद्वारा साहेबमा सिख, हिन्दू, मुस्लिमलगायत समुदायका मानिस एउटै पंक्तिमा बसेर भोजन गर्छन्।

विभेद मेटाउँदै वीरगन्जको सात दशक पुरानो ‘लंगर’ परम्परा

वीरगन्जको पावरहाउस चोकस्थित गुरुद्वारा साहेबमा सिख, हिन्दू, मुस्लिमलगायत समुदायका मानिस एउटै पंक्तिमा बसेर भोजन गर्छन्।

पर्सा — वीरगन्जको पावरहाउस चोकस्थित गुरुद्वारा साहेबमा जात, धर्म र समुदायको कुनै भेदभाव छैन। एउटै पंक्तिमा बसेर सबैले भोजन गर्छन्। भोजन पस्कनेदेखि भाँडाकुँडा सफा गर्नेसम्मका काममा पनि सबैले हातेमालो गर्छन्। समानता, सेवा र मानवताको सन्देश बोकेको ‘लंगर’ परम्परा वीरगन्जमा झन्डै सात दशकदेखि निरन्तर चलिरहेको छ।

जात, धर्म र समुदायको कुनै विभेद नगरी एउटै पंक्तिमा बसेर भोजन गर्ने ‘लंगर प्रसाद’ सिख धर्मको विशिष्ट पहिचान हो। समानता, सेवा र मानवताको सन्देश बोकेको यही परम्परा वीरगन्जमा झन्डै सात दशकदेखि निरन्तर चलिरहेको छ। गुरु नानक देवजीको जयन्तीका अवसरमा वीरगन्जको पावरहाउस चोकस्थित गुरुद्वारा साहेबमा अहिले दैनिक सयौं मानिसले लंगर प्रसाद ग्रहण गरिरहेका छन्।

विश्वभर सिख समुदायको जनसंख्या करिब ३ करोड मात्र रहे पनि ६० हजार गुरुद्वारामा दैनिक ६० लाख मानिसले लंगर खाने गरेको सिख समुदायका अगुवा जसपाल सिंहको अनुमान छ। यसको सुरुवात करिब ५ सय ४० वर्षअघि गुरु नानक देवजीबाट भएको मानिन्छ। पिता कल्याण दास मेहताले व्यापार गर्न भनी दिएको रकमबाट नानकले भोका साधुसन्तलाई भण्डारा खुवाएर रित्तो हात फर्किएपछि पिताबाट थप्पडसमेत खानुपरेको थियो। त्यही परोपकारी कार्यबाट सुरु भएको लंगर परम्परा विश्वभर लामो समयदेखि नियमित रूपमा चल्दै आएको उनले बताए।

सिंहका अनुसार गुरु नानक पर्वको अवसरमा आइतबारदेखि सुरु भएको विशेष लंगर मंगलबार पर्वको मुख्य दिनसम्म चल्नेछ। यसमा दैनिक करिब ३ सय जना सहभागी भइरहेका छन्। सामान्य दिनमा भने साताको एक दिन शनिबार मात्र लंगर चल्छ। त्यसमा १ सयदेखि १ सय ५० जनासम्मले प्रसाद ग्रहण गर्छन्। लंगरमा सिख मात्र नभई हिन्दू, मुस्लिम, जैन, बौद्ध, सिन्धीलगायत सबै समुदायका मानिस एउटै स्थानमा बसेर भोजन गर्छन्। भोजन पस्कनेदेखि भाँडाकुँडा सफा गर्नेसम्मका काममा सबै समुदायका मानिसले सेवाभावका साथ हातेमालो गर्छन्।

गुरुद्वारामा आबद्ध सिख समुदायको सामूहिक कोषबाट लंगरको खर्च व्यवस्थापन हुँदै आए पनि यसमा गैरसिख समुदायको समेत उत्तिकै सहयोग छ। कतिपयले भाकल पूरा भएपछि लंगरको खर्चसमेत बेहोर्ने गरेका छन्। सामाजिक अभियन्ता प्रकाश थारु गैरसिख समुदायले समेत लंगर व्यवस्थापनमा योगदान गर्नुले धार्मिक सद्भाव, सहिष्णुता र सामाजिक एकतालाई थप बलियो बनाएको बताउँछन्। 'सिख धर्मका संस्थापक गुरु नानक देवजीले अघि सार्नुभएको ‘किरत करो, नाम जपो र वंड छको’ अर्थात् इमानदारीपूर्वक श्रम गर, ईश्वरको स्मरण गर र कमाएको अरूसँग बाँडेर खाऊ भन्ने मूल दर्शनको व्यावहारिक रूप नै लंगर हो,' जसपालले भने ।

वीरगन्जमा यो परम्पराको इतिहास पनि रोचक छ। जसपाल सिंहका अनुसार करिब ७० वर्षअघि बाराको अमलेखगन्जमा नेपाल रेल्वेको स्टेसन स्थापना भई व्यापार फस्टाएको समयमा त्यहाँको सिख समुदायले गुरुद्वारा स्थापना गरेको थियो। पछि अमलेखगन्ज रेल्वे स्टेसन बन्द भएपछि गुरुद्वारा वीरगन्ज सारियो। सुरुमा वीरगन्जको मीनाबजारस्थित भाडाको घरमा र त्यसपछि जिएचपी स्कुल परिसरमा सञ्चालन भएको गुरुद्वारा अहिले पावरहाउस चोकस्थित आफ्नै भवनमा छ। स्थान फेरिए पनि जातीय र धार्मिक विभेदविरुद्ध मानवता र समानताको सन्देश दिने लंगर परम्परा भने निरन्तर चलिरहेको उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2d ago
वीरगन्जमा एक महिनामा बरामद भयो ७० लाखको सामग्री

वीरगन्जमा एक महिनामा बरामद भयो ७० लाखको सामग्री

वीरगन्ज – प्रहरीले कात्तिक महिनामा ७० लाख ७० हजार रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। भन्सार छली तथा राजस्व चुहावट नियन्त्रणका क्रममा उक्त सामान बरामद गरिएको हो।

#वीरगन्ज
Compare →
Bizshala
4d ago
वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

वीरगन्ज भन्सार द्वारा कार्तिकमा लक्ष्यभन्दा १५ करोड बढी राजस्व संकलन

काठमाण्डौ । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिकमा १७ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ।...

#वीरगन्ज
Compare →

Related Stories

World News
Build #2612