Trending
Prev Story
Next Story

प्रधानमन्त्रीको भारत भ्रमण: आशा, अपेक्षा र चुनौती

Nagarik News •
November 23, 2026 • 04:28 AM
5
5 reads 0 reactions

नेपाल र भारतबिच भौगोलिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहिआएको छ।

प्रधानमन्त्रीको भारत भ्रमण: आशा, अपेक्षा र चुनौती

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) यतिबेला भारतको राजकीय भ्रमणमा हुनुहुन्छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भएको यस भ्रमणलाई नेपाल र भारत दुवै देशले विशेष महत्त्वसाथ हेरिरहेका छन्। प्रधानमन्त्री बनेपछि उहाँको यो पहिलो औपचारिक भारत भ्रमण हो। त्यसैले यस भ्रमणले दुई देशबिचको सम्बन्धलाई कुन दिशातर्फ लैजानेछ भन्ने चासो नेपाली जनतामा स्वाभाविक रूपमा बढेको छ।

नेपाल र भारतबिच भौगोलिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध रहिआएको छ। खुला सिमाना, पारिवारिक सम्बन्ध, व्यापार, रोजगारी, शिक्षा र पर्यटनले दुई देशका जनतालाई नजिक बनाएको छ तर निकट सम्बन्ध हुँदाहुँदै पनि नेपालले लामो समयदेखि भोग्दै आएका सीमा विवाद, व्यापार असन्तुलन, पारवहन समस्या र विकास आयोजनामा भएको ढिलासुस्तीले आपसी सम्बन्धमा बेलाबेलामा अविश्वास तथा शंकाका बादल मडारिने गरेका छन्।

प्रधानमन्त्री बालेन्द्रको भारत भ्रमण केवल औपचारिक भेटघाट र कूटनीतिक शिष्टाचारमा सीमित हुनु हुँदैन। नेपाली जनताले यसबाट राष्ट्रिय हितको संरक्षण, आर्थिक विकास र आपसी सम्बन्धमा नयाँ विश्वासको ठुलो अपेक्षा गरेका छन्।

नेपाल र भारतबिच लामो समयदेखि कायम रहेको सीमा विवाद नेपाली जनताको प्रमुख चासोको विषय हो। विशेषगरी कालापानी, लिपुलेक र लिम्पियाधुरा तथा सुस्ता क्षेत्रको समस्या अझै समाधान हुन सकेको छैन।

नेपालले आफ्नो राजनीतिक तथा प्रशासनिक नक्सामा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिसकेको छ तर ती क्षेत्रको विवाद कूटनीतिक वार्ताबाट समाधान हुन सकेको छैन। नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतासँग जोडिएको यो विषयलाई प्रधानमन्त्रीले आफ्ना भारतीय समकक्षीसँग गम्भीरतापूर्वक उठाउनुपर्ने जनअपेक्षा छ।

सीमा विवाद उठाउनु भनेको भारतसँगको सम्बन्ध बिगार्नु होइन। बरु मित्रराष्ट्रबिच रहेका समस्यालाई संवाद, प्रमाण र अन्तर्राष्ट्रिय कानुनका आधारमा दीर्घ रूपमा समाधान गर्नु हो। असल छिमेकी सम्बन्धको आधार नै एकअर्काको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानको सम्मान पनि हो। मौजुदा सीमा समस्यालाई बेवास्ता गरेर गरिने मित्रताको चर्चा दिगो र दरिलो हुन सक्दैन।

नेपालको भारतसँगको व्यापार सम्बन्ध अत्यन्त महत्त्वपूर्ण छ। भारत नेपालको सबैभन्दा ठुलो व्यापारिक साझेदारमध्ये एक हो तर दुई देशबिचको व्यापारमा नेपालले ठुलो घाटा बेहोर्दै आएको छ।

नेपालबाट भारततर्फ निर्यात हुने वस्तुको तुलनामा भारतबाट आयात हुने वस्तुको परिमाण निकै ठुलो छ। पेट्रोलियम पदार्थ, खाद्यान्न, औषधि, मेसिनरी तथा दैनिक उपभोग्य वस्तुका लागि नेपाल भारतीय बजारमा निर्भर छ। यस अवस्थालाई परिवर्तन गर्न नेपाली उत्पादनले पनि भारतीय बजारमा सहज प्रवेश पाउनुपर्छ।

कृषि उत्पादन, जडीबुटी, चिया, कफी, अलैंची, हस्तकला, तयारी पोसाक तथा अन्य औद्योगिक उत्पादनको निर्यात बढाउने वातावरण बनाउन आवश्यक छ। नेपाली वस्तु निर्यात गर्दा भन्सार तथा गैरभन्सार अवरोध हटाउने विषयमा प्रधानमन्त्रीले विशेष पहल गर्नुपर्ने देखिन्छ। व्यापार घाटा घटाउने विषय भाषण र प्रतिबद्धतामा मात्र सीमित नराखी समयबद्ध कार्ययोजना बनाउन आवश्यक छ।

नेपाल जलस्रोतमा धनी मुलुक हो। यहाँ उत्पादित विद्युत्को ठुलो बजार भारत हुन सक्छ। भारतसँग विद्युत् व्यापार विस्तार गर्न सके नेपालको अर्थतन्त्रमा उल्लेखनीय परिवर्तन ल्याउन सकिन्छ। नेपालले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् भारत तथा बंगलादेशमा निर्यात गर्न थालेको छ तर विद्युत् निर्यातका लागि बजारको सुनिश्चितता, प्रसारण लाइनको विस्तार र दीर्घकालीन खरिद सम्झौता आवश्यक हुन्छ।

पञ्चेश्वर बहुउद्देश्यीय आयोजना नेपाल र भारत दुवैका लागि महत्त्वपूर्ण परियोजना मानिन्छ। यसबाट विद्युत् उत्पादन, सिँचाइ र बाढी नियन्त्रणमा सहयोग पुग्न सक्छ तर लामो समयदेखि यस आयोजनाको कार्यान्वयन अघि बढ्न नसकेर अन्योलमा परेको देखिन्छ।

त्यसैगरी पश्चिम सेती, माथिल्लो कर्णालीलगायत जलविद्युत् आयोजनाको भविष्यबारे पनि स्पष्टता आवश्यक छ। प्रधानमन्त्रीले जलस्रोतको उपयोग गर्दा नेपालको जल अधिकार, लगानीको प्रतिफल र स्थानीय जनताको हित सुनिश्चित हुने गरी छलफल गर्नुपर्छ। पानी र बिजुलीलाई दुवै देशको समृद्धिको साझा आधार बन्न सक्नुपर्छ।

प्रधानमन्त्रीको भ्रमणमा हवाई सम्पर्क विस्तारको विषय पनि महत्त्वपूर्ण छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि भारतबाट थप हवाई प्रवेश मार्ग प्राप्त गर्नु आवश्यक छ।

नेपालले महेन्द्रनगर र भैरहवा क्षेत्रबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग लामो समयदेखि आग्रह गर्दै आएको छ। यस विषयमा सकारात्मक समझदारी भएका खण्डमा अन्तर्राष्ट्रिय उडान सञ्चालन सहज हुन सक्छ।

विशेषगरी लुम्बिनी आउने विदेशी पर्यटकलाई प्रत्यक्ष हवाई सम्पर्क उपलब्ध गराउन सके नेपालको धार्मिक पर्यटनले नयाँ गति लिन सक्छ। पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर, लुम्बिनी र कैलाश मानसरोवर यात्रासँग सम्बन्धित पर्यटन प्रवर्धनमा पनि दुई देशबिच सहकार्य गर्न सकिन्छ। यसबाट होटल, यातायात, व्यापार र रोजगारीका अवसर बढ्न सक्छन्।

नेपाल र भारतबिचको खुला सीमा दुई देशको सम्बन्धको विशिष्ट पक्ष हो। यसले पारिवारिक, सामाजिक र आर्थिक सम्बन्धलाई सहज बनाएको छ तर पछिल्लो समय यसको दुरुपयोग गरी हुने आपराधिक गतिविधि, मानव बेचबिखन, लागुऔषध ओसारपसार र अवैध कारोबार नियन्त्रण गर्नु ठुलो चुनौतीको विषय बनेको छ।

नेपाल भारतबिचका खुला सीमा बन्द गर्नु नै दिगो समाधान होइन। बरु प्रविधिको प्रयोग, प्रभावकारी सीमा व्यवस्थापन र दुवै देशका सुरक्षा निकायबिच समन्वय आवश्यक देखिन्छ। सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनताको आवतजावत, व्यापार र सामाजिक सम्बन्धमा अनावश्यक कठिनाइ नहुने गरी सुरक्षा प्रबन्ध मिलाउनुपर्छ।

त्यसैगरी सीमावर्ती क्षेत्रमा भारतले निर्माण गर्ने बाँध तथा सडक संरचनाका कारण नेपाली भूभागमा हुने डुबान र बाढीको समस्या समाधान गर्न संयुक्त संयन्त्र निर्माण गर्न आवश्यक देखिएको छ।

नेपाल र भारतबिच सन् १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विभिन्न सम्झौता भएका छन्। समय परिवर्तनसँगै यस्ता सन्धि तथा सम्झौताको पुनरावलोकन र परिमार्जनको आवश्यकता पनि बेलाबखत उठ्दै आएको छ। नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) ले तयार पारेको प्रतिवेदनसमेत लामो समयदेखि कार्यान्वयनको प्रतीक्षामा रहेको छ। यसलाई दुवै देशले गम्भीरतापूर्वक लिनुपर्छ।

नेपालले भारतसँग भएका पुराना सहमति कार्यान्वयन गर्न र नयाँ सहमति गर्दा नेपालको हित सुनिश्चित गर्न आफ्ना स्पष्ट धारणा राख्नुपर्छ। पूर्वप्रधानमन्त्रीहरू तथा कूटनीतिक क्षेत्रका जानकारहरूले पनि प्रधानमन्त्रीको भ्रमणमा राष्ट्रिय हित, सीमा समस्या, व्यापार असन्तुलन र आपसी विश्वासलाई प्राथमिकता दिनुपर्ने सुझाव दिँदै आएका छन्।

नेपालको वर्तमान पुस्ताले परम्परागत राजनीतिक भाषणभन्दा परिणाममुखी कामको अपेक्षा गरेको छ। रोजगारीका लागि विदेश जान बाध्य नेपाली युवालाई स्वदेशमै रोजगारको अवसर सिर्जना होस् भन्ने उनीहरूको चाहना देखिएको छ।

भारतसँगको आर्थिक सहकार्यलाई कृषि आधुनिकीकरण, उद्योग स्थापना, सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, शिक्षा र सिप विकाससँग जोड्न सकियो भने महत्तम उपलब्धी हासिल हुने देखिन्छ।

भारतीय लगानी नेपालमा भित्र्याउँदा नेपाली युवाले रोजगारी पाउने र प्रविधि हस्तान्तरण हुने व्यवस्था गर्नुपर्छ। नेपाललाई केवल भारतीय उत्पादनको बजार बनाउने होइन, नेपाली उत्पादनको निर्यात केन्द्रका रूपमा विकास गर्ने सोच निर्माण गर्न आवश्यक छ।

प्रधानमन्त्री शाहको भारत भ्रमण नेपाली जनताका लागि आशा र अपेक्षाको विषय बनेको छ। यस भ्रमणमा नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र स्वाभिमानलाई केन्द्रमा राख्दै भारतसँगको सम्बन्धलाई अझ सुमधुर बनाउने अवसर प्राप्त गरेको छ भन्ने कुरामा दुविधा छैन।

भारत नेपालको छिमेकी मात्र होइन, आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्धले जोडिएको महत्त्वपूर्ण साझेदार पनि हो। त्यसैले दुई देशबिचको सम्बन्ध अविश्वास र आशंकामा होइन, समानता, पारस्परिक सम्मान र सहयोगमा आधारित हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणबाट फर्कंदा कति वटा सम्झौता भए, कति वटा परियोजनाको शिलान्यास भए वा कति आर्थिक सहयोग घोषणा भयो भन्ने कुराले मात्र भ्रमणको सफलता मापन गर्नु पर्याप्त नहोला। ती सम्झौता कति कार्यान्वयन भए, नेपाली जनताले कति लाभ पाए र नेपालका दीर्घकालीन समस्या समाधान गर्न कति प्रगति भयो भन्ने कुरा अझ महत्त्वपूर्ण मानिन्छ।

नेपाली जनताको अपेक्षा भारतसँगको सम्बन्ध बिगार्ने होइन, समान हैसियतमा आधारित मित्रता स्थापित गर्ने हो। मित्रता भनेको आफ्नो स्वार्थ त्याग्नु होइन, दुवै पक्षको स्वार्थ र सम्मानलाई सुरक्षित गर्नु हो भन्ने कुरा आत्मसात गर्न सकियो भने भ्रमण पूर्ण फलदायी हुने निश्चित छ।

-गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।

प्रकाशित: ७ मंसिर २०८३ १०:१३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
14h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र लामो समयदेखि थाती मुद्दा उठाउनुपर्ने सुझाव

प्रधानमन्त्रीको भारत भ्रमणमा द्विपक्षीय सम्बन्ध र लामो समयदेखि थाती मुद्दा उठाउनुपर्ने सुझाव

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले नेपालभारत सम्बन्ध थप सुदृढ बनाउनुका साथै लामो समयदेखि थाती रहेका द्विपक्षीय मुद्दा समाधान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।

#भ्रमण #सम्बन्ध #भारत
Compare →
Bizshala
12h ago
बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

बालेनको भारत भ्रमणमा निजी क्षेत्रको पहल, आर्थिक सम्बन्ध बलियो बनाउन राजदूतसँग छलफल

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक भारत भ्रमणमा सहभागी नेपाल उद्योग परिसंघको टोलीले दुई देशबीचको...

#भ्रमण #सम्बन्ध #भारत
Compare →
Ekantipur
19h ago
प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली श्रमिकका मुद्दा उठाउन माग

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली श्रमिकका मुद्दा उठाउन माग

भारत जाने नेपाली कामदार भन्छन्, ‘प्रधानमन्त्रीको भारत भ्रमणमा बैंकिङ सुविधा, श्रमिक सुरक्षा, बीमा, क्षतिपूर्ति र सीमामा हुने सास्तीका हाम्रा समस्या पनि उठाइयोस्।'

#भ्रमण #भारत #प्रधानमन्त्रीको
Compare →
Arthasansar
20h ago
दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

दुई दिने भ्रमणका लागि भारत प्रस्थान गरे प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उनी केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका...

#भ्रमण #भारत
Compare →

Related Stories

Politics & Governance
Build #2612