कालेबुङ ! यो धर्तीको एक कुनो र केबल एउटा पहाडी भूखण्ड अथवा भनौँ एक प्रशासनिक नक्सा वा गन्तव्य मात्र त हुँदै होइन । बरु यो त, नेपालको सुदूर पूर्वपट्टि र भारतको उत्तरपूर्वमा अवस्थित मेचीपारिको उब्जाउ भूगोल, जो आफैँमा मानवीय स्मृति, संवेदना, संघर्ष र इतिहासको एउटा जीवित आख्यान हो ।
नेपालको सुदूरपूर्वको मेचीवारि बसेर हेर्दा होस् वा इलामका हरिया डाँडाहरूबाट कुहिरोले ढाकेको उता पहाडतिर आँखा तन्काउँदा होस्, कालेबुङसँग हाम्रो जैविक, भाषिक र सांस्कृतिक साइनो आफैँ जोडिएर आउँछ । पूर्वी पहाडका उकाली-ओरालीहरू हिँड्दा, लेप्चा समुदायका दाजुभाइ तथा दिदीबहिनीहरूसँग सामीप्य गाँस्दा र त्यो भूगोलको सुवास महसुस गर्दा जे-जति अनुभूति भित्रैसम्म सँगालिएका थिए, ती सबै अनुभूतिको सजीव र मर्मस्पर्शी प्रतिविम्ब मैले छुदेन काविमोको चर्चित औपन्यासिक कृति ‘फातसुङ’ को पाना-पानामा भेटेँ ।
इलाममा मेरो बाल्यकालका कयौँ सुन्दर र अविस्मरणीय दिनहरू बितेका छन् । विद्यालयमा मैले टिस्टा, रङ्गित र रेली किनाराका अनि मानेभन्ज्याङ र नेपालकै गोर्खेबाट आएका मेरा केही साथीहरूसँग हेलमेल गर्न पाएको थिएँ । पूर्वका लिम्बू, लेप्चा, राई, मगर, क्षेत्री, ब्राह्मण, नेवार सबैसबैको निश्छल माया र आत्मीयता आज पनि मेरो मानसपटलमा उत्तिकै ताजाताजा छ । त्यहाँका लेप्चा समुदायको माटोसँगको अनपेक्षित सम्बन्ध, उनीहरूको असाधारण सरलता र उनीहरूले बोक्ने प्रकृतिप्रदत्त सुगन्ध साँच्चै नै अद्भुत र अद्वितीय थियो । मलाई तब पनि लाग्थ्यो र आज यतिका वर्षपछि पनि उत्तिकै दृढताका साथ लाग्छ कि, यो माटोको आफ्नै एउटा भाषा हुन्छ, जसलाई केवल यही माटोमा हुर्किएका, यो माटो मुछेर मुट्ठीमा अँठ्याएका, यो माटो सुकाएर मुट्ठीबाट धुलो झारेर यसको पीडा महसुस गरेका मान्छेहरूले मात्र पूर्ण रूपमा बुझ्न सक्छन् ।
आम्बो र डल्लेको भाष्यभन्दा माथिको यथार्थ
हिजोआज ‘अन्त कि’, ‘आम्बो’ र ‘डल्लै’ भन्दै मञ्चहरूमा वा सामाजिक सञ्जालहरूमा मुख बिगारेर बोल्दै हिँड्नेहरू देख्छु । यसरी कोही स्वतः सुदूर पूर्वी भइहाल्दैन, न त दार्जिलिङ वा कालेबुङको नै भइहाल्छ । न त रेलीको लोकल केटाहरू हो भन्दैमा वा संवादमा एकाध ‘ह्याम्बेज’ जस्ता स्थानीय शब्दहरू मिसाउँदैमा त्यो भूगोलको वास्तविक आत्मा र गम्भीर पीडालाई भेट्न सकिन्छ । कालेबुङ त्यो हल्का र सतही पहिचानको भाष्यभन्दा कति हो कति गहिरो, व्यापक र संवेदनशील लाग्छ मलाई । कालेबुङले आफ्नो छातीभित्र एउटा गहन, बलिष्ठ र स्वाभिमानी राजनीतिक चेत बोकेको छ, जहाँको प्रत्येक माटोको कण, खोल्सा र ढुङ्गाहरूमा इतिहासका दर्दनाक तथा गौरवशाली पदचापहरू कोरिएका छन् ।
कालेबुङका चोक र बाटाहरूका नाम अझै पनि ब्रिटिस औपनिवेशिक कालका अवशेष बोक्दै अङ्ग्रेजीमा राखिएका होलान्, तर ती बाटामा हिँड्ने मान्छेहरूका छातीभित्र भने आफ्नै मौलिक पहिचान, स्वाभिमान र अस्तित्वको कहिल्यै ननिभ्ने आगो बलेको छ । खोतल्ने हो भने इतिहास, यहाँ हरेक कुइनेटा र गोलाइमा सहिद पार्क ठड्याउनुपर्ने हुन्छ । मेरो बाल्यकालको अनुभव, कालेबुङको भ्रमण र यो पुस्तक हेरेपछि म अब भन्दै छु, आम्बो र डल्लै मात्र पनि होइन रहेछ कालेबुङ ।
भन्न त कालिम्पोङ वा कालेनपुङ समेत भन्ने पुगे मान्छेहरू । तिब्बतबाट पहिलो पटक नेपालतर्फ मम भन्ने खाद्य परिकार छिर्दै गर्दा कालेनपुङ हुँदै छिरेको इतिहासले पनि कालेबुङको पुरानो नाम कालेनपुङ हो भन्न सकिएला, तर यहाँ भने उपन्यास ‘फातसुङ’ कै पात्र लाछिरिङले भनेजस्तो उहिलेका लेप्चाहरू भेला हुने ठाउँ अर्थात् कालेनपुङ भन्न सकिने भयो । त्यसका अलावा प्रामाणिक लेप्चा भाषामा यसको वास्तविक रूप ‘कालेनपुङ’ हो भन्ने बुझिन्छ ।
अनि फातसुङ के हो त ? लेप्चा भाषामा ‘फातसुङ’ ले माटोको कथा वा स्मृति/दस्ताबेज भन्ने जनाउँछ, जसको स्पष्ट अर्थ ‘माटोको इतिहास’ वा ‘स्मृतिको गाथा’ हुन्छ । छुदेन काविमोको उपन्यास ‘फातसुङ’ ले गोर्खाल्यान्ड आन्दोलनको रापताप, लेप्चा तथा अन्य समुदायको अस्मिता, राजनीतिक संघर्ष र भूगोलसँग जोडिएको मानिसको अस्तित्वको लडाइँलाई अत्यन्त मार्मिक ढङ्गले उजागर गरेको छ ।
फाइन प्रिन्ट नेपालले वि.सं. २०७५ मा पहिलो पटक प्रकाशनमा ल्याएको १५० पृष्ठको यो खँदिलो पुस्तक नेपाली आख्यान साहित्यको एउटा अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक कोसेढुङ्गा हो । इतिहासको दुःखद यथार्थ, मानवीय संवेदना, आफ्नो माटोप्रतिको अगाध सुवास र गहिरो राजनीतिक चेतको यो एउटा यस्तो अनुपम सङ्गम हो, जसले पाठकलाई लामो समयसम्म प्रभाव पारिरहन्छ । समग्रमा, लेखकले गोर्खाल्यान्ड आन्दोलनको त्रासदी, त्यसले निम्त्याएको सर्वस्व नाश, जनजीवनका दैनिक छटपटी र जनबोलीको मौलिक स्वादलाई बडो निपुणता, परिपक्वता र साहित्यिक उचाइका साथ पस्किएका छन् ।
दुई बसाइमै सकिने यो छोटो पुस्तक पढ्दा मैले मध्यरातमा धेरै पटक हाहा गरेर अट्टहासकै हाँसो हाँसेको छु, बसेको ठाउँबाट जुरुक्क उठेको छु ! फेरि कयौँ ठाउँमा स्तब्धसमेत भएँ । बुढाथोकीकी छोरीको छोरो मर्दै गर्दाको त्यो कारुणिक र हृदयविदारक क्षण पढ्दा मेरो छाती दबिएजस्तो, नाक पोलेजस्तो भयो, र ऐँ-ऐँ भएर आँखाहरूबाट समाहा चले । मेरो मन यसरी भरिएर आयो मैले एक रात त्यो पुस्तक नै पढ्न छाडिदिएँ, जुठो बारेझैँ गरेँ । त्यही भएर दुई बसाइ लाग्यो पुस्तक भ्याउन । छुदेनको ‘फातसुङ’ ले मलाई यसरी तरङ्गित बनायो कि म आफैँ त्यो कथाको एउटा असहाय मौन पात्रझैँ बनेँ ।
लेखक छुदेन काविमोले ‘फातसुङ’ मा ऐतिहासिक घटनाक्रमलाई जसरी समाचारको हेडलाइन दिएझैँ शृङ्खलाबद्ध रूपमा ट्वाकट्वाक कथामा मिसाएर प्रस्तुत गरेका छन्, त्यो निकै चटपटा, चोटिलो र मीठो छ । ठूलो आयाम र बडो आयतनका घटनाहरूलाई दबाइको गोलीजस्तो बनाएर दिएका छन्, मुखमा हालेर एक घुट्को पानीसँग निलेपछि हाइसन्चो ।
‘हाम्रो गाउँले सपनै देखेको छैन’ ले धेरै बेर घोच्छ । इस्कुस उसिनेर खाएकोदेखि, निधार घोटेर बुद्ध जन्माउने अनि हत्केला सुँघ्दा सुली गनाउने प्रसङ्ग सुदूरपूर्व वा कालेबुङ-दार्जिलिङको सुवास बुझेका मानिसबाहेक अरू कसले पो त्यसको पूर्ण स्वाद बुझ्न सक्ला र ? मुष्टिदानको संस्कृतिबाट सामाजिक कर्म गर्ने कुरा समाजले बिर्सिन खोजेको बेला यसले सम्झायो । ‘खुजुरा’ जस्ता झर्रा स्थानीय र मौलिक शब्दहरू समातेर राखिएको छ पुस्तकमा । हिजोआज पैसामा ‘खुजुरा’ कसले जानोस्, चेन्ज र खुल्ला पैसा भन्छन् । त्यो पनि खायो सबै अनलाइनले, अब त त्यो इतिहास भयो । यस्ता शब्द आधुनिकताले विस्थापित मात्र गरेन, यता गोर्मेंटको कागजमा समेत खोर्सानी ता पैले नै खुर्सानी भइसकेको पो !
पुस्तकमा आमालाई ‘तपाईँ’ र बाबुलाई ‘तिमी’ सम्बोधन गरिएको छ, जसमा त्यो भूगोलको पारिवारिक बनोटभित्र लुकेको एउटा अगाध आत्मीयता र सम्बन्धको गहिरो मिठास झल्किएको छ । तथापि त्यसको मानो तरङ्ग के हो भन्ने चाहिँ मैले पनि मेसो पाएको छैन !
समाजमा युगौँदेखि व्याप्त कतिपय चाखलाग्दा मिथकहरू: जस्तै केटाको करङ केटीको भन्दा एक कम हुन्छ भन्ने प्रसङ्ग वा राति बाटो हिँड्दा कपडा उल्ट्याएर लगाएपछि भूत भागिहाल्छ भन्ने जस्ता लोकविश्वासहरूलाई पनि काविमोले आफ्नो आख्यानमा बडो रोचक, जीवन्त र स्वाभाविक ढङ्गले उनेका छन् ।
दोष लगाउने खासै केही नभेटेपछि फेरि हेर्दा पुस्तकमा केही भाषा-सम्पादनमा काम गर्न सकिन्छ कि भन्ने ठाउँ छाडेको पाएको छु । आफूलाई खट्किएका त्रुटिहरूमा : पुस्तकमा स्वर्गीय नेताले एउटा प्रसङ्ग खुलासा गर्छन्, जुन भाषिक रूपमा अमिल्दो देखिन्छ । वास्तवमा ‘नेताले खुलासा गरे, जो अहिले स्वर्गीय हुन्’ भन्न खोजिएको होला । यसलाई सम्पादनमा मिलाउनुपर्ने थियो । त्यसै गरी, एक ठाउँमा ‘थुचुक्क उभिएको’ भन्ने प्रसङ्ग आएको छ । मान्छे कसरी थुचुक्क उभिन्छ ? थुचुक्क त बस्छ पो होला, होइन र ? त्यहाँ सम्पादकीय दृष्टि पुग्नुपर्थ्यो । अर्को एक ठाउँमा, ‘बिच्किएला जस्तो गरी भन्थ्यो’ भनिएको छ, त्यहाँ अझ स्पष्ट र परिपक्व वाक्य बनाउने ठाउँ बाँकी नै थियो । कानैमा टाँसियो जस्ता शब्दहरू पटकपटक दोहोरिएका छन् ।
त्यसैगरी, तिथिमितिमा ध्यान कम पुगेको पाइन्छ । साल भनिएको छ फेरि अङ्ग्रेजी मिति छ, पूरै झुक्किन्छ, मिति त अन्दाजको भरमा हुनु भएन होला नि ? लेखकलाई नै भन्नुपर्ने कुरा चाहिँ : हुन त एक पुस्तकमा सब थोक अट्दैन, प्रकाशन भएको पनि धेरै भइसक्यो, लेखकका अन्य पुस्तकहरू पनि आए, तर यस पुस्तकमा धेरै कुरा छोएर छोडिएको पाइन्छ । सबै विषय मेरै हुन्, सबैमा मैले नै हात हाल्नु पर्छ, ओगट्नु पर्छ, भन्ने जसरी छोएर छोडिएको जस्तो देखिन्छ । बरु विषयहरू एकएक गर्दै टुङ्गोमा पुर्याउँदै टिस्टा तार्नु पाए उखुमा फल हुने थियो ! कालेबुङको कथा यति मात्र होइन, सबै सुन्न पाए हुने भन्ने त बनाएको छ एकातर्फ, तर अर्कोतर्फ विषय कोट्याएर मात्र छोडिएको छ, गुदी गहिरो पाए आस्वादनमा मजा आउने थियो भन्ने हो ।
अन्त्यमा: पूर्वी नेपालको साहित्यिक चेतना र सिर्जनात्मक परम्पराले नेपाली साहित्यको मूलधार निर्माणमा विशिष्ट योगदान पुर्याउँदै आएको छ । सीमापारिबाट रमेश विकल, इन्द्रबहादुर राई, भवानी भिक्षु, परशु प्रधानलगायतका मूर्धन्य साहित्यकारहरूले नेपाली साहित्यलाई वैचारिक गहिराइ, आख्यानगत नवीनता र भाषिक सौन्दर्य प्रदान गरे । अहिले आएर सुदूर पूर्व झापा र इलामबाट सुधीर शर्मा, केदार शर्मा हुँदै बसन्त बस्नेत लगायतले आफ्नो लेखनमार्फत पहाड, पहिचान, राजनीति र समाजका अनकही कथाहरूलाई मुखरित गरेका छन् । सँगै साहित्य, वैचारिक लेखन, राजनीतिक-सांस्कृतिक स्तम्भमा उज्ज्वल प्रसाईँलाई पछिल्लो कडीका रूपमा लिन सकिन्छ ।
सीमापारि दार्जिलिङ, कालेबुङ र सिक्किमका नेपालीभाषी समाजका आवाजलाई पनि नेपालसम्म जोड्ने क्रममा प्रज्वल पराजुली, राजा पुनियानी, छुदेन काविमो लगायतले समाज, संस्कृति र चेतनाका विविध आयामलाई आफ्नो लेखनमा निरन्तरता दिए । काविमोको पछिल्लो कृतिले चिया कमानभित्रको श्रमशोषण, वर्गीय विभेद, प्रेम, विद्रोह, विस्थापन र पहिचानको संघर्षलाई केन्द्रमा राखेर चिया बगानमा पसिना बगाउनेहरूको जीवनलाई नेपाली साहित्यको फराकिलो बहसमा प्रवेश गराएको छ । यस अर्थमा लेखकहरूको कृति समाजको इतिहास, पीडा र सामूहिक स्मृतिको साहित्यिक अभिलेख पनि भएकोले विषयको गहिराइ पस्कन जरुरी देखिन्छ ।