व्यक्तिगत विधामा स्वर्ण जित्ने खेलाडीलाई २ लाख रुपैयाँ र टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिने भएको हो।
सुनसरी — दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा स्वर्ण पदक जित्ने कोशी प्रदेशका खेलाडीलाई प्रदेश सरकारले नगद पुरस्कार दिने घोषणा गरेको छ। व्यक्तिगत विधामा स्वर्ण जित्ने खेलाडीलाई २ लाख रुपैयाँ र टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई १ लाख रुपैयाँ प्रदान गरिने भएको हो।
दसौं राष्ट्रिय खेलकुदका लागि कोशी प्रदेश छनोट प्रतियोगिताको ईटहरीमा आईतबार उद्घाटन गर्दै प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कारको घोषणा गरेका हुन्।
मुख्यमन्त्री कार्कीका अनुसार राष्ट्रिय खेलकुदमा व्यक्तिगत विधातर्फ स्वर्ण पदक जित्ने कोशीका प्रत्येक खेलाडीले नगद २ लाख रुपैयाँ पाउनेछन्। त्यस्तै, टिम इभेन्टमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
राष्ट्रियस्तरको प्रतियोगितामा कोशी प्रदेशका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक जितून् भन्ने उद्देश्यले पुरस्कारको घोषणा गरिएको मुख्यमन्त्री कार्कीले बताए।
खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्न प्रदेश सरकारले पुरस्कारसँगै अन्य सेवा–सुविधाको व्यवस्था गर्ने पनि जनाएको छ। उत्कृष्ट खेलाडीलाई मासिक तलब/भत्ताको व्यवस्था गर्ने घोषणा समेत मुख्यमन्त्री कार्कीले गरेका छन्।
दसौं राष्ट्रिय खेलकुदमा कोशी प्रदेशको पदक संख्या बढाउने लक्ष्यसहित प्रदेशस्तरीय छनोट प्रतियोगिता सुरु गरिएको हो। विभिन्न खेलका छनोट प्रतियोगिताबाट उत्कृष्ट खेलाडी छनोट गरी राष्ट्रिय खेलकुदमा कोशी प्रदेशको प्रतिनिधित्व गराइनेछ।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश समग्र पदक तालिकामा प्रथम भए ५ करोड र दोस्रो भए ३ करोड रुपैयाँ बराबरको पुरस्कार तथा प्रोत्साहन प्याकेज उपलब्ध गराउने घोषणा समेत गरेका छन्।
प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा सुरु भएको छनोट प्रतियोगिताको उद्घाटन समारोहमा प्रदेशका विभिन्न जिल्लाबाट आएका खेलाडीले मार्चपास गरेका थिए।
अर्जुन अर्जुन कान्तिपुर मिडिया ग्रुपका सुनसरी संवाददाता हुन् ।