सरकारको भरथेग प्राप्त नहुँदा उनीहरूको पुनर्वासको योजनासमेत प्रस्ट हुन सकेको छैन । कतिसम्म भने, सरकारले शव दिन नसक्दा सम्बन्धित परिवारका सदस्यले प्रियजनको अन्तिम संस्कारसमेत गर्न पाएका छैनन् ।
काठमाडौँ — विपद् निम्त्याउने गरी भोटेकोशीमा बाढी आएको तीन महिना पूरा हुनै लागेको छ । बाढीका कारण भएको मृत्यु, बेपत्ता, व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको क्षति र भविष्यप्रतिको अन्योलको गहिरो पीडाबाट समाज अझै मुक्त हुन सकेको छैन ।
कतिपयले पुरानै संरचनामा सम्भावना खोजेर जीविकालाई निरन्तरता दिन थालेका छन् । तर पीडितको ठूलो संख्यासँग त्यस्तो विकल्प छैन । कतिपय विपद्बाट बाँचेका त छन्, तर गुजाराका सबै आधार भत्किएका छन् । उनीहरूसँग परिवारका सदस्य छैनन्, घर छैन, समाज छैन, भूमि छैन, जीविकाको आर्थिक आधार प्रस्ट छैन ।
सरकारको भरथेग प्राप्त नहुँदा उनीहरूको पुनर्वासको योजनासमेत प्रस्ट हुन सकेको छैन । कतिसम्म भने, सरकारले शव दिन नसक्दा सम्बन्धित परिवारका सदस्यले प्रियजनको अन्तिम संस्कारसमेत गर्न पाएका छैनन् । डीएनए मिलान भएको स्थितिमा पनि शव हस्तान्तरण हुन नसक्दा पीडित परिवारमा पीडा थपिएको छ । तसर्थ, सरकारले शवको पहिचानका लागि विकल्पहरू प्रयोग गर्ने वा परिवारका जीवित सदस्यलाई स्वीकार्य हुने गरी अन्तिम संस्कारको विकल्प खोज्नुपर्छ ।
अन्तिम संस्कार सामाजिक, सांस्कृतिक र धार्मिक विषय हो । साथसाथै व्यक्ति अब यस संसारमा छैन भन्ने स्वीकार्यता बढाउने विषय पनि हो । शवलाई प्रत्यक्ष नदेखेको, परिस्थितिले मृत्यु भएको प्रस्ट्याउने भए पनि पुष्टि नभएको, बेपत्ता वा अञ्जान ठाउँमा मृत्यु भएको अवस्थामा परिवारका अन्य सदस्यलाई उक्त व्यक्तिको मृत्यु नै भएको भनेर भावनात्मक रूपमा स्वीकार गर्न कठिन हुन्छ ।
त्यसैले परिवारलाई शव जिम्मा लगाएर अन्तिम संस्कार गर्ने चाँजोपाँचो मिलाइन्छ । अन्तिम संस्कारलाई मृत्यु भएका व्यक्तिप्रतिको अन्तिम सम्मानका रूपमा पनि लिइन्छ । अन्तिम संस्कारलाई परिवारका जीवित सदस्यको दायित्वका रूपमा पनि लिइन्छ । व्यक्तिको मृत्यु भइसकेपछि परिवारले आफ्नो परम्पराअनुसार त्यो पूरा गर्न पाउनुपर्छ ।
अन्तिम संस्कारका बेलामा सामाजिक एकता पनि व्यक्त हुन्छ । यसर्थ सरकारले शवलाई सम्बन्धित परिवारका सदस्यको जिम्मा लगाउने प्रयत्न गर्नुपर्छ । घटना घटेको तीन महिना बितिसक्दासमेत परिवारले शव नपाउनु विडम्बनापूर्ण छ । यसले सम्बन्धित परिवारको पीडा र बिछोडको घाउलाई लम्ब्याइरहन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भोटेकोशी बाढीपछि १ हजार ४ सय ५७ जनाको शव फेला परेको छ । त्यस्तै, ५ हजार २ सय ८५ जना अझै बेपत्ता छन् । नदी किनारमा फेला परेका शवबाट १ हजार ४ सय ४५ वटा नमुना संकलन गरिएको थियो । त्यस्तै, बेपत्ता भएका व्यक्तिका परिवारका २ हजार १ सय ११ सदस्यको रगत नमुना संकलन गरिएको थियो ।
फेला परेका अधिकांश शवको नमुना परीक्षण (डीएनए प्रोफाइलिङ) पूरा भइसकेको र १ सय ९५ वटा नमुनाको आफन्तसँग डीएनए मिलानसमेत भएको छ । एउटै व्यक्तिले परिवारका धेरै सदस्य गुमाएको वा एउटै व्यक्तिको शरीरका धेरै अंग छुट्टिएका कारण डीएनए मिले पनि सम्बन्धित शव ठ्याक्कै कसको हो भनेर निश्चित गर्न कठिन छ । त्यसैले मृतकको जीवित छँदाको शारीरिक अवस्थासम्बन्धी विवरणसमेत तुलना गर्न थालिएको छ । कुन शव कसको हो भनेर निश्चित गर्नु आवश्यक छ । सँगसँगै, शव हस्तान्तरण प्रक्रिया धेरै नलम्बियोस् भन्नेमा पनि सचेत हुनुपर्छ ।
डीएनएमार्फत कुनै पनि शव र निकट परिवारबीचको सम्बन्ध स्थापित गर्न सकिन्छ । तर, एउटै परिवारले धेरै सदस्य गुमाएको र जीवित सदस्यको संख्या पनि अन्त्यत्नै न्यून रहेको अवस्थामा कुन शव कसको हो भनेर छुट्याउन कठिन हुन्छ । यो नेपालको मात्रै होइन, विश्वभर नै विपद्का बेलामा देखिन सक्ने समस्या हो ।
त्यसका लागि अतिरिक्त विकल्पहरूको खोजी गर्ने गरिन्छ । ट्याटु, जन्मजात चिह्न तथा अन्य पहिचान खुलाउने चिह्नलाई आधार मान्ने पनि गरिन्छ । तर, सबैको हकमा यसले काम नगर्न पनि सक्छ । त्यसैले शवलाई स्वयं उसको ‘मेडिकल हिस्ट्री’ वा उससँग सम्बन्धित वस्तु/उपकरणको सहायतामा पनि पहिचान गर्ने विकल्प खोजिन्छ । कुनै व्यक्तिको हालसालैको उपचारका क्रममा संकलन गरिएको रगत वा शरीरको कुनै अंश कुनै स्वास्थ्य संस्थामा सुरक्षित हुन सक्छ ।
उसले प्रयोग गरेको ब्रस वा उसको औंठाछापहरू पनि फरकफरक ठाउँमा उपलब्ध हुन सक्छन् । वंशको विवरणलाई अझै विस्तृत रूपमा केलाइन्छ । यस्ता उपाय कामयाबी हुन पनि सक्छन्, नहुन पनि । आशय के हो भने, प्रमाणहरूलाई साँघुरो बनाउँदै लैजान प्रयत्न गरिरहनुपर्छ ।
शव हस्तान्तरण निकै गम्भीर प्रक्रिया हो । त्यसैले विश्वभर नै यसमा संवेदनशील हुने गरिएको पाइन्छ । पुष्टि हुन नसकुञ्जेल धैर्य गर्ने उपाय नै अवलम्बन गरिन्छ । यो प्राविधिक विषय मात्रै होइन, मानवीय, धार्मिक, सांस्कृतिक विषय पनि हो । त्यसैले हतारमा निर्णय लिनु उचित हुँदैन ।
अर्कोतर्फ, परिवारका सदस्यलाई लामो पीडामा पर्खाउन पनि उचित हुँदैन । उनीहरूलाई दैनिक शव हस्तान्तरणका सम्भावित दिन र प्रक्रियामा अल्झाइराख्नु पनि न्यायोचित हुँदैन । त्यसैले के भइरहेको हो, किन भइरहेको हो, कहिलेसम्म हुन सक्छ, कसरी हुन सक्छ भन्ने जस्ता विषयमा पीडित परिवारलाई पारदर्शी जानकारी दिनुपर्छ । परिवारले कुनै निर्णय लिन चाहेमा सरकारले सहजीकरण गरिदिन सक्छ ।
यद्यपि, निर्णय लिनुअघि पर्याप्त गृहकार्य गर्न, पछि विवाद नआउने सुनिश्चित गर्न र पारदर्शिता सुनिश्चित गर्नुपर्छ । शवको व्यक्तिगत पहिचान पत्ता लगाउने विषयलाई भने एकदमै प्राथमिकता दिनुपर्छ र अन्तर्राष्ट्रिय विज्ञहरूको पनि आवश्यक सहयोग लिनुपर्छ ।
सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय