Trending
Prev Story
Next Story

बजारमा माग, खेतमा जोखिम : सरकारी साथ खोज्दै ठोरीका तरकारी किसान

Ekantipur •
November 21, 2026 • 05:32 AM
4
4 reads 0 reactions

उच्च शिक्षा हासिल गरेका घिमिरेलाई खेतीपातीमा साथ दिन उनकी पत्नी सुमित्रा कोइराला पनि उत्तिकै सक्रिय छिन्। कक्षा १२ उत्तीर्ण गरेकी उनी श्रीमानसँगै खेतबारीमा खटिन्छिन्।

बजारमा माग, खेतमा जोखिम : सरकारी साथ खोज्दै ठोरीका तरकारी किसान

उच्च शिक्षा हासिल गरेका घिमिरेलाई खेतीपातीमा साथ दिन उनकी पत्नी सुमित्रा कोइराला पनि उत्तिकै सक्रिय छिन्। कक्षा १२ उत्तीर्ण गरेकी उनी श्रीमानसँगै खेतबारीमा खटिन्छिन्।

पर्सा — वाणिज्यमा स्नातक गरेका ठोरी गाउँपालिका–बुद्धनगरका ४३ वर्षीय हरिप्रसाद घिमिरेले जागिर वा वैदेशिक रोजगारीको बाटो रोजेनन्। बरु आफ्नै खेतमा पसिना बगाएर आम्दानी गर्ने सोचसहित व्यावसायिक तरकारी खेतीमा लागे। २०७६ सालदेखि निरन्तर यसैमा रमाइरहेका उनी अहिले एक बिघा जग्गामा विभिन्न जातका तरकारी उत्पादन गर्छन्।

यस वर्ष उनले चार कठ्ठामा काँक्रो, दुई कठ्ठामा काउली र अन्य क्षेत्रमा केराउलगायतका तरकारी लगाएका छन्। खेतीमा गरेको लगानी कटाएर वार्षिक चार लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन्। स्थानीय बजारमा उत्पादित तरकारीको राम्रो खपत हुने भएकाले बजारको खासै समस्या छैन। मागअनुसार वीरगन्ज र सीमावर्ती भारतीय बजारसम्म पनि तरकारी पठाउने गरेका छन्।

उच्च शिक्षा हासिल गरेका घिमिरेलाई खेतीपातीमा साथ दिन उनकी पत्नी सुमित्रा कोइराला पनि उत्तिकै सक्रिय छिन्। कक्षा १२ उत्तीर्ण गरेकी उनी श्रीमानसँगै खेतबारीमा खटिन्छिन्। दुवैको मेहनतले परिवारको जीविकोपार्जन मात्र होइन, गाउँमै बसेर स्वरोजगार बन्न सकिन्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ।

तर यस वर्षको प्रतिकूल मौसमले उनीहरूको मेहनतमा ठूलो धक्का पुर्‍याएको छ। एल निनोको प्रभावसँग जोडिएको वर्षाका कारण काँक्रो बाली पूर्ण रूपमा नष्ट भएपछि उनीहरू चिन्तित छन्। बालीमा क्षति हुँदा लगानी डुब्ने जोखिम बढेको छ। तर क्षतिको भरपाई गर्ने बाली बिमाको सुविधा भने उनीहरूले पाएका छैनन्।

घिमिरेको गुनासो केवल मौसमको मारमा सीमित छैन। स्थानीय सरकारले व्यावसायिक किसानलाई आवश्यक प्राविधिक सहयोगसमेत उपलब्ध नगराएको उनको भनाइ छ। गाउँपालिकामा कृषि प्राविधिक भए पनि आफूले अहिलेसम्म खेतीसम्बन्धी सुझाव, सल्लाह र रोग नियन्त्रणका लागि आवश्यक सहयोग नपाएको उनी बताउँछन्। खेतीमा क्षति हुँदा खेतमै आएर निरीक्षण गर्ने र समाधान सुझाउने प्राविधिकको अभाव छ। हालसम्म सरकारी अनुदानसमेत नपाएको उनको गुनासो छ।

बुद्धनगरकै ३७ वर्षीय अरुण अधिकारीको अनुभव पनि उस्तै छ। एक दशकदेखि व्यावसायिक तरकारी खेतीमा लागेका उनले पाँच कठ्ठा जग्गामा विभिन्न मौसमी तरकारी उत्पादन गर्छन्। यसबाहेक दुई बिघामा वर्षेनि आलु खेती गर्दै आएका छन्। काउली, गोलभेडा, लौका र काँक्रो उनको खेतमा उत्पादन हुने प्रमुख तरकारी हुन्।

गत वर्ष ५० क्विन्टल गोलभेडा बिक्री गरेका अधिकारी यस वर्ष भने पानीका कारण टमाटर बाली नै नष्ट भएको बताउँछन्। वर्षभरि गरेको मेहनत र लगानी प्राकृतिक प्रकोपका कारण खेर जाँदा किसानलाई आर्थिक संकट पर्ने गरेको उनको भनाइ छ।

ठोरीका यी किसानको समस्या उत्पादन र बजारसँग भन्दा पनि कृषि प्रणालीलाई व्यवस्थित बनाउन आवश्यक सरकारी सहयोगसँग जोडिएको छ। स्थानीय बजारमा उत्पादित तरकारीले माग धान्न नसक्दा दैनिक १० हजार रुपैयाँभन्दा बढी मूल्यको तरकारी वीरगन्जबाट आयात हुने गरेको स्थानीय किसान बताउँछन्। यसले ठोरीमै तरकारी उत्पादन विस्तारको सम्भावना देखाए पनि किसानले त्यसअनुसार प्रोत्साहन पाउन सकेका छैनन्।

स्थानीय युवा अभियन्ता धीर सिंहका अनुसार ठोरीका तरकारी किसानले बाली बिमाको सुविधा, कृषि प्राविधिकको नियमित सेवा, उन्नत जातका बीउबिजन, व्यावसायिक तालिम, अनुदान तथा आधुनिक कृषि उपकरण पाउन सकेका छैनन्। खेतीमा रोग लाग्दा प्राविधिकको सहयोग नपाउने र प्राकृतिक प्रकोपबाट बाली नष्ट हुँदा क्षतिको भरपाई गर्ने व्यवस्था नहुँदा किसान निरुत्साहित हुने अवस्था रहेको उनी बताउँछन्।

ठोरीमा तरकारी खेतीको सम्भावना हुँदाहुँदै पनि किसानले आधारभूत कृषि सेवा नपाउनु विडम्बना भएको सिंहको भनाइ छ। किसानलाई बाली बिमा, प्राविधिक सेवा, गुणस्तरीय बीउ र आवश्यक उपकरण उपलब्ध गराउन सके अहिले खेती गरिरहेका किसानलाई राहत पुग्नुका साथै थप युवालाई पनि कृषिमा आकर्षित गर्न सकिने उनी बताउँछन्।

बजारको माग पूरा गर्न बाहिरबाट तरकारी भित्र्याउनुपर्ने अवस्था एकातिर छ भने अर्कातिर स्थानीय किसान भने मौसमको जोखिम र सरकारी उपेक्षासँग जुधिरहेका छन्। बजार सुनिश्चित हुँदाहुँदै पनि उत्पादन बढाउन आवश्यक सहयोग नपाउँदा ठोरीको व्यावसायिक तरकारी खेतीले अपेक्षित गति लिन सकेको छैन।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Bizshala
1d ago
आज कुन तरकारीको थोक मूल्य कति ?

आज कुन तरकारीको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।...

#तरकारी
Compare →

Related Stories

Business & Economy
Build #2612