सुडानमा राजधानी खार्तुम संयुक्त राष्ट्रसंघको भवन लक्षित ड्रोन आक्रमणबाट चार जनाको मृत्यु भएको छ । आक्रमणबाटसमेत राष्ट्रसंघको भवनमा पनि क्षति पुगेको छ ।
उक्त हमलाको अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सेस (आरएसएफ) माथि आरोप लागेको छ ।
आइतबार बिहान भएका आक्रमणमा आवासीय क्षेत्रलाई निशाना बनाइएको थियो । सरकारी भवन र खार्तुम विमानस्थललाई लक्षित गरी ड्रोन आक्रमण भएपछि सुडानी सेनाले हवाई प्रतिरक्षा प्रणाली परिचालन गरेको थियो ।
सुडानमा जारी युद्धमा ड्रोनको प्रयोग बढ्दै गएपछि सर्वसाधारण नागरिक र मानवीय सहायता क्षेत्रमा काम गर्ने कर्मचारीको सुरक्षाबारे चिन्ता थपिएको छ ।
एएफपी समाचार एजेन्सीका अनुसार प्रत्यक्षदर्शीहरूले बिहान करिब २ बजेदेखि ४:३० बजेसम्म राजधानीका विभिन्न क्षेत्रमा विस्फोटका आवाज सुनेका थिए । त्यस क्रममा सेनाले ड्रोन खसाल्ने प्रयास गरेको थियो ।
सुडानका लागि संयुक्त राष्ट्रसंघीय मानवीय सहायता संयोजक डेनिस ब्राउनले आइतबार राष्ट्रसंघको एउटा भवनमा क्षति पुगेको र त्यसबेला कर्मचारीहरू भवनभित्रै रहेको बताएकी छन् ।
आपत्कालीन मानवीय सहायता समन्वय गर्ने राष्ट्रसंघीय कार्यालयले सर्वसाधारण बसोबास गर्ने क्षेत्रमा आफ्ना कर्मचारीमाथि भएको जोखिमको निन्दा गर्दै यसलाई अस्वीकार्य भनेको छ ।
सुडानी सेनाका एक स्रोतले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार ड्रोनहरू छिमेकी इथियोपियाको बाहिरदार विमानस्थलबाट प्रक्षेपण गरिएका थिए । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
इथियोपियाले यसअघि पनि आफ्नो भूमिबाट आरएसएफलाई आक्रमण गर्न अनुमति दिएको भन्ने सुडानको आरोप अस्वीकार गर्दै आएको छ ।
सुडानले इथियोपियाबाट ड्रोन आक्रमण भइरहेको आरोप लगाउँदै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षाको जिम्मेवारी पाएको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र अफ्रिकी संघमा समेत उजुरी दिएको छ ।
यसैबीच, सुडान सरकारले आइतबार दक्षिणपूर्वी ब्लु नाइल राज्यमा आरएसएफका लडाकुहरूले पक्राउ परेका सैनिकको हत्या गरेको आरोप लगाएको छ । उक्त क्षेत्र इथियोपियाको सीमासँग जोडिएको छ ।
सरकारले ती सैनिकको हत्या अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन भएको भन्दै निन्दा गरेको छ । यद्यपि, उक्त आरोप पनि स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
पछिल्लो समय आरएसएफ र सुडानी सेना दुवैले एकअर्काका सैन्य निशानामा आक्रमण गर्न ड्रोनको प्रयोग बढाउँदै लगेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार यस वर्षको पहिलो छ महिनामा ड्रोन आक्रमणबाट एक हजार एक सयभन्दा बढी मानिसको मृत्यु भएको छ ।
संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) का अनुसार जनवरीदेखि सेप्टेम्बरसम्म सुडानमा मारिएका वा घाइते भएका बालबालिकामध्ये करिब दुई तिहाइ ड्रोन आक्रमणका कारण प्रभावित भएका छन् ।
सुडानी सेना र आरएसएफबीच सन् २०२३ अप्रिलदेखि युद्ध जारी छ । उक्त युद्धले विश्वकै सबैभन्दा गम्भीर मानवीय संकटमध्ये एक निम्त्याएको छ । युद्धका कारण एक करोड ३० लाख मानिस विस्थापित भएका छन् भने केही क्षेत्रमा भोकमरीको अवस्था सिर्जना भएको छ ।