इरानले अमेरिकालाई युद्धमा पराजित देशको संज्ञा दिँदै अब उसले विजेताको जस्तो व्यवहार गरेर अन्य देशमाथि सर्त थोपर्न नसक्ने बताएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिका-इजरायलसँगको युद्धमा अमेरिकाको पराजय भएको दाबी गर्दै विश्व व्यवस्था परिवर्तन भइसकेको बताएका हुन्।
सामाजिक सञ्जाल एक्समा उनले सन् २०२६ को इरान र अमेरिका विगतको अवस्थाभन्दा निकै फरक रहेको उल्लेख गरेका छन्।
‘सन् २०२६ को इरान सन् १९४३ को तेहरान सम्मेलन र सन् १९४५ को याल्टा सम्मेलन हुँदाको इरान होइन। त्यसैगरी, अहिलेको अमेरिका पनि त्यतिबेलाको अमेरिका होइन। अमेरिका अब विजेता नभई युद्धमा पराजित देश बनेको छ,’ उनले लेखेका छन्।
उनले विश्व परिवर्तन भइसकेको भन्दै पुराना तस्बिर र ऐतिहासिक सम्झनाले वर्तमान अवस्थालाई विगतमा फर्काउन नसक्ने टिप्पणी गरेका छन्।
रेजाईको अभिव्यक्ति दोस्रो विश्वयुद्धका दुई महत्त्वपूर्ण सम्मेलनको सन्दर्भमा आएको हो। सन् १९४३ को तेहरान सम्मेलनमा अमेरिका, बेलायत र सोभियत संघका नेताहरूले नाजी जर्मनीविरुद्धको युद्ध रणनीतिबारे छलफल गरेका थिए। त्यस्तै, सन् १९४५ को याल्टा सम्मेलनमा युद्धपछिको विश्व व्यवस्थाबारे महत्त्वपूर्ण सहमति भएको थियो।
यसैबिच, इरानकी महिला तथा पारिवारिक मामिला उपाध्यक्ष जहरा बेहरोज-अजारले अमेरिका-इजरायलको आक्रमणमा ६२३ बालबालिकाको मृत्यु भएको दाबी गरेकी छन्। युद्धपीडितको सम्मानमा आयोजित कार्यक्रममा उनले कैयौँ बालबालिका अंगभंग, हड्डी भाँचिने र शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लाग्ने समस्याबाट प्रभावित भएको बताइन्।
मृत्यु हुनेमा दक्षिणी सहर मिनाबस्थित विद्यालयका विद्यार्थीसमेत रहेको उनको भनाइ थियो। फेब्रुअरी २८ मा भएको उक्त विद्यालय आक्रमणमा १५६ जनाको मृत्यु भएको र मृतकमध्ये करिब १२० जना बालबालिका रहेको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।
यस घटनालाई लिएर इरानले अमेरिका र युरोपका केही देशमा कानुनी मुद्दा दायर गरेको जनाएको छ। इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार कानुनी मामिलासम्बन्धी उपराष्ट्रपति माजिद अन्सारीले मिनाब विद्यालयमाथिको आक्रमण र पूर्वसर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यासम्बन्धी मुद्दा दायर गरिएको बताए।
उनका अनुसार मुद्दा सुनुवाइको अधिकार स्वीकार गरेका अमेरिका र युरोपका केही देशका अदालतमा कानुनी प्रक्रिया अघि बढाइएको छ। प्रमाणसहित केही मुद्दा दर्ता भइसकेका छन् भने अन्य मुद्दा दर्ताको प्रक्रियामा छन्।
यसैबिच, संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्बाट गठित स्वतन्त्र अनुसन्धान विज्ञहरूले फेब्रुअरी २८ का दुई अमेरिकी हवाई आक्रमणमा युद्ध अपराध भएको हुन सक्ने निष्कर्ष निकालेका छन्।
उनीहरूका अनुसार मिनाबको विद्यालय र लामेर्दस्थित खेलकुद केन्द्रमा भएका आक्रमणमा कम्तीमा १७८ सर्वसाधारण मारिएका थिए।
विज्ञहरूले उपलब्ध प्रमाणका आधारमा अमेरिकी सेनाले सर्वसाधारण र नागरिक संरचनामाथि अन्धाधुन्ध आक्रमण गरेको विश्वास गर्ने पर्याप्त आधार रहेको बताएका छन्।
यसैबिच, इरानमा सरकार समर्थक प्रदर्शनलाई निरन्तरता दिन पनि आह्वान गरिएको छ। अर्धसैनिक संगठन बासिजका उपप्रमुख घासेम घोरेशीले सडकमा नागरिकको उपस्थिति देशको सुरक्षाका लागि सैन्य कारबाहीजत्तिकै महत्त्वपूर्ण रहेको बताएका हुन्।
तस्निम समाचार एजेन्सीका अनुसार उनले क्षेप्यास्त्र र जलसेनाले देशको रक्षा गरेजस्तै नागरिकको सडक उपस्थितिले पनि राष्ट्रिय मूल्य र नेतृत्वको रक्षा गर्ने बताएका छन्।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि गठन भएको बासिज संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) सँग आबद्ध छ। इरानमा सरकारविरोधी प्रदर्शन नियन्त्रणमा यसको भूमिका रहँदै आएको छ।
प्रकाशित: ६ मंसिर २०८३ १६:२४ आइतबार