इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले अमेरिकालाई युद्धमा पराजित देशको संज्ञा दिँदै अब उसले विश्वमाथि आफ्नो सर्त थोपर्न नसक्ने बताएका छन् ।
इरानमाथि अमेरिका र इजरायलले गरेको युद्धमा पराजय व्यहोरेपछि विश्व व्यवस्था परिवर्तन भएको उनको दाबी छ ।
एक्समा लेख्दै रेजाईले सन् २०२६ को इरान सन् १९४३ को तेहरान सम्मेलन र सन् १९४५ को याल्टा सम्मेलन ताकाको इरानजस्तो नरहेको बताएका छन् ।
त्यसैगरी, अहिलेको अमेरिका पनि त्यतिबेलाको अमेरिकाजस्तो नरहेको उनको भनाइ छ । ‘सन् २०२६ को अमेरिका विजयी होइन, युद्धमा पराजित भएको देश बनेको छ,’ उनले लेखेका छन् ।
‘विश्व परिवर्तन भइसकेको छ । पुराना तस्बिरहरूले अहिलेको विश्व व्यवस्थालाई फेरि विगतमा फर्काउन सक्दैनन्,’ रेजाईले भनेका छन् ।
सन् १९४३ मा भएको तेहरान सम्मेलनमा अमेरिका, बेलायत र सोभियत संघका नेताहरूले नाजी जर्मनीविरुद्धको युद्ध रणनीति तय गर्न पहिलोपटक संयुक्त छलफल गरेका थिए ।
त्यस्तै, सन् १९४५ मा भएको याल्टा सम्मेलनमा अमेरिकी राष्ट्रपति र्फ्याङ्कलिन रुजवेल्ट, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल र सोभियत नेता जोसेफ स्टालिन सहभागी भएका थिए ।
दोस्रो विश्वयुद्धको अन्त्यतिर भएको उक्त सम्मेलनले युद्धपछिको विश्व व्यवस्थाको खाका तयार पारेको थियो । पछि विश्व व्यवस्थामा अमेरिकाको प्रभाव क्रमश: बढ्दै गएको थियो ।