Trending
Prev Story
Next Story

आफ्नै वडा कार्यालय पुग्न दुई दिनको बाटो

Ekantipur •
November 22, 2026 • 09:03 AM
3
3 reads 0 reactions

पुथाउत्तरगंगा–२ को जुस्मर, हार्दिबाङ, रल र तिज्याङका बासिन्दा वडा कार्यालय आउजाउ गर्न विकट भूगोल, हिउँ र खोलाको बाटो हिँडेर पाँच दिन खर्चनु परेको छ।

आफ्नै वडा कार्यालय पुग्न दुई दिनको बाटो

पुथाउत्तरगंगा–२ को जुस्मर, हार्दिबाङ, रल र तिज्याङका बासिन्दा वडा कार्यालय आउजाउ गर्न विकट भूगोल, हिउँ र खोलाको बाटो हिँडेर पाँच दिन खर्चनु परेको छ।

रुकुम पूर्व — कुनै पनि बस्तीबाट वडा कार्यालय पुग्न कति समय लाग्ला ? सहज अनुमान हुन्छ, केही घण्टा । तर रुकुम पूर्वका केही गाउँबस्तीका बासिन्दा वडा कार्यालय पुगेर आधारभूत सेवा लिन पाँच दिन हिँड्न बाध्य छन् ।

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ का केही बस्तीबाट विकट हिमाली भूगोल र पहाडी पहरा छिचोल्दै दुई दिन हिँडेपछि बल्ल वडा कार्यालय पुगिन्छ । फर्किन पनि उत्तिकै समय लाग्छ । काम सक्न थप एक दिन लाग्दा सामान्य सरकारी सेवा लिन कम्तीमा पाँच दिन खर्चिनुपर्ने बाध्यता छ ।

यहाँका जुस्मर, हार्दिबाङ, रल र तिज्याङका बासिन्दालाई वडा कार्यालयबाट सेवा लिन तथा सरकारी कागजात बनाउन जाँदा कम्तीमा पाँच दिन लाग्ने गरेको हो। उनीहरुले कहिले खोला तर्दै त कहिले हिउँले ढाकिएको बाटो छिचोल्दै सेवा लिन जाने गरेका छन् । जिल्लाकै छेउमा रहेको गाउँ तिज्याङकी ६४ वर्षीया किउचरी रोकामगर आफू दुई दिनमा वडा कार्यालय पुग्न नसक्ने बताउँछिन् । 'म बूढी मान्छेलाई त वडासम्म पुग्न कम्तीमा तीन दिन लाग्छ अनि फर्किन पनि त्यति नै दिन,’ उनले दुःखेसो पोखिन्, ‘हाम्रो गाउँमा फोन पनि लाग्दैन । अनुमानका भरमा वडा कार्यालय पुग्यो, कर्मचारी नै नभेटिँदा एकपटक त अरू तीन दिन बसेर नौ दिनमा घर फर्किए,' उनले भनिन् ।

वडा कार्यालय जान भनेर घरबाट हिँडेकी किउचरी एक सातासम्म घर नफर्किएपछि उनका आफन्त उनलाई खोज्दै वडा कार्यालय रहेको ठाउँसम्मै पुगेका थिए । उनीहरुले त्यहाँ पुगेपछि मात्रै कार्यालयमा कर्मचारी नभेटिएको र शनिबार–आइतबारसमेत परेकाले काम सकेर फर्किन त्यति समय लागेको थाहा पाएका थिए ।

साविकको रन्मामैकोट गाविसका वडा ४ र ५ गाभेर हालको पुथाउत्तरगंगा गाउँपालिका–२ बनाइएको हो । साविकको वडा ४ रहेको पेल्मामा अहिले वडा कार्यालय छ । यही कार्यालय पुग्न जुस्मर, हार्दिबाङ, रल र तिज्याङका सर्वसाधारणलाई मुस्किल परिरहेको छ । त्यसैले यस भेगका बासिन्दाले साविकको वडा ५ लाई छुट्टै वडा बनाउनुपर्ने, त्यो सम्भव नभए पायक पर्ने वडा १ मा गाभ्नुपर्ने माग उठाइरहेका छन् ।

वडा नम्बर १ मैकोटमा पर्छ । वडा २ का यी चार बस्तीवासीलाई मैकोटकै बाटो छिचोलेर आफ्नो वडा कार्यालय पुग्नुपर्छ । हार्दिबाङका जोखनलाल कामी भन्छन्, ‘हाम्रो बस्तीबाट करिब दुई–तीन घण्टा हिँडेपछि मैकोट पुगिन्छ । हामी त्यहाँको वडा कार्यालय हेर्दै–हेर्दै पेल्मा पुग्छौं,’ उनले भने ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–२ को जुस्मर बस्ती । तस्बिरः महेश केसी/कान्तिपुर

जुस्मर र हार्दिबाङका बासिन्दा पहिलो दिन पैदल हिँडेर वडा १ को पुसरमा बास बस्न पुग्छन् । भोलिपल्ट थप एक दिन हिँडेपछि पेल्मा पुगिन्छ । रल र तिज्याङका बासिन्दाका लागि भने यो यात्रा झनै कठिन छ । तिज्याङकी किउचरी भन्छिन्, ‘हामीलाई हार्दिबाङतिर भएर जाँदा मैकोटमा बास बस्नुपर्छ । अनि भोलिपल्ट दिनभरि कस्सिएर हिँडेपछि पेल्मा पुगिन्छ । अर्को बाटो चाहिँ दिनभरि उकालो चढेर पहिलो दिन दुलेमा बास बस्ने अनि दोस्रो दिन ओरालो झरेर पेल्मा पुग्ने हो।’  रल र तिज्याङका बासिन्दाका लागि यी दुवै बाटा कठिन छन्।

बर्खामा खोला बढेर आवतजावतमा मुस्किल हुने र हिउँदमा हिउँ परेर बाटो छेकिने गरेको स्थानीय बताउँछन् । वडा कार्यालय पुगेपछि पनि तत्कालै काम हुन्छ भन्ने निश्चित छैन । त्यसैले कहिलेकाहीँ रित्तै फर्किनुपरेको रलकी देवी घर्तीले दुःखेसो पोखिन् । उनले भनिन्, ‘एक महिनाअघि छोराको जन्मदर्ता गराउन भनेर पेल्मा हिँडेकी म बल्लबल्ल बाँचेँ । मौसमबारे थाहा भएन । दुले पुगेको त्यही रातिदेखि ठूलो पानी पर्‍यो । कति नै पर्ला र भनेर निस्किहालेँ, तर वर्षा रोकिएन । जंगलमा बस्ने ठाउँ नभएपछि छोरासँगै पानीमा भिज्दै पेल्मा पुगेँ । त्यो बेला बिरामी भएको छोरो बल्ल निको हुँदैछ ।’

वडा कार्यालय पायक पर्ने ठाउँमा नहुँदा स्थानीयले यस्ता सास्ती मात्र होइन, अरू थुप्रै समस्या पनि भोगिरहेका छन् । यी बस्तीमा गाडी पुग्नु त परको कुरा, सजिलोसँग हिँड्ने गोरेटो बाटोसम्म छैन । विद्यालय, अस्पताल र सञ्चार सुविधाबाट समेत उनीहरू वञ्चित छन् ।

वडा कार्यालयको यो समस्या जसरी पनि समाधान हुनुपर्ने माग राख्दै आफू स्थानीयसहित पटक–पटक गाउँपालिका कार्यालय, जिल्ला समन्वय समिति तथा प्रदेश र संघ सरकारसमक्ष पुगेको वडा २ का अध्यक्ष जगत घर्तीले बताए । उनी हार्दिबाङका स्थानीयसमेत हुन् । ‘कहीँबाट पनि नमिल्ने यो भूगोलको विभाजन कसरी भयो, हामी अचम्ममा छौं । अब यस्तो भइरहनु हुँदैन भनेर दबाब दिन हामी पुग्नुपर्ने सबै ठाउँ पुगिसक्यौं । बताउनुपर्ने सबैलाई भनिसक्यौं,’ अध्यक्ष घर्तीले भने, ‘हाम्रो यो माग र आधारभूत अधिकारको परिपूर्तिका लागि अब अन्तिम संघर्षको तयारीमा छौं । यदि यसमा सरकार गम्भीर भएन भने आगामी चुनावमा हामी भाग नलिने अवस्था पनि बन्न सक्छ ।’ गत असार ४ गते प्रकाशित राजपत्रमा ‘गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकनसम्बन्धी मापदण्ड–२०८३’ जारी गरिएको छ ।

वडा कार्यालयको सेवा लिन हिँडेका पुथाउत्तरगंगा गाउँपालिका–२ रलका स्थानीय । तस्बिरः महेश केसी/कान्तिपुर

भूमि व्यवस्था, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का दफा ३, ४, ६, ७ र ८ मा भएका व्यवस्थाका आधारमा गाउँपालिका तथा नगरपालिकाको विद्यमान वर्गीकरण पुनरावलोकन गर्ने कार्यलाई व्यवस्थित गर्न उक्त मापदण्ड जारी गरेको हो । यही मापदण्डअनुसार चार बस्तीका बासिन्दाको आवश्यकता सम्बोधन गर्नुपर्ने स्थानीयको माग छ ।

यी चार बस्तीमा करिब पाँच सयभन्दा बढी जनसंख्या छ । यहाँ सडक पुगेको छैन । सामान्य स्वास्थ्य उपचारका लागि समेत स्थानीयले एक दिन हिँडेर मैकोट पुग्नुपर्ने बाध्यता छ । रलमा बालशिक्षासम्म पढाइ हुने ठाउँ छ भने तिज्याङमा कक्षा ३ र हार्दिबाङमा कक्षा ५ सम्म मात्रै पढाइ हुन्छ ।

रल र तिज्याङमा विद्युत् र टेलिफोन सुविधासमेत छैन । गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष टिकासाई घर्तीले पुथाउत्तरगंगा गाउँपालिकाका वडा १ देखि ६ सम्मका साथै ७ र ९ गरी आठवटा वडालाई समेटेर छुट्टै गाउँपालिका बनाउनुपर्ने मागसमेत उठेको बताए । ‘यी वडाका नागरिकलाई हालको पालिका केन्द्र तकसेरासम्म सेवा लिन जान मुस्किल छ । यसकारण सुरुवातमै प्रस्ताव गरिएको र अहिले पनि आवश्यकता रहेकाले उल्लेखित आठवटा वडाको छुट्टै पालिका हुनुपर्छ भन्ने हाम्रो माग छ । यो भयो भने वडा २ को अहिलेको समस्या समाधान गर्न पनि सहज हुन्छ,’ उनले भने ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1h ago
आफ्नै वडा कार्यालय पुग्न दुई दिनको बाटो

आफ्नै वडा कार्यालय पुग्न दुई दिनको बाटो

आफ्नै वडा कार्यालय पुग्न दुई दिनको बाटो पुथाउत्तरगंगा–२ को जुस्मर, हार्दिबाङ, रल र तिज्याङका बासिन्दा वडा कार्यालय आउजाउ गर्न विकट भूगोल, हिउँ र खोलाको बाटो हिँडेर पाँच दिन खर्चनु परेको छ। मंसिर ...

#वडा #पुथाउत्तरगंगा #आफ्नै
Compare →
Nagarik News
6d ago
वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

वडा प्रहरी परिसरमै कुटाकुट गर्ने ६ जना पक्राउ

कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालय परिसरमा आज कुटाकुट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

#वडा
Compare →

Related Stories

World News
Build #2612