महर्षि वाल्मीकि रचित रामायणको मूल कथामा तोडमोड गरिएको र रावणको चरित्रको महिमागान गरि फिल्म बनाइएको आरोप लगाउँदै यसको सेन्सर प्रमाणपत्र रद्द गरी प्रदर्शनमा तत्काल प्रतिबन्ध लगाउन माग गरिएको हो ।
काठमाडौँ — भारतको हिन्दूवादी संगठन विश्व हिन्दू परिषद् (भीएचपी) ले फिल्म ‘रामायण’ ले महर्षि वाल्मीकि रचित रामायणको मूल कथामा तोडमोड गरिएको र रावणको चरित्रको महिमागान गरि बनाइएको आरोप लगाउँदै यसको सेन्सर प्रमाणपत्र रद्द गरी प्रदर्शनमा तत्काल प्रतिबन्ध लगाउन माग गरेको छ ।
‘रावणको महिमामन्डन र रामको चरित्रलाई हल्का बनाइयो’
विश्व हिन्दू परिषद्द्वारा जारी विज्ञप्ती मा चलचित्रले आदि कवि महर्षि वाल्मीकिद्वारा रचित मूल रामायणका ऐतिहासिक तथा पौराणिक तथ्यहरूलाई बंग्याएर काल्पनिक प्रसंगहरू थपेको कारण एक अर्बभन्दा बढी रामभक्तहरूको धार्मिक आस्थामा गम्भीर चोट पुर्याएको उल्लेख छ ।
भीएचपीका केन्द्रीय महामन्त्री बजरंग बागडाले चलचित्रका निर्माताहरूमाथि अनावशयक राजनीतिक दृष्टिकोण स्थापित गर्न खोजेको भन्दै कडा आरोप लगाएका छन् ।
विश्व हिन्दु परिषदले चलचित्रमा रावणलाई ‘शोषितहरूको मुक्तिदाता’ बनाइएको आरोप लगाएको छ । भनेको छ, ‘ज्ञान र सामर्थ्य भए पनि अहंकारका कारण सृष्टि र ऋषि–मुनिका यज्ञ–साधनामा बाधा पुर्याउने दुराचारी रावणलाई चलचित्रको सुरुदेखि नै ‘दलित, शोषित र पीडित वर्गको उद्धारक’का रूपमा चित्रण गरी महिमामण्डित गर्न खोजिएको छ ।’
त्यसैगरी, परिषदले भगवान रामको व्यापक र उदार व्यक्तित्व दर्साउने प्रमुख प्रसंगह, माता अहिल्याको उद्धार, निषादराज गुहसागको समानताको मित्रता र केवटको भक्ति प्रसंगलाई भने चलचित्रबाट पूर्ण रूपमा हटाइएको पनि आरोप लगाएको छ ।
साथै, ऋषि–मुनिका यज्ञ र साधनाको रक्षा गर्दै राक्षसी प्रवृत्तिको अन्त्य गर्ने रामको महान् अभियानलाई केवल पत्नी अपहरणको बदला लिने ‘निजी लडाइँ’को रूपमा मात्र सीमित गरिएको भीएचपीको दाबी छ ।
व्यक्तिगत, पारिवारिक र सामाजिक मर्यादाको आदर्श स्थापित गर्ने रामकथामा यस्ता फेरबदल गर्नाले समाजको स्थापित नैतिक आधार कमजोर हुने बागडाको भनाइ छ ।
बलिउडमा पौराणिक महाकाव्य ‘रामायण’लाई पर्दामा उतार्ने प्रयास नयाँ होइन । हरेक पुस्ताले आफ्ना दृष्टि, प्रविधि र समयको मागअनुसार यस आख्यानलाई नयाँ स्वरूपमा प्रस्तुत गर्दै आएका छन् ।
निर्देशक नितेश तिवारीको निर्देशनमा तयार भएको बहुप्रतीक्षित चलचित्र ‘रामायणः राइज अफ ए लेजेन्ड’ ले अहिले बक्स अफिसमा अभूतपूर्व सफलता हासिल गरिरहेको छ । तर, व्यावसायिक सफलतासँगै यो ठूलो वैचारिक र धार्मिक विवादको घेरामा तानिएको छ ।
बलिउड अभिनेता रणबीर कपूर (भगवान् राम), यश (रावण) र साई पल्लवी (सीता) को मुख्य अभिनय रहेको यस चलचित्रले एकातिर दर्शकको व्यापक साथ पाइरहेको छ भने अर्कातिर धार्मिक विवाद पनि उब्जिएको छ ।
यस घटनाक्रमले सिनेमामा निर्देशकको रचनात्मक स्वतन्त्रता र सर्वमान्य धार्मिक–सांस्कृतिक ग्रन्थहरूको मौलिक निष्ठाबीचको सन्तुलनलाई लिएर गम्भीर बहस खडा गरिदिएको छ । एकातिर सिनेमाको भव्यता र कलाकारको अभिनयले दर्शक तानिरहेको छ भने अर्कातिर सांस्कृतिक आस्था जोगाउने मागले हलसम्मको यात्रालाई पेचिलो बनाएको छ ।
बक्स अफिसमा भने ‘रामायण’को आक्रामक कमाइ
धार्मिक र सांस्कृतिक विरोध चर्किए पनि दर्शकहरूको उपस्थिति र कमाइका हिसाबले चलचित्रले बक्स अफिसमा कीर्तिमानी व्यापार गरिरहेको छ । प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दासम्म चलचित्रले भारतीय र अन्तर्राष्ट्रिय बजारमा राम्रो प्रभाव जमाएको छ ।
प्रदर्शनको १६औं दिनसम्ममा ‘रामायण’ ले विश्वव्यापीरूपमा १ हजार ५ सय ७४ करोड भारु ग्रस कलेक्सन गरेको छ । भारतमा मात्रै फिल्मले एक हजार करोड माथिको ग्रस कलेक्सन गरेको रिपोर्ट छ ।
प्रदर्शनको १६औं दिन शुक्रबार पनि अझै १५ हजार ४ सय ९७ शोबाट १९ करोड ४५ लाख ग्रस कलेक्सन गरेको बताइएको छ ।
– यो सामग्री विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका समाचारमा आधारित भई तयार पारिएको हो ।