Trending
Prev Story
Next Story

विचार | विमानस्थलमा यात्रुको गोपनीयताको अधिकार

Ekantipur •
November 22, 2026 • 02:33 AM
3
3 reads 0 reactions

हवाई सुरक्षाका दृष्टिले शरीरको तलासी तथा विद्युतीय उपकरणबाट परीक्षण आवश्यक भए पनि त्यस्तो जाँच मर्यादित, व्यवस्थित र कानुनसम्मत हुनुपर्छ । विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपा‌ङ्गता भएका यात्रुको जाँच गर्दा संवेदनशीलता अपनाउनुपर्छ ।

विचार | विमानस्थलमा यात्रुको गोपनीयताको अधिकार

हवाई सुरक्षाका दृष्टिले शरीरको तलासी तथा विद्युतीय उपकरणबाट परीक्षण आवश्यक भए पनि त्यस्तो जाँच मर्यादित, व्यवस्थित र कानुनसम्मत हुनुपर्छ । विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपा‌ङ्गता भएका यात्रुको जाँच गर्दा संवेदनशीलता अपनाउनुपर्छ ।

काठमाडौँ — अन्तर्राष्ट्रिय विमानस्थल कुनै देशको प्रवेशद्वार मात्र होइन, त्यस देशको सभ्यता, प्रशासनिक क्षमता, सुरक्षा व्यवस्था र मानवअधिकारप्रतिको प्रतिबद्धता झल्काउने महत्त्वपूर्ण सार्वजनिक संस्था पनि हो । दैनिक हजारौं यात्रुको आवागमन हुने विमानस्थलमा सुरक्षा जाँच, अध्यागमन प्रक्रिया, व्यक्तिगत पहिचान, सामान परीक्षण, तस्बिर संकलन र निगरानीजस्ता गतिविधि सञ्चालन हुन्छन् । यी गतिविधिको मुख्य उद्देश्य हवाई सुरक्षालाई सुनिश्चित गर्नु र यात्रालाई सुरक्षित बनाउनु हो । तर यस प्रक्रियामा यात्रुको व्यक्तिगत जीवन, निजी विवरण र मानवीय मर्यादाको संरक्षणलाई पनि उत्तिकै महत्त्व दिइनुपर्छ ।

विमानस्थलमा प्रवेश गरेपछि यात्रुले आफ्नो राहदानी, परिचयपत्र, यात्रासम्बन्धी विवरण तथा व्यक्तिगत सामान सुरक्षा र प्रशासनिक निकायलाई उपलब्ध गराउनुपर्ने हुन्छ । कतिपय अवस्थामा औंठाछाप तथा अनुहार पहिचानजस्ता जैविक विवरणसमेत संकलन गरिन्छ । सुरक्षाका लागि आवश्यक यस्ता प्रक्रियाले यात्रुको गोपनीयताको अधिकारलाई अनावश्यक रूपमा प्रभावित गर्नु हुँदैन । त्यसैले महत्त्वपूर्ण प्रश्न सुरक्षा जाँच हुनुपर्छ कि पर्दैन भन्ने होइन, सुरक्षा जाँच गर्दा यात्रुको गोपनीयता, स्वतन्त्रता र सम्मान कसरी सुरक्षित राख्ने भन्ने हो ।

संवैधानिक तथा कानुनी आधार गोपनीयताको हक व्यक्तिको निजी जीवन, आत्मसम्मान, स्वतन्त्रता र मानवीय मर्यादासँग प्रत्यक्ष सम्बन्धित मौलिक अधिकार हो । प्रत्येक व्यक्तिले आफ्नो व्यक्तिगत विवरण, शारीरिक अवस्था, पारिवारिक जीवन, सञ्चार, व्यक्तिगत कागजात तथा निजी गतिविधिलाई अनधिकृत हस्तक्षेपबाट सुरक्षित राख्न पाउनुपर्छ ।

नेपालको संविधानको धारा २८ ले प्रत्येक व्यक्तिको जीउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक, पत्राचार र चरित्रसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिम बाहेक अनतिक्रम्य हुने व्यवस्था गरेको छ । यस व्यवस्थाले नेपाली नागरिक मात्र नभई नेपालमा रहेका विदेशी यात्रुको व्यक्तिगत मर्यादा र गोपनीयताको संरक्षणका लागि पनि महत्त्वपूर्ण आधार प्रदान गर्छ ।

त्यसैगरी, वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ ले व्यक्तिगत सूचना संकलन, संरक्षण, प्रयोग र गोपनीयतासम्बन्धी व्यवस्था गरेको छ । उक्त ऐनको दफा ३ ले व्यक्तिको शारीरिक तथा मानसिक अवस्थाको गोपनीयता सुनिश्चित गरेको छ भने दफा ५ ले व्यक्तिगत तलासी तथा सुरक्षा जाँचलाई कानुनी प्रक्रियासँग आबद्ध गरेको छ । ऐनको दफा १२ ले व्यक्तिगत तथ्यांकको गोपनीयता सुनिश्चित गर्दै संकलित विवरण जुन प्रयोजनका लागि संकलन गरिएको हो, सोही प्रयोजनका लागि मात्र प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ ।

अन्तर्राष्ट्रियस्तरमा पनि गोपनीयताको अधिकारलाई महत्त्वपूर्ण मानवअधिकारका रूपमा स्वीकार गरिएको छ । नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र, १९६६ को धारा १७ ले कुनै पनि व्यक्तिको निजी जीवन, परिवार, आवास वा पत्राचारमा स्वेच्छाचारी वा गैरकानुनी हस्तक्षेप गर्न नपाइने व्यवस्था गरेको छ । यसले विमानस्थलमा यात्रुको व्यक्तिगत विवरणको संरक्षणलाई अन्तर्राष्ट्रिय मानवअधिकारको विषयका रूपमा स्थापित गरेको छ ।

गोपनीयता प्रभावित हुन सक्ने अवस्था विमानस्थलमा यात्रुको गोपनीयता विभिन्न चरणमा प्रभावित हुन सक्छ । पहिलो, व्यक्तिगत तथा शारीरिक सुरक्षा जाँचका क्रममा यात्रुको शारीरिक मर्यादा र निजत्वमा असर पर्न सक्छ । हवाई सुरक्षाका दृष्टिले शरीरको तलासी तथा विद्युतीय उपकरणबाट परीक्षण आवश्यक भए पनि त्यस्तो जाँच मर्यादित, व्यवस्थित र कानुनसम्मत हुनुपर्छ । विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपा‌ंगता भएका यात्रुको जाँच गर्दा संवेदनशीलता अपनाउनुपर्छ ।

दोस्रो, व्यक्तिगत तथा जैविक तथ्यांकको संकलन र प्रयोग महत्त्वपूर्ण चुनौती हो । आधुनिक विमानस्थलमा औंठाछाप, अनुहार पहिचान र राहदानी विवरणजस्ता सूचना प्रयोग गरिन्छन् । यस्ता विवरण दुरुपयोग भएमा पहिचान चोरी, आर्थिक ठगी तथा अन्य आपराधिक गतिविधिको जोखिम बढ्न सक्छ । त्यसैले यस्ता विवरण कसले संकलन गर्ने, कुन प्रयोजनका लागि प्रयोग गर्ने, कति समयसम्म सुरक्षित राख्ने र कसले पहुँच प्राप्त गर्ने भन्ने स्पष्ट हुनुपर्छ ।

तेस्रो, विमानस्थलमा जडान गरिएका दृश्य निगरानी उपकरणले पनि यात्रुको गोपनीयतामा प्रभाव पार्न सक्छन् । सुरक्षा प्रयोजनका लागि यस्ता उपकरण आवश्यक भए पनि तिनबाट संकलित दृश्य अभिलेख अनधिकृत व्यक्तिलाई उपलब्ध गराउने वा सामाजिक सञ्जालमा सार्वजनिक गर्ने कार्य नियन्त्रण गर्नुपर्छ । शौचालय, स्नान कक्ष तथा अन्य संवेदनशील निजी स्थानमा दृश्य निगरानी गर्नु व्यक्तिको गोपनीयताविरुद्ध हुन सक्छ ।

चौथो, यात्रुको नाम, ठेगाना, राहदानी नम्बर, सम्पर्क नम्बर, गन्तव्य तथा उडान विवरणजस्ता व्यक्तिगत सूचना विभिन्न निकायमा आदानप्रदान हुन्छन् । यस्ता विवरण अनधिकृत व्यक्तिको पहुँचमा पुगेमा यात्रुको व्यक्तिगत सुरक्षा र प्रतिष्ठामा समेत असर पर्न सक्छ । विशेषगरी मानव बेचबिखनका सम्भावित पीडित, महिला, बालबालिका तथा सुरक्षाको जोखिममा रहेका व्यक्तिको यात्रा विवरण सार्वजनिक हुनु थप संवेदनशील विषय हो ।

सुरक्षा र गोपनीयताबीच सन्तुलन विमानस्थलमा सुरक्षा कायम गर्नु राज्यको दायित्व हो । विमान अपहरण, आतंकवादी गतिविधि, मानव बेचबिखन, लागूऔषध ओसारपसार तथा अन्य अन्तरदेशीय अपराध नियन्त्रण गर्न प्रभावकारी सुरक्षा जाँच आवश्यक हुन्छ । तर सुरक्षा र गोपनीयतालाई एकअर्काको विपरीत अधिकारका रूपमा बुझ्नु हुँदैन ।

सुरक्षाका लागि गरिने प्रत्येक हस्तक्षेप कानुनी आधारमा आधारित, आवश्यक, औचित्यपूर्ण र समानुपातिक हुनुपर्छ । केवल राष्ट्रियता, जातीय पहिचान, धर्म, लिंग वा व्यक्तिगत पूर्वाग्रहका आधारमा यात्रुलाई अपमानजनक व्यवहार गर्नु हुँदैन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले पनि यात्रुको विवरण व्यवस्थापन गर्दा आवश्यक प्रयोजन, सीमित पहुँच, सुरक्षित भण्डारण र व्यक्तिगत विवरणको संरक्षणमा जोड दिएको छ ।

सुधारका लागि आवश्यक कदम नेपालको प्रमुख अन्तर्राष्ट्रिय प्रवेशद्वारका रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको गोपनीयता संरक्षणलाई संस्थागत प्राथमिकतामा राख्न आवश्यक छ । यसका लागि पहिलो, यात्रुको व्यक्तिगत विवरण संकलन तथा प्रयोग गर्ने प्रत्येक निकायको जिम्मेवारी स्पष्ट निर्धारण गर्नुपर्छ । दोस्रो, व्यक्तिगत तथा जैविक तथ्यांकको सुरक्षित भण्डारणका लागि आधुनिक सूचना सुरक्षा प्रणाली विकास गर्नुपर्छ । तेस्रो, विमानस्थलमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई गोपनीयताको अधिकार, मानवअधिकार र मर्यादित व्यवहारसम्बन्धी नियमित तालिम दिनुपर्छ । त्यसैगरी, दृश्य निगरानी उपकरणको प्रयोगलाई स्पष्ट कार्यविधिअनुसार सञ्चालन गर्नुपर्छ । त्यस्ता उपकरणबाट संकलित अभिलेखमा पहुँच प्राप्त गर्ने अधिकारी र अभिलेख सुरक्षित राख्ने अवधि निर्धारण गरिनुपर्छ । यात्रुको गोपनीयता उल्लंघन भएको अवस्थामा उजुरी, छानबिन र कानुनी उपचार प्राप्त गर्न सक्ने प्रभावकारी संयन्त्र पनि स्थापना गर्नुपर्छ ।

निष्कर्ष अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व हो भने उनीहरूको गोपनीयता र मानवीय मर्यादाको संरक्षण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी हो । सुरक्षाका नाममा यात्रुको निजी जीवनमाथि अनावश्यक हस्तक्षेप गर्ने छुट कुनै पनि निकायलाई हुनुहुँदैन । त्यसैले विमानस्थलमा हुने सुरक्षा जाँच, व्यक्तिगत विवरणको संकलन तथा प्रयोग र निगरानी प्रणालीलाई संविधान, कानुन र मानवअधिकारका मान्यताअनुरूप व्यवस्थित गर्न आवश्यक छ । वास्तविक सुरक्षित विमानस्थल त्यही हो, जहाँ यात्रुको सुरक्षा मात्र होइन, उसको गोपनीयता, स्वतन्त्रता र मानवीय मर्यादाको समेत सम्मान गरिन्छ ।

मनीषा आउजी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुब्बा पदमा कार्यरत छिन्

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4d ago
मासु जाँच ऐन लागू, उपत्यकामा एकै दिन ४३ हजार किलो परीक्षण

मासु जाँच ऐन लागू, उपत्यकामा एकै दिन ४३ हजार किलो परीक्षण

मासु जाँच ऐन लागू, उपत्यकामा एकै दिन ४३ हजार किलो परीक्षण वधशालामा पशु वध गर्नुअघि स्वास्थ्य परीक्षण र वधपछि पनि मासु परीक्षण गरेर उपभोगयोग्य छाप लगाई बिक्री गर्ने व्यवस्था छ । मंसिर १, २०८३ प्र...

#जाँच #परीक्षण
Compare →

Related Stories

Opinion & Editorial
Build #2612