Trending
Prev Story
Next Story

कारोबार सुस्ताउँदा नेप्से घट्यो, लगानीकर्ता छानिएका सेयरमा केन्द्रित

Ekantipur •
November 21, 2026 • 01:33 PM
1
1 reads 0 reactions

बैंकिङ र केही जलविद्युत् कम्पनीका सेयरमा तुलनात्मक आकर्षण देखिए पनि दैनिक कारोबारमा आएको गिरावट र कमजोर आर्थिक वृद्धिको सम्भावनाले बजारको सुधारलाई सीमित पारेको छ ।

कारोबार सुस्ताउँदा नेप्से घट्यो, लगानीकर्ता छानिएका सेयरमा केन्द्रित

बैंकिङ र केही जलविद्युत् कम्पनीका सेयरमा तुलनात्मक आकर्षण देखिए पनि दैनिक कारोबारमा आएको गिरावट र कमजोर आर्थिक वृद्धिको सम्भावनाले बजारको सुधारलाई सीमित पारेको छ ।

काठमाडौँ — नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १–४ मंसिरसम्मका चार कारोबार दिनमा ३३.९३ अंक अर्थात् १.२८ प्रतिशतले घटेर २६२१.२९ विन्दुमा पुगेको छ । परिसूचकमा देखिएको तुलनात्मक रूपमा सामान्य गिरावटले कारोबारमा आएको ठूलो सुस्ततालाई भने छोपेको छ । यसले बैंकिङ र जलविद्युत् कम्पनीका केही सेयरमा आकर्षण देखिए पनि समग्रमा लगानीकर्ता अझै सतर्क रहेको संकेत गर्छ ।

यो तुलना १६–२० कात्तिकसम्मको अघिल्लो पूर्ण पाँच कारोबार दिनको अवधिसँग गरिएको हो । उक्त अवधिको अन्तिम कारोबार दिन नेप्से परिसूचक २६५५.२२ विन्दुमा बन्द भएको थियो । तिहार बिदापछि बजार २७ कात्तिकमा एक दिन मात्रै खुलेको थियो । त्यसैले उक्त एक दिनलाई अर्थपूर्ण साप्ताहिक तुलनाको आधार मान्न सकिँदैन ।

गत साता ‘क’ वर्गका कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.११ अंक अर्थात् ०.६५ प्रतिशतले घटेर ४७७.०१ विन्दुमा झरेको छ । फ्लोट इन्डेक्स पनि १.६७ अंक अर्थात् ०.९१ प्रतिशतले घटेर १८२.३७ विन्दुमा पुगेको छ । बजारको कुल पुँजीकरण ६० अर्ब रुपैयाँ अर्थात् १.३१ प्रतिशतले घटेर ४५ खर्ब १० अर्ब रुपैयाँमा झरेको छ । अघिल्लो तुलनायोग्य अवधिमा यो ४५ खर्ब ७० अर्ब रुपैयाँ थियो ।

चार कारोबार दिनमा कुल १६ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । अघिल्लो पूर्ण पाँच कारोबार दिनमा २८ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो । कारोबार रकम ४३.०२ प्रतिशतले घटेको हो । दैनिक औसत कारोबार रकम पनि ५ अर्ब ६५ करोडबाट ४ अर्ब २ करोड रुपैयाँमा झरेको छ । यो २८.७८ प्रतिशतको गिरावट हो । यसले कारोबार दिन कम भएकाले मात्रै कारोबार रकम घटेको नभई बजारमा समग्र गतिविधि नै सुस्ताएको देखाउँछ ।

समीक्षा अवधिमा १३ मध्ये ११ वटा उपसमूहका सूचक घटेका छन् । यसले बजारलाई टेवा दिने क्षेत्र सीमित रहेको देखाउँछ । बैंकिङ उपसमूह ०.३० प्रतिशतले बढेर १५८५.९१ विन्दुमा पुगेको छ । म्युचुअल फन्ड उपसमूह पनि ०.२५ प्रतिशतले बढेर २०.०६ विन्दुमा कायम भएको छ । अन्य उपसमूह सबैभन्दा धेरै ३.४० प्रतिशतले घटेर १८२४.६६ विन्दुमा झरेको छ । जीवन बिमा ३.०५ प्रतिशतले घटेर ११,५३५.५६, व्यापार २.८१ प्रतिशतले घटेर ३१३१.०३ विन्दुमा झरेको छ । वित्त र लघुवित्त उपसमूह क्रमशः २.१७ र १.९७ प्रतिशतले घटेका छन् ।

बजार विश्लेषकहरूका अनुसार जीवन बिमा कम्पनीका वित्तीय विवरण अपेक्षाअनुसार नआएपछि लगानीकर्ताले आफ्नो लगानीबारे पुनर्विचार गर्न थालेका छन् । लाभांश पनि अपेक्षाभन्दा कम हुने अनुमानमा बैंकहरूले जीवन बिमा कम्पनीका सेयर बेच्न थालेका छन् । क्षेत्रगत परिसूचकको प्रदर्शनले लगानीकर्ताहरू कमजोर नाफा र बजार मनोविज्ञानको जोखिममा रहेका अन्य क्षेत्रभन्दा बैंकिङ सेयरप्रति आकर्षित भएको देखाउँछ । तर, बैंकिङ समूहको झिनो वृद्धि समग्र बजार उकालो लाग्न पर्याप्त देखिएको छैन ।

समग्र कारोबार घटे पनि केही कम्पनीका सेयरमा उल्लेख्य कारोबार भएको छ । कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स पहिलो स्थानमा रह्यो । कम्पनीको ५९ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भए पनि मूल्य १.६८ प्रतिशतले घटेर प्रतिकित्ता ५८९ रुपैयाँ ९० पैसा कायम भएको छ । रिलायन्स स्पिनिङ मिल्सको ५८ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । यसको सेयर मूल्य २.२५ प्रतिशतले बढेर प्रतिकित्ता २,७३० रुपैयाँ पुगेको छ । ग्लोबल आईएमई बैंकको ४६ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । उक्त बैंकको सेयर मूल्य १.६९ प्रतिशतले बढेर प्रतिकित्ता २७० रुपैयाँ ४० पैसा कायम भएको छ ।

जलविद्युत् कम्पनी घलेम्दी हाइड्रो र पिपुल्स हाइड्रोपावर पनि सर्वाधिक कारोबार हुने पाँच कम्पनीभित्र परेका छन् । यी कम्पनीको क्रमशः ४५ करोड ३९ लाख र ४० करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कारोबार भएको सेयर संख्याका आधारमा ग्लोबल आईएमई बैंक पहिलो स्थानमा छ । बैंकका १७ लाख ३७ हजार कित्ता सेयर किनबेच भएका छन् । त्यसपछि घलेम्दी हाइड्रोका १३ लाख ८३ हजार, एनआईसी एसिया बैंकका ११ लाख ३५ हजार, पिपुल्स हाइड्रोपावरका ११ लाख १० हजार र श्वेतगंगा हाइड्रोपावरका ११ लाख १ हजार कित्ता सेयर कारोबार भएका छन् ।

समीक्षा अवधिमा बोटलर्स नेपाल (तराई) सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनी बनेको छ । यसको सेयर मूल्य ७.८४ प्रतिशतले बढेर प्रतिकित्ता १२ हजार ८३३ रुपैयाँ पुगेको छ । अपर लोहोरे खोला हाइड्रोपावरको सेयर मूल्य ६.५४ प्रतिशत र डोल्टी पावरको ६.१७ प्रतिशतले बढेको छ । एभरेस्ट कलर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १५.९३ प्रतिशतले घटेर प्रतिकित्ता १०५० रुपैयाँमा झरेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ११.९० प्रतिशत र पाल्पा सिमेन्ट इन्डस्ट्रिजको १०.५५ प्रतिशतले मूल्य घटेको छ । कम्पनीपिच्छे सेयर मूल्यमा देखिएको भिन्नताले लगानीकर्ताले समग्र बजारमा लगानी फैलाउनुभन्दा छानिएका कम्पनीमा मात्रै चासो देखाएको संकेत गर्छ ।

चार्टर्ड एकाउन्टेन्ट तथा बजार विश्लेषक मनीष अर्यालले सरकारको सकारात्मक दृष्टिकोण र नीतिगत वातावरणका कारण आफू बजारप्रति आशावादी रहेको बताए । उनका अनुसार नेप्से लामो समयदेखि साइडवेजमा रहे पनि बोनस सेयर र हकप्रद सेयर निष्कासनबाट बजारमा थपिएको आपूर्तिलाई ठूलो गिरावटबिना थेग्न सक्नु सकारात्मक हो । ठूला संस्थागत लगानीकर्ताको उपस्थिति नभए पनि बजारले यस्तो आपूर्ति धानिरहेको उनले बताए ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सेयर धितो कर्जा करिब १ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ । यसले बजारको तरलतालाई टेवा दिन सक्ने अर्यालको भनाइ छ । बैंकिङ क्षेत्रका सेयर र बलिया वित्तीय आधार भएका केही जलविद्युत् कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको उनले बताए ।

अर्यालले आगामी साता बैंकिङ क्षेत्रका सेयर सकारात्मक रहने अपेक्षा गरेका छन् । नेप्सेमा बैंकिङ क्षेत्रको भार तुलनात्मक रूपमा ठूलो भएकाले बैंकका सेयरको मूल्य बढ्दा समग्र परिसूचकलाई पनि टेवा पुग्न सक्छ । बैंकहरूले आगामी बुल रनको नेतृत्व गर्न सक्ने उनको आकलन छ । तर बजारमा दिगो वृद्धि हुन दैनिक कारोबार कम्तीमा ६ अर्ब रुपैयाँ पुग्नुपर्ने उनको भनाइ छ । अहिलेको दैनिक औसत कारोबार ४ अर्ब २ करोड रुपैयाँ मात्रै छ ।

बजार विश्लेषक अजयसिंह थापाले नेप्से ३००० विन्दुसम्म पुग्न सक्ने भए पनि अर्थतन्त्रमा सुधार नभएसम्म दिगो वृद्धि कठिन हुने बताए । नेपालको आर्थिक वृद्धिको सम्भावना कमजोर देखिएको छ । एसियाली विकास बैंकले चालु आर्थिक वर्षमा ४.१ प्रतिशत र विश्व बैंकले ३.७ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेका छन् । दुवै संस्थाको प्रक्षेपणमा १० भदौको बाढीको आर्थिक प्रभाव समेटिएको छ ।

थापाका अनुसार बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि लगानीकर्ता अझै हिचकिचाइरहेका छन् । व्यवसायीले ऋण लिन इच्छा नदेखाउँदा बैंकहरूलाई कर्जा विस्तार गर्न कठिन भएको छ । नेपाल धितोपत्र बोर्डले सर्ट सेलिङसहित नयाँ वित्तीय उपकरण ल्याउने योजनाले पनि लगानीकर्ता र कारोबार गर्नेहरूमा अन्योल थपेको उनले बताए ।

प्राविधिक रूपमा नेप्से अहिले साँघुरो दायरामा सीमित भएर चलिरहेको छ । कात्तिकको सुरुतिर २७०० विन्दु आसपास पुगेको परिसूचकले त्यसलाई कायम राख्न नसकेपछि बजार यस्तो अवस्थामा पुगेको हो । नेप्से २६२१.२९ विन्दुमा बन्द हुँदा २० दिने र ५० दिने एक्सपोनेन्सियल मुभिङ एभरेज (ईएमए) दुवैभन्दा तल छ । यसले अल्पकालीन रूपमा बजारमा प्रतिरोध रहेको संकेत गर्छ ।

यद्यपि, पछिल्ला कारोबार दिनमा देखिएका साना आकारका क्यान्डल र घट्दो बिक्री चापले लगानीकर्तामा तीव्र रूपमा सेयर बेच्ने दबाब नरहेको देखाउँछ । १४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४६.०५ मा छ, जुन तटस्थ अवस्था हो ।

तत्कालका लागि २६०० देखि २६१५ विन्दुलाई बजारको टेवा क्षेत्र मानिएको छ । कारोबार रकम बढ्दै जाँदा परिसूचक २६३० देखि २६३६ विन्दुको मुभिङ एभरेज क्षेत्रभन्दा माथि उक्लिएमा बजारमा पुनः सकारात्मक गति आउन सक्छ । तर मनोवैज्ञानिक आधार मानिएको २६०० विन्दुभन्दा तल निर्णायक रूपमा झरेमा परिसूचक २५६० विन्दुसम्म पुग्न सक्ने देखिन्छ ।

नेप्सेको स्थिरता र छानिएका सेयरमा देखिएको खरिद आकर्षणले बजारलाई केही टेवा दिए पनि घट्दो कारोबार, कमजोर आर्थिक वृद्धिको सम्भावना र सीमित लगानीकर्ता सहभागिताले बजार अझै समेकनको चरणमा रहेको संकेत गर्छ । दिगो सुधारका लागि लगानीकर्ताको व्यापक सहभागिता, कम्पनीहरूको वित्तीय नतिजामा सुधार र बैंकिङ प्रणालीको तरलतालाई लगानी तथा व्यावसायिक गतिविधिमा रूपान्तरण गर्न सक्ने आर्थिक पुनरुत्थान आवश्यक हुनेछ ।

प्रितम भट्टराई काठमान्डु पोस्टका पत्रकार हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक सात दशमलव ३८ अङ्कले घटेर दुई हजार ६२१ दशमलव २९ विन्दुमा कायम भएको छ । ठूला...

#शेयर-बजार #नेप्से #घट्यो
Compare →
Nagarik News
3d ago
११.०५ अंकले घट्यो नेप्से परिसूचक

११.०५ अंकले घट्यो नेप्से परिसूचक

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ।

#शेयर-बजार #नेप्से #घट्यो
Compare →
Bizshala
4d ago
दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘अब बजारले लय लिन सक्छ, आत्तिनुपर्ने अवस्था छैन’

दोहोरो अंकले घट्यो नेप्से, जानकार भन्छन्, ‘अब बजारले लय लिन सक्छ, आत्तिनुपर्ने अवस्था छैन’

काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा कायम भएको छ...

#शेयर-बजार #नेप्से #घट्यो
Compare →
Arthasansar
1d ago
घटेर बन्द भयो नेप्से परिसूचक, कारोबार ३ अर्बमा सिमित

घटेर बन्द भयो नेप्से परिसूचक, कारोबार ३ अर्बमा सिमित

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन सामान्य बढेको नेप्से परिसूचक आज...

#शेयर-बजार #नेप्से
Compare →
Onlinekhabar
1d ago
७ अंक घट्यो सेयर बजार, बढ्यो बैंकिङ

७ अंक घट्यो सेयर बजार, बढ्यो बैंकिङ

४ मंसिर, काठमाडौं । शुक्रबार सेयर बजार ७.३८ अंक घटेको छ । यो कमीसँगै नेप्से परिसूचक २६२१ अंकमा कायम भएको छ । अघिल्लो दिन नेप्से ३. ६२ अंक बढेको थियो। आज ८९ कम्पनीको मूल्य बढेको छ …

#शेयर-बजार #घट्यो
Compare →

Related Stories

Business & Economy
Build #2612