Trending
Prev Story
Next Story

नेपाली क्रिकेटको उत्सव चलिरहँदा गुमनाम एक पूर्वकप्तान

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions 4 comments

५ मंसिर, चितवन । नेपाली क्रिकेटको कुम्भ नेपाल प्रिमियर लिग(एनपीएल) चलिरहेको छ । देश तथा विदेशमा रहेका नेपालीहरू क्रिकेटको यो मेलामा रमाइरहेका छन् । एनपीएलकै फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिडिरहेका …

1 / 5
Swipe Photos

५ मंसिर, चितवन । नेपाली क्रिकेटको कुम्भ नेपाल प्रिमियर लिग(एनपीएल) चलिरहेको छ । देश तथा विदेशमा रहेका नेपालीहरू क्रिकेटको यो मेलामा रमाइरहेका छन् ।

एनपीएलकै फाइनल खेलमा आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स उपाधिका लागि भिडिरहेका छन् ।

एनपीएलको तेस्रो सिजनको मैझारो हुँदासम्म नेपाली क्रिकेटका एक पुराना हस्ती, राष्ट्रिय टोलीका पूर्वकप्तान राजु खड्का भने गुमनामजस्तै छन् ।

खड्काको नाम लिँदा नेपाली क्रिकेटलाई आजको उचाइसम्म पुर्‍याउन जगको इँटाको रूपमा चित्रित गर्दा सायद कसैले प्रश्न उठाउनसक्ला ।

तर, उनै खड्का भने एनपीएलको कुम्भमा कतै देखिएनन् । यसपटक मात्रै होइन, उनी एनपीएलका तीन वटै संस्करणभरि कहिल्यै दृश्यमा भेटिएनन् ।

नेपाली क्रिकेटलाई नेतृत्व गरेका पूर्वकप्तानहरू पारस खड्का, विनोद दास, ज्ञानेन्द्र मल्ल, परेश लोहनी, पवन अग्रवालहरू कहिँकतै क्रिकेटमै देखिँदा इतिहासको महत्त्वपूर्ण कालखण्डमा राष्ट्रिय टोलीलाई नेतृत्व दिएका खड्का भने किन गुमनाम छन् ?

शनिबार बिहान चितवनको नारायणगढस्थित लिटिल फ्लावर विद्यालयको प्राङ्गढमा केही विद्यार्थीसँग खड्का भेटिए । उनी त्यहाँ विद्याथीहरूलाई फुटबल र क्रिकेट सिकाइरहेका थिए ।

अनलाइनखबरले खड्कासँग नेपाली क्रिकेट टोलीको पूर्वकप्तान एनपीएल हेर्न किन नगएको ? निम्ता नआएर हो ? भन्ने प्रश्न सोध्यो ।

पहिलो र दोस्रो संस्करणमा निम्ता आएको उनले स्वीकारे । ‘तर यसपटक क्यान(नेपाल क्रिकेट संघ) ले सम्झिएन,’ उनले भने ।

कुराकानीमा खड्कालाई एनपीएलको मैदानमा नै गएर क्रिकेट हेर्ने धोको नभएको भने देखिएन । उनमा एक पूर्वकप्तानको हैसियतमा भीआईपी पारापिटमा बसेर क्रिकेट हेर्ने स्वभाविक चाहाना रहेको आशय झल्किन्थो ।

‘आफूले खेलेको मैदानमा मन सधैं डुलेको हुन्छ,’ उनी भन्छन् । उनलाई कहिलेकाहीँ टिकट काटेर मैदान पुगी क्रिकेट हेरौं की जस्तो पनि लाग्ने रहेछ ।

‘फेरि एक मनले होइन, घरमा नै हेर, नजा भन्छ,’ उनले मनको गाँठो खोल्दै भने, ‘जिल्लाका साथीहरूले जाऔं भन्दैथिए । आफैले केही बहाना देखाएर टारेँ ।’

सन् १९९९ देखि सन् २००४ सम्म झन्डै ५ वर्ष नेपाली क्रिकेटको उन्नयनमा योगदान दिएका खड्कालाई क्यानले कुनै भूमिका नदिएकामा गुनासो पनि देखिएन ।

‘तर, अग्रजहरूलाई सम्मान गरेहुन्थ्यो भन्ने चाँही लाग्छ । यो त हाम्रो नेपाली संस्कार पनि त हो नि,’ उनी भन्छन् ।

पूर्वकप्तान पारस खड्का क्यानको सचिव छन् । तर, पारसभन्दा अग्रज पूर्वकप्तानहरूको खोजी खास्सै नभएको जस्तो अनुभूति आफूलाई रहेको पूर्वकप्तान राजु खड्का बताउँछन् ।

राजु आफै चितवनका बासिन्दा हुन् । एनपीएलका ८ वटा फ्रेन्चाइज टिममध्ये एउटा ‘चितवन राइनोज’ पनि छ । चितवन मेडिकल कलेज स्वामित्वमा रहेको चितवन राइनोजले एनपीएलका तीन सिजन खेलिसकेको छ ।

तर, चितवन राइनोजसँग राजु जोडिन सकेनन् ।  उनले चितवन राइनोजमा कुनै न कुनै भूमिकामा जोडिन चाहेका रहेछन् । ‘तर, त्यो सौभाग्य मिलेन भनौं,’ उनले सुनाए ।

एनपीएलको पहिलो सिजनमा नै राइनोजसँग प्रशिक्षकका रूपमा जोडिने कुरा चलेको उनले सुनाए । तर, त्यो सम्भव भएन ।

अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गर्ने खेलाडी

नेपालका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक प्रहार गर्ने पहिलो ऐतिहासिक खेलाडी हुन, राजु खड्का ।

उनी दायाँ हाते आक्रामक ब्याटर तथा दायाँ हाते मिडियम फास्ट बलिङ गर्थे । उनी आफ्नो समयका भरपर्दा अलराउन्डर थिए ।

सन् १९९६ मा पहिलोपटक मलेसियामा भएको एसीसी ट्रफीमा बंगलादेशविरुद्ध उनले पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए ।

त्यो खेलमा नेपाली टोलीको कप्तान उत्तम कर्माचार्य थिए । बंगलादेशविरुद्धको खेलमा उनले दुई विकेट लिए । नेपालको ब्याटिङका बेला वर्षाले खेल प्रभावित भएको थियो ।

उत्तम कमार्चार्यपछि सन् १९९८ मा एलबी क्षेत्री नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान बने । क्षेत्रीपछि झन्डै ५ वर्ष खड्काले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गरेका थिए ।

कप्तान भएकै बेला सन् २००३ मा एसीसी इमर्जिङ्ग नेसन्स कपमा भुटानविरुद्ध ५० बलमा अविजित १०५ रन प्रहार गर्दै खड्काले नेपालका तर्फबाट पहिलो अन्तर्राष्ट्रिय शतक बनाएका थिए ।

यो नै नेपालले बनाएको पहिलो अन्तर्राष्ट्रिय शतक हो । उनकै कप्तानीमा सन् २००२ मा भएको एसीसी ट्रफीमा नेपाल फाइनलसम्म पुगेर उपविजेता बनेको थियो । त्यो समयदेखि नै नेपाली क्रिकेटको चर्चा सुरु भएको हो ।

सन् २००४ मा आईसीसी इन्टरकन्टिनेन्टल कपमा यूएईविरुद्धको खेलपछि उनले नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेलेनन् ।

राजु खड्कापछि विनोद दास, पारस खड्का, ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, रोहित पौडेलले नेपाली राष्ट्रिय टोलीको कप्तानी गरे । अहिले सन्दीप लामिछानेले एकदिवसीय र  दीपेन्द्रसिंह ऐरीले टी–२० नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गरिरहेका छन् ।

चितवनमा बसेर राजु खड्काले ग्रास रुट तहको क्रिकेटलाई बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने पूर्वकप्तान राजु खड्काले प्रशिक्षित गरेका खेलाडी हुन् ।

भुइँतहमा क्रिकेटको विकास नगरी राम्रो क्रिकेट टिम तयार हुन नसक्ने उनको बुझाइ छ ।

सन् २००४ मा नेपाली क्रिकेट टोलीको कप्तान छाडेपछि खड्का केही समय भारत गए । पुन: नेपाल फर्किएर केही समय भैरहवामा बसेर चितवन आए ।

घरपरिवार र गुजारा चलाउन भरतपुर महानगरपालिका– ३मा रहेको लिटिल फ्लावर विद्यालयमा खेलकुद शिक्षकका रूपमा विगत २० वर्षदेखि काम गर्दै आएका छन् । घरमा श्रीमती बिरामी भएकाले रेखदेखमा समय बिताउने गरेका छन् ।

खड्काले क्याम्पाचौरमा क्रिकेटको चितवन ट्रेनिङ सेन्टर नाम संस्थामार्फत झन्डै ४० जना विद्यालय उमेर समूहका किशोरहरूलाई क्रिकेट सिकाउँदै आएका छन् ।

उनले एकेडेमीमार्फत नै सन्दीप लामिछानेसहित गौतम केसी, प्रतिक श्रेष्ठ, दीपेश श्रेष्ठ, सौगात ढकालजस्ता खेलाडी जन्माए ।

अन्डर १६, १९ र राष्ट्रिय टिममा गरेर उनले सिकाएका १४ जना खेलाडीले प्रतिनिधित्व गरिसकेका छन् । उनी अहिले चितवन जिल्ला क्रिकेट एसोसियनको सदस्य छन् । यसपटक चितवन राइनोजको ट्यालेन्ट हन्टमा सहभागी भएर उनले खेलाडी छनोट गरिदिएका थिए ।

‘टी–२० मा फोकस हुँदा ओडीआईमा कमजोरी भयो’

कतारमा चलिरहेको एसिया कप राइजिङ स्टार प्रतियोगितामा भारतविरुद्ध नेपालले हिजो शुक्रबार खेलेको खेलले आफुलाई निकै दु:खी बनाएको पूर्वकप्तान खड्का बताउँछन् ।

टेस्ट खेल्ने देश बन्ने लक्ष्य लिएको नेपालले त्यो स्तरको कमजोर खेल प्रदर्शन गर्ला भनेर कहिल्यै नसोचेको उनले बताए ।

‘हामीले टी–२० लाई बढी फोकस गरेका छौं । त्यहीअनुसार खेलाडी तयार गरेका छौं । धैर्यतापूर्वक खेल्ने, स्किल राखेर खेल्ने खेलाडी वा त्यसतर्फ फोकस हुने खेलाडी कम बनायौं की ?’, उनले भने ।

भारतीय बलरअगाडि नेपाली राष्ट्रिय खेलाडीहरूको प्रर्दशन बिर्सनलायक भएको उनले सुनाए ।

‘साथीको घरमा क्रिकेट हेरिरहेको थिएँ, विजोग अवस्था देखेपछि खेल हेर्न छाडेँ’, उनी भन्छन्, ‘यसलाई भुलेर हामी आगामी दिनका खेलमा केन्द्रित हुनुपर्छ ।’

५० ओभरको खेलमा धैर्यता राख्ने र साझेदारीको विकास गर्नतिर लाग्दा खेलाडीलाई नै फाइदा हुने उनको धारणा छ ।

एनपीएलमा विदेशबाट ल्याउने खेलाडीबाट नेपाली खेलाडीले सिक्नुपर्ने पनि उनी बताउँछन् । यद्यपि, टिमको धारणाप्रति पनि उनी असन्तुष्ट सुनिन्छन् ।

‘विदेशी खेलाडी हाम्राभन्दा राम्रा आउँछन् । ल्याउनु पनि पर्छ । तर, उनीहरूले ब्याटिङ लाइनअप धानिदिउन र टिम जितोस् भन्ने धारणा गलत छ,’ उनी भन्छन्, ‘हाम्रा खेलाडीले पनि उनीहरूबाट स्किल र टेक्निक सिकेर आफ्नो स्तर र कन्फिडेन्स लेभल बढाउनतर्फ ध्यान दिनुपर्छ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
8h ago
एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

एनपीएल सिजन ३ : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधि भिडन्त आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज साँझ ५ः००...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Hamro Patro News
10h ago
एनपीएल फाइनल आज : लुम्बिनी भर्सेस सुदूरपश्चिम, कसले जित्ला उपाधि ?

एनपीएल फाइनल आज : लुम्बिनी भर्सेस सुदूरपश्चिम, कसले जित्ला उपाधि ?

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको उपाधिका लागि शनिबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैद...

#एनपीएल #प्रिमियर-लिग #क्रिकेट
Compare →
Nagarik News
22m ago
सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

#एनपीएल #प्रिमियर-लिग
Compare →
Ekantipur
1h ago
शेर मल्लले तेस्रो पटक एनपीएल जित्लान् ?

शेर मल्लले तेस्रो पटक एनपीएल जित्लान् ?

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे हुने फाइनलमा लुम्बिनी उपाधि जोगाउने र सुदूरपश्चिम पहिलो उपाधि जित्ने लक्ष्यमा छन्।

#एनपीएल #क्रिकेट
Compare →
Bizshala
23h ago
एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

एनपीएल फाइनलको टिकट केही मिनेटमै सकियो, एकैपटक दुई लाखले खोजे टिकट

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको फाइनल खेलका लागि टिकट खरिद गर्न खोज्ने दर्शकको अत्यधिक चाप...

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612