कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा साँझ ५ बजे हुने फाइनलमा लुम्बिनी उपाधि जोगाउने र सुदूरपश्चिम पहिलो उपाधि जित्ने लक्ष्यमा छन्।
काठमाडौँ — लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो सिजनको उपाधिका लागि प्रतिस्पर्धा हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा फाइनल खेल नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ ।
लुम्बिनी उपाधि रक्षा गर्ने अभियानमा हुनेछ भने सुदूरपश्चिम पहिलो पटक उपाधि जित्ने दाउमा रहेको छ । गत वर्ष लुम्बिनीले सुदूरपश्चिमलाई नै एकतर्फी फाइनलमा पराजित गरेको थियो ।
सुदूरपश्चिम लगातार तेस्रो सिजन एनपीएलको फाइनल खेल्दै छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम पहिलो सिजनको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
लुम्बिनी लायन्स र सुदूरपश्चिम एनपीएलमा छैटौं पटक खेल्दैछन् । यी दुईबीचको प्रतिस्पर्धामा पहिलो दुई पटक सुदूरपश्चिमले जितेको थियो भने त्यसपछिका तीन भिडन्तमा लुम्बिनीले एकतर्फी बाजी मार्दै आएको छ । त्यसमध्येका दुई खेल यसै सिजनका हुन् ।
रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले लिग चरण र क्वालिफायर १ मा सुदूरपश्चिमलाई कुनै मौका दिएको थिएन । लुम्बिनीले उपाधि जितेमा टोलीका शेर मल्ल तीनै पटक एनपीएल उपाधि जित्ने खेलाडी बन्नेछन् । पहिलो सिजनमा शेर जनकपुरमा थिए ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।