५ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले श्री गणेश र श्री भैरवका लागि छुट्टै निवास निर्माणले जीवित सम्पदा संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताएकी छिन् ।
शनिबार हनुमानढोका दरबार क्षेत्रमा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै डंगोलले जीवित देवी कुमारीसँगै गणेश र भैरवका लागि पनि छुट्टै निवास आवश्यक रहेको बताएकी हुन् ।
उनले इन्द्रजात्रालगायतका सांस्कृतिक पर्वमा जीवित देवीदेवताको रथयात्रा हुने भएकाले गणेश र भैरवको गरिमाअनुसारको निवास निर्माण महत्वपूर्ण रहेको उल्लेख गरिन् ।
‘आजको यो शिलान्याससम्म आइपुग्न भवन भत्काउनेदेखि विभिन्न प्रशासनिक प्रक्रिया पूरा गर्न र सरोकारवाला निकायसँग समन्वय, परामर्श तथा सहकार्य गर्न लामो प्रयास गर्नुपरेको छ,’ उनले भनिन्, ‘पूर्व गणेश र भैरवका पुजारी तथा अग्रजहरूको योगदानले पनि यस कार्यलाई अघि बढाउन महत्वपूर्ण भुमिका खेलेको छ । हनुमानढोका दरबार क्षेत्रमा जीवित देवी कुमारीसँगै श्री गणेश र श्री भैरवका लागि पनि उपयुक्त निवास आवश्यक छ ।’
डंगोलले भवन निर्माणका लागि लामो प्रशासनिक प्रक्रिया पूरा गर्नुपरेको र पुरानो संरचना भत्काउनसमेत निकै प्रयास गर्नुपरेको पनि बताइन् ।
विभिन्न कालखण्डमा राजनीतिक तथा सांस्कृतिक परिवर्तन भएपनि यस विषयलाई सरोकारवालाले निरन्तर उठाउँदै आएको उनको भनाइ छ ।
‘विशेषगरी इन्द्रजात्रासँग जोडिएको धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन यसको महत्वपूर्ण भुमिका रहनेछ । यस निर्माण कार्यले जीवित सांस्कृतिक सम्पदाको संरक्षण गर्नुका साथै हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक गरिमा बढाउने विश्वास लिइएको छ,’ उनले भनिन् ।
उनका अनुसार नयाँ भवन निर्माणले जीवित सम्पदाको संरक्षणसँगै हनुमानढोका दरबार क्षेत्रको ऐतिहासिक तथा सांस्कृतिक गरिमा बढाउनेछ ।