Trending
Prev Story
Next Story

विजयपुरकी महारानी थाङ्सामा कसकी रानी थिइन् ?

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

सुनसरी । मोरङ विजयपुरमा विभिन्न कालखण्डमा स्थानीय याक्थुङ/लिम्बू शासक (हाङ) तथा सेनवंशी राजाहरूको राजनीतिक प्रभाव रहेको पाइन्छ । विजयपुरको इतिहास केवल राजाहरूको शासनसँग मात्र सम्बन्धित नभई स्थानीय याक्थुङ/लिम्बू सरदार, चौतारिया, सुब्बा तथा थिबोङ याक्थुङ (दश …

विजयपुरकी महारानी थाङ्सामा कसकी रानी थिइन् ?

सुनसरी । मोरङ विजयपुरमा विभिन्न कालखण्डमा स्थानीय याक्थुङ/लिम्बू शासक (हाङ) तथा सेनवंशी राजाहरूको राजनीतिक प्रभाव रहेको पाइन्छ । विजयपुरको इतिहास केवल राजाहरूको शासनसँग मात्र सम्बन्धित नभई स्थानीय याक्थुङ/लिम्बू सरदार, चौतारिया, सुब्बा तथा थिबोङ याक्थुङ (दश राज्य) लिम्बूवानका शासकहरूसँगको सम्बन्धसँग पनि जोडिएको छ ।

विजयपुर राज्य थिबोङ याक्थुङ लिम्बूवान राज्यमध्येको एक राज्य थिएन । सुरुमा यो एक छुट्टै टुक्रे राज्यको रूपमा स्थापित थियो । राजा विजयनारायणको कालखण्डमा यो राज्य यस भेगको सबैभन्दा महत्वपूर्ण राज्यको रूपमा विकसित भयो ।

मोरङ विजयपुर राज्यलाई शक्तिशाली बनाउन राजा विजयनारायणले यसको पहाडी भेगमा रहेको थिबोङ याक्थुङ लिम्बूवान राज्यहरूसँग सम्बन्ध स्थापित गरेका थिए । फेदाप राज्यको राजा मुरेहाङ खेवांग/खेवाङ/खेवाहाङसँग सन्धिसम्झौतामार्फत मुरेहाङका सन्तति युगौंयुगसम्म मोरङ विजयपुरको चौतारिया हुनेगरी ‘मोरङ विजयपुर राज्यको थिति’ सुरु गरेका थिए । अन्य राज्यका याक्थुङ राजाहरूलाई विजयपुर गढीमा बसी ६/६ महिना राजकाज गर्ने भन्ने सम्झौता पनि गरेका थिए । यसले तत्कालीन याक्थुङ राजाहरूले मोरङ विजयपुरलाई केन्द्र राज्य मानेको देखिन्छ । यसले राजा विजयनारायणले मोरङ विजयपुर राज्यमा संघात्मक राज्य व्यवस्था सुरु गरेका थिए भन्न सकिन्छ ।

विजयनारायण राजामात्र नभएर महाराजा थिए । यससँगै विजयनारायणले थिबोङ याक्थुङ लिम्बूवानका राजाहरूसँग सन्धिसम्झौता मात्र नगरेर वैवाहिक सम्बन्धमार्फत पनि आफ्नो सम्बन्धलाई अझ मजबुत बनाएका थिए ।

मोरङ विजयपुरलाई अझ बृहत रूपमा बुझ्नको लागि मोरङ राज्यको अवधि, मोरङ विजयपुर राज्यको अवधि, विजयपुर राज्यको अवधि र गोर्खा नेपाल कान्तिपुरसँग थिवोङ थाक्थुङ लिम्बूहरूले १८३१ सालमा गरेको लालमोहर सन्धिसम्झौतापश्चात्को अवधिमा वर्गीकरण गर्न सकिन्छ ।

प्राय: सबै इतिहासकारहरू कोशी नदी पूर्वको चुरे पर्वत र समतल भूभाग समेटेर मध्यकालको प्रारम्भतिर एउटा शक्तिशाली राज्य देखापरेको र त्यस राज्यको नाम मोरङ रहेको कुरामा सहमत देखिन्छन् । यसको राजधानी वारातप्पाबाट (हालको पानमारा ?) विजयपुरमा विजयनारायणले सारेको कुरमा पनि सबै सहमत देखिन्छन् ।

मोरङ राज्यको नाम मोराङ्गे राजाको नामबाट नामकरण भएको हो । मध्यकालीन समयमा मोरङका राजा साङलाइङ थिए । साङलाइङपछि उनका छोरा पुङलाइङले शासन गरे । पुङलाइङले हिन्दु मत ग्रहण गरेपछि आफ्नो नाम अमर राय राखे । अमर रायपछि कीर्तिनारायण राय, अपनारायण राय, जोरनारायण राय र इङदिननारायण रायसम्मले शासन गरेको अवधिमा यसलाई मोरङ राज्य भनिन्थ्यो । विजयनारायणले वारतप्पाबाट राजधानी विजयपुरमा स्थापित गरेपछि यसको नाम मोरङ विजयपुर भयो र पछि सेनहरूको पालामा विजयपुर नाम प्रख्यात भयो ।

विजयनारायणको पालामा फेदाप थुमका सरदार/राजा मुरेहाङ विजयपुरका चौतारिया (प्रधानमन्त्री) थिए । उनले विजयनारायणकी छोरीलाई यौन दुर्व्यवहार गरेपछि विजयनारायणले मृत्यदण्ड दिए । त्यसको बदला लिन मुरेहाङका छोरा बाजहाङले मकवानपुरका राजा लोहाङ सेनसँग सुलह गरे ।

लोहाङसेन पनि राज्य विस्तारमा थिए । बाजहाङ र लोहाङ सेनको संयुक्त फौज पूर्वतिर अघि बढ्दै १६७५ सालतिर गिद्धेपहाडसम्म पुगे । उक्त युद्धमा बाजहाङको मृत्यु भयो । लोहाङ सेन विजयपुर फर्केर आउँदा विजयनारायणको पनि स्वाभाविक मृत्यु भइसकेको र उत्तराधिकारी छोरा नभएकाले लोहाङ सेनले सहजै विजयपुरको सत्ता हातमा लिए । लोहाङसेनले विजयपुरमा सेन शासन सुरु गरे ।

लोहाङ सेनले बाजहाङका छोरा पानोहाङ (हिन्दुमत धारण गरेपछि विद्याचन्द्र राय) लाई विजयपुरको प्रशासनमा महत्वपूर्ण जिम्मेवारी (चौतारिया) को पद दिएर मुख्य राजधानी मकवानपुर फर्किए । यसरी राजा लोहाङ सेन र लिम्बू चौतारिया पानोहाङ (विद्याचन्द्र राय) बीच सत्ता–सहकार्यको नयाँ सम्बन्ध बनेको देखिन्छ ।

मकवानपुरका सेन वंशले लोहाङ सेनपछि क्रमश: राघव नरेन्द्र सेन, हरिहर इन्द्र सेन, विधाता इन्द्र सेन, इन्दु राजराजेश्वरी, महिपति सेन, कामदत्त सेनले विजयपुरमा शासन गरेका थिए । कामदत्त सेनको हत्या गरी थाक्थुङ लिम्बू चौतारिया बुद्धिकर्ण रायले अन्तिम समयमा विजयपुरमा शासन गरेका थिए ।

पृथ्वीनारायण शाहको सेनासँगको युद्ध सम्झौतामा टुङ्गिएपछि गोर्खा नेपाल कान्तिपुरसँग थिवोङ थाक्थुङ लिम्बूवानका श्री सुन राय, श्री कुम राय र श्री जङ रायले १८३१ सालमा यही विजयपुर मुकाममै गरेको लालमोहर सन्धिसम्झौतापश्चात् थिबोङ थाक्थुङ लिम्बूवान र विजयपुर तत्कालीन नेपाल–कान्तिपुरबीचमा एकीकरण भएको थियो । एकीकरणपश्चात् विजयपुर राज्य पूर्ण रूपमा गुमनाम अवस्थामा पुग्यो । पछिल्लो अवस्थामा विजयपुर दरबार क्षेत्रको संरक्षण, सम्बर्द्धन र विकासको लागि थाक्थुङ लिम्बू समुदायले आवाज उठाउन थालेपछि मात्र यस क्षेत्रबारे बहस छलफल बृहत रूपमा अगाडि बढेर गएको छ ।

मध्यकालीन समयको सुरुवातकालमा थिबोङ थाक्थुङ लिम्बूवानको याङरूप हस्तपुर (हाङ पु) यक/गढीमा थिन्दोलुङ खोयाहाङले शासन गरेका थिए । थिन्दोलुङ खोयाहाङको १२औं पुस्ताका मुहाङकेप (युहाङकेत्) ले याङरूप हस्तपुर यक/गढीमा शासन गरिरहेका बेला मोरङ विजयपुरमा विजयनारायण रायले शासन गरिरहेका थिए । थिन्दोलुङ खोयाहाङकै सन्तानको छोरी राजकुमारी थाङ्सामा थिइन् । थिबोङ थाक्थुङ लिम्बूवानको इतिहासमा रानीको बारेमा नेपालतर्फका इतिहासमा थाङ्सामाको मात्र चर्चा पाइन्छ ।

इतिहासकार इमानसिं चेम्जोङले महारानी थाङ्समालाई आठाराई थुमको आङबोहाङ राय वंशमध्ये मुहाङकेप राजाको बहिनी र उनको विवाह विजयपरको सेन राजा कामदत्त सेनसँग भएको कुरा उल्लेख गरेका छन् । चेम्जोङलाई पछ्याउँदै अन्य इतिहासकारहरूले पनि यही विषयको चर्चा गरेका छन् । तर ‘थिन्दोलुङ खोकयाहाङ मेन्याङ्वो वंशावली, २०५९’ मा चेली थाङ्सामाको विवाह विजयपुरका राजा विजयनारायण सेनसँग भएको उल्ल्ेख गरिएको छ । यस सन्दर्भमा ‘थाङसामा को हुन् ?’ र ‘उनको विवाह कोसँग भएको थियो ?’ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो ।

थाङ्सामा रानीको बारेमा सबैभन्दा पहिला प्रकाशमान आङबुहाङ संकलक र प्रकाशक रहेको ‘आङ्बुहाङको वंशावली, २०१८’ मा उल्लेख गरिएको छ । इमानसिं चेम्जोङले पनि आफ्ना पुस्तकहरूमा यसै वंशावलीलाई सन्दर्भ सामग्रीको रूपमा उल्लेख गर्दै थाङसामाको बारेमा लेखेका छन् । उक्त वंशावलीमा ‘पुर्खा मुहाङकेप राजाकी बहिनी थाङसामा मोरङ विजयपुरका राजाकी रानी थिइन्’ भनी उल्लेख गरिएको छ (आङबुहाङ २०१८) ।

आङबुहाङकै वंशावलीको रूपमा संकलक डकेन्द्रसिं आङबोहाङले २००७ सालमै तयार पारिएको दाबी गर्दै २०३८ सालमा प्रकाशित ‘आङबोहाङको छोटकरी कथा अनि खोकयाहाङ, मेयाङबो, माबोहाङ, कन्दङवा, सेन्दाङ र लावतीहरूको छोटकरी वंशावली’ मा पनि थाङसामाको बारेमा लेखिएको छ । उक्त वंशावलीमा ‘युहाङकेपकी बहिनी मोरङ विजयपुरमा सेन राजाकी रानी थिइन् । उनको नाम थाङसामा थियो’ भनी उल्ल्ेख गरिएको छ (आङबोहाङ २०३८, पृ. २) । यी दुवै वंशावलीले थाङसामा मुहाङकेप/युहाङकेपको बहिनी र उनको विवाह मोरङ विजयपुरका सेन राजासँग भएको उल्लेख गरेका छन् । तर कुन सेन राजासँग विवाह भएको थियो स्पष्ट उल्लेख गरिएको छैन ।

थाङसामाका बारेमा इतिहासकार इमानसिं चेम्जोङको ‘किरातकालीन विजयपुरको संक्षिप्त इतिहास’ र ‘किरात इतिहास र संस्कृति’ मा थाङसामाको बारेमा प्रशस्त उल्लेख गरिएको छ । दुवै पुस्तकमा विजयपुरका राजा कामदत्त सेनसँग आठराईको मुहाङकेप राजाकी बहिनी थाङसामाको विवाह भएको उल्लेख गरिएको छ (चेम्जोङ, २०५९, पृ. ६०; चेम्जोङ, २०६३, पृ. १४६–१४७) ।

चेम्जोङले याङरूप हस्तपुर गढीका राजा मुहाङकेपका दुई भाइ छोरा जेठा लाहाङ, कान्छा हाङसाम (नामाहाङ) उल्लेख गरेका छन् । मुहाकेपलाई योङहाङले राज्य विप्लवमा पारेपछि राजकुमार लाहाङ र हाङसाम (नामाहाङ) लाई महारानी थाङसामाले आफ्नो रेखदेखमा मोरङ विजयपुरमा हुर्काएको प्रसंग पनि उनले उठाएका छन् ।

दुवै राजकुमार सिकार खेल्न जाँदा सर्दु खोलामा तामाको मूर्ति भेटाएको र उक्त कुरा आफ्नी दिदी महारानी थाङ्सामालाई जाहेर गरेपछि महाराजा कामदत्त सेनले थाहा पाई तामाको मूर्ति सर्दुबाट विजयपुर ल्याएर पूजा गरी बराहक्षेत्र मन्दिरमा स्थापित गरेको विवरण पनि प्रस्तुत गरेका छन् (चेम्जोङ, २०५९, पृ. ६२–६३) । यो तामालुङ बराहक्षेत्र मन्दिर परिसरमा छँदैछ ।

इतिहासकार शिवकुमार श्रेष्ठले आफ्नो पुस्तक ‘लिम्बूवानको ऐतिहासिक अध्ययन’ मा कामदत्त सेनले आठराई हाङपाङका राजा मुहाङकेप आङबुहाङकी बहिनी थाङसामासँग विवाह गरी किरातीहरूसँग आफ्नो सम्बन्ध बढाएको र महारानी थाङ्सामा माइती भेट गर्न हाङपाङ आउँदा तेह्रथुमको पाटीगाउँमा एउटा कुवा बनाएको उल्लेख गरेका छन् (श्रेष्ठ, २०५२) ।

रमेशकुमार श्रेष्ठले ‘सेन वंश र विजयपुर राज्य’ शीर्षकको विद्यावारिधि शोध–प्रबन्धमा कामदत्त सेनले मुहाङकेपकी बहिनी थाङ्सामा रायसँग विवाह गरी किरातीहरूसँग वैवाहिक सम्बन्ध स्थापित गरेको उल्लेख गरेका छन् (श्रेष्ठ, २०७१, पृ. १३५) ।

लेखक प्रा.डा. गोपाल शिवाकोटीले राजा कामदत्त सेनले ‘लिम्बू प्रमुख आठराई जिल्लाको मुहाङखेपको बहिनी थाङसामालाई विवाह गरी किराँतहरूको वैवाहिक सम्बन्धबाट आफूलाई अन्यबाट हुनसक्ने आक्रमण र विद्रोहबाट सुरक्षित गर्ने प्रयास गरेका थिए’ भनी उल्लेख गरेका छन् (शिवाकोटी, २०७४, पृ. ८४) ।

यसरी शिवकुमार श्रेष्ठ, रमेशकुमार श्रेष्ठ र गोपाल शिवाकोटीले मुख्यत: इमानसिं चेम्जोङको विवरणलाई पछ्याएको देखिन्छ । उनीहरूका विवरणमा थाङसामाको सम्बन्ध मुहाङकेपसँग जोडिएको छ र उनको विवाह कामदत्त सेनसँग भएको उल्लेख छ ।

अर्कोतर्फ, मेन्याङ्बो कल्याणकारी संघ, नेपालद्वारा प्रकाशित ‘थिन्दोलुङ खोकयाहाङ मेन्याङ्बो वंशावली, २०५९’ को ‘पुर्खा चेली राजकुमारी थाङसामा मेन्याङबो’ शीर्षकमा थाङसामाको विवाह विजयपुरका राजा विजयनारायणसँग भएको पहिलो पटक उल्लेख गरिएको छ । उक्त वंशावलीमा ‘थेचम्बुका तत्कालीन मेन्याङबोहाङ युहाङकेपकी बहिनी राजकुमारी थाङसामा र विजयपुर राजाबीच वैवाहिक सम्बन्धको कारण शक्तिशाली विजयपुर राज्यसँग दौत्य सम्बन्ध सुमधुर थियो र विजयपुरका राजा विजयनारायण सेन र रानी थाङसामाको सन्तान भएको कुनै ठाँउ उल्लेख भएको पाइँदैन’ (मेन्याङ्बो वंशावली २०५९, पृ. ८६/८७) । यहाँ राजा विजयनारायणलाई सेन भनी उल्लेख गरिएको छ । विजयनारयण सेन नभएर ‘राय’ उपाधि लिएका थाक्थुङ लिम्बू हुन् ।

त्यसैगरी, अर्जुनबाबु माबुहाङ र सन्तोष कुरुम्बाङद्वारा लिखित ‘राजा विजयनारायण याक्थुङ/लिम्बू कि सेन ?’ शीर्षकको हिमालखबरमा प्रकाशित लेखमा ताप्लेजुङ, थेचम्बु पोखरी बस्ने बज्रध्वज लिम्बूले लेखेको हस्तलिखित वंशावलीलाई सन्दर्भ सामग्रीका रूपमा लिँदै राजा विजयनारायणको विवाह थाङसामासँग भएको हुनसक्ने आकलन गरिएको छ (माबुहाङ र कुरुम्बाङ, २०८१ असार २६ गते) । यसरी पूर्वसाहित्यमा थाङ्सामाको विवाहसम्बन्धी दुई प्रमुख धारणा देखिन्छन् ।

महारानी थाङ्सामालाई इतिहासमा इमानसिं चेम्जोङले आठराई थुमको आङबोहाङ थरका राजा मुहाङकोपकी बहिनीको रूपमा उल्लेख गरेका छन् । थिन्दोलुङ खोयाहाङका सन्तानका आङबुहाङ र मेन्याङबो वंशावलीमा पनि राजा मुहाङकेपको चेली थाङ्सामा भनेर उल्लेख गरिएको छ ।

महारानी थाङ्सामाको बारेमा स्थानीय ज्येष्ठ नागरिक तथा जानकार व्यक्तिहरूसँग सोधपुछ गर्दा पनि थिन्दोलुङ खोयाहाङको सन्तानहरू अहिले मेन्याङ्बो, आङबुहाङ, फालेच्छुवा, खिम्दिङ, खोयाहाङ र उसुक थरमा बाँडिएका छन् ।

मेन्याङबो र आङबुहाङ थर निर्माण भएको वा विभाजित भएको सबैभन्दा पछि अर्थात् ३५० वर्ष जतिमात्र भएको छ । इतिहासकारहरूले उल्लेख गरेका लाहाङ र नामहाङ याङरूप थेचम्बु (थेजङ्बो) का राजा मुहाङकेपका छोरा हुन् भनेर माथि नै भनिसकिएको छ । लाहाङका सन्तान मेन्याङ्बो भएका र नामहाङका सन्तान आङबुहाङ भए ।

महारानी थाङसामाको बारेमा लेखिएको पुरानो दस्तावेजको रूपमा हालसम्म दुई वटा हस्तलिखित वंशावली भेटिएको छ । पहिलो, स्वस्ति श्री संवत् १९३७ साल, वैशाख वदी ११, रोज ४ का दिन फावाखोला, सामागु, थेचम्बु बस्ने मेयाङ्बो लिम्बूहरूको वंशावलीमा ‘तोहांवाको छोरी थाहांसपमा’ लेखिएको छ । यो वंशावलीलाई आधिकारिक बनाउन मोहरको छापसमेत लगाइएको भेटिन्छ । तर तोहांवा वंशपिँढी लेखिएको ठाउँमा केरमेट गरिएको हुँदा स्पष्ट रूपमा पढ्न सकिँदैन ।

यस सम्बन्धमा मेन्याङबो वंशावलीका सङ्कलक तथा मेन्याङबो कल्याणकारी संघका संस्थापक अध्यक्ष स्व. अकलबहादुर मेन्याङबोले ‘पुरानो हस्तलिखित वंशावलीमा तोहांवाको ठाउँमा केरमेट गरिएको पाइएकाले मेन्याङबो वंशावलीमा तोहांवालाई पुर्खाको रोलक्रममा नराखिएको हो’ भनेर प्रष्ट्याएका छन् ।  यस आधारमा तोहांवाकी छोरी थाङसामा हुन् भन्ने कुरा निश्चित रूपमा स्थापित गर्न कठिन देखिन्छ ।

ताप्लेजुङको थेचम्बुस्थित पोखरी बस्ने बज्रध्वज लिम्बूले लेखेको हस्तलिखित वंशावलीमा ‘मुहांकेतकी छोरी थाङसामा युमा विजैपुर मोरङ राजाले लग्यो’ भन्ने विवरण उल्लेख छ । वंशावलीमा सालसम्वत् स्पष्ट रूपमा बुझ्न कठिन भए पनि सम्वत् १९५० साल हो कि भन्न सकिन्छ । अन्य विवरणहरू स्पष्ट रहेको पाइन्छ ।

थिन्दोलुङ खोयाहाङ वंशज संघका अध्यक्ष दीपक मेन्याङबोका अनुसार वंशावलीमा उल्लेख भएको मुहाङकेपकी छोरी थाङ्सामालाई सम्बन्धित थरगत दाजुभाइहरूले आधिकारिक रूपमा मान्ने निर्णय गरेका छन् ।

यस आधारमा महारानी थाङ्सामा थेचम्बुका राजा राजा मुहाङकेप र रानी हाङसेमाकी छोरी हुन् भन्ने धारणा प्रस्तुत गरिएको छ । राजा मुहाङकेप याङरूप हस्तपुर (हाङ:पु) यक/गढका प्रमुख तथा थिन्दोलुङ खोयाहाङको १२औँ पुस्ताका राजा थिए । उनको शासनकाल १६२०–१६४७ साल रहेको मानिएको छ । उनको विवाह फेदापका शासक खेवाहाङका चेली हाङसेमासँग भएको विवरण पनि पाइन्छ ।

इतिहासकार चेम्जोङले थाङ्सामालाई आठराई जिल्लाका मुहाङकेपकी बहिनीका रूपमा उल्लेख गर्दै मुहाङकेप र थाङ्सामा आङबोहाङ परिवारका थिए भन्ने विवरण दिएका छन् । तर उनको यो विवरण भने अधुरो पाइएको छ । उनले मुहाङकेप र थाङसामाको सम्बन्ध आङबुहाङमा मात्र सीमित राखिदिएका छन् । जबकि, थिन्दोलुङ खोयाहाङ वंशसँग आङबोहाङसहित मेन्याङ्बो, फालेच्छुवा, खिम्दिङ, खोयाहाङ र उसुक थरका याक्थुङ लिम्बूहरूको वंशावली सोझै जोडिएको छ ।

चेम्जोङले राजा मुहाङकेप आठराई थुमका राजा भनेका छन् । तर वास्तविकता त्यस्तो नभई थिन्दोलुङ खोयाहाङको १२औँ पुस्ताका याङरूप हस्तपुर (हाङ:पु) यक/गढी (दरबार) का राजा हुन् मुहाङकेप । मेन्याङ्बो र आङ्बुहाङको हस्तलिखित वंशावलीमा थिन्दोलुङ खोयाहाङका सन्तानमध्ये सिनुपहाङपछि क्रमश: वधिलुहाहाङ, इनालुङहाङ, मुमुहाङ र थासुहाङले हस्तपुर यकमा शासन गरेको पाइन्छ । थासुहाङका दुई भाइ छोरामध्ये जेठा देदेहाङका हस्तपुर यकबाट छुटिएर नाङ्खोल्याङतिर गए । उनका सन्तान खिम्दिङ थरी भए । थासुहाङका कान्छा छोरा तेतेहाङ हस्तपुर गढीमा रहेर शासन गरे । त्यसपछि क्रमश: तेतेहाङका छोरा अमहाङ, अमहाङका छोरा युमहाङ र युमहाङका छोरा एम्माहाङ (फुङहाङ) ले हस्तपुर दरबारमा बसेर शासन गरेको हस्तलिखित वंशावलीमा उल्लेख गरिएको छ ।

एम्माहाङ (फुङहाङ) का दुई भाइ छोरा ऐरुहाङ र सेमाहाङ (हाङलाङ्गे) थिए । ऐरुहाङ खोक्लिङअन्तर्गतको दोरिम्बा क्षेत्रमा रहेका उसुक राजासँग विद्रोह गरी उक्त क्षेत्रका शासक बने भन्ने परम्परागत विवरण पाइन्छ । राजा ऐरुहाङपछि उनका दुई भाइ छोरा सेन्दुपहाङ र देन्दुपहाङमध्ये जेठा छोरा सेन्दुपहाङ राजा भएपछि जनताहरूले राजा सेन्दुपहाङलाई उसुक राजाकै रूपमा मानेकाले उनको सन्तानहरू उसुक भए भन्ने मिथक रहेको छ ।

मुहाङकेप हस्तपुर गढीका प्रभावशाली राजा थिए भन्ने विवरण इतिहासमा पाइन्छ । हस्तपुर दरबारमा बसेर सम्पूर्ण याङवरक (याङरूप) हस्तपुर (हाङ पु) यकका राजा मुहाङकेपको फेदापका शासक खेवाहाङकी चेली हाङसेमासँग राजकीय विवाह भएको देखिन्छ । मुहाङकेपको पालामा थिन्दोलुङ खोयाहाङका सन्तानहरूले हस्तपुर गढी छाड्नुपर्ने र राज्य विप्लवमा परेको इतिहासमा उल्लेख छ । च्याङथापुका योङहाङले आक्रमण गरी हस्तपुर (हाङ:पु) यक/गढी कब्जा गरेका थिए भन्ने परम्परागत विवरण रहेको छ ।

थाङ्सामाको विवाहसम्बन्धी ऐतिहासिक मतभिन्नता

महारानी थाङ्सामाको विवाह मोरङ विजयपुरका राजासँग भएको कुरामा दुईमत देखिँदैन । तर कुन राजासँग भएको भन्ने सवालमा निकै दुविधा रहेको पाइन्छ । आङबुहाङका २०१८ र २०३८ सालमा प्रकाशित दुवै वंशावलीमा राजकुमारी थाङ्सामाको विवाह सेन मकुवानी राजासँग भएको मात्र उल्लेख गरिएको छ । तर इतिहासकार इमानसिं चेम्जोङले सेन राजा कामदत्त सेनसँग विवाह भएको थियो भनेका छन् । अन्य इतिहासकारहरूले पनि यसलाई नै आधार मानेर कामदत्त सेनको रानीको रूपमा थाङ्सामालाई उल्लेख गरेका छन् ।

मेन्याङबोका २०५९ सालमा प्रकाशित वंशावलीमा घुमाउरो तरिकाले विजयपुरका राजा विजयनारायण सेन र रानी थाङ्सामाको विवाह भएको दाबी प्रस्तुत गरिएको छ । महारानी थाङ्सामाको विवाहसम्बन्धी मतभिन्नता केलाउन हालसम्म भेटिएका अभिलेखीय प्रमाणहरूबाट विश्लेषण गर्न सकिन्छ । यस सम्बन्धमा आङबुहाङ वंशावलीको आधारमा २२औं पुस्ताका चेतसिंले आफ्नो पुर्खाले खाइपाइ आएको जग्गाबारे श्री ५ को सरकारलाई लालमोहरको लागि चढाएको अर्जी पत्र (निवेदन पत्र) हेर्दा यस्तो विवरण भेटिन्छ :

‘श्री ५ सर्कार– आंम्वहां चेतनसिंले आफ्नो विस्तार । आफैंले लेष्याको फर्द उप्रान्त: फेउदेन् जगा जसमत् राईले अघि पाउँदाको विस्तार मोरंका राजा विजैपुरमा आउंदा ताँहि चाँकरि ढोकामा गर्दथ्यो । सर्दुषोलामा. सिम् तावो पाउँदा, तेहि सिम् तावो राजालाई चह«ार्उदा. तेस्को सिरपार्उ जगा दिन्या हो भन्दां। र्उरवराड जगा काहा छ भनि दस लिम्बु गैह्रलाई राजावाट सोधनि हुदामा. र्उरवराड जगा. चाग्या. फेर्उदेन्. भन्याको छ. तेस जगाको. किपटया. जिमिदार लिंमुषां भन्याको मर्यो. त्यो जगा अपुतालि पर्‍याको छ भनि. मेवा. मयावा. तमोरषोला. यांरूप. फेदाप, को. गैह« राई सुव्वाले .राजा थै वित्ति गर्दा. त्यो अपुतालि पर्‍याको जगा. चार किला गरि. मोहर गरि दिया. सधियार भाईले. साँधवालाई दियाथ्या. जसमत् राईले षाई. चर्चि. विहोरि आयाको हो. तांहां पछि. मकवानी राजा रजाया. तेस्समयमा पनि चार किला गरि. फेरि मोहर गरि वक्स्या. षादै थिया हिंन्दूपति राजा रजाया. तेस समयमा पनि. चाँग्याको. फेर्उदिंन् जगा षाँदै थिञ्युं. सेन राजा रजाया थ्या. तेस समयमा पनि जगा. हामिले. विहोर्‍याकै थियो. लासावाट पनि थामि दियाको हो. सुषिम्ले पनि थामि दिया कै हो. एति. राजा रजार्उदा पनि. कसैसित झगडा थिएन. ताँहा पछि. गोर्षाको प्रवेश भया पछि पनि…वाट पनि थामि वक्सनु भयाको ३/४ लालमोहर छ. मोहर वमोजिमको जगा. वाह« पुस्तासम्म षाई. विहोरि. आयाथ्या. झगरा कसैसंग भएनथ्यो. ७४ सालमा भडारि काजिका पालामा सिरिङले. मरो जगामा. झगरा गर्न आयो …’ (भगिराज इङ्नाम, २०८१, पृ. ३७०–३७३) ।

यस अर्जी पत्रमा मुख्य कुरा ‘मोरंका राजा विजयपुर आउंदा’ लेखिएको छ । इतिहास अनुसार मोरङका राजा विजयनारायणले वारतप्पाबाट राजधानी समतल भू–भागबाट डाँडामा सारेको थियो । उक्त ठाउँको नाम विजयपुर राख्यो । यसबारेमा हेमिल्टनले आफ्नो किताब ‘एन एकाउन्ट अफ द किङडम अफ नेपाल’ मा यसरी उल्लेख गरेका छन्– ‘When the needy mountaineers had for some time been accustomed to the luxuries of the plains, the Raja built Vijayapur, and took the title of Vijaya Bharati, or victorious over the earth'(हेमिल्टन, सन् १९९०, पृ. १३३)

अर्जी पत्रमा जसमत राई (नाम्बाहाङ/नामहाङ) ले चाँग्या/चाँगे फेउदिनको जग्गा सेन राजाभन्दा अघिका मोरङ विजयपुरका राजाबाट सर्दुमा सिमतावो (तामालुङ) भेट्टाए वापत अपुताली लिंम्बुषाको जग्गा सिरपाउ (बक्सिस) को रूपमा पाएको देखिन्छ । नामहाङलाई सर्दूखोलामा सिमतावो/तामालुङ भेटेबापत राजा विजयनारायणले नै जसमत उपाधि दिएर चाँगेको फेउदिन जग्गा बक्सिस दिएको दाबी गरिएको छ ।

उक्त जग्गालाई हिन्दुपति, मकवानी सेन राजा, लासा, सुखिम र गोर्खाबाट पनि चार किल्ला गरी मोहर गरिदिएको उल्लेख गरिएको छ । यहाँ हिन्दुपति भनेर हिन्दुमत धारण गरेका विजयनारायण रायलाई उल्लेख गरिएको हो । त्यसपछि मात्र मकवानी सेन राजाको उल्लेख छ ।

माथि उल्लेखित कागजमा लेखिएको नाम जसमत राय मुहाङकेपको कान्छा छोरा नाम्बाहाङ (नामहाङ) हो । यसबारेमा मिति उल्लेख नभएको पुरानो हस्तलिखित वंशावलीमा तपसिल लेखेर ‘नाहांले सर्दुषोलामा सिमतावो पायो र राजासंग जाहेर गर्दा जसमत नाउ रह्याको हो’ भनी उल्लेख गरिएको भेटिन्छ ।

यस सम्बन्धमा सम्वत १८८० साल माघ सुदी ६ रोज ६ शुभम् भनी मिति लेखिएको रुक्का कास्य पत्रमा “आगे चेतसिं राईके हिजो लीम्बुषांको अपुताली पर्दा तेसैले षाया पायाको जगा तेरा पुर्षालाई मोरंग्या राजाले मोहर गरि दियाको” भनी उल्लेख गरिएको छ (इङ्नाम, २०८१, पृ. ३८४–३८४) ।

यस रुक्का कास्य पत्रमा उल्लेख भएको चेतसिं राई आङबुहाङको २२औं पुस्ताको पुर्खा हो । यसमा स्पष्ट रूपमा मोरंग्या राजाले चेतसिं आङबुहाङको पुर्खालाई लीम्बुषांको अपुताली जग्गा मोरह गरिदिएको उल्लेख छ ।

महारानी थाङ्सामाले बुबा मुहाङकेप र आमा हाङसेमा राज्य विप्लवमा परी मारिएकाले आफ्ना नाबालक राजकुमार भाइहरू लाहाङ र नामाहाङलाई विजयपुरमा ल्याएर हुर्काएको र राजकाजसम्बन्धी शिक्षा पनि दिएकी थिइन् । त्यही बेला नाबालक राजकुमारहरू सिकार खेल्न जाँदा सर्दु खोलामा सिमतावो भेट्टाएर राजालाई जाहेर गरेको र राजाले धुपधुवार पूजा गरी हाल बराह मन्दिरमा स्थापित गरेको प्रसंग आङबुहाङ, मेन्याङबो, फालेच्छुवा, खिम्दिङ, खोयाहाङ र उसुक थरका बुढापाकाहरूले मौखिक रूपमा भन्दै, सुनाउँदै आएको पाइन्छ ।

पछि उमेर पुगेपछि जेठा राजकुमार लाहाङलाई पुर्ख्यौली थलो ताप्लेजुङको थेचम्बुमा र कान्छा राजकुमार नामहाङलाई आठराईको चाँगेमा बसी राजकाज गर्ने व्यवस्था मिलाइदिएकी थिइन् । त्यसपछि मात्र लाहाङको सन्तान मेन्याङबो र नामाहाङको सन्तान आङबुहाङ भएको हो ।

विजयपुरको पूर्व दिशा भएर बग्ने सर्दु खोलामा नाबालक राजकुमारहरू लाहाङ र नामाहाङ सिकार गर्न जाँदा तामालुङ भेटेको विषयमा इमानसिं चेम्जोङले आफ्नो किताब ‘किरातकालीन विजयपुरको इतिहासमा’ उल्लेख गरेका छन् । यस अर्जीपत्रले उक्त इतिहासको प्रसंगलाई प्रमाणित गर्छ ।

हालसम्म भेटिएको सबैभन्दा पुरानो कागजमध्ये सेनकालमा पाएको स्याहामोहर रहेको छ । स्रोत टंकप्रसाद आङबुहाङ रहेको इतिसंवत् १७४३ सावन वदि ८ रोज मितिको स्याहामोहर विजयपुरका विचिता राय देवानले चांगेका जस रायलाई जग्गाजमिन दिएको सम्बन्धमा रहेको छ । ‘यो स्याहा मोहर वियपुरका प्रथम राजा विधाता इन्द्रसेनबाट जारी भएको हो’ (इङनाम, २०८१, पृ. ७) ।

यसरी नै स्रोत टंकप्रसाद आङबुहाङ रहेको स्याहामोहर विजयपुरका मन्महीपति (मान्धाता) सेनले जगदीप रायलाई इतिसम्वत् १७५४ साल माह सावन वदि ९ रोज मितिमा तमोर फाँटको जग्गा उपभोग गर्न दिएको पाइन्छ । यसै स्याहामोहरमा याक्थुङ/लिम्बू प्रमुखहरूलाई स्पष्ट रूपमा राजा भनी सम्बोधन गरिएको पाइएको छ । यसमा थिन्दोलुङ खोयाहाङको सन्तान आङबुहाङका १७औं पुस्ताका सुचीहाङलाई ‘सुची राजाकषाउन श्री’ भनी उल्लेख गरिएको छ (इङनाम, २०८१, पृ. ९) ।

स्याहामोरमा उल्लेख भएका सुचीहाङ थिन्दोलुङ खोयाहाङको आङबुहाङपट्टिका १७औं पुस्ता हो । उनका छोरा जस राय १८औं र जगदीप राय १९औं पुस्ताको हो । सुचिहाङ मुहाङकेपभन्दा ५ पुस्तापछिका र जस राय ६ पुस्तापछिका सन्तानहरू हो । यो स्याहामोहरको समय कालखण्डबाट गणना गरी मुहाङकेपको समय कालखण्ड निकाल्न सकिन्छ ।

स्याहामोहरअनुसार सुचीहाङका छोरा जस रायलाई भेटिने समय १७४३ साल मान्न सकिन्छ । एक पुस्ताको औसत २५ वर्षको मानक समय मानिन्छ । यसअनुसार मुहाङकेपलाई भेटिने समय कालखण्ड ६ पुस्ताअघिकोे ६ गुणा २५=१५० वर्षअघि हुन आउँछ । १७४३ सालमा १५० वर्ष घटाउँदा १५९३ साल हुन आउँछ । विजयनारायणले विजयपुर मोरङ राज्यमा १६४१ देखि १६६६ सालसम्म सक्रिय शासन गरेको इतिहासमा पाइन्छ । यसले पनि याङरूप हस्तपुरका राजा मुहाङकेप र मोरङ विजयपुरको राजा विजयनारायणको समय कालखण्ड मिल्ने देखिन्छ । साथै, राजा मुहाङकेपदेखि ५ पुस्तापछिका राजा सुचीहाङको समय राजा कामदत्त सेन (शासन १८१८–१८२६) भन्दा अगाडि भएको यो स्याहामोहले देखाउँछ ।

पुरातत्व विभाग काठमाडौंले हाल तेह«थुम म्याङलुङ नगरपालिका–१, पाटीगाँउमा अवस्थित रानीपोखरी र मूर्तिधाराको स्थलगत अवलोकनार्थ आफ्ना कर्मचारी संग्राहलय अधिकृत काजीमान प्याकुरेल खटाएको र स्थलगत अध्ययनपछि उनले २०७९ फागुन २५ गते प्रतिवेदन बुझाएका थिए । थाङ्सामाले बनाएको पोखरीलाई स्थानीयले रानीपोखरी भन्दै आएका छन् । उक्त रानीपोखरी क्षेत्रमा थाङसामाले आफू र आफ्ना भाइहरूको मुहार अंकित काठको मूर्ति पनि बनाएकी थिइन् । उक्त प्रतिवेदनमा पोखरी र मूर्तिको विवरण यसरी प्रस्तुत गरिएको छ :

‘पाटीगाउँको केही पर खेतको फाँटको माथि हाल मोटरबाटोको आडमा नै एउटा जीर्ण पोखरीको बीचमा सुन्दर र आर्कषक मूर्ति रहेको छ । २४ फि. लम्बाइ र १६ फि. चौडाइ भएको ढुङ्गाको पर्खालबाट बनाइएको यस पोखरीको बीचमा प्राकृतिक ढुङ्गाको बीचमा खोपेर काठको सुन्दर मूर्ति छ । मूर्ति खुला रूपमा रहेको हुनाले घाम र पानीले क्षति पुर्‍याएको अवस्था छ । यो मूर्तिको सबैभन्दा तल हात्ती र माथि एकापट्टि नारीमूर्ति (सम्भवत रानीको आकृति) र अर्कोपट्टि प्रलम्वपादासनमा एकजोडी मूर्ति रहेका छन् । यस मूर्तिको सम्पूर्ण काठको भागको उचाइ ४२ इन्च र १४ इन्च चौडाइ रहेको छ । यो मूर्तिका सम्पूर्ण भागहरू क्षतिग्रस्त र जीर्ण अवस्थामा रहेका छन् । लामो समयसम्म सरसफाइ र मर्मतको अभावले यो ऐतिहासिक पोखरी र मूर्ति जीर्ण अवस्थामा परिणत भएका छन् ।

यस क्षेत्रका लिम्बूहरूको इतिहास, संस्कृति र परम्परासम्बन्धी इतिहासकार इमानसिंह चेम्जोङ, शिवकुमार श्रेष्ठ लगायतले विविध पक्षको बारेमा उल्लेख गरेका छन् । यी दुवै सम्पदाको शैली र हालको अवस्था हेर्दा करिब १७औं शताब्दीतिर बनेको हुनसक्ने अनुमान गर्न सकिन्छ’ (स्थलगत प्रतिवेदन, २०७९. पुरातत्व विभाग) ।

यस प्रतिवेदनले इतिहासमा विजयपुरकी रानी थाङ्सामाले निर्माण गरेको रानीपोखरी र काठको मूर्ति १७औं शताब्दीतिर बनाएको अनुमान गरेको छ । यसको आधारमा पनि थाङ्सामा १७औं शताब्दीको विजयपुरकी महारानी भएको भन्न सकिन्छ । तर इतिहासमा विजयपुरका अन्तिम सेन राजाको रूपमा शासन गरिरहेको बेला कामदत्त सेनलाई चौतारिया बुद्धिकर्ण खेवाहाङले १८२६ सालमा हत्या गरेको उल्लेख पाइन्छ । यो मितिअनुसार महारानी थाङ्सामा र राजा कामदत्त सेनको समय साल सम्वत मेल खाएको देखिँदैन ।

थाङ्सामाको सामाजिक तथा राजनीतिक गतिविधि

थिबोङ थाक्थुङ लिम्बुवानको एकमात्र इतिहासमा उल्लेख भएअनुसार मोरङ विजयपुरका महाराजा विजयनारायणसँग विवाह गरेपछि राजकुमारी थाङ्सामा महारानी भइन् भन्ने देखाउँछ । महारानी थाङ्सामाले आफ्ना पिता मुहाङकेप राज्य विप्लवमा परी मृत्यु भएको अवस्थामा आफ्ना नाबालक राजकुमार भाइहरूलाई शत्रुबाट बचाएर विजयपुरमा ल्याई हुर्काएकी थिइन् भन्ने विवरण पाइन्छ ।

राजकुमारहरू वयस्क भएपछि जेठा राजकुमार लाहाङलाई आफ्नो पुर्ख्यौली थलो थेचम्बुमा र कान्छा राजकुमार नामाहाङलाई चाँगे फेउदिनमा बस्ने तथा राजकाज गर्ने व्यवस्था मिलाइएको पनि उल्लेख छ । विजयपुरबाट आफ्ना माइतीहरू थेचम्बुमा लाहाङ र नेसुमचाँगेमा नामहाङलाई भेट्न जाँदा हाल तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका–९, पाटीगाउँमा खानेपानीको अभाव देखेर उनले पोखरी निर्माण गरिदिएको स्थानीय परम्परा तथा प्रकाशित स्रोतहरूमा उल्लेख छ । हालसम्म पनि उक्त पोखरीलाई रानीपोखरीका रूपमा चिनिने गरेको पाइन्छ ।

स्थानीय भनाइअनुसार ‘विजयपुरमा शासन गर्ने राजा विजयनारायणकी रानीले विजयपुरबाट तेह्रथुम हुँदै ताप्लेजुङ जाने बटुवाहरूका लागि उक्त पोखरी तथा मूर्तिधारा निर्माण गराएकी थिइन्’ भन्ने धारणा रहेको छ । पुरातत्व विभागको २०७९ फागुन १५ गतेको स्थलगत प्रतिवेदनअनुसार :

‘प्रस्तुत स्थल पाटीगाउँको राजमार्गभन्दा केही तल खेतको बीचमा पोखरी र पोखरीको केही माथि बाटोको सामुन्ने सानो पोखरी र पोखरीको बीचमा चर्तुमूर्ति आकारको काठको जीर्ण मूर्ति रहेको छ । धरानको विजयपुरमा शासन गर्ने राजा विजयनारायणकी रानी पाँचथरको हिलिहाङमा शासन गर्ने राजाकी चेली थिइन् । तिनै रानीका भदापट्टिका सन्तानहरू आङ्गवुहाङ्ग र ताप्लेजुङमा बस्दै थिए, तिनीहरूका सन्तान आजसम्म पनि बसोबास गरिरहेका छन् । विजयपुरबाट तेह«थुम हुँदै ताप्लेजुङ जानको लागि तत्कालीन समयमा यो बाटो हुँदै मानिसहरू आवतजावत गर्ने गर्थे । यही बाटो भएर हिँडने बटुवाहरूको लागि उनै रानीले यस पाटीगाउँमा अवस्थित पोखरी र मूर्तिधारा बनाएकी थिइन्’ (स्थलगत प्रतिवेदन, २०७९.पुरातत्व विभाग)

चेम्जोङले पनि महारानी थाङ्सामा माइती भेट्न जाँदा पाटीगाउँमा बास बसेको र त्यहाँ पानीको अभाव देखेर कुवा बनाएको उल्लेख गरेका छन् (चेम्जोङ, २०५९, पृ. ६४) । शिवकुमार श्रेष्ठले पनि महारानी थाङ्सामाले पाटीगाउँमा कुवा बनाएको उल्लेख गरेका छन् (श्रेष्ठ, २०५२) ।

यसैगरी महारानी थाङ्सामाले आफ्ना कान्छा भाइ नामहाङलाई भेट्न गएको बेला चाँगेको लुङधाराहिटीमा पनि खानेपानीको कुवा निर्माण गरिदिएको स्थानीय बुढापाकाको भनाइ छ । त्यहाँ नामहाङका सन्तान सुचीहाङ राजा तथा उनका पछिका सन्तानहरूले शिवको मन्दिर निर्माण गरेको उल्लेख छ । आफ्ना जेठा भाइ लाहाङलाई भेट्न थेचम्बु जाँदा पनि खानेपानीका लागि पोखरी निर्माण गरिदिएको भनाइ छ । थेचम्बुको पोखरी हाल सन्तोष मेन्याङबोको अंशमा परेको छ । पुर्खा चेली थाङ्सामा रानीले निर्माण गरेकाले ऐतिहासिक पुरातात्विक स्थल भएकाले संरक्षित अवस्थामा राखिएको उनको भनाइ छ ।

धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर शिव मन्दिर परिसरमा रहेको पोखरी, (हाल सरस्वती सरोवर) पनि महारानी थाङ्सामाले निर्माण गरेको भन्ने परम्परागत विश्वास रहेको थिन्दोलुङ खोयाहाङ वंश संघका अध्यक्ष दीपक मेन्याङ्बोको भनाइ छ । यी विवरणहरूलाई स्थानीय मौखिक इतिहास तथा परम्परागत स्रोतका रूपमा थप अभिलेखीय अनुसन्धानसँग जोडेर अध्ययन गर्न आवश्यक देखिन्छ ।

महाराजा विजयनारायणको मृत्यु भएपछि मात्र लोहाङ सेनले मोरङ विजयपुरमा आक्रमण गरी कब्जा जमाएको र उक्त आक्रमणका समयमा मोरङ विजयपुरको शासन महारानी थाङ्सामाले सम्हालेकी थिइन् । विजयपुर दरबारभित्रै आपसी विवाद तथा महाराजाको निधनका कारण पूर्ण शक्तिका साथ लोहाङ सेनको सेनालाई प्रत्याक्रमण गर्न नसकेपछि राज्य विप्लवमा परेसँगै साङलाइङका सन्तानहरूको शासन ७औं पुस्तामा महाराजा विजयनारायणको मृत्युपछि महारानी थाङ्सामाले शासन गरेको छोटो समयमा लोहाङ सेनले आक्रमण गरी कब्जा जमाएपछि पूर्ण रूपमा समाप्त भएको मान्न सकिन्छ ।

पछिल्लो समयमा थिन्दोलुङ खोयाहाङ, मुहाङकेप, थाङसामालाई पुर्खा मान्दै आएका मेन्याङबो, आङबुहाङ, फालेच्छुवा, खिम्दिङ, खोयाहाङ र उसुक थरी याक्थुङ लिम्बू समुदायले आफ्ना छोरी–चेली महारानी थाङ्सामाको सम्झनामा धरान—१४ स्थित विजयपुर दरबार परिसर नजिकैको पञ्चकन्या जंगलमा  ‘हाङ्मा थाङ्सामा लुङ’ स्थापना गरेका छन् ।

थिन्दोलुङ खो?याहाङ वंशज संघका अध्यक्ष दीपक मेन्याङबोको भनाइअनुसार प्रत्येक वर्ष विशेष अवसर पारेर थाङ्सामाका माइती सन्तानहरूले उक्त ढुङ्गाको पूजा गर्ने तथा आफ्ना छोरी–चेलीको ऐतिहासिक स्मृतिलाई सम्मान गर्ने परम्परा रहेको छ ।

याङरूप हस्तपुर (हाल पाँचथरको हिलिहाङ गाउँपालिकामा पर्ने हिलिहाङ दरबार) का राजा मुहाङकेप र रानी हाङसेमाकी छोरी थाङ्सामासँग विजयनारायणको राजकीय वैवाहिक सम्बन्धले विजयपुर र  याङरूप थुमका याक्थुङ लिम्बुवानबीचको सम्बन्धलाई थप मजबुत बनाएको देखिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
4d ago
बर्ड फ्लु पुष्टि भएपछि भारतको तमिलनाडुमा निगरानी बढाइयो

बर्ड फ्लु पुष्टि भएपछि भारतको तमिलनाडुमा निगरानी बढाइयो

काठमाडाैँ। भारतको दक्षिणी राज्य तमिलनाडुका कुखुरा फार्ममा एच–५ एन–१ भाइरसको संक्रमण पुष्टि भएपछि अधिकारीहरूले बर्ड फ्लु नियन्त्रण तथा निगरानीका उपाय तीव्र पारेका छन्। राज्यको राजधानी चेन्नईबाट करि...

#राज्य #रानी
Compare →

Related Stories

Politics & Governance
Build #2612