Trending
Prev Story
Next Story

ढले राजा, गले वीरकाजी : सिक्वेलको चक्करमा हारे सबैले बाजी

Onlinekhabar •
November 20, 2026 • 04:30 AM
3
3 reads 0 reactions

यसपालि न राजाको राज चल्यो, न वीरकाजीको वैभव रह्यो । जबकि फिल्मकर्मीहरू यी दुवैलाई खस्रो भाषामा ‘फिल्म इन्डस्ट्रीका साँढे’ मान्छन् । तपाईं नेपाली फिल्मवृत्तमा खासै जानकार हुनुहुन्न भने माथिल्लो वाक्यांशलाई सरल बनाउनुपर्ने हुन्छ । वीरकाजी अर्थात् …

ढले राजा, गले वीरकाजी : सिक्वेलको चक्करमा हारे सबैले बाजी

यसपालि न राजाको राज चल्यो, न वीरकाजीको वैभव रह्यो । जबकि फिल्मकर्मीहरू यी दुवैलाई खस्रो भाषामा ‘फिल्म इन्डस्ट्रीका साँढे’ मान्छन् ।

तपाईं नेपाली फिल्मवृत्तमा खासै जानकार हुनुहुन्न भने माथिल्लो वाक्यांशलाई सरल बनाउनुपर्ने हुन्छ । वीरकाजी अर्थात् फिल्म ‘कबड्डी’को आइकोनिक पात्र । राजा अर्थात् फिल्म ‘छक्का पञ्जा’का रवाफिलो पात्र।

नेपाली फिल्म उद्योगमा छक्का पञ्जा र कबड्डी दुवै आ–आफ्नो रनवेका साँढे हुन् । सोसल ड्रामाबाट ‘कबड्डी’ले र कमेडीबाट ‘छक्का पञ्जा’ले यति बलशाली ब्यानर निर्माण गरे कि यी प्रदर्शनमा आउँदा अरूले रनवे छाडिदिनुपर्ने भयो ।

अन्ततः यसरी खाली बाटोमा बेपर्वाह बुकुर्सी मार्न पाउने भएपछि यी दुई फिल्मले आफ्नो मर्जीको ‘रिलिज डेट’ कब्जा गरे । त्यो भनेको सम्पूर्ण नेपाली उत्सवमय भएको फुर्सदिलो क्षण, दशैँ–तिहार ।

बर्खामा बाढीले र हिउँदमा हिमपातले अत्याउने नेपाली फिल्मका लागि सुकिलो मौसम नै प्रदर्शनको उपयुक्त साइत मानिन्छ । त्यसमाथि सबै फुर्सदको क्षणमा होऊन् । त्यसमाथि सबैको खल्तीभरि दक्षिणा होस् । त्यसमाथि सबै खुसीको मुडमा होऊन् ।

त्यो शरद् याममा टिकटघरको बिस्कुन सुकाउन नेपाली फिल्महरू तँछाडमछाड नै गर्छन् ।

यही घमाइलो मौसममा चल्ने घम्साघम्सीमा सिङ जुधाउन आइपुग्यो, ‘१२ गाउँ’ पनि । भोजपुरी सिनेमाको ह्याङओभर बोकेर, नवजवान हिरोलाई नवरसले युक्त बनाएर जब पिता–पुत्रको पर्दापण भयो, फिल्मवृत्तमा फेरि अर्को भूकम्प चल्यो ।

फिल्मकर्मीहरू भन्न थाले, ‘मैदानमा तेस्रो साँढेले पाइला राख्यो ।’

यो त्रिकोणीय मुठभेड पर्दामा मात्र सीमित भएन, साइबरदेखि सडकसम्म व्याप्त रह्यो । यस स्थितिमा यी फिल्महरूले आफ्नो प्रदर्शनलाई जोडदार बनाउनेसँगै प्रतिद्वन्द्वीलाई उत्तानो पल्टाउने खेल पनि सुरु गरे ।

तर यो खेलले त्यही पुर्‍याएन, जहाँ उनीहरू पुग्नुपर्थ्यो । आखिर उनीहरू नतिजारहित खेल खेलेर मैदान छाड्नुपर्ने परिस्थितिमा आइपुगे ।

किनभने यिनीहरू मैदानमा लाप्पा खेल्दाखेल्दै दक्षिणतिरबाट अजङ्गको बाघले धर्ती हल्लाउँदै र धुलो उडाउँदै इन्ट्री गरिसकेको थियो ।

ठ्याक्कै यही पृष्ठभूमिमा धेरैले थाहै नपाउने गरी एउटा दुर्लभ र रोचक संयोग जुरिदियो । त्यो संयोग मात्र थिएन, फ्रेन्चाइज एवं सिक्वेलको पछाडि दौडने नेपाली फिल्मका लागि एउटा पाठ पनि थियो ।

बक्स अफिसभक्षी बाघ थियो, ‘रामायण : द राइज अफ अ लेजेन्ड’ । फिल्मको यो पहिलो भाग हो । तीन घण्टा लामो फिल्मले कथालाई एक ठाउँमा लगेर टुङ्गो लगाइसकेपछि दर्शकमा अरू बढी उत्सुकता पैदा हुन्छ, ‘अब चाहिँ के हुन्छ ?’

दर्शकको यही प्रश्नले फिल्मको दोस्रो भाग माग गर्छ ।

कथाको सिलसिलालाई यसरी जोड्न र मोड्न सक्नुपर्छ, जहाँ दर्शक स्वाभाविक ढङ्गले अर्को भागको प्रतीक्षामा बस्छन् ।

‘कटप्पाले बाहुबलीलाई किन मार्‍यो ?’ भन्ने उत्सुकताले जसरी घमासान बहस छेडेको थियो, त्यसरी नै ।

सर्वकालीन फिल्म ‘थ्री इडियट्स’ले गुरुमन्त्रजस्तै एउटा संवाद भन्छ, ‘अरे भाइ, सफलताको पछाडि नदौड । सक्षम बन । जब सक्षम बन्छौ, सफलता तिम्रो पछाडि दौडन थाल्छ ।’

हामीकहाँ सिक्वेल बनाउने उपक्रम सफलताको धङधङतीबाट सुरु भयो ।

यही कुरामा चिन्ता व्यक्त गर्दै दिग्गज फिल्ममेकर नवीन सुब्बाले भनेका थिए, ‘सम्भावनायुक्त भनिएका निर्देशकहरू नयाँ जोखिम मोल्नुभन्दा पुरानै सफलता दोहोर्‍याउनेतर्फ लागे । यो दुर्भाग्य हो ।’

यो कुरालाई हाकाहाकी स्वीकार्दै कबड्डी फेम्ड निर्देशक रामबाबु गुरुङले भनेका थिए, ‘कसम, पैसा कमाउनकै लागि फिल्म बनाएको ।’

उनी गलत छैनन् । कोही पनि जोगी बन्न फिल्ममा श्रम, सीप र समय खर्चंदैनन् । तर यो हतारोले आफ्ना मूल्यहरू गुमाउँदै जाँदा के हुन्छ ? दसैँमा रिलिज भएका तमाम फिल्महरूमा यसको जवाफ लुकेको छ ।

कबड्डी शृङ्खलाले पाँचौँ भागको दोकान थापिरहँदा त्यसको दायाँ, बायाँ, अगाडि, पछाडि आइपुगे, ‘आ बाट आमा–२’, ‘छ माया छपक्कै–२’, ‘१२ गाउँ–२’ ।

यतिबेला फ्लोरमा कति फिल्म यसरी नै नामको पुच्छरमा ‘२’ झुन्ड्याएर छायाङ्कन भइरहेका होलान् । २६ करोड बढी आर्जन गरेको ‘गौंथली’ले दोस्रो भागको खेस्रा तयार गरिसक्यो होला । ४६ करोड कमाएको ‘पूर्णबहादुरको सारङ्गी’को सह–उत्पादन त सुरु नै भइसक्यो ।

यसरी सफलताको एउटै वृत्तमा फन्को लगाइरहँदा नेपाली फिल्म कहाँ पुग्छ ? ‘थ्री इडियट्स’का ‘चतुर रामलिङ्गम’जस्तै पहिले जहाँ थियो, त्यहीँ पुग्छ ।

नेपाली सिनेमाका एउटा युग नै मानिने तुलसी घिमिरेले ‘दर्पण छाया–२’ बनाएर कसरी पछारिए ? ट्रेन्ड सेटर मानिने निश्चल बस्नेतले ‘लुट–२’ बनाएर कसरी उत्तानो परे ?

वीरकाजीलाई कुमार कन्यक राखेर रामबाबु गुरुङले आफ्नो दोकान चलाउँदा अरू त केही हुँदैन । जसोतसो नेपाली सिनेमा हेर्न थालेका दर्शकहरू टिकटको पङ्क्तिमा उभिन लाज मान्न थाल्छन् । ‘नेपाली फिल्म हेर्ने र ?’ भन्दै नाक खुम्च्याउन थाल्छन् ।

किनभने नेपाली सिनेमाले कुनै कालखण्डमा भोगेको तीतो सत्य हो यो । ‘लुट’ फिल्मलाई एउटा समयरेखा मानेर हेर्नुहोस् त, त्यसअघिको हालत के थियो ?

राजकुमार हिरानीले ‘थ्री इडियट्स’को सिक्वेल बनाउने तारतम्य गरिरहँदा हामीले रामबाबुहरूलाई किन लखेटेको ?

उताका राजकुमारले जे गर्दा हुने, यताका रामबाबुले त्यही गर्दा किन नहुने ?

अझ हलिउडले एउटै स्थापित पात्रलाई अजम्बरीको बुटी खुवाएर पुनर्जन्म गराइरहन्छ । एउटै ब्रान्ड नामलाई शृङ्खला बनाएर तन्काइरहन्छ । यी फ्रेन्चाइजले कथा मात्र बेच्दैनन्, बालबालिकालाई खेलौना, वयस्कलाई फेसन स्टाइल, प्रौढलाई दर्शन बेच्छन् ।

यसरी हलिउड–बलिउडले आफ्नो फिल्मको सुपरमार्केट नै चलाइरहँदा हामीले दोकान थाप्नै नपाउने ?

किनभने समस्या ‘सिक्वेल’ वा ‘फ्रेन्चाइज’मा होइन, हाम्रा फिल्ममेकरको हतारो र नियतमा हो ।

यो कुरा मैले भनेको होइन, रामबाबुको ‘कबड्डी–५’, निश्चल बस्नेतको ‘लुट–२’, दीपेन्द्र के. खनालको ‘पशुपतिप्रसाद–२’, दिनेश राउतको ‘प्रसाद–२’ ले भनेका हुन् ।

उनीहरूको पहिलो फिल्म रसिलो–पोषिलो थियो, जसलाई हेरेपछि हेरेको हेर्‍यै गर्न मन लाग्थ्यो । ती फिल्महरूले कुनै न कुनै क्षेत्रमा आफ्नो मानक बनाएका थिए । चाखलाग्दो र नवीन विषय, खँदिलो कथ्य संरचना, मनपर्ने दृश्यभाषाले युक्त थिए ।

सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनीहरूले चानचुन दुई घण्टामा आफ्नो कथा छेउटुप्पो बाँकी नराखी भनिसकेका थिए ।

त्यसपछि पनि भष्मे डनलाई बागमती किनार छाड्न मन लागेपछि, वीरकाजीलाई वैंशले उचालेपछि, गोफ्लेलाई हाकु कालेसँग बदलाको भाव जागेपछि पो यी फिल्महरू चुइगमजस्तै तन्किन थाले । त्यो पनि एक पटक राम्ररी चपाइसकेको चुइगम ।

दसैँ–तिहारको साइतमा तँछाडमछाड गर्दै आएका सिनेमामध्ये एकाधलाई छाडेर सबै सेकेन्ड ह्यान्ड थिए ।

जे भए पनि यिनीहरूको गुप्त दाउ थियो, पहिलो भागको ब्रान्ड भ्यालु बेच्ने । यस क्रममा यिनीहरूले कथामा नवीनता र प्रस्तुतिमा पृथकता ल्याउन सक्नुपर्थ्यो । रहस्यका पोकापन्तुरा छाड्नुपर्थ्यो र उत्सुकताको तरङ्ग पैदा गर्नुपर्थ्यो ।

त्यसो गरेनन् । यिनीहरूलाई लाग्यो, नाम नै काफी छ ।

नाम त शाहरुख खान, सलमान खान बिक्री हुन छाडिसके । स्टारडम र ब्रान्डको लेपन हटिसकेको छ । यो जटिलतामा बलिउडले अब कस्तो कथा भन्नुपर्छ ? कसरी भन्नुपर्छ भन्ने बहस सुरु भइसकेको छ ।

बीबीसीले यही विषयमा तीनवटा शृङ्खला चलाइसकेको छ, निर्माता, निर्देशक, समीक्षक, वितरकमाझ । यी सबैले एउटै निष्कर्ष निकाले, ‘दर्शक अब एउटै ढर्राको फिल्म हेर्न तयार छैनन् । यसका लागि फिल्ममेकरले फिल्म कसरी चलाउनेभन्दा पनि कसरी बनाउने भन्ने कुरामा मगज चलाउनुपर्छ ।’

शिव मुखिया अनलाइनखबर डटकमका कला तथा जीवनशैली ब्युरो संयोजक हुन् । उनी समाज, जीवनशैली र कला-मनोरञ्जन विषयमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
राजा राजपुतको छठ गीत ‘सबके सुनी अहाँ मैया’ सार्वजनिक

राजा राजपुतको छठ गीत ‘सबके सुनी अहाँ मैया’ सार्वजनिक

काठमाडौं । छठ पर्वलाई लक्षित गर्दै राजा राजपुतको नयाँ गीत ‘सबके सुनी अहाँ मैया’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अशोक दत्तको शब्द, चन्दन चौधरीको संगीत तथा रोशन मिश्राको एरेन्ज रहेको छ। गीतमा राजा...

#राजा
Compare →
Nagarik News
2w ago
प्रधानमन्त्री बालेनलाई कमल थापाको सुझाव: संघीयता बदल्दै राजादेखि सबै अटाउने राष्ट्रिय मेलमिलाप कायम गर्नुस्

प्रधानमन्त्री बालेनलाई कमल थापाको सुझाव: संघीयता बदल्दै राजादेखि सबै अटाउने राष्ट्रिय मेलमिलाप कायम गर्नुस्

संघीयतासहितको धर्मनिरपेक्ष शासन व्यवस्था असफल भइसकेको दाबी गर्दै उनले राजादेखि सबै राजनीतिक दल र नेताहरू अटाउने राष्ट्रिय मेलमिलापको वातावरण निर्माण गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

#राजा
Compare →

Related Stories

Business & Economy
Build #2612