Trending
Prev Story
Next Story

सामाजिक यथार्थको आख्यानीकरण

Nagarik News •
November 21, 2026 • 03:58 AM
3
3 reads 0 reactions

समाजमा बस्ने हरेक मान्छेले समाजलाई देखेको, चिनेको र बुझेको हुन्छ। त्यही समाजमा बस्ने एउटा समाजशास्त्रीले त्यो समाजलाई अझ राम्रोसँग देखेको, चिनेको र बुझेको हुन्छ किनभने समाजशास्त्रीको समाजलाई हेर्ने दृष्टिकोण आममान्छेको भन्दा भिन्न र विश्लेषणात्मक हुन्छ।

सामाजिक यथार्थको आख्यानीकरण

समाजमा बस्ने हरेक मान्छेले समाजलाई देखेको, चिनेको र बुझेको हुन्छ।  त्यही समाजमा बस्ने एउटा समाजशास्त्रीले त्यो समाजलाई अझ राम्रोसँग देखेको, चिनेको र बुझेको हुन्छ किनभने समाजशास्त्रीको समाजलाई हेर्ने दृष्टिकोण आममान्छेको भन्दा भिन्न र विश्लेषणात्मक हुन्छ। समाजलाई चिन्ने उसका आधार फरक हुन्छन् र समाजलाई बुझ्ने आयाम पनि विस्तृत हुन्छन्। समाजलाई फरक दृष्टिकोणले हेर्ने, फरक आधारमा चिन्ने र बहुआयामिक ढंगले बुझ्ने समाजशास्त्रीको समाजप्रतिको अवधारणा पनि स्वाभाविक रूपमा फरक नै हुन्छ।

एउटा सामान्य साहित्यकारको सिर्जनामा जसरी समाज प्रतिविम्बित भएको हुन्छ, समाजशास्त्रीय दृष्टि र विश्लेषणात्मक चेतले सम्पन्न साहित्यकारको सिर्जनामा त्योभन्दा अझ मिहिन ढंगले समाज अभिव्यक्त भएको अनुभूति गर्न सकिन्छ। समाजशास्त्री–साहित्यकार नीता पोखरेलको नवीनतम कथासंग्रह ‘अनाम परिधि’ पठनका क्रममा यस्तै अनुभूति हुन्छ।  शिखा बुक्सले हालै प्रकाशित गरेको ‘अनाम परिधि’मा १५ वटा समसामयिक सामाजिक कथा संगृहीत छन्।

नीता पोखरेलले एउटा व्यक्तिको जीवनदेखि घरपरिवार हुँदै सिंगो समाजका सामाजिक, आर्थिक र राजनीतिक गतिविधिलाई सूक्ष्म रूपमा अध्ययन गर्दै रोचक कथानक बुनेर लेखेका कथाहरूमा मानवीय संवेदना, पारिवारिक विग्रह, सामाजिक–सांस्कृतिक बेथिति, आर्थिक असमानता र राजनीतिक विसंगतिहरू चित्रित भएका छन्।

सामाजिक यथार्थवादी साहित्यको मूल विशेषता नै समाजको यथार्थ चित्रण हो।  तर समाजशास्त्रीय दृष्टिले समाजका घटना, प्रवृत्ति र अन्तर्विरोधलाई अझ गहिराइमा पुगेर केलाउने भएकाले त्यस्तो दृष्टिबाट सिर्जित साहित्यमा सामाजिक यथार्थको चित्रण थप सूक्ष्म र विश्लेषणात्मक हुनु स्वाभाविक हो। यस अर्थमा नीता पोखरेलका कथाहरूमा सामाजिक यथार्थका विविध पाटाहरू स्पष्ट, सटिक र मिहिन ढंगले अभिव्यक्त भएका छन्।

कथासंग्रहको भूमिकामा डा. दीपेश घिमिरेले लेखेझैं कथाहरू पढ्दै जाँदा नेपाली समाजका अनेकौं तह र आयाम उद्घाटित हुँदै जान्छन्। कतै वैदेशिक रोजगारीको सपनाले विखण्डित बनाएको परिवारको चित्र छ भने कतै आधुनिकताको नाममा बदलिँदै गएका सम्बन्धका जटिलता छन्।

कतै स्वास्थ्य प्रणालीभित्र विद्यमान असमानताहरूको झलक पाइन्छ भने कतै न्यायको खोजीमा भौंतारिएका नागरिकको आवाज सुनिन्छ। कतै महिलाका अनुभव र भोगाइ कथाको केन्द्रमा आएका छन् भने कतै पुरुषत्वको संकट र अन्तद्र्वन्द्व पनि उजागर भएका छन्। कतै प्रेम, विवाह, यौन र परिवारका परम्परागत मान्यता तथा धारणामाथि प्रश्न उठाइएका छन् भने कतै कोख नै भाडामा दिने र सम्बन्धविच्छेदलाई उत्सवको रूपमा मनाउने नयाँ सामाजिक अभ्यासले जन्माएका जटिलता, अन्योल र मूल्यगत सङ्क्रमण पनि नीता पोखरेलका कथाहरूका विषयवस्तु बनेर आएका छन्।

‘अनाम परिधि’ कथासंग्रहभित्रका कथाहरू सतहमा व्यक्तिगत घटना र पात्रका निजी भोगाइमा केन्द्रित देखिए पनि तिनको अन्तर्यमा वर्तमान समय र समाजका सार्वजनिक सवालहरू अन्तर्निहित छन्। व्यक्तिका निजी जीवनभित्र प्रवेश गरेर सामाजिक संरचना, सम्बन्ध, मूल्य र मान्यताका अन्तर्विरोध उजागर गर्नु यी कथाका विशेषता हुन्।

यसरी कथाकारले पाठकलाई केवल पात्रका सुखदुःखसँग भावनात्मक रूपमा जोड्ने काम गरेकी छैनन्, समकालीन समाजका विभिन्न समस्यामाथि गम्भीरतापूर्वक सोच्न पनि प्रेरित गरेकी छिन्।

संग्रहको पहिलो कथा हो ‘नयाँ अध्याय’। उज्ज्वल भविष्यको सपना बोकेर अमेरिका छिरेको एउटा नेपाली युवक मञ्जिलको जीवनमा प्रेम असफलताले पारेको प्रभाव र त्यसले सिर्जना गरेको मानसिक द्वन्द्व र जीवनप्रतिको दृष्टिकोणमा आएको उतारचढावलाई कथाको विषयवस्तु बनाइएको छ।

आम नेपाली युवाले देख्ने साझा सपनाजस्तै सपना थियो मञ्जिलको पनि। ऋण गरेर अमेरिका जानु, एउटी नेपाली युवतीसित प्रेममा पर्नु र अन्त्यमा त्यो प्रेमले विछोडको परिणाम दिएपछिका घटना, परिघटना र पात्रको मनको पीडा र व्यथालाई कथामा रोचक ढंगले उतारिएको छ।

प्रेम असफल हुँदैमा जीवन समाप्त हुँदैन र व्यक्तिगत निराशालाई जीवनको अन्तिम सत्य ठान्नु हुँदैन भन्ने सकारात्मक जीवनदृष्टि यो कथाको सबल पक्ष हो। विछोडको पीडाबाट बाहिर निस्केर जीवनलाई नयाँ दिशा दिने सन्देशले कथालाई आशावादी बनाएको छ।

पछिल्लो समय नेपाली समाजमा समेत जरो गाड्न सफल सरोगेसी अर्थात् भाडाको कोखमार्फत सन्तान प्राप्त गर्ने प्रचलनमा आधारित कथा हो ‘भाडाको कोख’। प्रविधियुक्त आधुनिक समाजमा स्वास्थ्य विज्ञानले दिएको सुविधाको उपभोग गर्ने सेवाग्राहीको सङ्ख्या समाजभित्रभित्रै बढिरहेको सन्दर्भमा यो कथाले सरोगेसीसँग जोडिएका सामाजिक, आर्थिक र नैतिक प्रश्न उठाएको छ। एकातिर महत्त्वाकांक्षा, अर्कोतिर अभाव। अनि महत्त्वाकाङ्क्षा पूरा गर्न पहिला अभावपूर्ति गर्नुपर्ने बाध्यता। यही द्वन्द्वात्मक परिस्थितिले जिन्दगीमा कठोर निर्णय गर्न र जोखिमयुक्त सम्झौता गर्न मञ्जुर गराउँछ भन्ने सामाजिक यथार्थलाई यो कथाको विषयवस्तु बनाइएको छ।

‘भिसा बेथिति’ कथामा अमेरिकन एम्बेसीले अमेरिकामा अध्ययनरत छोराछोरी भेट्न जान खोज्ने अभिभावकको भिसा रिजेक्ट गरेर अन्याय गरेकोप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरिएको छ। साथै यो कथामा माओवादी जनयुद्धका क्रममा बेपत्ता पारिएका श्रीमान्को सम्झना गर्दै त्यो युद्धले आमनागरिकको जीवनमा कुनै सकारात्मक परिवर्तन ल्याउन नसकेको, बरु तिनै टाठाबाठा नेताहरूले सम्पूर्ण सत्ता, शक्ति र सुविधाको उपभोग गरेको, देशलाई आर्थिक तथा सामाजिक रूपमा झन् बरबाद पारेको र आमनागरिकले दुःख, पीडा र हैरानी मात्रै पाएकाले त्यो युद्धको औचित्यमाथि नै प्रश्न उठाइएको छ।

तुलनात्मक रूपमा नयाँ विषयवस्तुमा आधारित कथा हो ‘डिभोर्स सेलिब्रेसन’। सम्बन्धविच्छेदलाई जीवनको अन्त्य वा सामाजिक असफलताको रूपमा नहेरी नयाँ जीवनको सुरुवातको रूपमा लिने आधुनिक सोचलाई यो कथाको विषयवस्तु बनाइएको छ। सँगै बसेर तिक्ततामा बाँच्नुभन्दा छुट्टिएर आत्मसम्मान र स्वतन्त्रतापूर्वक बाँच्नु उचित हुन्छ भन्ने सोचको विस्तार भइरहेको छ।  यही सोचको अभिव्यक्ति हो ‘डिभोर्स सेलिब्रेसन’। डिभोर्सलाई जीवनको समाप्ति होइन, जीवनको उन्मुक्ति ठान्नेहरूले डिभोर्स सेलिब्रेसन गर्छन्।

वास्तवमै वैवाहिक जीवनमा आउने दरारले गृहस्थी जीवनलाई तहसनहस पार्न सक्छ। अवस्था विकराल हुनुअघि नै डिभोर्सको निर्णय गर्न सकियो भने परिवार बच्न सक्छ तर अन्योलमा अल्झिरह्यो भने नराम्रो दुर्घटना पनि हुन सक्छ। पारिवारिक अप्रिय दुर्घटना हुन नदिने हो भने डिभोर्स जरुरी छ भन्ने आशय यो कथामा छ। बदलिँदो सामाजिक चेतना र वैवाहिक सम्बन्धप्रतिको नयाँ दृष्टिकोणको प्रतिनिधित्व यो कथाले गरेको छ। संग्रहको शीर्षक कथा ‘अनाम परिधि’ पाठकले अनुमान गरेभन्दा अलि फरक ढंगमा अन्त्य भएको रोचक कथा हो।

कथामा संवेदना पक्ष निकै प्रबल छ। कथावस्तुले डोर्‍याएभन्दा फरक गन्तव्यमा पुर्‍याएर कथान्त गर्नु कथाकारको प्रशंसनीय खुबी हो।  यद्यपि विवाहेत्तर सम्बन्धमा आधारित यो कथाले प्रेममा जिम्मेवारीबोध हुनुलाई सकारात्मक पक्षको रूपमा विश्लेषण गर्न खोजिएको छ। प्रेम केवल भावनात्मक आकर्षणको विषय मात्रै नभई त्यससँग जोडिएका मानवीय सम्बन्ध, दायित्व र परिणामप्रति सचेत हुनुपर्ने सन्देश कथामा अन्तर्निहित छ।

‘अतृप्त प्यास’ आत्मसम्मान भुलेर व्यभिचारमा लिप्त एक महिला र एक पुरुषको व्यवहारले उनीहरूको पारिवारिक जीवन मात्रै नभई सामाजिक सम्बन्धमा समेत पर्न सक्ने नकारात्मक प्रभावको चित्रण गरिएको कथा हो। महिलाको अतृप्त प्यास र लोग्नेको यौन असक्षमताबाट उत्पन्न परिस्थितिलाई कथाले व्यभिचारको पृष्ठभूमिको रूपमा प्रस्तुत गरेको छ।

यसैगरी ‘छली’, ‘प्यासेन्ट नम्बर एकचालिस’, ‘थिति नबसेको देश’, ‘एम्बुस’, ‘परस्त्री’, ‘निलो हार’, ‘रूपान्तरण’, ‘विवाहेत्तर’ लगायतका कथाहरूमा पनि समाजका विविध बेथिति, बाध्यता, समस्या र पीडाका अनेकौं रूप चित्रित भएका छन्। कुनै कथाले मानवीय सम्बन्धभित्रका जटिलता उजागर गरेका छन् भने कुनै कथाले सामाजिक संरचना र संस्थागत व्यवस्थाभित्रका कमजोरीलाई औंल्याएका छन्।

नीता पोखरेलका कथामा विषयविविधता छ। कथाभित्र बहुविषयले स्थान पाएका छन्। यद्यपि कथामा आवश्यकताभन्दा बढी वर्णनात्मकता छ र कथालाई कलात्मक र प्रभावशाली बनाउने बिम्ब, प्रतीक, रूपक तथा भाषिक व्यञ्जनाको प्रयोग अपेक्षाकृत कम महसुस हुन्छ तर पनि रोचक कथानक र आकर्षक प्रस्तुतिले पाठकको मनमा खुल्दुली जगाउँदै कथाको अन्त्यसम्म बाँधिराख्ने सामर्थ्य भने हरेक कथामा छ।

समकालीन नेपाली समाजका विविध पात्र, प्रवृत्ति र परिवेश, अन्तर्विरोध र विसंगतिहरूलाई समाजशास्त्रीय दृष्टिकोणबाट नियाल्ने प्रयास कथाकारले गरेकी छिन्। अत्यन्तै सरल भाषाशैली र सहज प्रवाह भएकाले कथाहरू अत्यन्तै बोधगम्य छन्।

प्रकाशित: ५ मंसिर २०८३ ०९:४३ शनिबार

Prev Swipe Story Next

Related Stories

Opinion & Editorial
Build #2612