निर्वाचन आयोगले आगामी २०८४ साल वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्ने प्रस्ताव अघि सारेको छ।
शुक्रबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलमा आयोगले निर्वाचनको सम्भावित समयतालिका प्रस्तुत गरेको हो।
छलफलपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आयोगको प्रस्ताव उपयुक्त देखिएको प्रतिक्रिया दिएका छन्। यद्यपि, यस विषयमा पार्टीभित्र थप छलफल र अध्ययन गरेर मात्रै अन्तिम धारणा सार्वजनिक गर्ने उनले बताएका छन्।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने सोही वर्ष मंसिर ४ गते प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल २०८४ साल वैशाख ३० गते समाप्त हुँदैछ।
नेपालको कानुनी व्यवस्थाअनुसार गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने व्यवस्था छ। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त हुन करिब पाँच महिना बाँकी रहँदा निर्वाचन आयोगले नयाँ निर्वाचनको तयारीस्वरूप समयतालिका प्रस्ताव गरेको हो।
आयोगको प्रस्ताव कार्यान्वयन भए आगामी वर्ष वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन हुनेछ।
प्रकाशित: ४ मंसिर २०८३ १५:४६ शुक्रबार