अनन्याले भनेकी छन्, ‘यो सत्य हो कि म केही सम्बन्धहरूबाट गुज्रिसकेकी छु । तर इमानदारीपूर्वक भन्नुपर्दा, मलाई ती सम्बन्धहरुमा कुनै कमजोरी वा खराबी छ जस्तो लाग्दैन ।’
काठमाडौँ — नीजि सम्बन्धहरूका कारण बारम्बार चर्चाको केन्द्रमा आईरहने भारतीय अभिनेत्री अनन्या पाण्डेले हालैको एक अन्तर्वार्तामा आफ्नो ‘रिलेसनसिप स्ट्याटस’, विवाहप्रतिको दृष्टिकोण र एकल जीवन (सिंगलहुड) का बारेमा खुलेर बोलेकी छन् ।
‘कफी विथ करण’को नयाँ शृंखलामा पाहुना बनेर पुगेकी पाण्डेले शोका संचालक करण जोहरसँग प्रेम, ब्रेकअप र मुभ अनका विषयमा स्पष्ट र खुला कुराकानी गरेकी हुन् । जोहरले विगतमा उनले गरेका डेटिङलाई लिएर जिस्क्याएका थिए । तर उनले आफ्ना विगतका सम्बन्धहरूलाई लज्जास्पद वा गलत रूपमा नहेर्ने करणलाई अनुरोध गरेकी थिइन् । करणले उनलाई ठट्टा गर्दै ‘ब्रेकअप लेडी’ को उपमा नै दिएका थिए ।
यसमा प्रतिक्रिया दिंदै अनन्याले भनेकी छन्, ‘यो सत्य हो कि म केही सम्बन्धहरूबाट गुज्रिसकेकी छु । तर इमानदारीपूर्वक भन्नुपर्दा, मलाई ती सम्बन्धहरुमा कुनै कमजोरी वा खराबी छ जस्तो लाग्दैन ।’ तर यो कुराकानीको मुख्य खुलासा तब भयो जब अभिनेत्रीले आजका दिनमा आफू भावनात्मक रूपमा कहाँ उभिएकी छु भन्नेबारे बोलिन् । विगतको लभ एन्ड ब्रेकअपको लामो लिस्ट भए तापनि पाण्डेले हाल आफू एक्लै (सिंगल) नै रमाइरहेको बताइन् ।
‘यस्तो दिन पनि आउला भनेर मैले कहिल्यै सोचेकी थिइन । तर सत्य के हो भने म अहिले सिंगल नै एकदमै रमाइरहेकी छु,’ उनले भनिन् ।
अनन्याका लागि ‘सिंगलहुड’ को अर्थ आफूलाई प्रेमबाट पूर्ण रूपमा अलग गर्नु वा ढोका बन्द गर्नु होइन । बरु, वर्षौंसम्म अरू मानिस र सम्बन्धहरूलाई प्राथमिकता दिएपछि यो समय आफ्नै आत्मसँग पुनः जोडिने अवसर बनेको छ ।
आफ्नो अनुभव साट्दै उनले भनिन्, ‘ढिलो होस्, तर प्रष्ट आओस् । तर म साँच्चै सिंगल हुनुको मज्जा लिइरहेकी छु । विगतमा मैले सम्बन्धहरू र अन्य मानिसहरूलाई आवश्यकताभन्दा बढी प्राथमिकता दिएँ । र, पछिल्ला केही महिनामा मैले जस्तो महसुस गरिरहेकी छु, मलाई धेरै समयपछि पुनः आफ्नै पुरानो रूपमा फर्किएको महसुस भइरहेको छ ।’
दृष्टिकोणमा आएको यो परिवर्तनले अनन्यालाई अर्को सम्बन्धमा बाँधिनुअघि धैर्य गर्न अझ सहज बनाएको छ । तुरुन्तै नयाँ साथी खोज्नुको सट्टा पाण्डे पहिले आफूमा ध्यान केन्द्रित गर्न चाहन्छिन् । ‘कुनै नयाँ व्यक्ति मेरो जीवनमा आउनुअघि म पुनः पहिले आफैंसँग प्रेममा पर्न चाहन्छु,’ उनले थपिन् ।
खुसीका साथ ‘सिंगल’ रहनुको अर्थ यी अभिनेत्रीले रोमान्स वा प्रेमप्रति विश्वास गुमाएकी छन् भन्ने होइन । अनन्याले आफूलाई अझै पनि ‘क्रस’ पर्न सक्ने र त्यसको आनन्द लिनुमा कुनै खराबी नरहेको स्वीकार गरिन् । ‘यसको अर्थ मलाई कसैप्रति क्रस हुँदैन वा हुनुहुँदैन भन्ने होइन, जुन पूर्ण रूपमा स्वाभाविक हो । क्रस हुनु रमाइलो कुरा हो,’ उनले भनिन्, ‘तर अहिलेका लागि भने आफैंलाई माया गर्नु नै मेरो पहिलो प्राथमिकता हो ।’
एकल जीवनलाई अंगीकार गरिरहेकी भए पनि विवाहबारे पाण्डेको धारणा भने बदलिएको छैन । वास्तवमा, यी अभिनेत्रीले आफूलाई सधैं कुनै एक व्यक्तिसँग घर बसाउने र स्थायित्व दिने विचार मन पर्ने स्वीकार गरिन् । ‘मलाई लाग्छ मेरो जन्म नै विवाह गर्नका लागि भएको हो । मलाई विवाह गर्ने विचार एकदमै मन पर्छ । मेरो सम्पूर्ण जीवन कुनै एक व्यक्तिसँग बिताउन पाउने कल्पनाले उत्साहित बनाउँछ,’ उनले भनिन् ।
साथै, कुनै सम्बन्ध एउटा निश्चित मोडमा पुगिसकेकै कारण वा केवल निभाउनकै लागि विवाह गरिनुपर्छ भन्ने पक्षमा भने अनन्या छैनन् । उनका लागि सम्बन्ध कायम राख्नुभन्दा व्यक्तिगत खुसी र निश्चितताले बढी महत्व राख्छ । आफ्नो धारणा स्पष्ट पार्दै उनले भनिन्, ‘मलाई के लाग्छ भने यदि कुनै कुराले काम गरिरहेको छैन, यदि मानिसहरू खुसी छैनन् र तपाईं शत प्रतिशत निश्चित हुनुहुन्न भने, त्यो स्थितिबाट बाहिर निस्कने र अघि बढ्ने पूर्ण अधिकार तपाईंमा हुन्छ ।’
वाकर ब्लान्कोसँगको उनको कथित विगतको सम्बन्धलाई लिएर विभिन्न अड्कलबाजी र रिपोर्टहरू आइरहेका बेला उनको यो बयान सार्वजनिक भएको हो । मिडिया रिपोर्टहरूले उनीहरू अलग्गिसकेको दाबी गरे तापनि न त अनन्या न त ब्लान्कोले नै आफ्नो सम्बन्ध वा ब्रेकअपको खबरलाई आधिकारिक रूपमा पुष्टि गरेका छन् ।
यतिबेला अनन्या आफू जहाँ छिन्, त्यही स्थितिमा सहज देखिन्छिन् । उनी भविष्यमा कुनै दिन आफ्नो सही जीवनसाथी भेट्ने र विवाहको मण्डपसम्म पुग्ने कुरामा अझै विश्वास राख्छिन्, तर उनी ‘सिंगल’ हुनुलाई कुनै समस्याका रूपमा हेर्दिनन् । यसको सट्टा, उनी अरू कसैको प्रेममा पर्नुअघि आफैंसँग प्रेम गर्ने स्वतन्त्रताको भरपूर आनन्द लिइरहेको बताउँछिन् । –विभिन्न सञ्चारमाध्यमका समाचारमा आधारित