काठमाण्डौ । सेयर बजारमा देखिएको सुस्तताको असर सरकारी राजस्वमा समेत परेको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा सेयर कारोबारबाट सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा उच्च गिरावट आएको हो।
सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) को तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म सरकारले सेयर कारोबारबाट २ अर्ब ७ करोड ७३ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कर ३ अर्ब ३८ करोड ३३ लाख रुपैयाँ संकलन भएको थियो। यस आधारमा एक वर्षको अन्तरालमा पुँजीगत लाभकर १ अर्ब ३० करोड ६० लाख रुपैयाँ अर्थात् ३८.६ प्रतिशतले घटेको देखिन्छ।
सेयर बजारमा कारोबारको गति कमजोर हुनु, लगानीकर्ताको सक्रियता घट्नु तथा बजारमा अपेक्षित उत्साह नफर्किनुले पुँजीगत लाभकर संकलन प्रभावित भएको देखिन्छ। यद्यपि, लाभकर संकलनमा सेयर कारोबार रकमसँगै लगानीकर्ताले प्राप्त गर्ने करयोग्य नाफाको पनि भूमिका हुन्छ।
कात्तिक महिनामा मात्रै सरकारले सेयर कारोबारबाट ३२ करोड ११ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ। गत वर्षको कात्तिकमा ३८ करोड ५ लाख रुपैयाँ संकलन भएकोमा यस वर्ष १५.६१ प्रतिशतले घटेको हो।
दसैँ, तिहारलगायतका चाडपर्वका कारण कात्तिकमा सेयर बजार जम्मा ११ दिन मात्रै खुलेको थियो। महिनामा १९ दिन कारोबार बन्द हुँदा त्यसको प्रत्यक्ष प्रभाव कर संकलनमा परेको देखिन्छ।
यद्यपि, सबै महिनामा पुँजीगत लाभकर घटेको भने छैन। चालु आर्थिक वर्षको भदौ र असोजमा अघिल्लो वर्षको तुलनामा कर संकलन बढेको छ।
भदौमा सरकारले ६३ करोड २७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो। यो रकम अघिल्लो वर्षको सोही महिनाको तुलनामा ५.२० प्रतिशत बढी हो।
त्यस्तै, असोजमा पुँजीगत लाभकर संकलन दोब्बरभन्दा बढीले बढेको थियो। गत वर्ष असोजमा २४ करोड ३९ लाख रुपैयाँ संकलन भएकोमा यस वर्ष ४९ करोड ८६ लाख रुपैयाँ पुगेको छ। यो १०४.४३ प्रतिशतको वृद्धि हो।
तर, साउनमा आएको ठूलो गिरावटले समग्र चार महिनाको कर संकलनलाई नकारात्मक बनाएको छ। गत वर्ष साउनमा २ अर्ब १५ करोड ७५ लाख रुपैयाँ पुँजीगत लाभकर उठेकोमा यस वर्ष ६२ करोड ४९ लाख रुपैयाँ मात्रै संकलन भएको छ। यो ७१.०४ प्रतिशतको गिरावट हो।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।