क्लड च्याटबट निर्माता एन्थ्रोपिकले नोभेम्बर १९ मा नास्डाकमा प्रतिकित्ता ८३ डलर मूल्यसहित आईपीओ ल्याउँदै छ ।
काठमाडौँ — सूचना प्रविधि क्षेत्रको चर्चित अमेरिकी कम्पनी ‘एन्थ्रोपिक’ सेयर बजारमा सूचीकृत हुने पहिलो एआई कम्पनी बन्ने भएको छ। बीबीसीका अनुसार पाँच वर्षअघि स्थापना भएको यो कम्पनी १.५ ट्रिलियन अमेरिकी डलर मूल्यांकनसहित नोभेम्बर १९ (नेपाली समयअनुसार बिहिबार राती) सेयर बजारमा प्रवेश गर्न लागेको हो ।
‘क्लड’ च्याटबट निर्माता एन्थ्रोपिक न्युयोर्कस्थित नास्डाक सेयर बजारमा सूचीकृत हुँदा प्रतिसेयर मूल्य ८३ डलर तोकिएको छ । अमेरिकी सेयर बजारमा प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने पूर्ण रूपमा एआईमा केन्द्रित पहिलो अमेरिकी कम्पनी बनेको छ । पूँजी बजारमा यसको टिकेट नाम ‘एएनटी’ रहनेछ ।
क्यानाकोर्ड वेल्थकी विश्लेषक लिह ब्रामवेललाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार संस्थागत र खुद्रा दुवै थरीका लगानीकर्ताबाट सेयरमा बलियो समर्थन देखिएको छ । यो आईपीओमार्फत एन्थ्रोपिकले लगानीकर्ताबाट ६८ अर्ब डलरभन्दा बढी र एनभिडियाजस्ता प्रविधि कम्पनीबाट थप २६ अर्ब डलर पुँजी संकलन गर्नेछ ।
काउन्टरपोइन्ट रिसर्चका मुख्य वित्तीय विश्लेषक याङ वाङले बीबीसीसँग कुरा गर्दै कम्पनीले आगामी दिनमा वित्तीय दायित्व पूरा गर्दै व्यापार बढाउनु मुख्य चुनौती रहेको बताएका छन् । एआई उद्योगमा अत्यधिक खर्च हुने भएकाले बजारको उतारचढावबीच कम्पनीले सार्वजनिक बजारबाट पुँजी जुटाउन खोजेको हो । अमेरिकी केन्द्रीय बैंकले पनि एआई क्षेत्रमा बढ्दै गएको अपारदर्शी ऋणप्रति चासो व्यक्त गरेको छ ।
एन्थ्रोपिकका मुख्य कार्यकारी डारियो अमोडेईसहित ओपनएआईका पूर्व सात कर्मचारीले सन् २०२१ मा यो कम्पनी स्थापना गरेका थिए । अमोडेईले एआई प्रविधिको अनियन्त्रित विकासले मानव अस्तित्वमै जोखिम ल्याउन सक्ने भन्दै कडा सुरक्षात्मक मापदण्डको वकालत गर्दै आएका छन् । यस विषमा उनले दुई महिनाअघि लेखेको ब्लग निकै चर्चित बन्यो ।
-अन्तराष्ट्रिय समाचार संस्थाको सहयोगमा ।