Trending
Prev Story
Next Story

नागढुंगा सुरुङमार्गको वार्षिक सञ्चालन खर्च २२ करोड, १५ दिनमै उठ्यो १ करोड ६४ लाख

Ekantipur •
November 19, 2026 • 04:02 PM
1
1 reads 0 reactions

१५ देखि ३० कात्तिकसम्म नागढुंगा सुरुङमार्ग भएर १ लाख १९ हजार २९ सवारी गुडेका छन् ।

नागढुंगा सुरुङमार्गको वार्षिक सञ्चालन खर्च २२ करोड, १५ दिनमै उठ्यो १ करोड ६४ लाख

१५ देखि ३० कात्तिकसम्म नागढुंगा सुरुङमार्ग भएर १ लाख १९ हजार २९ सवारी गुडेका छन् ।

काठमाडौं — नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भएर गुड्ने सवारीसाधनबाट १५ कात्तिकदेखि शुल्क लिन थालेसँगै डेढ करोडभन्दा बढी राजस्व उठेको छ । १५ देखि ३० कात्तिकसम्म १ करोड ६४ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन भएको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ । यस अवधिमा १ लाख १९ हजार २९ वटा सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका छन् ।

सुरुङमार्ग प्रयोग गर्ने कार र भ्यानले काठमाडौं भित्रिँदा ६५ र बाहिरिँदा ६० रुपैयाँ शुल्क तिर्नुपर्छ । मिनी बस, मिनी ट्रक र टिपरलाई काठमाडौं भित्रिँदा १ सय १५ र बाहिरिँदा ८० रुपैयाँ शुल्क तोकिएको सडक बोर्ड नेपालको भनाइ छ । बस र ट्रकले सुरुङमार्ग भएर काठमाडौं छिर्दा २ सय ६० र यही मार्ग भएर बाहिरिँदा २ सय रुपैयाँ शुल्क तिर्नुपर्छ । ठूला ट्रक र हेभी सवारी (लरी) ले भने सुरुङबाट उपत्यका भित्रिँदा ६ सय र बाहिरिँदा २ सय ५० रुपैयाँ टोल शुल्क तिर्नुपर्छ ।

एक दिनमा सबैभन्दा बढी १० हजार ३ सय ५४ र सबैभन्दा कम ४ हजार २ सय ६६ सवारीसाधन गुडेका छन् । एकै दिन सबैभन्दा धेरै १४ लाख ६५ हजार ९ सय १५ र सबैभन्दा कम ३ लाख ७१ हजार ८ सय ५० रुपैयाँ राजस्व उठेको आयोजनाले बताएको छ । यसअनुसार औसतमा दैनिक ७ हजार ९ सय ३५ सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने गरेका छन् । र, १० लाख ९६ हजार ४ सय ६७ रुपैयाँ राजस्व उठ्ने गरेको छ ।

पाँच वर्षसम्म सुरुङ सञ्चालनमा १ अर्ब १० करोड रुपैयाँ लाग्ने अनुमान छ । ‘यसअनुसार वार्षिक २२ करोड रुपैयाँ सुरुङ सञ्चालन खर्च लाग्ने अनुमान छ,’ नेपालले भने । चाडबाडका बेला भएकाले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको चाप बढी भएको र त्यहीअनुसार राजस्व पनि बढी उठेको उनको भनाइ छ । ‘मंसिरमा कति सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्छन्, कति राजस्व उठ्छ, थाहा हुन्छ,’ नेपालले भने, ‘त्यसपछि वर्षभर राजस्व कति उठ्न सक्छ भनेर अनुमान गर्न सकिन्छ ।’

सुरुङ सञ्चालनको जिम्मा युसिन–एआरटी जेभीले लिएको हो । उक्त कम्पनीले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट उठेको टोल शुल्क दैनिक सडक बोर्ड नेपालको खातामा जम्मा गर्नुपर्छ । यसका लागि बैंकका कर्मचारी सार्वजनिक बिदाको दिनबाहेक प्रत्येक दिन दिउँसो ३ बजे सुरुङमार्ग पुग्छन् । त्यसपछि उठेको रकम लिएर बैंकले बोर्डको खातामा जम्मा गर्छ । अहिले सवारीसाधन प्रयोगकर्तालाई नगद र क्यूआरमार्फत टोल शुल्क तिर्ने व्यवस्था गरिएको छ । क्यूआरबाट तिर्ने शुल्क सिधै बोर्डको खातामा जम्मा हुने आयोजनाले जनाएको छ । उक्त सेवाप्रदायक कम्पनीले ५ वर्षसम्म सुरुङको व्यवस्थापन र सञ्चालन गर्नर्छे ।

सुरुङ नहुँदा धादिङबाट काठमाडौं आउँदा नागढुंगा उकालोमा सवारी चाप हुने बेला साना सवारीलाई १५ र ठूलालाई ३५ मिनेट समय लाग्थ्यो । सुरुङमार्गबाट ७ मिनेटमै धादिङको सिस्नेखोलादेखि बलम्बुको किसिपिडी आइपुगिने आयोजनाको भनाइ छ ।

सुरुङभित्र भेन्टिलेसन प्रयोजनका लागि १५ वटा जेट फ्यान जडान गरिएका छन् । मुख्य सुरुङको दूरी २.६८८ र आपत्कालीन सुरुङको दूरी २.५५७ किलोमिटर छ । मुख्य सुरुङ र आपत्कालीन सुरुङबाट ३७५ मिटरमा ७ वटा क्रस प्यासेज निर्माण गरिएका छन् । सुरुङमार्गमा पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र ननमोटोराइज्ड सवारीले भने प्रवेश पाउँदैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई पनि सुरुङमार्गमा निषेध गरिएको छ । सुरुङ चौबिसै घण्टा खुला रहन्छ । टोल संकलन र सुरुङ सञ्चालन गर्न चौबिसै घण्टा ६४ जना कर्मचारी परिचालन गरिएको छ । अहिले सुरुङमार्गमा मात्र १ सय ४० जना कर्मचारी कार्यरत रहेको आयोजनाले जनाएको छ ।

सुरुङको निर्माण जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरेको हो । हाज्माले जेठ २०८३ मा नागढुंगा सुरुङमार्ग निर्माण आयोजनालाई सुरुङको काम सकेर हस्तान्तरण गरेको हो । सम्झौताअनुसार एक वर्षभित्र सुरुङमा कुनै समस्या आए हाज्माले नै मर्मतसम्भार गर्नुपर्नेछ ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
51m ago
नागढुंगा सुरुङमार्गको वार्षिक सञ्चालन खर्च २२ करोड, १५ दिनमै उठ्यो १ करोड ६४ लाख

नागढुंगा सुरुङमार्गको वार्षिक सञ्चालन खर्च २२ करोड, १५ दिनमै उठ्यो १ करोड ६४ लाख

नागढुंगा सुरुङमार्गको वार्षिक सञ्चालन खर्च २२ करोड, १५ दिनमै उठ्यो १ करोड ६४ लाख १५ देखि ३० कात्तिकसम्म नागढुंगा सुरुङमार्ग भएर १ लाख १९ हजार २९ सवारी गुडेका छन् । मंसिर ३, २०८३ विमल खतिवडा काठ...

#सुरुङमार्ग #नागढुंगा #देखि
Compare →

Related Stories

World News
Build #2612