उद्घाटन समारोहमा प्रदेशका दसवटै जिल्लाको पहिचान झल्किने गरी सांस्कृतिक झाँकी, नाचगान, बाजागाजा र परम्परागत प्रस्तुतिहरू समेट्ने योजना बनाइएको छ।
सुर्खेत — ‘कर्णालीमा ठूला कार्यक्रम गर्न सकिँदैन, यहाँ खाना, बसोबास र पानीजस्ता सुविधा छैनन् भन्ने भाष्य छ,’ उनले भने, ‘दशौं राष्ट्रिय खेलकुद सफलतापूर्वक आयोजना गरेर कर्णालीले पनि ठूलो प्रतियोगिता व्यवस्थापन गर्न सक्छ भन्ने सन्देश दिन चाहन्छौं।’ उनका अनुसार प्रतियोगिताको व्यवस्थापनसँगै उद्घाटन र समापन समारोहलाई कर्णालीको मौलिकता र सांस्कृतिक विविधता देखाउने अवसरका रूपमा उपयोग गरिनेछ।
उद्घाटन समारोहमा प्रदेशका दसवटै जिल्लाको पहिचान झल्किने गरी सांस्कृतिक झाँकी, नाचगान, बाजागाजा र परम्परागत प्रस्तुतिहरू समेट्ने योजना बनाइएको छ। राउटे समुदायको नाचसमेत प्रस्तुत गर्ने तयारी छ। विभिन्न जिल्लाका सांस्कृतिक प्रस्तुतिका लागि तीनदेखि चार मिनेटसम्मको समय छुट्याउने योजना रहेको चन्द्रले बताए। ‘उद्घाटन समारोहमा कर्णालीका सबै जिल्लाको प्रतिनिधित्व होस् भन्ने हाम्रो चाहना हो,’ उनले भने, ‘यहाँको संस्कृति, भेषभूषा, बाजागाजा र मौलिक प्रस्तुतिमार्फत कर्णालीको पहिचान देखाउन खोजेका छौँ।’
उद्घाटन समारोहलाई थप आकर्षक बनाउन आतसबाजी, प्याराग्लाइडिङलगायतका प्रदर्शन समेट्ने विषयमा पनि प्रस्ताव गरिएको छ। यद्यपि, यी कार्यक्रमको अन्तिम टुंगो लाग्न बाँकी छ। उद्घाटन र समापन समारोहलाई व्यवस्थित बनाउनुका साथै खेलाडीको आवास, खानपान, यातायात र खेलस्थल व्यवस्थापनलाई पनि चुनौतीका रूपमा लिइएको उनले बताए।
प्रतियोगिताका खेल एकै ठाउँमा सीमित नगरी विभिन्न जिल्लामा सञ्चालन गर्ने तयारी छ। वीरेन्द्रनगरमा २२ खेल आयोजना गर्ने योजना रहेकामा १४ खेल प्रदेश रंगशाला परिसरभित्र सञ्चालन हुनेछन्। कुस्तीका खेल रुकुम पश्चिम, दैलेख र कालीकोटमा सञ्चालन गर्ने योजना बनाइएको छ। खोखोका लागि बर्दियाको इन्डोर मैदान उपयोग गर्ने तयारी छ। जुम्लामा एथलेटिक्स सञ्चालन गर्ने योजना रहेकामा महिला फुटबल र महिला भलिबल पनि त्यहाँ आयोजना गर्ने विषयमा छलफल भइरहेको चन्द्रले बताए।
खेललाई विभिन्न जिल्लामा विस्तार गर्दा प्रतियोगितामा प्रदेशका अन्य क्षेत्रको सहभागिता र पहिचान पनि जोडिने परिषद्को अपेक्षा छ। प्रतियोगिताका क्रममा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र दर्शकको आवागमनले स्थानीय तहमा आर्थिक तथा सामाजिक गतिविधि बढ्ने अपेक्षासमेत गरिएको छ। दशौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्नु कर्णालीका लागि प्रतिष्ठाको विषय भएको चन्द्रको भनाइ छ। प्रतियोगिताले कर्णालीमा ठूला राष्ट्रिय कार्यक्रम आयोजना गर्न सकिने सन्देश दिनुका साथै प्रदेशको आतिथ्य, उपलब्ध पूर्वाधार र व्यवस्थापकीय क्षमता प्रस्तुत गर्ने अवसर दिने उनले बताए।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।