Trending
Prev Story
Next Story

सरकारी कुरियर बन्दै हुलाक, ७७ वटै जिल्लामा सेवा विस्तार

Nagarik News •
November 19, 2026 • 02:27 PM
2
2 reads 0 reactions

लामो समयदेखि रुग्ण र सुस्त संस्थाका रूपमा परिचित हुलाक सेवा पछिल्लो समय सेवा विस्तार, प्रविधिको प्रयोग, अन्तरनिकाय समन्वय र नागरिकको घरदैलोमै सरकारी सेवा पुर्याउने अभियानमार्फत अब्बल र सफल संस्थाका रुपमा स्थापित हुन थालेको छ ।

सरकारी कुरियर बन्दै हुलाक, ७७ वटै जिल्लामा सेवा विस्तार

लामो समयदेखि रुग्ण र सुस्त संस्थाका रूपमा परिचित हुलाक सेवा पछिल्लो समय सेवा विस्तार र प्रविधिको प्रयोगमार्फत सरकारी कुरियर सेवाका रूपमा रूपान्तरण हुन थालेको छ।

हुलाक सेवा विभागले २०८२ चैत २३ गते सिराहाबाट सुरु गरेको घरदैलो सरकारी सेवा वितरण कार्यक्रम अहिले ७७ वटै जिल्लामा विस्तार गरेको छ।

सरकार गठनपछि ल्याइएको शासकीय सुधारका सय कार्यसूचीमा हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको थियो।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले हुलाकलाई नागरिकको घरदैलोमै सेवा पुर्याउने संस्थाका रूपमा विकास गर्न साधनस्रोतको अभाव हुन नदिने र नागरिक सेवामुखी बनाउने बताउँदै आएका छन्।

विभागले राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्र, नागरिकता प्रतिलिपि, स्वास्थ्य सामग्री, सिमकार्डलगायत सरकारी कागजात तथा सामग्री नागरिकको घरमै पुर्याउने सेवा सञ्चालन गरिरहेको छ। विभागको २०८३ मंसिर २ गतेसम्मको तथ्यांकअनुसार कागजात तथा सामग्री ढुवानी र वितरणमा उल्लेख्य प्रगति भएको छ।

तथ्यांकअनुसार जिल्ला प्रशासन कार्यालयसम्म ३ लाख ७० हजार ९२५ राहदानी ढुवानी गरिएको छ भने १२ हजार ४३३ राहदानी सेवाग्राहीको घरमै पुर्याइएको छ।

यस्तै, १३ लाख ५३ हजार ९० वटा सवारी चालक अनुमतिपत्र सम्बन्धित यातायात कार्यालयसम्म र १ हजार १०६ वटा सेवाग्राहीको घरमै वितरण गरिएको छ।

विभागले २६५ वटा शैक्षिक प्रमाणपत्र ढुवानी तथा वितरण गर्नुका साथै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका १ हजार ७२९ नमुना ढुवानी गरेको छ। स्वास्थ्य बीमा बोर्डसँग सम्झौता भएका १८ अस्पतालका लागि १७१ बोरा स्वास्थ्य सामग्री ढुवानी गरिएको छ।

नेपाल टेलिकमका सिमकार्ड तथा अन्य सामग्रीतर्फ २२१ वटा सम्बन्धित कार्यालयसम्म र ४४ वटा सिमकार्ड घरमै वितरण गरिएको विभागले जनाएको छ।

यस्तै, राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका ४४ हजार १८५ थान सामग्री पनि हुलाकमार्फत ढुवानी गरिएको छ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले पछिल्लो समय हुलाक सेवाको प्रभावकारिता र पहुँच दुवै बढ्दै गएको बताइन्।

गाउँगाउँसम्म सेवा विस्तार हुनु, नागरिकको विश्वास बढ्नु, संस्थाले सम्मान पाउनु र अन्तर्राष्ट्रिय कुरियर कारोबार बढ्नुले सुधारको संकेत गरेको उनको भनाइ छ।

‘हुलाक सेवाप्रति नागरिकको विश्वास बढेको छ। संस्थाले सम्मान पाउन थालेको छ। गाउँगाउँसम्म सेवा विस्तार भएको छ भने अन्तर्राष्ट्रिय कुरियर सेवाको संख्या र कारोबार पनि बढिरहेको छ। युनिभर्सल पोस्टल युनियनको मूल्यांकनमा नेपालको अंक बढ्नु पनि हुलाक सेवामा भइरहेको सुधारको सकारात्मक संकेत हो,’ उनले भनिन्। सीमित स्रोतसाधन, बजेट अभाव र प्राविधिक जनशक्तिको कमी भने अझै चुनौतीका रूपमा रहेको उनले बताइन्।

नेपालले विश्व हुलाक संघको सदस्य राष्ट्रका रूपमा आफ्नो भूमिका र सहभागिता बढाउँदै लगेको छ। विभागले लेटर पोस्ट कम्पेन्डियम र पार्सल पोस्ट कम्पेन्डियम अद्यावधिक गरी पठाएको विवरण यूपीयूबाट प्रकाशित भएको जनाएको छ।

नेपाल र नेदरल्यान्ड्सबीच हुलाक वस्तुको ढुवानी सहज बनाउने विषयमा बेल्जियमस्थित नेपाली दूतावासको समन्वयमा नेदरल्यान्ड्स पोस्ट र नेपाल पोस्टबीच छलफल भइरहेको छ। अन्तर्राष्ट्रिय डाँक ढुवानीका लागि १४ वटा गन्तव्यको मार्ग योजना तयार गरिएको विभागले जनाएको छ।

हुलाक सेवाको आधुनिकीकरण तथा दुर्गम क्षेत्रमा सेवा विस्तार गरेबापत नेपाल हुलाकले एसिया-प्रशान्त हुलाक संघको आउटस्ट्यान्डिङ इनिसिएटिभ्स सर्भिस इन रिमोट एरियाज पुरस्कार प्राप्त गरेको छ। महानिर्देशक पंगेनीका अनुसार गोश्वारा हुलाक कार्यालयमार्फत अन्तर्राष्ट्रिय कुरियरको संख्या र कारोबार पनि उल्लेख्य रूपमा बढिरहेको छ।

हुलाकलाई सरकारी सेवा वितरणको भरपर्दो माध्यम बनाउन विभिन्न सरकारी निकाय, अस्पताल, सेवा प्रदायक संस्था र जिल्ला प्रशासन कार्यालयसँग सम्झौता विस्तार गरिएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पूरक सम्झौता गरी सामग्री ढुवानी प्रभावकारी बनाइएको छ भने राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग २०८३ जेठ १ गते भएको सम्झौताअनुसार डाँक तथा सामग्री ढुवानी भइरहेको छ।

नेपाल टेलिकमका सिमकार्डलगायत सामग्री वितरण गर्न २०८३ जेठ १८ गते सम्झौता भई साउन १ गतेदेखि सिमकार्डबाहेक अन्य सामग्री विभाग मातहतका कार्यालयमार्फत ढुवानी थालिएको हो।

स्वास्थ्य बीमा बोर्डसँग पनि २०८३ जेठ १८ गते सम्झौता गरी जेठ १९ गतेदेखि स्वास्थ्य सामग्री ढुवानी भइरहेको छ।

राहदानी, चिठ्ठीपत्र तथा अन्य सामग्री जिल्ला प्रशासन कार्यालयसम्म पुर्याउन राहदानी विभाग र हुलाक सेवा विभागबीच २०८३ जेठ १९ गते भएको सम्झौताअनुसार साउन १ गतेदेखि डाँक ढुवानी भइरहेको छ।

भूमि व्यवस्था तथा अभिलेख विभागसँग २०८३ साउन ८ गते जग्गाधनी प्रमाणपुर्जा तथा सरकारी कागजात ढुवानी र वितरणसम्बन्धी सम्झौता गरिएको छ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडसँग हुलाक टिकट छपाइसम्बन्धी सम्झौता गरिएको छ भने त्रिभुवन विश्वविद्यालयसँग २०८३ कात्तिक १७ गते विद्यार्थीका शैक्षिक प्रमाणपत्रलगायत हुलाक वस्तु ढुवानी तथा वितरणसम्बन्धी सम्झौता भएको छ।

सवारी चालक अनुमतिपत्र घरमै पुर्याउने प्रणालीलाई प्रभावकारी बनाउन हुलाकको पीआईटीएस (पिट्स) प्रणाली र यातायात व्यवस्था विभागको ईडीएलभीआरएस प्रणालीबीच अन्तरआबद्धता गरिएको छ। यसका लागि हुलाक सेवा विभाग, यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच २०८३ असोज ६ गते त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

डाँक ढुवानी प्रणाली सुधार गर्न हवाई यातायातको प्रयोग र वैकल्पिक मार्ग पहिचानलाई प्राथमिकता दिइएको छ। विभाग र यती एयरलाइन्सबीच २०८३ जेठ ८ गते सम्झौता भई हवाई मार्गबाट आन्तरिक डाँक ढुवानी भइरहेको छ। आर्थिक वर्ष २०८३/८४ का लागि उक्त सम्झौता २०८३ असोज २१ गते नवीकरण गरिएको छ।

विपद्का समयमा पोखराबाट मुस्ताङ जाने डाँकका लागि मल्लाज हुँदै वैकल्पिक मार्गको व्यवस्था गरिएको छ। दक्षिणी ललितपुर र मकवानपुर क्षेत्रमा सेवा विस्तार तथा डाँक ढुवानी सहज बनाउन गोदावरी नगरपालिका-चापागाउँमा हुलाक काउन्टर स्थापना गरी सेवा सञ्चालन गरिएको छ।

हुलाकलाई सरकारी कुरियर सेवाका रूपमा संस्थागत गर्न हुलाक सेवा ऐन संशोधन तथा परिमार्जनको प्रक्रिया अघि बढाइएको छ। ऐनको मस्यौदा तयार गरी मन्त्रालयमा पेस गरिसकिएको विभागले जनाएको छ।

प्रशासनिक तथा वित्तीय सुधारअन्तर्गत महालेखा परीक्षकको ६३ औं वार्षिक प्रतिवेदनमा औंल्याइएको बेरुजु फछ्र्यौट कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

अन्तर्राष्ट्रिय डाँक लेखा प्रणाली सुदृढीकरणसम्बन्धी अध्ययन प्रतिवेदन तयार गर्नुका साथै सेवा विस्तार, शुल्क निर्धारण र प्रविधिको प्रयोगमा सुधारका कार्यक्रम अघि बढाइएको विभागले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८३ २०:१२ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
5h ago
काठमाण्डौमा चौबीसै घण्टा कारोबारको तयारी, सुरक्षा र सेवा विस्तारको खाका बन्दै

काठमाण्डौमा चौबीसै घण्टा कारोबारको तयारी, सुरक्षा र सेवा विस्तारको खाका बन्दै

काठमाण्डौ । रात्रिकालीन आर्थिक गतिविधि विस्तार गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौले बजार तथा व्यावसायिक...

#विस्तार #बन्दै
Compare →
Onlinekhabar
1d ago
फराकिलो आकाश, साझा लाभ : हवाईमार्ग विस्तारको कूटनीतिक बाटो

फराकिलो आकाश, साझा लाभ : हवाईमार्ग विस्तारको कूटनीतिक बाटो

भनिन्छ ‘आकाशको कुनै निश्चित सीमा हुँदैन’, सम्भावना असीमित हुन्छन् । तर, अन्तर्राष्ट्रिय हवाई पहुँचका सन्दर्भमा भूपरिवेष्ठित नेपालको अवस्था हेर्दा एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ, आकाशमा उडान सम्भावना निरन्तर विस्तार भइरहँदा नेपाल प्रवेश गर्ने हवाईमार्गका विकल्प भने …

#विस्तार
Compare →
Ekantipur
1d ago
चीनले निर्माण कम्पनी नछान्दा चक्रपथ विस्तार अलमलमा

चीनले निर्माण कम्पनी नछान्दा चक्रपथ विस्तार अलमलमा

कलंकी–बसुन्धरा ८.२ किलोमिटर खण्ड विस्तारको चर्चा ८ वर्षदेखि चले पनि चीनले निर्माण कम्पनी छनोट नगर्दा काम सुरु भएको छैन ।

#विस्तार
Compare →
Hamro Patro News
2d ago
अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

अन्तर्राष्ट्रिय शैक्षिक सहकार्य विस्तार गर्न त्रिविद्वारा ‘कन्ट्री फोकल पर्सन’ आह्वान

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन माग गरेको छ । त्र...

#विस्तार
Compare →

Related Stories

Politics & Governance
Build #2612