कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै कोइरालाले आफू सुरुदेखि नै बीचमा बसेर पार्टीलाई एकढिक्का बनाउन संवाद र सहमतिको प्रयासमा जुटिरहेको बताएका छन् ।
विराटनगर — कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विभाजनले लोकतन्त्र र देशको अस्तित्वमै असर पार्न सक्ने चिन्ता व्यक्त गरेका छन् । विराटनगरस्थित निवासमा कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड'मा कुरा गर्दै कोइरालाले आफू सुरुदेखि नै बीचमा बसेर पार्टीलाई एकढिक्का बनाउन संवाद र सहमतिको प्रयासमा जुटिरहेको बताए ।
पार्टीका दुवै पक्षसँग निरन्तर सम्पर्क र संवादमा रहेको उल्लेख गर्दै कोइरालाले भने, 'म न छलाङको तयारीमा छु न पलायनको । कांग्रेसलाई एक ढिक्का बनाएर अगाडि बढ्छु भन्ने मेरो मान्यता छ र त्यसैका लागि प्रयत्नरत छु । स्थानीय निर्वाचन नजिकिँदै गर्दा पार्टी विभाजित भए त्यसको प्रत्यक्ष असर चुनावी नतिजा र माथिल्लो सभा (राष्ट्रिय सभा) को समीकरणमा समेत पर्ने हुँदा चिन्तित रहेको उनको भनाइ छ ।
पार्टीको १५औँ महाधिवेशन र दुई समूहको समानान्तर गतिविधिबारे कोइरालाले दुवै पक्षका सभापतिहरूलाई सम्मान गर्ने र मिल्नुपर्ने पक्षमा रहेको स्पष्ट पारे । आफूलाई विशेष महाधिवेशनको निम्तो नआएको उल्लेख गर्दै उनले सर्वोच्च अदालतले जुनसुकै पक्षको महाधिवेशन वा निर्णयलाई सदर वा खारेज गरे पनि लोकतान्त्रिक संस्कारअनुसार अदालतको फैसला स्वीकार गर्नुपर्ने बताए ।
पार्टीभित्रको नेतृत्व र विरासतको प्रश्नमा उनले कोइराला परिवारको ऐतिहासिक योगदान रहे पनि काम र मिहिनेतबिना विरासत मात्रैले पार्टी नधानिने धारणा व्यक्त गरे । साथै, पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पूरै किनारा लगाएर अघि बढ्ने सोच ठिक नभएको भन्दै उनले कांग्रेस विविधतायुक्त पार्टी भएकाले सबैलाई समेटेर लैजानुपर्नेमा जोड दिए । अर्को छुट्टै पार्टी खोल्ने वा नयाँ दल गठन गर्ने माग अस्वीकार गर्दै उनले बनिबनाउ पार्टी जोगाएर एकताबद्ध बनाउनु नै अहिलेको आवश्यकता रहेको बताए ।
त्यस्तै, वर्तमान सरकारको कार्यशैलीबारे टिप्पणी गर्दै कोइरालाले सरकारलाई संविधान र कानुनसम्मत रूपमा चल्न सुझाव दिए । संसद्मा बलियो बहुमत हुँदाहुँदै पनि अध्यादेशमार्फत देश चलाउन खोज्नु गलत भएको उनको भनाइ छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमण सद्भावना भ्रमणमै सीमित रहने कोइरालाको आकलन छ। पहिलो भेटमै ठूला र दशकौँदेखिका जटिल मुद्दाहरू तुरुन्तै समाधान हुने अपेक्षा गर्न नसकिने उनको भनाइ छ ।
कान्तिपुर टेलिभिजनमा बिहीबार राति ९ बजे कार्यक्रम फायरसाइडमा प्रसारण हुने कोइरालासँगको पूरा अन्तर्वार्ता कान्तिपुर टिभीका डिजिटल प्लाटफर्महरुमा पनि हेर्न र सुन्न सकिनेछ ।