मेरिलेबोन क्रिकेट क्लब एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणमा नेपालले स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग खेल्ने तालिका छ ।
काठमाडौं — नेपाली पुरुष राट्रिय क्रिकेट टिमले सन् २०२७ मा इंग्ल्यान्ड भ्रमण गर्दै विश्व क्रिकेटको ऐतिहासिक मैदान लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ । नेपालले पहिलो पटक लर्ड्स मैदानमा आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग प्रतिस्पर्धा गर्न लागेको हो । ३ जुन २०२७ मा नेपाल र बंगलादेशबीच उक्त ऐतिहासिक खेल हुनेछ । बंगलादेशको पुरुष टोलीले पनि पहिलो पटक लर्ड्समा टी–२० अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।
मेरिलिबोन क्रिकेट क्लब एमसीसीको आयोजनामा हुने इंग्ल्यान्ड भ्रमणमा नेपालले स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग खेल्ने तालिका छ । नेपालले १ जुनमा वर्म्सलीमा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्दै भ्रमण सुरु गर्नेछ ।
त्यसपछि ३ जुनमा लर्ड्समा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । भ्रमणका क्रममा नेपालले आयरल्यान्डसँग पनि ४ खेल खेल्नेछ । ६ जुनमा वर्म्सलीमा ५० ओभरको खेल हुनेछ भने ९ जुनमा सोही मैदानमा टी–२० खेल हुनेछ । त्यस्तै, ११ र १२ जुनमा बेकनह्याममा आयरल्यान्डसँग दुई टी–२० खेल खेल्ने तालिका छ ।
नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले लर्ड्समा ऐतिहासिक खेल खेल्न पाउनु नेपाली क्रिकेटका लागि विशेष अवसर भएको बताएका छन् । उनले एमसीसी, इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड ईसीबी, बंगलादेश क्रिकेट बोर्ड, क्रिकेट स्कटल्यान्ड र क्रिकेट आयरल्यान्डप्रति सहयोगका लागि आभार व्यक्त गरेका छन् ।
यस्तै, एमसीसीका चीफ एक्जिक्युटीभ सेक्रेटरी रोबर्ट लसनले पछिल्ला केही वर्षमा एमसीसी र क्यानबीचको सम्बन्ध प्रगाढ हुँदै गएको उल्लेख गर्दै आपसी भ्रमणले अनुभवहरूको आदानप्रदान तथा क्रिकेट खेलको विकासमा सहकार्यकर्य गर्ने अवसर मिलेको बताए । एमसीसीले यस भ्रमणलाई अन्तर्राष्ट्रिय क्रिकेटमा सम्बन्ध विस्तार गर्ने र नेपाली क्रिकेटको विकासमा सहयोग पुर्याउने महत्वपूर्ण अवसरका रूपमा लिएको छ।
सुवास रोकाया कान्तिपुर टिभीका संवाददाता हुन् ।