Trending
Prev Story
Next Story

गुम्बाभित्र कुङ-फु खेल्ने आनीहरू

Ekantipur •
November 19, 2026 • 07:32 AM
2
2 reads 0 reactions

कुङ-फु आनीहरूका लागि कुनै प्रतियोगिता वा पदक जित्ने माध्यम होइन । यो उनीहरूको दैनिक जीवनको अभ्यास हो । शारीरिक रूपमा बलियो हुँदा लामो समयसम्म ध्यानमा बस्न, धार्मिक अनुष्ठान गर्न र दैनिक जिम्मेवारी पूरा गर्न सहज हुन्छ ।

गुम्बाभित्र कुङ-फु खेल्ने आनीहरू

कुङ-फु आनीहरूका लागि कुनै प्रतियोगिता वा पदक जित्ने माध्यम होइन । यो उनीहरूको दैनिक जीवनको अभ्यास हो । शारीरिक रूपमा बलियो हुँदा लामो समयसम्म ध्यानमा बस्न, धार्मिक अनुष्ठान गर्न र दैनिक जिम्मेवारी पूरा गर्न सहज हुन्छ ।

काठमाडौँ — आनी अर्थात् भिक्षुणी भन्नेबित्तिकै धेरैको मनमा गुम्बाभित्र बसेर ध्यान, पूजापाठ र साधना गर्ने, गाढा मरुन रङका पोसाक लगाउने महिलाको तस्बिर आउँछ ।

तर, काठमाडौंको रामकोटस्थित सेतो गुम्बामा पुग्दा यो परम्परागत बुझाइभन्दा फरक दृश्य देखिन्छ ।

यहाँका आनीहरू बिहान ध्यान गर्छन् । धार्मिक अनुष्ठानमा सहभागी हुन्छन् । र, दिनको केही समय मार्सल आर्टअन्तर्गत कुङ-फु अभ्यासमा बिताउँछन् । उनीहरू ड्रम तथा अर्केस्ट्रा बजाउँछन् । साइकल यात्रामा निस्कन्छन् । अनि बेलाबेला सामाजिक सेवामा समेत सक्रिय हुन्छन् ।

मंगलबार सेतो गुम्बामा सम्पन्न ११औं ड्रुक्पा सम्मेलनका अवसरमा आनीहरूले गरेको कुङ-फु प्रदर्शनले उपस्थित दर्शकको ध्यान तान्यो ।

गुम्बाको पोसाकमा रहेका आनीहरूका चुस्त शारीरिक गतिविधि, सामूहिक तालमेल र अनुशासित प्रस्तुतिले उनीहरूको नियमित अभ्यास झल्काउँथ्यो । प्रदर्शन सकिएपछि उनीहरूले दर्शकबाट प्रशंसा पाए ।

यसरी कुङ-फुलाई आफ्नो दैनिक जीवनको हिस्सा बनाउँदै आएकीमध्ये एक हुन्, रामेछापको सैलुङकी आनी जिग्मे याङ्छेन घामो अर्थात् कुसाङ तामाङ । कान्तिपुरसँगको कुराकानीमा उनले आनीहरूको जीवन, कुङ-फु अभ्यास र यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा पारेको प्रभावबारे अनुभव सुनाइन् ।

‘कुङ-फु भन्नेबित्तिकै सानो बच्चादेखि ठूलासम्मलाई एक्सन र चलचित्रमा देखिने दृश्य याद आउँछ । तर हामी भिक्षुणी भएकाले हाम्रो जीवनमा कुङ-फुको अर्थ अलि फरक छ,’ उनले भनिन्, ‘यसले हामीलाई शारीरिक रूपमा स्वस्थ र बलियो बनाउनुका साथै आत्मविश्वास पनि बढाएको छ ।’

उनका अनुसार कुङ-फु आनीहरूका लागि कुनै प्रतियोगिता वा पदक जित्ने माध्यम होइन । यो उनीहरूको दैनिक जीवनको अभ्यास हो । शारीरिक रूपमा बलियो हुँदा लामो समयसम्म ध्यानमा बस्न, धार्मिक अनुष्ठान गर्न र दैनिक जिम्मेवारी पूरा गर्न सहज हुन्छ । त्यस्तै, कुङ-फुले मानसिक रूपमा पनि दृढ र आत्मविश्वासी बन्न सहयोग गर्ने उनले बताइन् ।

उनका अनुसार, सेतो गुम्बामा अहिले ८० भन्दा बढी आनी नियमित रूपमा कुङ-फु अभ्यास गर्छन् । गुम्बामा रहेका तीन सयभन्दा बढी आनीमध्ये उनीहरूको अभ्यास उमेर र रुचिअनुसार फरक समूहमा हुन्छ । सबैभन्दा सानो उमेरकी सात वर्षकी छिन् भने ३० देखि ३५ वर्षसम्मका आनी पनि यसमा सहभागी छन् । सम्मेलनमा भएको प्रदर्शनमा भने ५० देखि ६० जना युवा आनी सहभागी थिए ।

भिक्षुणी जिग्मे याङ्छेनका अनुसार उनीहरू मौसमअनुसार बिहान वा बेलुका करिब डेढ घण्टा अभ्यास गर्छन् । उनीहरूलाई भियतनामी कुङ-फु प्रशिक्षक जिग्मे रिग्जाङले नियमित अभ्यास गराउँदै आएका छन् ।

सेतो गुम्बाका आनीहरूले कुङ-फु अभ्यास गर्न थालेको सन् २००८ देखि हो । बीबीसीका अनुसार ड्रुक्पा परम्पराका प्रमुख रिम्पोछे ग्याल्वाङ ड्रुक्पाले भियतनाम भ्रमणका क्रममा भिक्षुणीहरूलाई मार्सल आर्ट अभ्यास गरिरहेको देखेपछि नेपालका आनीहरूलाई पनि यस्तो प्रशिक्षण दिने सोच बनाए । त्यसपछि उनले नेपाल फर्केर रामकोटमा रहेको सेतो गुम्बाका भिक्षुणीहरूलाई कुङ-फु सिकाउने पहल थाले । यसको उद्देश्य केवल युद्धकला सिकाउनु थिएन । परम्परागत रूपमा पुरुषप्रधान मानिएको धार्मिक व्यवस्थामा महिलालाई पनि नेतृत्व, आत्मनिर्भरता र समान अवसर प्रदान गर्नु यसको प्रमुख उद्देश्य रहेको बीबीसीले लेखेको छ ।

भारत र तिब्बतका विपन्न परिवारबाट आएका युवतीहरूलाई शारीरिक तथा मानसिक रूपमा सक्षम बनाउने र उनीहरूमा आत्मविश्वास विकास गर्ने लक्ष्यसहित यो अभ्यास सुरु गरिएको थियो । त्यतिबेला गुम्बामा महिलाको भूमिका पूजा, ध्यान र भान्साको काममा सीमित राख्ने परम्परागत सोच थियो । भिक्षुणीहरूले मार्सल आर्ट अभ्यास गर्न थालेपछि उनीहरूको भूमिकाबारे प्रश्नसमेत उठेका थिए । तर समयसँगै कुङफुले उनीहरूको जीवनमा पारेको सकारात्मक प्रभावले त्यस्ता आलोचना कम हुँदै गएको भिक्षुणी जिग्मे याङ्छेन बताउँछिन् ।

सन् २०१३ देखि आनीहरूले कुङ-फु कला अन्तर्राष्ट्रिय स्तरमा समेत प्रस्तुत गर्न थालेका छन् । सन् २०१७ देखि नेपालका विभिन्न विद्यालयका बालबालिकालाई उनीहरूले छोटो अवधिका कार्यशाला सञ्चालन गरेर सिकाउन थालेका थिए । भारतको लद्दाखमा पनि सातदिने कार्यशाला सञ्चालन गरेको अनुभव उनीहरूसँग छ । बेलायत, अमेरिका, अस्ट्रेलिया, भियतनाम र हङकङलगायत देशमा पनि उनीहरूले आफ्नो कला प्रदर्शन गरिसकेका छन् । अमेरिकामा ‘एजेन्ट अफ चेन्ज’ अवार्डसमेत प्राप्त गरेको भिक्षुणी जिग्मे याङ्छेनले बताइन् ।

कुङ-फु आनीहरूबारे बाहिर धेरै चासो र जिज्ञासा हुने गरेको छ । मार्सल आर्ट भन्नेबित्तिकै कतिपयले यसलाई लडाइँ, आक्रमण वा आत्मरक्षासँग मात्र जोडेर बुझ्ने गरेका छन् । तर सेतो गुम्बाका अध्यक्ष गुरु खाम्टाक रिन्पोछेले आनीहरूले गर्ने कुङ-फुको मुख्य उद्देश्य शारीरिक व्यायाम र तन्दुरुस्ती भएको सुनाए ।

‘कुङ-फु नन्स भनेर कतिपयले नकारात्मक रूपमा पनि हेर्नुहुँदो रहेछ । कुङ-फु भनेपछि मान्छे पिट्ने, मार्ने भन्ने सोच्नुहुँदो रहेछ । त्यस्तो होइन,’ उनले कान्तिपुरसँग भने, ‘हाम्रो मुख्य उद्देश्य आनीहरूको एक्सरसाइज हो । गुम्बामा सिकाउने कुङ-फु खेल र शारीरिक अभ्यासका लागि मात्र हो ।’ उनका अनुसार यस्तो अभ्यासले आनीहरूको शारीरिक क्षमता बढाउनुका साथै अनुशासन र एकाग्रता विकास गर्न सहयोग गर्छ । त्यसैले यसलाई हिंसा वा लडाइँको दृष्टिकोणबाट मात्र हेर्न नहुने उनको भनाइ छ ।

कान्तिपुरले कुराकानी गरेका धेरैजसो भिक्षुणीले पनि कुङ-फु र ध्यानलाई एकअर्काबाट अलग गर्न नहुने बताए । दुवै अभ्यासमा एकाग्रता र मानसिक नियन्त्रण आवश्यक पर्ने उनीहरूको भनाइ छ । ध्यान गर्दा मनलाई एउटै बिन्दुमा केन्द्रित गर्नुपर्छ भने कुङ-फुको अभ्यासमा शरीरको चाल, सन्तुलन र प्रस्तुतिमा पूर्ण ध्यान दिनुपर्छ । गुम्बामा कुङ-फु अभ्यास गर्ने आनीहरूका लागि छुट्टै बेल्ट वा प्रतिस्पर्धात्मक र्‍यांकिङ प्रणाली छैन । उनीहरूलाई सिनियर र जुनियर ब्याचका रूपमा छुट्याइन्छ । कसले राम्रो गर्छ भन्ने प्रतिस्पर्धाभन्दा सबैले सँगै सिक्ने र अभ्यास गर्ने पद्धति यहाँ अपनाइएको छ ।

सम्मेलनका क्रममा केही भिक्षुणीले आफ्नो अनुभव पनि सुनाए । २२ वर्षदेखि भिक्षुणी जीवन बिताइरहेकी आनी जिग्मे पाल्द्रोनले कुङ-फु प्रशिक्षणले शारीरिक र मानसिक शक्ति बढाउन सहयोग गरेको बताइन् ।

भारतको हिमाचल प्रदेशबाट आएकी तथा २१ वर्षदेखि आनीको जीवन बिताइरहेकी आनी जिग्मे रिन्चेन ल्हामोले पनि सुरुवाती दिनमा सामाजिक आलोचना सामना गर्नुपरेको अनुभव सुनाइन् । ‘मानिसहरूले आलोचना गर्थे- यिनी त केटी हुन् । केटीमा पनि भिक्षुणी हुन् । कुङ-फु सिकेर के नै पो गर्लिन् र ? भिक्षुणीहरूको काम त केवल आध्यात्मिक अभ्यास र पूजाअर्चना गर्नु हो भन्ने सोच थियो,’ उनले सबैसामु सुनाइन् । तर, त्यस्ता चुनौती र कठिन अभ्यासले आफूलाई बलियो बनाएको उनको अनुभव थियो ।

सम्मेलनकी सबैभन्दा कान्छी वक्ता आनी जिग्मे बुद्ध देवीले पनि कुङ-फु आनी हुनुको अर्थ आत्मरक्षाभन्दा धेरै फराकिलो रहेको बताइन् । उनले यो खेल आत्मखोज, अनुशासन, आध्यात्मिक विकास र अरूको सेवा गर्ने यात्रा रहेको बताइन् ।

सेतो गुम्बाका भिक्षुणीहरूलाई कुङ-फुसँगै परम्परागत रूपमा पुरुषले गर्ने मानिएका अन्य सिप पनि सिकाइन्छ । उनीहरूले प्लम्बिङ, विद्युतीय उपकरण जडान, टाइपिङ, साइकल चलाउने र अंग्रेजी भाषा पनि सिकिरहेका छन् । त्यति मात्र होइन, उनीहरूले गुम्बाको अतिथिगृह र कफी पसलसमेत सञ्चालन गर्छन् । चारपांग्रे गाडी आफैं चलाएर गुम्बाबाट करिब ३० किलोमिटर टाढाको काठमाडौंसम्म आवश्यक सामग्री खरिद गर्न पुग्छन् ।

सेतो गुम्बाका आनीहरूको सक्रियता कुङ-फुमा मात्र सीमित छैन । उनीहरू साइकल यात्रा, पदयात्रा र सामाजिक सेवाका गतिविधिमा पनि बेलाबेला सहभागी हुन्छन् । वातावरण संरक्षण, प्लास्टिक न्यूनीकरण र महिला हिंसाविरुद्ध जनचेतना फैलाउने अभियानमा समेत उनीहरू जोडिएका छन् । सन् २०१५ को विनाशकारी भूकम्पका बेला उनीहरू प्रभावित गाउँमा पुगेर उद्धार तथा राहत कार्यमा पनि जुटेका थिए । भत्किएका संरचनाको भग्नावशेष हटाउन, बाटो खुलाउन, खाद्यान्न वितरण गर्न र पीडितलाई अस्थायी आश्रय निर्माणमा पनि उनीहरूले सहयोग गरेका थिए ।

त्यसअघि सन् २०१५ को सुरुवातमा ग्याल्वाङ ड्रुक्पाको नेतृत्वमा आनीहरूले काठमाडौं–दिल्लीसम्म करिब २ हजार २ सय किलोमिटर लामो साइकल यात्रा गरेका थिए । वातावरण संरक्षणको सन्देश फैलाउने र निजी सवारीसाधनको सट्टा साइकल प्रयोग गर्न प्रोत्साहित गर्ने उक्त यात्राको उद्देश्य थियो ।

११औं ड्रुक्पा सम्मेलनमा पनि वातावरण संरक्षण र विपद् व्यवस्थापनलाई प्राथमिकता दिइएको थियो । सम्मेलनमा जलवायु परिवर्तन, वातावरण संरक्षण र मानवीय सहयोगबारे छलफल गरिएको सेतो गुम्बाका अध्यक्ष खाम्टाक रिन्पोछेले बताए । उनका अनुसार रसुवामा बाढीपहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न र लुगाफाटो उपलब्ध गराउने तथा नेपाल सरकारसँग समन्वय गरेर घर निर्माणमा सहयोग गर्ने योजना छ ।

ड्रुक्पा काग्यु परम्परा तिब्बती बौद्ध धर्मअन्तर्गतको एक प्राचीन आध्यात्मिक सम्प्रदाय मानिन्छ । यो सम्प्रदायमा ध्यान, साधना, करुणा, मानव सेवा र सामाजिक रूपान्तरणलाई प्राथमिकता दिइन्छ । यस परम्पराअनुसार नेपालका हिमाली तथा उच्च पहाडी जिल्लाहरूमा दर्जनौं गुम्बाहरू पनि सञ्चालनमा छन् ।

सुरज कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
आनी छोइङलगायतको नियुक्तिविरुद्ध लुम्बिनीमा प्रदर्शन

आनी छोइङलगायतको नियुक्तिविरुद्ध लुम्बिनीमा प्रदर्शन

बुटवल । लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्मालगायतको नियुक्तिको विरोधमा ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ। महाअभियानले विवादित नियुक्ति तत्काल बदर गर्न माग गर्दै निर्णय नसच्याए देशव्यापी ...

#आनी
Compare →
Onlinekhabar
1w ago
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन

लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन

२० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ । लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत …

#आनी
Compare →

Related Stories

Education & Youth
Build #2612