प्रतियोगिता सुरु हुन दुई साताभन्दा कम समय बाँकी रहँदा पनि टोलीको संख्या, आवासको आवश्यकता र आगमनको समयबारे स्पष्ट विवरण नआएको आयोजकको भनाइ छ ।
सुर्खेत — दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने विभागीय टोलीहरू आवास व्यवस्थापन समितिको सम्पर्कमा नआउँदा खेलाडीको बसोबास व्यवस्थापनमा अन्योल देखिएको छ । प्रतियोगिता सुरु हुन दुई साताभन्दा कम समय बाँकी रहँदा पनि टोलीको संख्या, आवासको आवश्यकता र आगमनको समयबारे स्पष्ट विवरण नआएको आयोजकको भनाइ छ ।
सशस्त्र प्रहरी बलका विभिन्न विधाका करिब ६ सय खेलाडी प्रतियोगितामा सहभागी हुँदैछन् । तर उनीहरूलाई राख्ने ठाउँको टुंगो लागेको छैन । सशस्त्र प्रहरी बल कर्णाली प्रदेशको ब्यारेकमा पर्याप्त ठाउँ नभएकाले खेलाडी राख्न समस्या हुने डीआईजी कृष्णराज पाठकले बताएका छन् । उनका अनुसार प्रतियोगिताका लागि थप सुरक्षा जनशक्तिसमेत परिचालन गर्नुपर्ने भएकाले ब्यारेकमा आवासको अभाव छ । खेलाडीको व्यवस्थापनबारे राष्ट्रिय खेलकुद परिषद्बाट आफूहरूलाई कुनै जानकारी नआएको उनको भनाइ छ ।
‘हामीसँग ब्यारेकमा पर्याप्त ठाउँ छैन । थप सुरक्षा जनशक्तिसमेत ल्याउनुपर्ने भएकाले खेलाडी राख्ने ठाउँको अभाव हुन्छ,’ पाठकले भने, ‘खेलाडीको आवास व्यवस्थापन कसरी गर्ने भन्नेबारे परिषद्ले हामीलाई केही जानकारी दिएको छैन ।’
कर्णाली खेलकुद परिषद्का उपाध्यक्ष तथा बसोबास व्यवस्थापन समितिका संयोजक प्रेम हमालले पनि विभागीय टोलीहरू अहिलेसम्म समितिको सम्पर्कमा नआएको बताएका छन् । आफूले पटकपटक सम्पर्क गर्न खोजे पनि टोलीका जिम्मेवार व्यक्तिहरूबाट आवास व्यवस्थापनबारे आवश्यक विवरण नआएको उनको भनाइ छ ।
‘विभागीय टोलीका कुनै पनि प्रतिनिधि अहिलेसम्म मेरो सम्पर्कमा आउनुभएको छैन । म आफैं फोन गरेर तपाईंहरूलाई कस्तो बसोबास चाहिन्छ, कहाँ बस्ने भनेर सोधिरहेको छु,’ हमालले भने, ‘कतिपय खेलाडीले व्यक्तिगत रूपमा होटल बुक गर्नुभएको छ । सबै टोली एकैपटक आइपुगे भने व्यवस्थापनमा थप समस्या हुन्छ ।’
प्रतियोगिता औपचारिक रूपमा मंसिर १६ गते सुरु हुने भए पनि विभिन्न विधाका खेल मंसिर ८ गतेदेखि नै सञ्चालन गर्ने तयारी छ । नेपाल प्रहरीका पनि विभिन्न विधामा करिब ६ सयभन्दा बढी खेलाडी सहभागी हुँदैछन् । खेल सुरु हुनुअघि नै खेलाडीको आवास, होटल बुकिङ र खानपानको व्यवस्थापन मिलाउनुपर्ने भए पनि विभागीय टोलीबाट आवश्यक विवरण नआउँदा व्यवस्थापन समितिलाई योजना बनाउन कठिन भएको हमालले बताए ।
उनका अनुसार समितिले होटल तथा अन्य आवासको व्यवस्था मिलाउन सक्ने भए पनि त्यसका लागि सम्बन्धित टोलीले समयमै समन्वय गर्नुपर्छ । विभागीय टोलीले आवास व्यवस्थापनको जिम्मेवारी राष्ट्रिय खेलकुद परिषद्को भएको भन्दै समितिसँग सम्पर्क नगर्दा समस्या थपिएको उनको भनाइ छ । प्रतियोगिताका लागि होटल बुकिङ र बसोबासको व्यवस्था समयमै टुंग्याउनुपर्ने भए पनि टोलीहरू सम्पर्कमा नआउनुले अन्तिम समयमा व्यवस्थापनमा चाप पर्ने उनको चिन्ता छ ।
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी जयराज सापकोटाले पनि थप प्रहरी जनशक्ति परिचालन गर्नुपर्ने भएकाले ब्यारेकभित्र खेलाडी राख्न पर्याप्त ठाउँ नरहेको बताएका छन् । सुरक्षाका लागि थप प्रहरी बलको व्यवस्थापन गर्नुपर्ने भएकाले विभागीय टोलीका खेलाडीलाई बाहिरै राख्ने गरी राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय भइरहेको उनले बताए ।
‘थप प्रहरी जनशक्ति र सुरक्षाको व्यवस्थापन गर्नुपर्ने भएकाले ब्यारेकभित्र ठाउँ अपुग छ । त्यसैले राष्ट्रिय खेलकुद परिषद्को टोलीसँग समन्वय गरेर खेलाडीलाई बाहिर व्यवस्थापन गर्ने कुरा भइरहेको छ,’ उनले भने ।
प्रतियोगिता नजिकिँदै गर्दा खेलाडीको प्रशिक्षणसँगै आवास र सुरक्षा व्यवस्थापनको विषय पनि चुनौतीका रूपमा देखिएको छ । विभागीय टोलीबाट खेलाडीको संख्या, बसोबासको आवश्यकता र आगमनको समयबारे स्पष्ट विवरण नआए अन्तिम समयमा आवास व्यवस्थापनमा समस्या आउन सक्ने देखिएको छ ।
नेपाली सेनाले भने प्रतियोगितामा सहभागी हुने करिब ९ सय खेलाडीको बसोबास आफ्नै ब्यारेकभित्र व्यवस्थापन गर्ने जनाएको छ । विभिन्न विधाका खेल फरकफरक समयमा सञ्चालन हुने भएकाले खेल तालिकाअनुसार पालैपालो खेलाडीलाई बोलाउन थालिएको सेनाले जनाएको छ ।
ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।