Trending
Prev Story
Next Story

अभिषेकले यसरी सम्झिए बुबा अमिताभलाई आर्थिक संकटले घेरेको त्यो क्षण

Onlinekhabar •
November 19, 2026 • 07:00 AM
3
3 reads 0 reactions

अमिताभ बच्चन आज बलिउडका सबैभन्दा ठूला सुपरस्टार हुन् । यद्यपि, उनले आफ्नो करियरमा धेरै संघर्ष पनि गरेका छन् । सन् १९९० को दशकको अन्त्यतिर उनको कम्पनी एबीसीएल (एबीसीएल– अमिताभ बच्चन कर्पोरेसन लिमिटेड) टाट पल्टियो । यो …

अभिषेकले यसरी सम्झिए बुबा अमिताभलाई आर्थिक संकटले घेरेको त्यो क्षण

अमिताभ बच्चन आज बलिउडका सबैभन्दा ठूला सुपरस्टार हुन् । यद्यपि, उनले आफ्नो करियरमा धेरै संघर्ष पनि गरेका छन् ।

सन् १९९० को दशकको अन्त्यतिर उनको कम्पनी एबीसीएल (एबीसीएल– अमिताभ बच्चन कर्पोरेसन लिमिटेड) टाट पल्टियो । यो उनको जीवनको सबैभन्दा ठूलो धक्का थियो । केही वर्षअघि अमिताभका छोरा तथा अभिनेता अभिषेक बच्चनले त्यो आर्थिक संकटबारे खुलेर कुरा गरेका थिए ।

उक्त संकटले उनीहरूको दैनिक जीवनका सानाभन्दा साना पक्षलाई पनि असर गरेको थियो । अभिषेकले आफ्नो बुबालाई सहयोग गर्न विदेशको कलेज बीचमै छोडेर भारत फर्किएका थिए ।

सन् २०२१ मा रणवीर अल्लाहबादियासँगको एक पडकास्टमा अभिषेक बच्चनले अमेरिकाको कलेजको पढाइ बीचमै छोडेर स्वदेश फर्किएको बताएका थिए । त्यतिबेला एबीसीएल व्यवसाय असफल भएपछि उनका बुबा अमिताभ आर्थिक समस्याबाट गुज्रिरहेका थिए ।

अभिषेकले भनेका छन्, ‘साँचो भन्नुपर्दा मैले युनिभर्सिटी छोडेँ । म बोस्टन युनिभर्सिटीमा पढ्दै थिएँ । मैले सुरुमा लिबरल आर्ट्सलाई मुख्य विषय बनाएको थिएँ । पछि मैले पर्फर्मिङ आर्ट्सलाई मुख्य विषय रोजेँ । मेरा बुबा आर्थिक रूपमा निकै कठिन समयबाट गुज्रिरहनुभएकोले मैले पढाइ छोडेँ । उहाँले एबीसीएल नामको व्यवसाय सुरु गर्नुभएको थियो ।’

त्यो समय आफू बुबालाई कुनै तरिकाले सहयोग गर्न योग्य छु जस्तो उनलाई लाग्दैनथ्यो । ‘तर एक छोराको नाताले म बुबाको वरिपरि रहनुपर्छ र जे जसरी हुन्छ सहयोग गर्नुपर्छ भन्ने मलाई लाग्यो त्यसैले मैले कलेज छोडेँ र फर्किएँ’ अभिषेकले भने । त्यसपछि उनले कम्पनीमा सहयोग गर्न थाले ।

बुबाले राति अबेर आफ्नो स्टडी रुममा बोलाएर आर्थिक संकटबारे आफूलाई बताएको अभिषेकले खुलासा गरेका छन् । अमिताभले उनलाई भनेका थिए, ‘फिल्महरू चलिरहेका छैनन्, व्यवसाय चलिरहेको छैन, केही पनि ठीक भइरहेको छैन ।’

भारत फर्किएपछि अभिषेकले प्रोडक्सन असिस्टेन्टको रूपमा काम गर्न थाले । त्यसपछि उनी असिस्टेन्ट डाइरेक्टर बने । पछि उनले जेपी दत्ताको फिल्म ‘रिफ्युजी’ मा अभिनय गर्ने मौका पाए । यसअघि गलाट्टा प्लससँगको एक राउन्डटेबल कुराकानीमा उनले प्रोडक्सन ब्वायको रूपमा बिताएका सुरुवाती दिनहरू पनि सम्झिएका थिए । त्यतिबेला उनले क्रु मेम्बरहरूको चियामा चिनी कम हालेर पैसा बचाउँथे । यसरी नै उनले साना कुराहरू सिकेका थिए ।

अभिषेकले भनेका छन्, ‘म साँच्चै एक रनर थिएँ । म सेटमा चिया बनाउँथेँ । मेरो मिल्ने साथी सिकन्दरका बुबा गौतम बेरी सीईओ बन्नुभयो । उहाँले मलाई ‘सेटमा जाऊ र चिया बनाउन सुरु गर’ भन्नुभयो । मैले ‘किन?’ भनेर सोधेँ । उहाँले भन्नुभयो, ‘उनीहरूले प्रयोग गर्ने चिनीको मात्रा नियन्त्रण गर्न थाल । किनकि चिनीको बिल निकै धेरै आइरहेको छ ।’

यस्तै साना कुराहरूबाट आफूले सिकेको र त्यहीँबाट माथि उठ्दै असिस्टेन्ट डाइरेक्टर बनेको उनले सुनाए ।

एबीसीएल टाट पल्टिएको विषयमा अमिताभ के भन्थे ?

वर्षौंअघिको एक अन्तर्वार्तामा अमिताभ बच्चनले पनि त्यो संघर्षपूर्ण समयको स्मरण गरेका थिए ।

उनले भनेका छन्, ‘मेरो टाउकोमा सधैं तरबार झुन्डिरहेको जस्तो हुन्थ्यो । मैले धेरै रातहरू अनिदो बिताएँ । एक दिन म बिहान सबेरै उठेँ र सिधै यश चोपडाजीकहाँ गएँ । मैले उहाँलाई म टाट पल्टिए भनेर सुनाए । मसँग कुनै फिल्म थिएन । मेरो घर र नयाँ दिल्लीको थोरै सम्पत्ति लिलामीको प्रक्रियामा थियो । यशजीले शान्त भएर मेरो कुरा सुन्नुभयो ।

त्यसपछि उहाँले मलाई आफ्नो फिल्म ‘मोहब्बतेन’ मा एक भूमिकाको प्रस्ताव गर्नुभयो । त्यसपछि मैले विज्ञापन, टेलिभिजन र फिल्महरू गर्न थालेँ । आज म खुसीसाथ भन्न सक्छु कि मैले आफ्नो ९० करोड रुपैयाँको सम्पूर्ण ऋण चुक्ता गरिसकेको छु । अब म नयाँ सुरुवात गर्दैछु ।’

अमिताभ बच्चनले सन् १९९४-९५ मा इन्टरटेनमेन्ट कम्पनी एबीसीएल सुरु गरेका थिए । कमजोर फाइनान्सियल म्यानेजमेन्टका कारण यो कम्पनी डुबेको बताइन्छ । यसले कम्पनीलाई ठूलो ऋणमा डुबाएको थियो ।

९० करोड रुपैयाँको ऋणमा डुबेका र लगभग सबै सम्पत्ति जफत हुने अवस्थामा पुगेका अमिताभले अभिनय करियरको पुनरागमनसँगै आफूलाई सम्हाले । उनले फिल्म प्रोड्युसर यश चोपडासँग काम मागे ।

फलस्वरूप सन् २००० को फिल्म ‘मोहब्बतेन’ मा भूमिका पाए । सोही वर्ष उनले ‘कौन बनेगा करोडपति’ होस्ट गर्न पनि सुरु गरे । यो कार्यक्रम अत्यधिक सफल साबित भयो र यसले उनको जीवनमा सबै कुरा परिवर्तन गरिदियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
4d ago
ग्याङस्टरको निशानामा अमिताभ बच्चन, घरबाहिर गोली चलाउने योजना

ग्याङस्टरको निशानामा अमिताभ बच्चन, घरबाहिर गोली चलाउने योजना

दुवै जना विदेशमा बसेर आफ्नो आपराधिक सञ्जाल सञ्चालन गरिरहेका एक ग्याङस्टरका लागि काम गर्ने गरेको बताइएको छ।

#अमिताभ #बच्चन
Compare →
Hamro Patro News
2d ago
अमिताभका बाबु-छोरालाई नै मार्ने धम्की

अमिताभका बाबु-छोरालाई नै मार्ने धम्की

लरेन्स बिश्नोईका नजिकका सहयोगी गुन्डा गोल्डी ढिल्लनले बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई मार्ने धम्की दिएका छन्। गोल्डी ढिल्लनले सोमबार फेसबुकमा लेख्दै बुलेटप्रुफ सिसाले पनि उनीहरू...

#अमिताभ
Compare →

Related Stories

World News
Build #2612