विश्वका प्रदूषित सहरमध्ये काठमाडौं तेस्रो स्थानमा परेको छ । यहाँको वायु गुणस्तर सूचकांक १८१ छ । यो भनेको सबैका लागि अस्वस्थकर हो ।
काठमाडौँ — जाडो बढेसँगै प्रदूषणको मात्रामा वृद्धि भएको छ । विश्वका प्रदूषित सहरमध्ये आज बिहान काठमाडौं तेस्रो स्थानमा परेको छ । काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १८१ छ । यो वायु गुणस्तर मापन गर्ने आईक्यूएयरको बिहान साढे ११ बजे आसपासको तथ्यांक हो ।
सबैभन्दा धेरै वायु प्रदूषण पाकिस्तानको लाहोरमा मापन गरिएको छ । त्यहाँ वायु प्रदूषणको मात्रा ३२७ छ । दोस्रो स्थानमा बंगलादेशको ढाकामा २६१ पुगेको छ ।
०–५० सम्मलाई ‘राम्रो’, ५१–१०० ‘मध्यम’, १०१–१५० ‘अस्वस्थ’, १५१–२०० ‘सबैका लागि अस्वस्थ’, २०१–३०० ‘धेरै अस्वस्थ’ र ३०० भन्दा माथि ‘अत्यन्त खतरनाक’ प्रदूषण मानिन्छ ।
यसअनुसार काठमाडौंको वायु प्रदूषण सबैका लागि अस्वस्थ बनेको छ ।