Trending
Prev Story
Next Story

सल्यानमा ठडियो पूर्वप्रधानमन्त्री मरिचमानको शालिक

Onlinekhabar •
November 19, 2026 • 04:00 AM
4
4 reads 0 reactions

३ मंसिर, सल्यान । नेपालका २७औँ तथा पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक स्थापना गर्ने सल्यानी युवाहरूको लामो समयदेखिको सपना पूरा भएको छ । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरस्थित मरिचमान चोकमा उनको शालिक …

सल्यानमा ठडियो पूर्वप्रधानमन्त्री मरिचमानको शालिक

३ मंसिर, सल्यान । नेपालका २७औँ तथा पञ्चायती व्यवस्थाका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको शालिक स्थापना गर्ने सल्यानी युवाहरूको लामो समयदेखिको सपना पूरा भएको छ । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगरस्थित मरिचमान चोकमा उनको शालिक निर्माण भएसँगै जिल्लावासीमा उत्साह छाएको छ ।

शालिक निर्माणको पहल २०७९ सालमा सुरु भएको थियो । ‘सल्यान दृष्टिकोण’ले आयोजना गरेको सल्यानी युवाहरूको कुपिण्डे सम्मेलनले २२ बुँदे घोषणापत्र जारी गर्दै मरिचमान सिंह श्रेष्ठको सम्मान र सम्झनामा चोकको नामकरण गर्ने प्रस्ताव अघि सारेको थियो ।

सोही घोषणाअनुसार २०८० वैशाख ३ गते समृद्धि सल्यान निर्माण अभियानका संयोजक ध्रुवराज वलीको नेतृत्वमा श्रीनगरबाट सल्यान खलङ्गा र रुकुम छुट्टिने मुख्य बिन्दुलाई ‘मरिचमान चोक’ नामकरण गरी अस्थायी संरचना निर्माण गरिएको थियो । त्यसबेला सुरु भएको सम्मानको अभियानले अहिले शालिक स्थापनासँगै मूर्तरूप पाएको छ ।

मरिचमान सिंह श्रेष्ठ फाउन्डेसन र ‘सल्यानी युवाहरू’को अगुवाइमा स्थानीय युवा तथा नागरिकको सहयोगबाट शालिक निर्माण गरिएको हो ।

श्रीनगरमा ठडिएको यो शालिक एउटा मूर्ति मात्र होइन, सल्यानमा जन्मिएर देशको प्रधानमन्त्रीसम्म बनेका व्यक्तित्वको सम्झना र योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने प्रयास पनि हो ।

शिक्षकदेखि प्रधानमन्त्रीसम्मको यात्रा

मरिचमान सिंह श्रेष्ठको जन्म १९९७ कात्तिक १७ गते सल्यान खलङ्गा बजारको एक सामान्य नेवार परिवारमा भएको थियो । राजनीतिमा प्रवेश गर्नुअघि उनी सल्यान सदरमुकामस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक थिए ।

शिक्षण पेसाबाट सार्वजनिक जीवनमा प्रवेश गरेका उनी खलङ्गा गाउँ पञ्चायतको प्रधानपञ्च बने । त्यसपछि २०३० सालमा ३३ वर्षको उमेरमै सल्यानबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भए ।

त्यसपछि उनले सहायकमन्त्री, शिक्षामन्त्री र राष्ट्रिय पञ्चायतको अध्यक्षजस्ता महत्त्वपूर्ण जिम्मेवारी सम्हाले । यही राजनीतिक यात्राका क्रममा २०४३ जेठ ३१ गते राजा वीरेन्द्रले उनलाई नेपालको प्रधानमन्त्री नियुक्त गरे ।

सल्यानको सामान्य परिवारमा जन्मिएका एक शिक्षक देशको कार्यकारी प्रमुख बन्नु उनका लागि मात्र नभई जिल्लाकै लागि गौरवको विषय बन्यो ।

प्रधानमन्त्री बनेपछि मरिचमानको कार्यकालमा नेपालले २०४५ सालमा भारतको कडा आर्थिक नाकाबन्दी सामना गर्नुपर्‍यो । नेपाल–भारत सम्बन्धमा तनाव बढेपछि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो ।

नाकाबन्दीका कारण देशभर पेट्रोलियम पदार्थ, नुन, औषधिलगायत अत्यावश्यक वस्तुको अभाव भयो । दैनिक जनजीवन प्रभावित भयो । यस्तो कठिन परिस्थितिमा मरिचमान नेतृत्वको सरकारले चीनबाट इन्धनलगायत अत्यावश्यक सामग्री ल्याउने प्रयास गरेको थियो ।

नाकाबन्दीको समयमा उनले लिएको अडानका कारण उनी राष्ट्रवादी नेताका रूपमा चर्चित बने । राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताका विषयमा सम्झौता नगर्ने उनको छविले उनलाई समर्थकहरूबीच लोकप्रिय बनाएको थियो ।

२०४६ सालको जनआन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य गरेपछि मरिचमानको प्रधानमन्त्री पद पनि गुम्यो । २०४६ चैत २३ गते राजा वीरेन्द्रले उनलाई पदमुक्त गरेका थिए । पञ्चायती व्यवस्थाप्रति उनको समर्थन र आन्दोलन दबाउन सरकारले चालेका कदमका कारण उनी आलोचनाको घेरामा पनि परेका थिए ।

प्रधानमन्त्रीबाट हटेपछि भने उनले सक्रिय राजनीतिबाट दूरी बनाए । काठमाडौंको धापासीस्थित घरमा सामान्य जीवन बिताउन थाले । कृषि तथा पशुपालनमा समय बिताएका उनी गाईवस्तु र कुखुराको हेरचाहमा समेत संलग्न हुन्थे ।

कुनै समय देशको कार्यकारी प्रमुख रहेका मरिचमानले जीवनको उत्तरार्धमा आर्थिक कठिनाइसमेत भोग्नुपरेको थियो । फोक्सोको क्यान्सरबाट पीडित उनको उपचारका क्रममा २०७० साउन ३० गते काठमाडौंको नर्भिक अस्पतालमा ७१ वर्षको उमेरमा निधन भयो ।

उनको राजनीतिक जीवनका विभिन्न पक्षबारे फरक–फरक मूल्याङ्कन भए पनि २०४५ सालको नाकाबन्दीका बेला उनले लिएको अडान र सामान्य जीवनशैली अहिले पनि चर्चाको विषय बन्ने गरेको छ ।

आज श्रीनगरमा स्थापना भएको शालिकले मरिचमानको जीवन, राजनीतिक यात्रा र योगदानलाई स्मरण गराउनेछ । सल्यानी युवाहरूको पहलमा निर्माण भएको यस शालिकले जिल्लाको इतिहाससँग नयाँ पुस्तालाई जोड्ने अपेक्षा गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
21h ago
सल्यानको श्रीनगरमा पूर्वप्रधानमन्त्री श्रेष्ठको शालिक अनावरण

सल्यानको श्रीनगरमा पूर्वप्रधानमन्त्री श्रेष्ठको शालिक अनावरण

सल्यान युवा सञ्जालको सक्रियतामा शारदा नगरपालिका–१ श्रीनगरस्थित रुकुम चोकमा निर्मित पूर्वप्रधानमन्त्री मरीचमान सिंह श्रेष्ठको शालिक बुधबार अनावरण गरिएको हो ।

#सल्यान #शालिक #पूर्वप्रधानमन्त्री
Compare →
Nagarik News
1w ago
मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

मेचीनगरमा शङ्खधर साख्वाको शालिक निर्माण

मेचीनगर नगरपालिका–१० धुलाबारीमा राष्ट्रिय विभूति एवं नेपाल संवत्का प्रवर्तक शङ्खधर साख्वाको शालिक निर्माण भएको छ।

#शालिक
Compare →
Hamro Patro News
1w ago
सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु

सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु

सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ साढे ५ बजेतिर घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म ...

#सल्यान
Compare →

Related Stories

Politics & Governance
Build #2612