सल्यान युवा सञ्जालको सक्रियतामा शारदा नगरपालिका–१ श्रीनगरस्थित रुकुम चोकमा निर्मित पूर्वप्रधानमन्त्री मरीचमान सिंह श्रेष्ठको शालिक बुधबार अनावरण गरिएको हो ।
सल्यान — सल्यानको खलंगामा जन्मिएर नेपालको २७ औं प्रधानमन्त्री भएका स्वर्गीय मरीचमान सिंह श्रेष्ठको सम्मानमा शालिक निर्माण गरिएको छ । सल्यान युवा सञ्जालको सक्रियतामा शारदा नगरपालिका १, श्रीनगरस्थित रुकुम चोकमा शालिक निर्माण गरिएको हो ।
बुधबार एक कार्यक्रम गरी शालिक अनावरण गरिएको थियो। शालिक शारदा नगरपालिका-१ दारीमचौर निवासी जेष्ठ नागरिक लोकबहादुर थापाले अनावरण गरेका थिए । टोपेन्द्र कला केन्द्र बागचौरका टोपेन्द्र डाँगीले शालिक निःशुल्क निर्माण गरेर उपलब्ध गराएका थिए । पूर्वप्रधानमन्त्री श्रेष्ठको योगदान र व्यक्तित्वलाई भावी पुस्तासम्म परिचित गराउने उद्देश्यले शालिक निर्माण गरिएको सल्यानी युवा सञ्जालका अध्यक्ष सुदर्शन बुढाथोकीले बताए ।
शालिक निर्माणका संयोजक युवराज खड्काले शालिक निर्माणसँगै मरीचमान सिंह श्रेष्ठ फाउन्डेसन स्थापना गरेर खलंगामा पुस्तकालय स्थापना गर्न थालेको जानकारी दिए । फाउन्डेसनका उपाध्यक्ष मनोजकुमार प्रधानले विगतमा राजनीतिक दलबाट उपेक्षामा परेका पूर्वप्रधानमन्त्री श्रेष्ठको शालिक युवापुस्ताले निर्माण गरेकोमा खुसी लागेको बताए ।
विसं १९९७ कात्तिक १७ गते सल्यानको खलंगा बजारमा जन्मिएका श्रेष्ठ २०४३ देखि २०४६ सम्म नेपालको प्रधानमन्त्री थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पूर्वप्रधानमन्त्री सूचीमा उनलाई नेपालको २७औँ प्रधानमन्त्रीका रूपमा उल्लेख गरिएको छ।
राजनीतिमा सक्रिय हुनुअघि उनले खलंगास्थित त्रिभुवन जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापकका रूपमा कार्यरत थिए। विसं २०३० मा राष्ट्रिय पञ्चायतको सदस्य बनेका श्रेष्ठ २०३८ सालमा राष्ट्रिय पञ्चायतको अध्यक्ष भएका थिए। उनी प्रधानमन्त्री भएका बेला २०४५/०४६ सालमा नेपाल भारत पारवहन तथा व्यापार सम्बन्धी विवाद चर्किएको थियो । त्यस क्रममा भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि वैकल्पिक माध्यमबाट अन्य मुलुकबाट पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक वस्तु आपूर्ति गरेका थिए।
२०४६ सालको जनआन्दोलन उत्कर्षमा पुगेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि उनी कृषि पेसामा संलग्न बनेका थिए । राजीनामा पछि सक्रिय राजनीतिबाट टाढिएका श्रेष्ठको २०७० साउन ३० गते काठमाडौँमा ७१ वर्षको उमेरमा निधन भएको थियो।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।