सन १९३० तिरको कुरा हो। क्यारेबियनको कुनै कोरल आइल्यान्डतिर एक हातमा दूरबिन र अर्को हातमा नोटबुक बोकेर जेम्स बन्ड आफ्नो खोजीमा थिए। समुन्द्रको किनारमा फाट्टफुट्ट मान्छेहरू थिए। उनको ध्यान आफ्नो मिसनमै केन्द्रित थियो। मिसन नडी।
नजिकै पानीमा ब्राइडल्ड टर्न, ब्राउन बुबीको निरन्तर अट्याक चलिरहेको थियो। चलचित्रमा मिसन चलिरहँदा बज्ने सङ्गीतको सट्टा चराहरूको सुमधुर गीतले निरन्तर ब्याकग्राउन्ड म्युजिक दिइरहेको थियो।
यदि तपाईँ हामी सबैले चिन्दै आएको जेम्स बन्ड बारे सोच्दै हुनहुन्छ भने अलि अलमलिनु भयो होला। इयन फ्लेमिङद्वारा लेखिएको क्यासिनो रोयाल पुस्तक त १९५३ मा मात्र प्रकाशन भएको हो र प्रचलित बन्ड वा जेम्स बन्ड चलचित्र त झन् १९६२ मा मात्र आएको हो। त्यस्तो हो भने १९३० ताका नै कसरी जेम्स बन्ड क्यारेबियनतिर मिसनमा गए? कि यिनी अर्कै बन्ड हुन्? यसको पछाडि एकदमै रोचक र चरा-चुरुंगी जोडिएको कथा छ।
जेम्स बन्ड पात्रका रचनाकार इयन फ्लेमिङ एक उत्सुक चरा अवलोकनकर्ता थिए। आफू जमाइकामा बस्दा उनी भरपुर रूपमा चराहरू खोज्ने/हेर्ने गर्थे। र त्यति बेला क्यारेबियनमा प्रख्यात चरा विज्ञ जेम्स बन्ड पनि बस्ने गर्थे।बन्डकै पुस्तकको सहारामा फ्लेमिङले त्यस क्षेत्रका चरा चिन्ने गर्थे।
जेम्स बन्ड आफैलाई पानी धेरैपछि मात्र थाहा भएको थियो कि इयन फ्लेमिङको बन्डको पात्र उनकै नामबाट आएको थियो। इयनको अनुसार उनीलाई एकदम साधारण नाम चाहिएको थियो र त्यस बेला बन्डको कामको प्रशंसकको रूपमा पनि उनलाई त्यही नाम राख्न उचित लाग्यो। फ्लेमिङको १९५८ मा प्रकाशनमा आएको पुस्तक डा. नोको प्लट धेरै जसो जमाइकाको क्र्याब कीको एउटा चरा आरक्षणमा सीमित हुन्छ। पुस्तकमा क्याब किको एउटा भाग अमेरिकी चरा संरक्षण संस्था अडोबनले लिजमा लिएको हुन्छ, त्यहाँ पाइने संरक्षित रोजिएट स्पुनबिलको संरक्षणको लागि।
डा. नोले त्यो ठाउँ चराहरूको बिस्टा जम्मा गर्न भनेर त्यो क्षेत्र किन्छन् र त्यहाँ भएका क्याम्पहरू नष्ट गर्न थाल्छन् । डा. नोको आगमनपछि पक्षी रक्षकहरू को मृत्यु र मिसाइल सम्बन्धी हल्ला चलेपछि शङ्काको आधारमा जेम्स बन्डलाई त्यहाँ पुर्याइन्छ। १९५६ को बहमासको फ्लामिन्गो र रोजिएट स्पुनबिल संरक्षण क्षेत्र भ्रमणको आधारमा फ्लेमिङले क्र्याब की बनाएका हुन्।
रोचक कुरा त १९६४ मा जेम्स बन्ड र उनकी पत्नी मेरी बन्ड गोल्डेनआइस्थित फ्लेमिङको घरमा उनलाई भेट्न पुग्छन्। आफ्नो पतिको नामले बनाएको पात्र भन्ने थाहा भइसकेपछि मेरीले इयनसँग पत्राचार गरेको र आफू जमाइका हुँदा भेट्न आउने बताइएको इयनले पछि सुनाएका थिए। लन्च गरिसकेर निस्किन लाग्दा इयनले त्यति बेला प्रकाशनमा आइनसकेको आफ्नो पुस्तक यु वन्ली लिभ ट्वाइसमामा आफ्नो हस्तक्षर सहित लेखेका थिए, ‘टु द रियल जेम्स बन्ड, फ्रम द थिफ अफ हिज आइडेन्टिटी। फेब्रुअरी ५, १९६४- ए ग्रेट डे!’
जेम्स बन्डको जन्म सन् १९०० को जनवरी ४ मा अमेरिकाको फिलडेल्फियामा भएको थियो। केही समय अध्ययनको लागि बेलायत गएर उनी फेरि अमेरिकामै काम गर्न फर्किएका थिए। बैंकिङ क्षेत्रमा २-३ वर्ष काम गरेपछि खासै चाख नलागेर उनी एकेडेमी अफ न्याचुरल साइन्सेसको लागि नमुना सङ्कलनको लागि अमेजनको जङ्गलतिर लागेका थिए। आफू सानैदेखि प्रकृतिप्रेमी भएको र त्यस यात्राले अझै आफूलाई प्रकृतिसँग नजिक बनाएक बन्डले पूरै जिन्दगी चराहरूको खोजी र चराहरूबारे पुस्तक र लेखहरू लेख्नमै समर्पित गरे।
बन्ड क्यारेबियनका चराहरूको विज्ञ थिए र १९३६ मा बर्ड्स अफ वेस्ट इन्डिज नामक पुस्तक पनि प्रकाशन गरे। सन् १९२० देखि १९६० सम्म उनले धेरै पटक वेस्ट इन्डिजको यात्रा गरे र लामो समयसम्मको लागि चराहरूको नमुना सङ्कलनको सङ्ग्रहालय अध्यक्ष (क्युरेटर) भएर पनि काम गरे।
बन्डले आफ्नो जीवनकालमा जमाइकाको मुग्राभे मेडल , अमेरिकन अर्निथोलोजिस्ट युनियनको ब्रुस्टर मेडल र एकेडेमी अफ न्याचुरल साइन्सको लेडी अवार्ड जस्ता प्रतिष्ठित अवार्डहरू पनि पाए।
आफ्नो जीवनकालमा विस्तृत रूपमा गरेको अध्ययन अनुसार बन्डले एउटा नयाँ वैज्ञानिक आयाम नै पत्ता लगाए। धेरै लामो समय सम्म क्यारेबियनमा पाइने चराहरू दक्षिण अमेरिकासँग सम्बन्धित चराहरू हुन् भन्ने बुझाइ थियो। तर, बन्डले लामो समयसम्म सूक्ष्म रूपमा गरेको अध्ययनपछि ती चराहरूको उत्पत्ति दक्षिण अमेरिकी चराभन्दा फरक रहेको बताए। सन् १९७३ मा डेभिड ल्याकले बन्डले पत्ता लगाएको त्यो भिन्नतालाई लिएर ती दुई क्षेत्रबीचको काल्पनिक रेखाको नाम बन्ड लाइन राखे। बन्ड लाइन कुनै भौतिक रेखा नभएर एउटा जैव-भौगोलिक सीमा हो। बन्ड लाइनले क्यारेबियन क्षेत्रको चरा समुदायहरूको संरचना र विकास क्रमको इतिहासमा भिन्नता आउने एउटा क्षेत्र जनाउँछ। करिब १४० किलोमिटर लामो यो लाइन ग्रेनाडाबाट उत्तर र टोबागोबाट दक्षिण जान्छ।
काल्पनिक जेम्स बन्ड संसारभरि प्रख्यात भए र अपराधीहरूको खोजीमा संसार डुले। रियल जेम्स बन्डलाइ खासै धेरैले चिन्दैनन् तर उनको चरा विज्ञानमा रहेको योगदान काल्पनिक जेम्स बन्डकै स्तरको प्रतिष्ठा पाउन योग्य छ। काल्पनिक जेम्स बन्डले अपराधीहरू बाट संसार बचाएझैँ रियल जेम्स बन्डले हराउँदै गएका जैविक विविधताहरूलाई आफ्नो लेख मार्फत जोगाएका थिए र आजको दिनसम्म पनि जोगाएका छन्।