Trending
Prev Story
Next Story

कामिलको शतकमा चितवनको इतिहास

Nagarik News •
November 19, 2026 • 01:45 AM
7
7 reads 0 reactions

एउटा शतकले व्यक्तिगत कीर्तिमान बनाउँछ, त्यही शतकले उपाधि यात्रामा पनि टोलीलाई जीवित राख्दा त्यसको महत्त्व अझ बढ्छ।

कामिलको शतकमा चितवनको इतिहास

एउटा शतकले व्यक्तिगत कीर्तिमान बनाउँछ, त्यही शतकले उपाधि यात्रामा पनि टोलीलाई जीवित राख्दा त्यसको महत्त्व अझ बढ्छ। चितवन राइनोजका श्रीलंकन ब्याटर कामिल मिसराले बुधबार कीर्तिपुरमा त्यस्तै इनिङ खेले।

उनको १२० रनको अविजित शतकले चितवनलाई नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा दोस्रो क्वालिफायरसम्म पुर्‍यायो। दोस्रोपल्ट प्लेअफमा पुगेको चितवनले पहिलोपल्ट क्वालिफायरको यात्रा तय गर्‍यो। लिगमा उतारचढावपूर्ण प्रदर्शन गरे पनि महत्त्वपूर्ण समयमा चितवनले क्षमता देखायो। इलिमिनेटरमा काठमान्डु गोर्खाजमाथि ६१ रनको जितसँगै चितवन उपाधियात्रामा अघि बढ्यो।

चितवनको जितमा कामिल नायक बने। उनले कप्तान रवि बोपरासँग १५४ रनको साझेदारी गरे। जसले काठमान्डुलाई खेलमा फर्कने अवसर नै दिएन। सिजनकै तेस्रो ठुलो विशाल लक्ष्य (२०५ रन) पछ्याएको काठमान्डु लक्ष्यमो नजिक नै पुग्न सकेन। जितका नायक कामिलले व्यक्तिगत उपलब्धिभन्दा टोलीको जितलाई प्राथमिकतामा राखे। शतकभन्दा विशेष जित रहेको कामिलले प्रतिक्रिया दिए।

‘शतकभन्दा टोलीका लागि राम्रो रन बनाउनु महत्त्वपूर्ण थियो। त्यसैले ९९ रनमा नर्भस थिइनँ। राम्रो योगफल तयार पार्न केन्द्रित थिएँ,’ कामिलले भने।

एनपिएल इतिहासकै सर्वाधिक व्यक्तिगत रन बनाउने कीर्तिमान अब उनको नाममा रह्यो। ५९ बलमा उनले १२० रन जोडे। उनको इनिङमा पाँच चौका र १० छक्का रह्यो। एनपिएलमा सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान कर्णाली याक्सका मार्क वाटको नाममा थियो। वाटले गत सिजन लुम्बिनी लायन्सविरुद्ध अविजित ११४ रन बनाएका थिए। कामिलले उक्त कीर्तिमान पछि पारे। यस सिजनको दोस्रो तथा एनपिएल इतिहासको पाँचौं शतक बनाएका कामिलले ५३ बलमै शतक पूरा गरेका हुन्। उनको आक्रामक ब्याटिङले चितवनलाई बलियो अवस्थामा पुर्‍यायो। बोपराले अर्को छेउबाट इनिङ सम्हाले।

यी दुईबिचको १५४ रनको साझेदारी एनपिएल इतिहासकै तेस्रो ठूलो साझेदारी हो। पहिलोपल्ट दोस्रो क्वालिफायरमा पुगेपछि कामिलले खुसी व्यक्त गरे। अघिल्ला खेलमा राम्रो सुरुआत पाएर उनले ठूलो इनिङमा बदल्न सकेका थिएनन्। यसपल्ट अवसर सदुपयोग गर्दा उनी खुसी देखिए। सुरुआती दुई विकेट छिटै गुमाउँदा चितवन दबाबमा थियो। तर, कप्तान बोपरासँगको योजनाबद्ध साझेदारीले खेलमा फर्कायो। चितवनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।

चौथो ओभरमै ओपनर देव खनाल र डेविड मलानलाई गुमाएपछि चितवन दबाबमा रह्यो। देवले १७ रन जोड्दा मलान खाता खोल्न नपाउँदै आउट भए। काठमान्डुका कप्तान करण केसीले दुवैलाई पभेलियन बाटो देखाए। त्यसले चितवनको ब्याटिङ लय बिगार्न सकेन।

कामिल र बोपराले जिम्मेवारीपूर्ण ब्याटिङ गर्दै इनिङ अघि बढाए। सुरुमा विकेट जोगाए पनि उनीहरूले पछि काठमान्डुका बलरमाथि आक्रमण गरे। कामिलले मैदानको चारैतिर प्रहार गर्दै रन गति बढाउँदा बोपराले पनि उनलाई राम्रो साथ दिए। बोपरा ४२ बलमा ५३ रनमा आउट भए। १९औं ओभरमा रासिद खानले उनलाई बोल्ड गर्दै साझेदारी तोडे। त्यति बेलासम्म चितवनले जितका लागि बलियो आधार तयार पारिसकेको थियो। कामिलले इनिङको अन्त्यसम्म टिकेर विशाल योगफलमा पुर्‍याए। काठमान्डुले सात बलर प्रयोग गरे पनि कामिल र बोपरालाई रोक्न सकेन। करण र रासिदले समान दुई विकेट लिए। अन्य बलर प्रभावकारी बन्न सकेनन्। महँगो बलिङ काठमान्डुको हारको एउटा प्रमुख कारण बन्यो।

लक्ष्य काठमान्डुका लागि सहज थिएन। त्यसमा पनि चितवनका बलरले सुरुदेखि नै दबाब बनाए। ओपनर साहिल पटेल दुई र साम हेजलेट तीन रनमै आउट भए। काठमान्डुको लक्ष्य पछ्याउने अभियान कमजोर बन्यो। विलियम बोसिस्टोले २८ बलमा ३७ रन बनाए। दशौं ओभरमा उस्मान मीरले उनलाई रञ्जित कुमारबाट क्याच गराए। यसपछि काठमान्डुको आशा थप कमजोर बन्यो। तल्लो क्रमका भीम सार्कीले अविजित ३० रन बनाए पनि जितसम्म पुर्‍याउन सकेनन्।

साहान आराचिगेले २४ र रासिदले १२ रन बनाए। कप्तान करण तथा जाहानदाद खान १ रनमै आउट भए। पूरै ओभर खेले पनि नौ विकेटको क्षतिमा काठमान्डुले १४३ रन मात्र बनाउन सक्यो। चितवनका रिजन ढकालले चार विकेट लिए। उस्मान मीरले तीन तथा सलाहुद्दिन खान र कुशल मल्लले समान एक विकेट लिए।

ब्याटिङमा कामिलले बनाएको आधारलाई बलरहरूले जोगाए। चितवनले दोस्रो क्वालिफायरमा दाबेदार मानिएको सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ। पछिल्ला दुई संस्करणको उपविजेता सुदूरपश्चिम पहिलो क्वालिफायरमा लुम्बिनीसँग पराजित भएको थियो।

कामिलले सुदूरपश्चिमलाई बलियो टोलीका रूपमा नलिने र उपाधि यात्राको अर्को अवसरका रूपमा लिने बताए। ‘सुदूरपश्चिमलाई ठूलो टोलीका रूपमा भन्दा पनि एउटा खेलका रूपमा हेर्छौं। एउटा खेलमा राम्रो क्रिकेट खेल्न सक्यौं भने प्रतिद्वन्द्वीलाई हराउन सक्छौं,’ कामिलले भने।

उनको विश्वासजस्तै बिहीबार हुने खेलमा चितवनले सुदूरपश्चिमलाई हराए पहिलोपल्ट फाइनल पुग्नेछ। सुरुआती दुई संस्करणमा चितवनको प्रदर्शन सन्तोषजनक थिएन। पहिलो सिजन इलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएको चितवन दोस्रो सिजन सातौं स्थानमा सीमित भएको थियो।

यसपटक भने टोलीले इतिहास बदल्ने अवसर पाएको छ। चितवनका लागि यो जित दोस्रो क्वालिफायरमा प्रवेश मात्र होइन। अघिल्ला संस्करणको निराशाबाट माथि उठ्ने अवसर हो तर त्यसका लागि कामिलको ब्याटिङसँगै अन्य खेलाडीको निरन्तर प्रदर्शन आवश्यक हुनेछ। लगातार दोस्रोपल्ट इलिमिनेटर खेलेको काठमान्डुको यात्रा भने फेरि त्यही चरणमा टुंगिएको छ। गत संस्करण पनि काठमान्डु इलिमिनेटरमा लुम्बिनीसँग पराजित भएको थियो। यसपटक पनि ब्याटिङ र बलिङ दुवैमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा टोली बाहिरियो। खेलपछि काठमान्डुका बोसिस्टोले खेलमा क्याच छुट्नु र त्यसपछि कामिलले ठूलो इनिङ खेल्नु टोलीका लागि महँगो साबित भएको बताए।

चितवनले अब यही सुधारिएको लयलाई निरन्तरता दिनुपर्नेछ। कामिलको शतकले टोलीलाई नयाँ इतिहास रच्ने ढोका खोलेको छ तर फाइनल प्रवेशको चुनौती अझै बाँकी छ। दोस्रो क्वालिफायरमा सुदूरपश्चिमविरुद्धको प्रदर्शनले चितवनको यस सिजनको यात्राले नयाँ उचाइ लिन्छ वा फेरि अधुरै रहन्छ भन्ने तय गर्नेछ।

प्रकाशित: ३ मंसिर २०८३ ०७:३० बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
17h ago
कमिल मिशाराको शतकमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

कमिल मिशाराको शतकमा चितवनले काठमान्डुलाई दियो २०५ रनको लक्ष्य

२ मंसिर, काठमाडौं । कमिल मिशाराको शतक र कप्तान रवि बोपाराको अर्धशतक मदतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई २०५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ …

#चितवन #शतक
Compare →
Ekantipur
14h ago
मिशराको शतकले चितवन क्वालिफायर २ मा

मिशराको शतकले चितवन क्वालिफायर २ मा

मिशराले अविजित १२० रन बनाएपछि चितवन राइनोजले एनपीएल इलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ६१ रनले पराजित गर्‍यो।

#चितवन #शतक
Compare →
Arthasansar
19h ago
एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

एनपीएल : एलिमिनेटर खेलमा काठमान्डुविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

चितवन राइनोजले नेपाल प्रिमियर लिगक (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय...

#चितवन
Compare →
Hamro Patro News
1d ago
एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

एनपीएल एलिमिनेटर : चितवन र काठमाडौंको परीक्षा, उपाधि होडबाट को बाहिरिएला ?

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आफ्नो उपाधि होडलाई जीवित राख्न आज चितवन राइनोज र काठमाडौं गोर्खाजबीच निर्णायक भिडन्त हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिके...

#चितवन
Compare →

Related Stories

Sports
Build #2612