Trending
Prev Story
Next Story

विचार | जेन–जीको अगुवा बन्ने लहर

Ekantipur •
November 18, 2026 • 06:23 PM
5
5 reads 0 reactions

जेन–जी हुनु पुस्तागत परिचय हो, आन्दोलनमा सहभागी हुनु ऐतिहासिक योगदान र अगुवा हुनु सार्वजनिक जिम्मेवारी भएकाले मिडियामा बोल्दैमा वा सरकारको विरोध गर्दैमा कोही स्वत: अगुवा बन्दैन।

विचार | जेन–जीको अगुवा बन्ने लहर

जेन–जी हुनु पुस्तागत परिचय हो, आन्दोलनमा सहभागी हुनु ऐतिहासिक योगदान र अगुवा हुनु सार्वजनिक जिम्मेवारी भएकाले मिडियामा बोल्दैमा वा सरकारको विरोध गर्दैमा कोही स्वत: अगुवा बन्दैन।

२०४६ र २०६२/६३ का जनआन्दोलनदेखि गणतन्त्र स्थापनासम्म युवा पुस्ता राजनीतिक परिवर्तनको महत्त्वपूर्ण संवाहक रह्यो । तर कुशासन, बेरोजगारी, नातावाद कायम रहेपछि वर्षौंदेखिको असन्तुष्टि २०८२ भदौको जेन–जी आन्दोलनमा अभिव्यक्त भयो । ‘इनफ इज इनफ’, प्रेमप्रसाद आचार्यको आत्मदाह र ‘नेपो बेबी’ अभियानले पनि यस असन्तुष्टिलाई उजागर गरेका थिए । सामाजिक सञ्जाल प्रतिबन्धपछि सुरु भएको प्रदर्शनले अभिव्यक्ति स्वतन्त्रता र सुशासनको माग उठायो, तर हिंसा र मानवीय क्षतिसँगै देशको राजनीतिमा ठूलो परिवर्तन ल्यायो ।

जेन–जी आन्दोलनको शक्ति कुनै व्यक्ति वा समूहमा नभई सामूहिकतामा थियो । तर आन्दोलनपछि सार्वजनिक बहसमा जेन–जी नेता वा अगुवाका नाममा नयाँ अनुहारहरू देखिएका छन् । प्रश्न उठ्छ– मिडियामा बोल्दैमा वा सरकारको आलोचना गर्दैमा कोही आन्दोलनको अगुवा हुन्छ ?

सामाजिक सञ्जालमा लेख्नु, सञ्चारमाध्यममा बोल्नु र सरकारको आलोचना गर्नु लोकतन्त्रका स्वाभाविक अभ्यास हुन् । तर अभिव्यक्ति दिनु र आन्दोलनको नेतृत्व गर्नु फरक कुरा हुन् । मिडियामा देखिँदैमा वा आन्दोलनमा सहभागी हुँदैमा कोही त्यसको प्रतिनिधि बन्दैन । त्यसैगरी, आन्दोलनमा सहभागी हुनेहरूले मात्र सुधार चाहेका थिए भन्ने सोच राख्नु पनि संकीर्ण सोच हो । आन्दोलनमा सहभागी नभई त्यसअघि नै लामो समयदेखि सुधारका लागि विभिन्न निकायमा धाइरहेका, आवाज उठाइरहेका र प्रयास गरिरहेका व्यक्तिहरूको योगदानलाई पनि उपेक्षा गर्नु हुँदैन ।

आज सरकारका निर्णयमा प्रश्न उठाउने, विरोध गर्ने र सार्वजनिक बहसमा सहभागी हुनेहरूको कमी छैन । तर आन्दोलन हुनुअघि पनि राज्यका निकायबाट निर्णयहरू भइरहेका थिए । सार्वजनिक पदाधिकारीले अधिकार प्रयोग गरिरहेका थिए । नागरिकका अधिकार, सार्वजनिक खर्च, भ्रष्टाचार, नियुक्ति, नीतिगत निर्णय र प्रशासनिक बेथितिबारे प्रश्न उठाउने प्रशस्त विषय थिए । त्यतिबेला आज आफूलाई परिवर्तनको संवाहकका रूपमा प्रस्तुत गर्नेहरूमध्ये कति जनाले निरन्तर प्रश्न उठाएका थिए ? कति जनाले कानुनी तथा संस्थागत प्रक्रियाबाट राज्यलाई जवाफदेही बनाउन खोजेका थिए ?

सबै नागरिक सधैं सडकमा उत्रिनुपर्छ भन्ने छैन । सबैले सञ्चारमाध्यममा लेख्नुपर्छ भन्ने पनि होइन । आफ्नो पेसा, अध्ययन, परिवार र व्यक्तिगत परिस्थितिका कारण धेरै नागरिक सार्वजनिक आन्दोलनमा सहभागी हुन सक्दैनन् । आन्दोलनअघि मौन बसेकै आधारमा कसैलाई आज बोल्नबाट रोक्न पनि मिल्दैन । तर आफूलाई सार्वजनिक नेतृत्वको दाबेदार प्रस्तुत गर्ने व्यक्तिले आफ्नो भूमिकाको निरन्तरता र विश्वसनीयता देखाउन सक्नुपर्छ । किनकि नेतृत्व कुनै अवसर विशेषमा देखिएको आक्रोशको नाम होइन ।

नेतृत्व भनेको प्रतिकूल परिस्थितिमा पनि सिद्धान्तप्रति प्रतिबद्ध रहनु, गलत कामविरुद्ध निरन्तर आवाज उठाउनु र आफ्नो व्यवहारबाट सार्वजनिक विश्वास आर्जन गर्नु हो ।  सरकारमा जो भए पनि गलत कामको विरोध गर्ने कि आफूलाई मन परेको सत्ता हुँदा मौन बस्ने ? अधिकार उल्लंघन हुँदा बोल्ने कि आफ्नो राजनीतिक तथा व्यक्तिगत स्वार्थसँग मेल खाँदा मात्र आवाज उठाउने ? परिवर्तनको पक्षमा उभिने कि परिवर्तनका नाममा आफ्नो सार्वजनिक पहिचान स्थापित गर्ने ? यी प्रश्नको जवाफले नै कुनै व्यक्तिको सार्वजनिक भूमिकाको वास्तविक मूल्य निर्धारण गर्छ ।

मिडियामा देखिनु र जनताको प्रतिनिधित्व गर्नु एउटै होइन

यस बहसमा सञ्चारमाध्यमको भूमिका पनि महत्त्वपूर्ण छ । मिडियाले नयाँ पुस्ताका विचारलाई स्थान दिनुपर्छ, तर कसैले आफूलाई जेन–जी अगुवा भन्दैमा उसलाई आन्दोलनको आधिकारिक प्रतिनिधिका रूपमा प्रस्तुत गर्नु हुँदैन । उसको वास्तविक भूमिका, संगठनात्मक आधार र अभिव्यक्ति व्यक्तिगत हो वा सामूहिक भन्ने प्रश्न गर्नु पत्रकारिताको दायित्व हो । मिडियाले मञ्च दिन सक्छ, तर नेतृत्वको वैधता प्रदान गर्न सक्दैन । त्यस्तै, पुरानो नेतृत्वको आलोचना गर्दैमा नयाँ नेतृत्व स्वत: सही हुँदैन ।

आलोचना नसहने, असहमतिलाई विरोध ठान्ने र अरूलाई मात्र जवाफदेही बनाउन खोज्ने प्रवृत्ति परिवर्तनकारी संस्कार हुन सक्दैन । आफूलाई जेन–जी अगुवा भन्ने र सरकारलाई प्रश्न गर्ने अधिकार प्रयोग गर्नेहरूले पनि आलोचना सुन्न, आफ्ना गतिविधिमा उठेका प्रश्नको जवाफ दिन र जवाफदेही बन्न सक्नुपर्छ । पारदर्शिताको माग गर्नेले आफ्नै व्यवहारमा पारदर्शिता देखाउनुपर्छ । जेन–जी कुनै व्यक्ति, समूह, संस्था वा सामाजिक सञ्जालमा देखिने केही अनुहारको निजी सम्पत्ति होइन । यस पुस्ताभित्र फरक विचार, प्राथमिकता र राजनीतिक दृष्टिकोण भएका लाखौं युवा छन् । त्यसैले कसैले आफूलाई अगुवा घोषणा गर्दैमा सम्पूर्ण पुस्ताको प्रतिनिधित्व गर्ने अधिकार प्राप्त हुँदैन ।

नयाँ पुस्ताले पुरानो नेतृत्वलाई प्रश्न गरेझैं आफू पनि आलोचना र परीक्षणका लागि तयार हुनुपर्छ । आन्दोलनको इतिहास र सहिदहरूको बलिदानलाई व्यक्तिगत लोकप्रियता कमाउने साधन बनाउनु हुँदैन । त्यसको सम्मान भनेको सुशासन, न्याय, स्वतन्त्रता र जवाफदेहीलाई व्यवहारमा उतार्नु हो । कसैको योगदान मिडियामा उपस्थिति वा सामाजिक सञ्जालको चर्चाले होइन, उसले गरेका काम, संस्थागत सुधारप्रतिको प्रतिबद्धता, संविधान र कानुनप्रतिको सम्मान तथा आफूलाई गरिएका प्रश्नको जवाफ दिने इमानदारीले मापन हुनुपर्छ । आजको आवश्यकता नयाँ अनुहारको भीड होइन, जवाफदेही नागरिक नेतृत्व हो ।

अन्त्यमा, जेन–जी हुनु पुस्तागत परिचय हो, आन्दोलनमा सहभागी हुनु ऐतिहासिक योगदान र अगुवा हुनु सार्वजनिक जिम्मेवारी । मिडियामा बोल्दैमा वा सरकारको विरोध गर्दैमा कोही स्वत: अगुवा बन्दैन । आन्दोलनले प्रश्न गर्ने अधिकार दिएको हो, आलोचनाभन्दा माथि रहने छुट होइन । लोकतन्त्रमा प्रश्न गर्ने अधिकार सबैलाई छ र जवाफदेहीको दायित्व पनि सबैमा समान रूपमा लागू हुन्छ । आन्दोलनले सत्ताको विकल्प खोजेको थियो, पुरानै राजनीतिक संस्कार बोकेको नयाँ अनुहार होइन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
6d ago
‘उमेरले ७३ पुगे पनि विचारले अर्को विद्रोहको तयारीमा छु’

‘उमेरले ७३ पुगे पनि विचारले अर्को विद्रोहको तयारीमा छु’

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले आफू फेरि अर्को आन्दोलन तथा विद्रोहको तयारीमा जुटेको बताएका छन्।

#आन्दोलन #विचार
Compare →

Related Stories

Politics & Governance
Build #2612