मिशराले अविजित १२० र रवि बोपाराले ५३ रन बनाएपछि चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन जोड्यो।
काठमाडौँ — कामिल मिशराको शतक बनाउनुका साथै कप्तान रवि बोपारासँग ठूलो साझेदारी गरेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा बुधबार काठमान्डु गोर्खाजलाई २ सय ५ रनको विशाल लक्ष्य दिएको छ ।
मिशराले अविजित १ सय २० र बोपाराले ५३ रन बनाए । यी दुईले तेस्रो विकेटमा ९२ बलमा १ सय ५४ रनको साझेदारी गरेपछि टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा निर्धारित २० ओभरमा ४ विकेट गुमाई २ सय ४ रन बनाएको हो ।
मिशरा १७ बलमा २७ रन बनाइरहेको अवस्थामा गणेश गौतमको बलमा विलियम बोसिस्टोले क्याच छाड्न पुगेका थिए, जुन काठमान्डुलाई निकै महँगो पर्यो । मिशराले ५३ बलमा शतक पूरा गरेका थिए । यस सिजनमा बनेको यो दोस्रो र एनपीएलको इतिहासमा बनेको यो पाँचौँ शतक हो । सबै विदेशी खेलाडीको नाममा छ ।
पोखराका युवराज सामराले कर्णाली याक्सविरुद्ध यसै प्रतियोगितामा ४८ बलमा १ सय २ रन बनाएका थिए । २०२४ मा पोखराका एन्ड्रेज हाउसले लुम्बिनी लायन्सविरुद्ध अविजित १ सय ४ रन, पोखराकै एडम रोसिङटनले गत वर्ष कर्णालीविरुद्ध अविजित १ सय ८ र गत वर्ष नै कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध अविजित १ सय १४ रन बनाएका थिए ।
मिशराले एनपीएल इतिहासकै व्यक्तिगत उच्च स्कोर पनि बनाएका हुन् । उनले ५९ बलको आफ्नो इनिङ्समा कुल ५ चौका र १० छक्का प्रहार गरे । सबै खाले टी–२० मा आफ्नो ५ सय खेल खेलिरहेका बोपाराले ४२ बल खेली ३ चौका र २ छक्का प्रहार गरे ।
काठमान्डुका कप्तान करण केसीले चौथो ओभरको लगातार बलमा देव खनाल र डेविड मलानलाई आउट गरेपछि यी दुईको साझेदारी जमेको थियो । देवले १५ बल खेली २ चौका र १ छक्का प्रहार गरी १७ रन बनाए भने मलान पहिलो बलमै आउट भए ।
राशिद खानले १८ औं ओभरमा रवि बोपारालाई बोल्ड गरी यो साझेदारी तोडेका थिए । बोपाराको स्थानमा आएका विवेक यादवले आफूले सामना गरेका पहिलो दुई बलमा चौका प्रहार गरे भने तेस्रो बलमा क्याच दिन पुगे । करणले ४ ओभरमा ३२ र राशिदले ३८ रन खर्चेर २–२ विकेट लिए ।
विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।